भानु जयन्ती अवसरमा महिलाले नाचे ‘पाउदुरे’ नाच « Khabarhub

भानु जयन्ती अवसरमा महिलाले नाचे ‘पाउदुरे’ नाच


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ– भानु जयन्तीका अवसरमा शुक्रबार भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजित कार्यक्रममा २९ वर्षीया मनिषा र ४२ वर्षीया हीरा कुमालले लोपोन्मुख पाउदुरे नृत्यमा मारुनी बनेर तालमा ताल मिलाएर घन्टौँ नाचे । पाउदुरे नाच पुरुषले महिला बनेर नाच्ने प्रचलन छ । तर गाउँमा पुरुष नहुँदा भानु नगरपालिका–४ कुमालगाउँका यी दुई महिला पाउदुरे नाच संरक्षणमा पछिल्लो पाँच वर्षदेखि अहोरात्र खटिएका छन् ।

‘के गर्नु यस्तो पुरानो नाच त्यसै मर्न दिन मनले मानेन’, पाउदुरे नाच्दै गरेकी मनिषाले भनिन्, ‘त्यसैले गाउँका सबैलाई भेला गरी हामीलाई पनि नाच्न सिकाउनुस् हामी यो नाच बचाउँछौँ भनेर संरक्षणमा कस्सियौँ ।’

शुक्रबार विभिन्न क्षेत्रबाट आएका पाहुनालाई देखाउन भनेरै आफूहरूले पाँच दिनअघिदेखि लगातार मेहनत गरेर पाउदुरे नाच्न सिकेको मनिषाले बताइन् । पाँच वर्ष पहिले नाच सिक्ने क्रममा सुरुका दिनमा गाउँकै केही व्यक्तिले महिलाले पाउदुरे नाच्न हुँदैन भनेर असहमति जनाए पनि अहिले तिनै व्यक्तिले प्रशंसा गरेको देख्दा आनन्द लाग्ने गरेको हीराले बताइन् ।

आफूहरूले पाउदुरे नाच्न थालेपछि दिगोरूपमा संरक्षणका लागि गाउँका अन्य साना बालबालिकालाई समेत नाच्न सिकाउँदै गरेको हीराको भनाइ छ ।

पाउदुरे जनजातिमाझ लोपोन्मुख नाच हो । विभिन्न जनजातिले आ–आफ्नो तवरले पाउदुरे नाच्दै आएको पाइन्छ । यो नाचमा विजबारे, मारुनी, मादले, गुरुलगायत आवश्यक पर्दछ । 

यो नाच  पुरुषले गुन्यूचोली र गरगहना लगाएर महिलाजस्तै बनेर नाच्ने चलन छ । छेउमा नाच्ने दुई पुरुषलाई ‘मारुनी’ र बीचमा नाच्नेलाई ‘बिजबारे’ भनिन्छ । नाच्दा बिजबारेकै भावभङ्गी समातेर मारुनीले आफूलाई प्रस्तुत गर्नुपर्छ । गीत गाउने मुख्य व्यक्तिलाई ‘गुरुबा’ भन्ने चलन छ । गुरुबाले गीत गाउने र लहरै बसेका तीन जना मादलेलगायतले पनि गीतलाई होमा हो मिलाउने चलन छ । बेला–बेलामा ताल काट्दै मादलेसमेत नाच्ने भएकाले पाउदुरे हेर्दा रमाइलो हुने गर्छ । पाउदुरे नाच्दा चारै दिशाका देवीदेवतालाई सम्झने चलन छ । देवीदेवतासँग सबै जिवात्माको कल्याणको कामना गर्दै यो नाच नाचिन्छ ।

पैसठ्ठी वर्षीय बाबुराम, सोमबहादुर कुमालले पाउदुरे नाच्दै आए पनि उनीहरूको स्वास्थ्य प्रतिकूल भएपछि विगत १२–१५ वर्षदेखि आफूले पाउदुरे नाच्न छाडेको ६२ वर्षीया भीमबहादुर कुमालले बताए । बोलाएको ठाउँमा एकैपटक दुई–तीन घन्टा पनि नाच्नुपर्ने भएकाले नाच्न नसकेर छाडेको उनको भनाइ छ ।

मनिषा र हीराले पछिल्लो समय आफूलाई नाचेर साथ दिँदै आएकाले खुसी लागेको विगत ३५ वर्षदेखि बीचमा नाच्दै आएका (बिजबारे) ५८ वर्षीय लालबहादुर कुमालले बताए । महिलामा पनि पुरुषले जस्तै घन्टौँ खटिन सक्ने गुण देखेको उनको भनाइ छ ।

नाच देखाउन आफूहरू गोरखा, दमौली, देवघाट, चितवन, नवलपरासी र लमजुङलगायतको जिल्लामा पुगिसकेको उनले जानकारी दिए । यहाँको पाउदुरे नाचमा ६५ वर्षीय गङ्गाबहादुर कुमाल, ६८ वर्षीय टीकाराम कुमाल र ६६ वर्षीय सन्तबहादुर कुमालले मादल बजाउने गर्दै आएका छन् । 

कुमालगाउँमा रहेका ९२ घरमध्ये युवा वैदेशिक रोजगारीका क्रममा विदेशमा भएकाले पाउदुरे नाच्ने पाउनै मुस्किल भएको स्थानीय चुदेली कुमाल समाजका अध्यक्ष ३९ वर्षीय विष्णु कुमालले बताए । 

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ८ : ४१ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले