डोलेश्वरमा श्रावणी मेलाको तयारी पूरा « Khabarhub

डोलेश्वरमा श्रावणी मेलाको तयारी पूरा


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखि लाग्ने श्रावणी मेलाको अन्तिम तयारी पूरा भएको छ ।

मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले हरेक वर्ष झैँ यस वर्ष पनि साउन १ गतेदेखि भदौ ६ गतेसम्म लाग्ने ३५ दिने श्रावणी मेलाको तयारी सकिएको बताए ।

यस वर्ष करिब दुई लाखले मेला अवलोकन गर्ने अपेक्षा गरिएको उनको भनाइ छ । श्रावणी मेलामा शनिबार र सोमबार दर्शनार्थीको अत्यधिक भीड हुने भए पनि पूजा गर्न एक घन्टाभन्दा बढी बस्न नपर्ने गरी व्यवस्थापन गरिएको जानकारी दिए ।

उनले विगतका वर्ष श्रावणी मेलाबाट करिब ५० लाख बचत हुने गरेको भन्दै यस वर्ष भारतीय पर्यटक बढेकाले एक करोड २५ लाखसम्म बचत हुने अपेक्षा गरिएको अध्यक्ष बस्नेतले बताए ।

पञ्चस्नान गर्ने दर्शनार्थीका लागि पञ्चस्नानका सामग्रीका लागि एक हजार एक सयको रसिद काटेर दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको छ । व्यवस्थापन समितिका महासचिव हरिशरण बस्नेतले साउन १ गते सोमबार बिहान स्थानीय पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट कलश यात्रा गरी मेलाको शुभारम्भ गरिने जानकारी दिए ।

उनले साउन २ गतेदेखि ८ गतेसम्म पण्डित जनार्दन पौडेलबाट शिवपुराण कथावाचन, साउन ९ गतेदेखि १५ गतेसम्म पण्डित उद्धवनारायण बास्कोटा शास्त्रीबाट पुरुषोत्तम महात्म्य वाचन, साउन १६ गतेदेखि २२ गतेसम्म पण्डित राघव अर्यालबाट श्रीमद्भागवत महापुराण वाचन गरिने जानकारी दिए ।

साथै साउन २३ गतेदेखि २७ गतेसम्म पण्डित बालकृष्ण अर्यालबाट विभिन्न धार्मिक प्रवचन, साउन २८ गतेदेखि भदौ ५ गतेसम्म विभिन्न गुरुहरुबाट धार्मिक प्रवचनका साथै कलाकारले भजनकीर्तन प्रस्तुत गर्नेछन् ।

विसं २०६६ भदौमा मन्दिरलाई केदारनाथको शिर घोषणा गरिएको थियो । सोही अवसरमा भदौ ६ गते विशेष कार्यक्रम आयोजना गरी मेलाको समापन गरिँदै आइएको छ ।

मेला अवधिमा स्वयंसेवक परिचालन गरिनेछ भने स्वास्थ्य शिविर पनि आयोजना गरिनेछ । सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वर मन्दिर धार्मिकसँगै पर्यटकीय गन्तव्यकारुपमा समेत विकास गर्दै गएको बताउँदै नगरपालिकाले यहाँका शिवालयलाई समेटेर शिव सर्किटको निर्माण सुरु गरेको बताए ।

डोलेश्वर क्षेत्र धार्मिक पर्यटकीय दृष्टिकोणले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत ख्याति कमाउन थालेकाले नगरपालिकाले आर्थिक विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

मेलाका लागि नेपाली सेनाको इन्द्र बक्स गण सूर्यविनायक, नेपाल प्रहरी, सामुदायिक वन उपभोक्ता महासङ्घ भक्तपुर तथा विभिन्न सङ्घसंस्था एवं स्थानीयको सहभागिता हुनेछ । सूर्यविनायक नगरपालिकाको सहयोगमा निर्माण भएको मूलद्वार भोलि उद्घाटन गरिनेछ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १२ : ३३ बजे

काठमाडौं-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं- धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठ किलोमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिन

प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

सङ्खुवासभा– सङ्खुवासभामा २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा

म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु

म्याग्दी– बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामै

एसियाली खेलकुद : क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

कास्की– जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म

मध्यराति मोदीखोलामा भीषण बाढी: दुई वटा पुल बगे, मन्दिरमा फसेका तीन जनाको उद्धार जारी

कास्की – कास्की र पर्वतको सीमाना भएर बग्ने मोदीखोलामा बिहीबार