बुकी लेकमै पुगेर गोठालाको उपचार « Khabarhub

बुकी लेकमै पुगेर गोठालाको उपचार


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको तमानखोला गाउँपालिका अधिकांश पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन् । गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो ।

यसलाई स्थानीयवासीले बुकीका रुपमा चिन्छन् । करिब चार हजार मिटरको उचाइमा रहेको गुर्जाघाट यस याममा गोठ तथा पशुचौपायाले भरिएको छ ।

तमानखोलासँगै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र म्याग्दी धौलागिरि गाउँपालिकाका विभिन्न स्थानबाट गोठाला पशुचौपाया लिएर यहाँ पुगेका छन् । जेठ दोस्रो सातादेखि बुकी लागेका गोठाला अब असोजमा मात्रै बेसी झर्छन् ।

करिब चार महिना लेकमै बस्ने गोठाला यस अवधिका लागि पुग्ने खर्चपर्च लिएर गएका हुन्छन् । खर्च सकिएपछि बेसी नै झर्नुपर्छ । गोठमा बस्ने, पशुचौपाया पाल्ने र निगालोका चोयाबाट विभिन्न सामग्री बुन्ने उनीहरुको दैनिकी हो ।

गाउँघर र स्वास्थ्य संस्थाबाट टाढा हुने हुँदा गोठाला बिरामी पर्दा पनि बेसी झर्दैनन् । उनीहरु यस अवधिमा जडीबुटी र धामी झाँक्रीको भरमा बस्छन् ।

बुकीमा एउटा पनि धारो छैन । गोठालाले पोखरी, रूखको टोड्का र खुला मूलको पानी प्रयोग गर्ने हुँदा समय–समयमा बिरामी पर्ने गर्छन् । बिरामी हुँदा कतिपयको गोठमै ज्यान जान्छ ।

तमानखोलाले गोठालालाई लक्षित गरी बुकीमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बर्खाको समय विद्यालय बन्द हुने हुँदा बालबालिका पनि अभिभावकसँग बुकीमा जान्छन् ।

बुकीमा बालबालिका र वृद्धवृद्धा सबै पुग्ने हुँदा उनीहरुका लागि शिविरमार्फत गोठमै स्वास्थ्य सेवाको व्यवस्था मिलाइको हो । गाउँपालिकाले तमानखोलाका मात्रै नभई गुर्जाघाटमा बस्दै आएका अन्य पालिका र जिल्लाका गोठालाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको तमानखोलाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए ।

‘स्वास्थ्य संस्था पुग्न धेरै समय लाग्ने हुँदा बुकीमै उपचारको व्यवस्था मिलाएका हौँ’, उनले भने । तमानखोलाबाट गुर्जाघाट पुग्न एक दिनको पैदल यात्रा गर्नुपर्छ । अहिलेसम्म त्यहाँ सडक पुगेको छैन । बुकीभन्दा धेरैमाथि रहेका गोठालाले यस पटक सेवा लिन नपाएको अध्यक्ष बुढा मगरले बताए ।

‘गोठाला उपचारका लागि कि ढोरपाटन पुग्नुपर्छ, कि बोङ्गादोभान नै आउनुपर्छ, त्यहाँ कोही बिरामी भयो भने उपचार पाउँदैन्, त्यसैले बुकीमै गएर स्वास्थ्य सेवा प्रदान गर्न थालेका हौँ’, अध्यक्ष बुढा मगरले भने ।

स्वास्थ्य शिविरका लागि बुकी पुगेका स्वास्थ्यकर्मी हरिबहादुर छन्त्यालले धेरै जसो गोठालामा ज्वरो आउने, पखला लाग्ने, उच्च रक्तचापलगायत समस्या भएको बताए ।

केहीलाई गम्भीर किसिमको रोग देखापरेकाले सुविधायुक्त अस्पतालमा जान सुझाएको उनको भनाइ छ । अध्यक्ष बुढा मगरसहित १२ जनाको टोली बुकी पुगेर शिविर सञ्चालन गरेको थियो । उनीहरुले एक सय बढी गोठालाको स्वास्थ्य उपचार गरेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ८ : ५३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया