यसै वर्ष दादुरा–रुवेला रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको तयारी | Khabarhub Khabarhub

यसै वर्ष दादुरा–रुवेला रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको तयारी


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा यसै आर्थिक वर्षमा दादुरा–रुवेला रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । दादुरा रोगलाई सन् २०२६ सम्ममा निवारण गर्ने लक्ष्यका साथ मन्त्रालयले यसै आर्थिक वर्षभित्र देशभरिका बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप लगाउन अभियान सञ्चालनको तयारी गरेको हो ।

खोप अभियानका लागि स्वास्थ्य सेवा विभागअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाले ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ लाई गत साउन– २ गते औपचारिक रुपमा पत्र पठाइ दादुरा–रुवेलाविरुद्धको खोप माग गरेको छ । खोप शाखा प्रमुख डा. अभियान गौतमले अभियानका लागि गाभीसँग ९७ लाख मात्रा खोप माग गरिएको जानकारी दिए ।

“हाम्रो पत्रलाई गाभीले सकारात्मक रुपमा लिएको छ” उनले भने, “गाभीबाट खोप आएपछि देशभरि नै खोप अभियान सञ्चालन गर्दछौँ ।” उनका अनुसार खोप नौ महिनादेखि पाँच वर्ष उमेर समूह र उच्च जोखिमका जिल्लामा १५ वर्षमुनिका बालबालिकालाई प्रदान गरिने छ ।

भारतसँग सिमाना जोडिएका २१ र उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई उच्च सङ्क्रमित जिल्लाको रुपमा लिइएको छ । परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले देशभरि नै खोप सञ्चालन गर्नका लागि नेपालमा रहेको साधनस्रोत अभाव हुने भएकोले गाभीलाई खोपका लागि आग्रह गरिएको जानकारी दिए ।

“देशभरि नै बालबालिकालाई खोप लगाउन हामीसँग भएको स्रोतसाधानले पुग्दैन” उनले भने, “खोप उपलब्ध गराउनका लागि हामीले सरकारका तर्फबाट गाभीलाई औपचारिक पत्र पठाइसकेका छौँ । हाम्रो प्रस्तावमाथि छलफल भएर खोप स्वीकृत हुनका लागि पाँच–छ महिना लाग्छ र त्यसको एक–दुई महिना खोप नेपाल आउन सक्छ । आर्थिक वर्षको अन्त्यसम्ममा खोप लगाउन सक्छौँ कि भन्ने हामीलाई लागेको छ ।”

निर्देशक लालले अन्य रोगजस्तो दादुरा नभएकोले चार–पाँच वर्षबीचको अन्तरमा देशभरि नै अभियान सञ्चालन गर्नुपर्ने बताए । देशभरि नै जोखिममा रहेका १६ जिल्लामा अरु खोप ८०/८५ प्रतिशत बालबालिकालाई लगाइयो भने अन्य १०/१५ प्रतिशत बालबालिका पनि सुरक्षित हुन्छन् भन्ने छ” उनले भने, “तर दादुरा खोप कमसेकम ९५ प्रतिशत बालबालिकालाई लगाउनुपर्दछ ।”

नेपालको जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण–२०२२ अनुसार ८० प्रतिशत बालबालिकाले दादुरा–रुवेलाविरुद्धको खोप लगाएका छन् । सरकारले पहिलो पटक सन् २०१९ मा र त्यसपछि सन् २०२३ मा दादुरा निवारण गर्ने लक्ष्य लिएको थियो तर कोभिड–१९ महामारीका कारण २०२३ मा निवारण गर्न नसक्ने जनाएपछि सन् २०२६ सम्म निवारण गर्ने लक्ष्य लिएको छ ।

शाखाका प्रमुख डा गौतमले सन् २०२६ सम्ममा दादुरा निवारण गर्ने लक्ष्यका साथ यसै आर्थिक वर्षमा देशभरि नै खोप अभियान सञ्चालन गर्न थालिएको बताए ।

गाभीबाट प्राप्त भएको खोप बालबालिकालाई दुई मात्रा लगाइने छ । दादुरा रोगबाट बच्ने एक मात्र उपाय दादुराविरुद्धको खोप लिनु नै हो । त्यसैले यो रोगबाट बचाउन नियमित खोपमार्फत सरकारले ९ र १५ महिनाको उमेर समूहका बालबालिकालाई सरकारले निःशुल्क दादुरा खोप दुई मात्रा प्रदान गर्दै आइरहेको छ ।

दादुरा निकै छिटो सर्ने सरुवा रोग हो । यो रोग सामन्यतया पाँच वर्ष मुनिका बालबालिकालाई धेरै लाग्दछ र त्यसले छिट्टै महामारीको रुप पनि लिन सक्दछ ।

दादुरा रोग लाग्यो भने यसका जटिलता जस्तै निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले बिरामीको मृत्युसमेत हुनसक्छ । दादुराको भाइरस मानिसबाट मानिसमा मात्र सर्दछ । यो भाइरस सङ्क्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा असर गरेर वृद्धि हुने र श्वास नली एवं अरु भित्री अङ्गमा समेत सङ्क्रमण गर्दछ । दादुरा रोग सङ्क्रमण भएको (रोग लागेको) व्यक्तिले खोक्दा र हाच्छिउ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।

लक्षणहरू

ज्वरो आउनु र शरीरमा राता बिमिरा देखापर्नु दादुरा रोगका प्रमुख लक्षण हुन् । यसका साथै रुघाखोकीको लक्षणहरु जस्तै, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने आदि पनि देखिन सक्छ । रोगीको सम्पर्कमा आएको १०÷१२ दिनपछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ । दादुरा सङ्क्रमित व्यक्तिलाई डाबर र बिमिरा देखा पर्नेभन्दा चार दिन अघिदेखि डाबर देखा पर्ने र यसको चार दिनपछिसम्म अर्को व्यक्तिमा सर्न सक्दछ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ४ : ५९ बजे

‘सरकारले विचौलिया तत्वको स्वार्थमा काम गर्दा जनता निराश’ 

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले गठन

चितवनमा रगतको अभाव, रक्तदान गर्न दाताहरूलाई आग्रह

चितवन– जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान

आरएसडिसी लघुवित्तले १० प्रतिशत बोनस दिने 

काठमाडौं– आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ को

बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला

जलेश्वर– बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौ‌ं– काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको