खेलकुद

महान खेलाडी जसलाई इतिहासले सम्झने छ

By मनोज घिमिरे

September 16, 2023

संसारको खेल इतिहासको सबै भन्दा महान् खेलाडी को भन्ने चर्चा सर्वत्र चलेको छ। यो सूचीमा माइकल फ्लेप्स र युसेन बोल्ट मध्ये नै बहस हुनसक्छ। यिनको चर्चा सर्वत्र रहने छ। सायद खेलकुदको इतिहास नै यी दुई खेलाडीको चर्चा बिना अपुरो रहनेछ। अन्य यस्ता केही खेलाडी छन्, जसको उपलब्धि पनि कमको छैन।

ओलम्पिकमा स्वर्ण पदक जित्नु चानचुने होइन। तर लगातार पाँच ओलम्पिक खेलकुदमा स्वर्ण पदक जित्नु चाहिँ पक्कै महत्त्वपूर्ण हो। बेलायतका रोइङ खेलाडी सर स्टिभ रेडग्रेभले सो सफलता पाएका थिए। इन्डुरेन्स स्पोर्ट्समा त्यस्तो सफलता पाउनु चानचुने कुरा होइन।

रोमानीयाकी जिम्न्यास्ट नादीया कामानेचीको नाम विश्व खेलकुदमा स्वर्णिम अक्षरले लेखिएको छ। जिम्न्यास्टिकमा १० स्कोर गर्ने उनी इतिहासकै एक्लो खेलाडी हुन्। उनले १४ वर्षको उमेरमा सो सफलता पाएकी थिइन्। अहिले १६ वर्ष पुरा भएकाले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउँछन्।

अमेरिकी पौडीबाज माइकल फ्लेप्सले पौडीमा २३ ओलम्पिक स्वर्ण पदकको कीर्तिमान कायम गरेका छन्। १५ वर्षको उमेरमा सन् २००० मा ओलम्पिकमा प्रतिस्पर्धाको अवसर पाएका उनले पदक जित्न सकेका थिएनन्। सन् २००३ देखि उनी लगातार उनको दबदबा रहेको थियो।

सन् २००४ को एथेन्स ओलम्पिकमा उनले ६ स्वर्ण पदक र दुई कास्य पदक जितेका थिए। उनले १ सय र २ सय मिटर बटरफ्लाई, २ सय र ४ सय मिटर मेड्ली तथा मेड्ली रिले र चार गुणा दुई समय मिटर रिलेमा स्वर्ण पदक जितेका थिए। उनले सन् २००८ मा यी सबै स्पर्धामा स्वर्ण पदक जितेका थिए। यी मध्ये चार गुणा सय मिटर फ्रिस्टाइल रिलेको स्वर्ण पदक सधैँ चर्चामा रहने गरेको छ। सो रिलेमा तीन सय मिटरसम्म फ्रान्स धेरै अगाडि रहेपछि अन्तिम लेगमा जेसन लेजाकले शानदार पौडेका थिए। लेजाकको सो लेगको पौडी इतिहासमा सधैँ चर्चा गरिन्छ।

सन् २०१२ मा चार स्वर्ण पदक जितेका उनले सन् २०१६ को रियो ओलम्पिकमा ५ स्वर्ण पदक जितेका थिए। धावक युसेन बोल्टले ओलम्पिक खेलकुदमा पाएको सफलता मात्र होइन १ सय र २ सय मिटरको विश्व कीर्तिमानका कारण नायकको रूपमा चिनिएको छ।

सन् २००८ को बेइजिङ ओलम्पिकमा एक सय मिटर, दुई सय मिटर र रिलेमा जमैकालाई स्वर्ण दिलाएका उनले सन् २०१२ को लन्डन ओलम्पिक तथा सन् २०१६ को रियो ओलम्पिकमा पनि सोही सफलतालाई निरन्तरता दिएका थिए।

सन् २००९ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिपमा ९ दशमलव ५८ सेकेन्डको उनको विश्व कीर्तिमान अझै कायम छ। दुई सय मिटर दौडमा पनि उनको कीर्तिमान कायम छ। २२ ग्रान्डस्लाम टेनिसको उपाधि जित्ने जर्मनीकी स्टार स्टेफी ग्राफ लगातार ३ सय ७७ साता विश्व वरीयता क्रमको शीर्ष स्थानमा थिइन्।

उनको सन् १९८७ देखि सन् १९९९ सम्म टेनिसमा दबदबा नै रहेको थियो। उनले गोल्डेन स्लामको सफलता पनि पाएकी थिइन्। माइकल जोर्डनलाई बास्केटबलको सर्वकालीन उत्कृष्ट खेलाडीको सूचीमा राख्ने गरिन्छ। अमेरिकी बास्केटबलमा उनको नाम सधैँ स्वर्णिम अक्षरले लेखिने खेल समीक्षकको मत छ।

बास्केटबललाई संसारभर नै लोकप्रिय बनाउन जोर्डनको भूमिका महत्त्वपूर्ण मानिएको छ। फुटबल स्टार पेलेलाई सर्वकालीन उत्कृष्ट खेलाडीको सूचीमा हेर्ने गरिन्छ। सन् १९५८ को विश्वकप ब्राजिललाई दिलाउन सबै भन्दा महत्त्वपूर्ण भूमिका उनको थियो। त्यो समयमा उनी १७ वर्षमा मात्र थिए।

सन् १९६२ मा पनि उनी समावेश ब्राजिलको टोलीले विश्वकप उपाधि जितेको थियो। सन् १९७० मा विश्वकप उपाधि जित्दै उनी तीन विश्वकप जित्ने सफल खेलाडीको रूपमा रहन पुगे। दक्षिण अमेरिकी महादेशलाई फुटबलकै नामबाट चिनाउन सफल व्यक्तित्वको रूपमा पेलेलाई लिइन्छ।

मोहम्मद अलीलाई बक्सिङको सर्वकालीन उत्कृष्ट खेलाडीको रूपमा चित्रण गरिन्छ। उनका केही फाइट सधैँ यादगार मानिन्छ। यसमा ‘फाइट अफ द सेन्चुरी’, ‘रम्बल इन द जङ्गल’ तथा ‘थ्रिला इन मनिला’ समावेश छन्।

भियतनाम युद्ध लड्न अस्वीकार गरेका कारण उनी संसारको इतिहासमा परिचित छन्। उनले भनेको ‘फलोट लाइक र बटरफ्लाइ ,स्टिङलाई अ बि’ भन्ने उद्गार धेरैले सम्झने गरेका छन्।

उनले बारम्बार आफूलाई महान् होइन दुई गुणा महान् भन्न रुचाउँथे। त्यसो त संसारको इतिहास हेर्ने हो भने धेरै खेलका उत्कृष्ट खेलाडी को भन्ने बहस धेरै पहिलोदेखि नै हुने गरेको छ।

यी नामहरूमा असहमत रहँदै अन्य नामको चर्चा पनि त्यत्तिकै हुने गरेको छ। फुटबलमा लीयोनल मेसीलाई संसारको सबै भन्दा उत्कृष्ट खेलाडीको रूपमा चित्रण गर्नेको पनि कमी छैन।

अहिले हामीले बिताइ रहेको समयका सबै भन्दा लोकप्रिय खेलाडीको रूपमा चित्रण गर्दा धेरैले फुटबलका मेसीका साथै क्रिस्टीयानो रोनाल्डोको साथै नेइमारलाई लोकप्रिय खेलाडीको रूपमा हेर्ने गरेका छन्।

अहिले लस एन्जलस लाकर्सका लागि खेल्ने गरेका अमेरिकी बास्केटबल सुपर स्टार लेब्रन जेम्सलाई त्यत्तिकै लोकप्रिय खेलाडीको रूपमा हेर्ने गरिन्छ। उनले लगातार चार पटक एनबीए उपाधि जितेका छन्।

लोकप्रियताको शिखरमा भारतीय क्रिकेट स्टार विराट कोहली पनि त्यत्तिकै चर्चामा रहने गरेका छन्। भलै कोहलीको पिक फर्म गईसकेको छ।

बो क्याक्सनलाई पनि विश्व खेलकुदको सर्वकालीन उत्कृष्ट खेलाडीको रूपमा हेर्ने गरिन्छ। उनी बेसबल र अमेरिकी फुटबल दुवैमा सर्वकालीन उत्कृष्ट खेलाडीको रूपमा चिनिएका छन्। सन् १९८९ र १९९० मा त उनको दबदबा नै थियो।

जिम थोर्पेलाई पनि एथलेटिक्सको ऐतिहासिक खेलाडीको रूपमा चित्रण गरिन्छ। अमेरिकामा जन्मिएर अमेरिकाकै लागि ओलम्पिकमा स्वर्ण पदक जित्ने उनी पहिलो खेलाडी हुन्। सन् १९१२ को ओलम्पिकमा उनले क्लासिक पेन्टाथलन र डेकाथलनमा स्वर्ण पदक जितेका थिए। त्यस वर्षको ओलम्पिकपछि उनले अमेरिकी फुटबल, व्यावसायिक बास्केटबल र बेसबलमा पनि सहभागिता जनाएका थिए। उनले पछि अमेरिकी फुटबलमा तीन पटक व्यावसायिक लिग जितेका थिए।

वाइन ग्रटजीलाई पनि संसारकै उत्कृष्ट खेलाडीको रूपमा चित्रण गरिन्छ। उनकै कारण क्यानडामा आइस हक्की स्थापित भएको थियो। उनले सन् १९७९ देखि १९९९ सम्म त्यहाँको मेजर लिगमा सहभागिता जनाएका थिए।

एनएचएल इतिहासका उनी सबै भन्दा शीर्ष गोलकर्ता पनि हुन्। उनले सन् १९९९ मा संन्यासको घोषणा गरेका थिए।यसरी धेरैले नाम लिने मध्येका दुई स्टार सचिन तेन्दुलकर सर डोनाल्ड ब्रेडम्यान पनि हुन्।

क्रिकेटका तेन्दुलकरको नाममा एक से एक कीर्तिमान छन्। उनकै कारण दक्षिण एसियामा क्रिकेट सर्वाधिक लोकप्रिय खेलको रूपमा समेत चित्रित छ। ब्रेडम्यानको ९९ औसत सायद टेस्ट इतिहासमा सितिमिति भङ्ग हुँदैन।

बुद्धिचालमा गेरी कास्पारोभलाई त्यसै सूचीमा राखिन्छ। आफू विश्वमा अपराजित भएकै समयमा उनले सन्यास लिएपछि बुद्धिचाल फेरि प्रतिस्पर्धात्मक खेल बनेको थियो। उनले प्राय सबै विश्व स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका थिए।

यसै क्रममा अगाडि बढेका नर्वेका म्याग्नस कार्लसनले पनि आफैले विश्व च्याम्पियन खेल्न छाडेका थिए। उनले यस वर्ष विश्वकपको उपाधि जित्दै सबै कुरा प्राप्त गरेका छन्। यस्ता अन्य धेरै खेलाडी हुन सक्छन्। तथापि यी नामको चर्चा सधैँ हुने गरेको छ। स्रोतः स्पोर्ट्स अब नेट, कम्प्लीट युनिभर्सिटी गाइड