राजनीति

सरकार संवेदनशील नहुँदा सामाजिक सद्भाव बिग्रियो : कमल थापा

By खबरहब

October 16, 2023

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान र कानुनले निषेध गरेको कार्यप्रति सरकार संवेदनशील नभएका कारण धार्मिक र सामाजिक सद्भाव बिग्रँदै गएको बताएका छन् ।

आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले धर्म परिवर्तन गराउने र गौहत्या जस्ता संविधान र कानुनले निषेध गरेको कार्य भइरहेको प्रति सरकार संवेदनशील हुन नसक्दा धार्मिक र सामाजिक सद्भाव बिग्रँदै गएको बताए ।

उनले सामाजिक, धार्मिक र जातीय सद्भाव कायम गराउन संविधान र कानुनको पूर्ण पालना गराउन सरकार गम्भीर हुनुपर्ने स्पष्ट पारे ।

थापाले समाजमा द्वन्द्व भड्काउन सक्ने स्थितिप्रति सबै पक्षहरू सचेत बन्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले नै जातीय राज्य बनाउने अभिव्यक्ति दिनु गलत भएको टिप्पणी गरे ।

उनले नेपालले नक्सामा समेटेको र भारतले समेत विवादित क्षेत्र भनेर तोकेको कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सरकारले कूटनीतिक नोट पठाउनुपर्ने बताए ।