विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

आज जेठ ३, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे १७, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । 

बङ्गलादेशमा ५१ प्रतिशत जनता थप गरिबीमा धकेलिए

कोभिड–१९ महामारीका कारण सन् २०२२ मा ५१ प्रतिशत गरिब जनता थप गरिबीमा धकेलिएको बङ्गलादेशको अग्रणी थिङ्क ट्याङ्कले जनाएको छ ।

बङ्गलादेशको स्वायत्त बहु–अनुशासनात्मक सार्वजनिक अनुसन्धान संस्था बङ्गलादेश इन्स्टिच्युट अफ डेभलपमेन्ट स्टडिज (बिड्स) ले गरेको एक सर्वेक्षणअनुसार बङ्गलादेशको राजधानी ढाकाजस्तो शहरमा पनि सहरी दीर्घकालीन गरिबी अझै पनि उल्लेखनीय स्तरमा छ ।

बिड्सले ढाकामा आयोजित बिड्स रिसर्च अल्मानेक–२०२३ मा उक्त जानकारी दिएको हो ।

बिड्सका महानिर्देशक विनायक सेनले विकासलाई दिगो बनाउन जनताको संवेदनशीलतालाई ध्यानमा राख्नुपर्ने बताए । कोभिड–१९ को महामारीले मुलुकको अर्थतन्त्रमा पारेको असरका कारण नयाँ सामाजिक वर्गको उदय भइरहेको प्रमाणले देखाएको उनले बताए ।

उनले सहरी जनसङ्ख्याको करिब एक दशांस भाग यही वर्गमा पर्ने बताए । यसअघि विज्ञहरूले बङ्गलादेशले गरिबी निवारणमा ५० वर्ष पुग्दा हासिल गरेको सफलता पनि महामारीका बेला कम्तीमा दुई करोड मानिस गरिबीको रेखामुनि झरेकाले गुमेको बताएका थिए ।

रूस–युक्रेन द्वन्द्वकाबीच महामारी र अत्यावश्यक वस्तुको मूल्यवृद्धिका कारण अनौपचारिक रोजगारीमा संलग्न चार करोड मानिसको ठूलो हिस्साले रोजगारी गुमाएको उनीहरूले बताएका छन् ।

भ्रष्टाचार प्रकरणमा फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई तीन वर्षको कारावास सजाय 

भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।

फ्रान्सको पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको सजाय सुनाएको हो । हतकडीसहित उनलाई अब एक वर्ष निजकै घरमा राखिनेछ भने सार्वजनिक पदमा तीन वर्षसम्म प्रतिबन्ध लगाइएको छ ।

पूर्वराष्ट्रपति सार्कोजीले आफूविरुद्धको मुद्दालाई आफ्नो पक्षमा पार्न न्यायाधीश तथा आफूमाथि लागेको भ्रष्टाचार अभियोगलाई कमजोर पार्न दबाब र प्रभावको हतियार प्रयोग गरेका थिए ।

पुनरावेदन अदालतको आदेश सुनेर बिना कुनै टिप्पणी ६८ वर्षीय सार्कोजी न्यायालयबाट बाहिरिएका थिए । उनका वकिलहरूले पुनरावेदन अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अपील गरिने बताएका छन् ।

सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति रहेका सार्कोजी पदबाट बाहिरिने बित्तिकै कानुनी झमेलामा फसेका थिए । मार्च २०२१ मा उनी र उनका वकिल थियरी हर्जोगले भ्रष्टाचारलगायत कानुनी अनुसन्धानबारे जानकारी प्राप्त गर्न न्यायाधीश गिल्बर्ट अजिबर्टसँग सम्झौताको प्रयास गरेपछि उनको भ्रष्ट नियत छताछुल्ल भएको थियो । दोस्रो विश्वयुद्धपछि जेल सजाय भोग्ने उनी पहिलो पूर्वराष्ट्रपति भएका छन् ।

‘चीनमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन’

धार्मिक स्वतन्त्रतासम्बन्धी एक अमेरिकी प्रतिवेदनमा चीनमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन भएको पाइएको छ ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विश्वका सबै देशको गत वर्षको धार्मिक स्वतन्त्रतासम्बन्धी वार्षिक प्रतिवेदनमा चीनले आफ्ना नागरिकलाई धार्मिक स्वतन्त्रता पूर्ण रुपमा उपभोग गर्न नदिएकामा चिन्ता व्यक्त गरिएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै विदेशमन्त्री एन्टोनी ब्लिन्केनले संसारका धेरै देश दमनमा उत्रिएका तथा उनीहरूले आफ्ना नागरिकलाई त्रसित तुल्याएका, विश्वका धेरै भागका सरकारले यातना, कुटपिट, गैरकानुनी निगरानी, तथाकथित पुनःशिक्षा शिविरलगायत उपाय गरेर अल्पसङ्ख्यक लक्ष्यित दमनलाई जारी राखेका बताए ।

चीनको सिनजियाङ प्रान्तमा अल्पसङ्ख्यक मुस्लिम उइगुरमाथि दुव्र्यवहार गरिएको, धार्मिक आस्थाविरुद्ध अभियान चलाइएको, उनीहरूको मानवअधिकारको सम्मान एवम् संरक्षण नभएको, सबै धार्मिक गतिविधिलाई चिनियाँ कम्युनिष्ट पार्टीको नियन्त्रणमा ल्याउने प्रयास गरिएको तथा त्यस क्रममा दश हजारभन्दा बढीलाई जेल हालेको आरोप प्रतिवेदनमा लगाइएको छ । यसअघि पनि अमेरिकाले उइघुर मुद्दालाई लिएर चीनको कटु आलोचना गरेको थियो ।

धार्मिक स्वतन्त्रतासम्बन्धी सन् २०२२ को वार्षिक प्रतिवेदनमा उइघुरमाथिको उत्पीडन जारी रहेको, तिब्बती बुद्धधर्मको अभ्यास गर्नेमाथि सरकार असहिष्णु भएको, तिब्बतका केही भिक्षु–भिक्षुणीलाई दुव्र्यवहार गरिएको, केहीलाई लामो समयसम्म हिरासतमा राखिएको आरोप पनि लगाइएको छ ।

अमेरिकी विदेश मन्त्रालयको उक्त प्रतिवेदनको खण्डन गर्दै चीनले सिनजियाङमा आतङ्कवादविरोधी गतिविधि रोक्ने प्रयास भएको बताएको छ ।

सुडानमा मानवीय सहायताका लागि तीन अर्ब डलर आवश्यक : राष्ट्रसङ्घ

द्वन्द्वग्रस्त सुडानमा मानवीय सहायताका कार्यक्रम सञ्चालन गर्न तीन अर्ब अमेरिकी डलरभन्दा बढी रकम आवश्यक भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

युद्धका कारण पलायन भएका झण्डै १० लाख शरणार्थीको भरणपोषणका निम्ति पनि अतिरिक्त रकम आवश्यक भएको भन्दै उक्त विश्व संस्थाले तत्काल सहायता उपलव्ध गराउन तीन अर्ब ३० करोड डलर चाहिएको जनाएको छ ।

गत अप्रिल १५ मा सुडानमा रक्तपातपूर्ण द्वन्द्व शुरु भएपछि सहायताको अपेक्षा गर्नेको सङ्ख्या ह्वात्तै बढेको जनाउँदै राष्ट्रसङ्घले आफ्नो सुडान सहायता योजनामा परिमार्जन गरिएको बताएको छ ।

जेनेभास्थित राष्ट्रसङ्घीय मानवीय सहायता निकायका प्रमुख रमेश राजासिङ्घमले सुडानमा दुई करोड ५० लाख जनसङ्ख्यालाई मानवीय सहायता र संरक्षणको आवश्यकता भएको पत्रकारहरूलाई बताएका छन् ।

सेना प्रमुख अब्देल फताह अल बुर्हान र उनका पूर्वसहयोगी मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच युद्ध चर्केपछि सुडानमा गम्भीर मानवीय सङ्कट भएको छ ।

चिकित्सकहरूका अनुसार करिब एक हजार मानिसले ज्यान गुमाएका छन् भने पाँच हजारभन्दा बढी घाइते भएका छन् । राजधानी खार्तुम र आसपासका क्षेत्रका साथै पश्चिम डार्फरमा अधिक हताहति भएको छ ।

पटाका कारखाना विष्फोटमा नौ जना मारिए

पश्चिम बङ्गालको पश्चिम मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् ।

हालसम्म नौ जनाको शव भेटिएको तथा गम्भीर घाइते भएका दुई जनालाई कोलाकाता अस्ताल पठाइएको पूर्वी मेदिनीपुर प्रहरी कार्यालयका प्रमुख अमरान केले बताएका छन् ।

पश्चिम बङ्गाल सरकारको निर्देशनमा अपराध अनुसन्धान विभागले घटनाबारे अनुसन्धान थालेको छ । राजधानी कोलकाताबाट अनुसन्धान टोली घटनास्थल पुगेको छ । सरकारी नीति– नियम विपरीत कारखाना सञ्चालन गरेको अभियोगमा कारखानाका मालिकलाई पक्राउ गर्ने प्रयास भइरहेको छ । यसअघि पनि निजविरुद्ध केही मुद्दा परेका थिए ।

घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री ममता बनर्जीले मृतकका परिवारलाई जनही रु दुई लाख ५० हजार र घाइतेलाई रु एक लाख क्षतिपूर्तिस्वरुप प्रदान गरिने घोषणा गरेका छन् ।

मोचा आँधीमा परी म्यान्मामा ८१ जनाको मृत्यु

म्यान्मामा मोचा आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ । अल्पसङ्ख्यक रोहिङ्गिया मुसलमानको बसोबासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा कम्तीमा ४६ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् ।

राखिनको राजधानी सित्तवेको उत्तरमा अवस्थित राथेदाउङ गाउँको मठ भत्किँदा १३ जनाले ज्यान गुमाएका तथा सोही गाउँको छिमेकमा भवन भत्किँदा एक महिलाको मृत्यु भएको सरकारी टेलिभिजन एमआरटिभीले जनाएको छ । आँधीका कारण एक सयभन्दा बढी हराइरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने बुमा गाउँका प्रमुख कार्लोले बताएका छन् ।

सिट्टे नजिक विस्थापित रोहिङ्गिया शरणार्थी शिविरमा नौ जनाको मत्यु भएको तथा ओन ताव छे गाउँमा एक जना र ओव गीमा छ जनाले ज्यान गुमाएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै एमआरटिभीले जनाएको छ ।

खानी विवाद हिंसामा परिणत हुँदा पाकिस्तानमा १६ जना मारिए 

कोहट कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा १६ जनाको मृत्यु भएको छ । खानीको सीमाङ्कनका बारेमा आदिवासी जनजाति समूहबीच झडप हुँदा १६ जनाले ज्यान गुमाएका एआरवाई न्युजले जनाएको छ ।

पहाडी समुदायका दुई जातिबीचको विवाद हिंसामा परिणत हुँदा १४ जनाको घटनास्थलमा र अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको कोहट प्रहरी कार्यालयका प्रवक्ताले बताएका छन् ।

बुलन्दरी पहाडको सीमाङ्कनलाई लिएर सुनिखेल र अखोरवाल जातिबीच लामो समयदेखि विवाद जारी छ । दुवै पक्षले आफ्नो अडान नछाडेपछि दुःखद घटना भएको प्रहरीले जनाएको छ । झडपबारे जानकारी पाउने बित्तिकै सुरक्षाकर्मी घटनास्थल पुगेका तथा स्थितिलाई नियन्त्रणमा लिइएको एआरवाईको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ७ : ५९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना