दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 9 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दिनभर आज नक्कली शरणार्थी प्रकरणका दोषीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति, पार्टी कार्यकर्ताको मुद्दा फिर्ता लिनसक्ने गरी सरकारले कानुन संशोधन गर्न खोजेकोमा आयोगको आपत्तिलगायतका समाचारले प्रमुख स्थान पाए ।

नक्कली शरणार्थी प्रकरणका दोषीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

पूर्वगृह मन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीसहित १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।

आजसम्म पक्राउ परेका १३ जनाको बयान जिल्ला सरकारी वकिलको कार्यालयमा सकिएको छ । बयान नसकिएकाले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले बताए ।

पार्टी कार्यकर्ताको मुद्दा फिर्ता लिनसक्ने गरी सरकारले कानुन संशोधन गर्न खोजेकोमा आयोगको आपत्ति

राष्ट्रिय मानव अधिकार आयोगले राजनीतिक दल र समूहका कार्यकर्ताको मुद्दा फिर्ता लिनसक्ने गरी सरकारले कानुन संशोधन गर्न खोजेको भन्दै आपत्ति जनाएको छ ।

आयोगले पत्रकार सम्मेलन गर्दै सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा भएको विद्यमान प्रावधानपछि दफा ११६ क थप प्रस्ताव गरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिन सकिने व्यवस्था गरेको जनाएको छ । यस प्रस्ताव जस्ताको तस्तै पारित भएमा उक्त प्रावधानले अदालती प्रक्रियामा रहेका, गम्भीर मानव अधिकार उल्लङ्घन र फौजदारी कसुरका मुद्दाहरू समेत फिर्ता लिन सक्ने प्रवल सम्भवना रहने आयोगले जनाएको छ ।

राजनीतिक प्रणालीसँग असहमत भई हिंसात्मक क्रियाकलापमा संलग्न भएको राजनैतिक शक्ति वा समूहलाई मूल धारमा ल्याउनु प्रसंशनीय काम भए तापनि मानव अधिकारको गम्भीर उल्लंघन गर्ने तथा मानवता विरुद्धको अपराधमा संलग्न घटनाका कुनै पनि दोषीलाई कुनै पनि बहानामा माफी दिने वा मुद्दा फिर्ता लिनु हुँदैन भन्नेमा स्पष्ट रहेको आयोगले जनाएको छ ।

हत्या, बलपूर्वक बेपत्ता, क्रूर अमानवीय यातना गम्भीर यौन हिंसा लगायतका घटनामा संक्रमणकालीन न्यायको माध्यमबाट समेत माफी दिन मिल्दैन भने फौजदारी न्याय प्रशासनको माध्यमबाट माफी दिनुलाई कुनै पनि सैद्धान्तिक आधारमा मानव अधिकारमैत्री मान्न नसकिने आयोगको ठहर छ । यसले नेपालको संविधानको धारा २१ को अपराध पीडितको हकलाई कुण्ठित गर्नुका साथै न्याय प्राप्ति जस्तो मानव अधिकारको आधारभूत मान्यतालाई समेत प्रभाव पार्ने भन्दै आयोगले राजनीतिक आवरणमा मुद्धा फिर्ता लिन खोजिनु चिन्ताजनक रहेको जनाएको छ ।

आयोगले देशमा विगत केही समय यता घटेका घटना र राजनीतिक परिदृश्यहरुले देशको मानव अधिकारको अवस्थामा कतै न कतै अवरोधहरु सिर्जना गर्ने स्थिति देखा पर्दै गएको ठहर गरेको छ । हालै मात्र नेपाल सरकारले फौजदारी कार्यविधि संहिता, २०७४ मा संशोधन गरी आपराधिक घटनाका दोषीलाई आममाफि दिन सकिने प्रावधान थप्ने प्रस्ताव गरेको भन्दै आयोगले यसबाट नेपालमा विगत १७ वर्षदेखि पर्खाइमा रहेको संक्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दाहरुसमेत प्रभावित हुनसक्ने प्रवल सम्भावना रहेको उल्लेख गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको सवाल राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय चर्चाको विषय बन्न पुगेको जनाउँदै आयोगले यस्ता गतिविधिका कारण नेपाली नागरिकलाई राष्ट्रियताविहीन बनाउने अमानवीय कार्य समेत हुन पुगेको जनाएको छ ।

नेपालस्थित विदेशी कूटनीतिक निकाय, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायका बाँकी काम छिटो टुंगोमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको भन्दै आयोगले यस विषयलाई महत्वकासाथ जानकारीमा राखेको जनाएको छ ।

अनुगमनबाट देशमा महिला हिंसा, जातीय विभेद तथा आपराधिक घटनाहरुमा बढोत्तरी भएको पाइएको भन्दै आयोगले समयमै न्याय निरुपण हुन नसकेको भन्दै दैनिक उजुरी र गुनासोहरु आउने क्रम जारी रहेको जनाएको छ ।

नक्कली शरणार्थी प्रकरणका दोषीलाई छुट दिन सकिन्न : गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई छुट दिन नसकिने स्पष्ट पारेका छन् ।

बुधबार सिंहदरबारमा नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिनको माग नेकपा एकीकृत समाजवादीले बुझाएको ज्ञापन पत्र बुझ्दै श्रेष्ठले राज्यकै तहमा बसेका नेताहरू र तलसम्म बसेकाहरूको सेटिङमा भएको संगठीत अपराधलाई कुनै हालतमा छुट दिन नसकिने स्पष्ट पारेका हुन् ।

उनले कुनै पनि प्रकरणलाई बिना पूर्वाग्रह निष्पक्ष अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएको जिकिर गरे । श्रेष्ठले शरणार्थी प्रकरणमा सबैतर्फबाट पाएको साथले सरकारलाई बल प्रदान गरेको भन्दै कुनै पनि दवाव वा अवान्छित प्रभावबाट सरकार प्रभावित हुने र यसलाई निष्कर्षमा पुराउन सरकार प्रतिवद्ध रहेको धारणा राखे ।

उनले भ्रष्टाचारको नियन्त्रण गरि सुशासनको बाटोमा जान नसके मुलुक समृद्धिको बाटोतर्फ जान नसक्ने जिकिर गरे । नेकपा एकीकृत समाजवादीले नक्कली शरणार्थी प्रकरणमा लगायतका सबै भ्रष्टाचारहरुमा संलग्नलाई कानूनी दायरामा ल्याई कडा भन्दा कडा सजाय दिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

सबै भ्रष्टाचार काण्डको छानबिन हुनुपर्छ : राप्रपा

राप्रपाले सबै भ्रष्टाचार काण्डको छानबिन गर्न माग गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणसहित सबै भ्रष्टाचार काण्डको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीविरुद्ध राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत किर्तेलगायतका कसुरमा कारबाही चलाउन राप्रपाको माग छ ।

बैठकले भ्रष्टाचार निर्मूल पार्न ललिता निवास जग्गा प्रकरण, माओवादी लडाकु शिविरको घोटाला, एनसेल प्रकरण, वाइडबडीलगायत सबै भ्रष्टाचारका काण्डमाथि छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।

बालकृष्ण खाँणलाई तत्काल पार्टीबाटै निलम्बन गर्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकृष्ण खाँणलाई पार्टीबाटै तत्काल निलम्बन गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने बताएका हुन् ।

महामन्त्री थापाले अनुसन्धानमा पार्टी जोडिनु नहुने बताउँदै दोषी ठहरिए सबैलाई कारबाही हुनुपर्ने बताए । महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको अपराध भएको उल्लेख गरे।

उनले कुनै पनि पदमा बसेको व्यक्ति अभियोग लागिसकेपछि स्वतः निलम्बनमा पर्ने बताए। उनले पार्टीको बैठकमा यसबारे छलफल भएपनि केही नेताहरूले पार्टीको परम्परा नरहेको भन्दै पन्छिन खोजेकाले त्यसलाई तोडेर भएपनि निलम्बन गर्न आवश्यक रहेको उल्लेख गरे।

कोशी प्रदेशका मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले आर्थिक वर्ष २०७८/७९ वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा प्रदेश प्रमुख खापुङले उक्त प्रतिवेदन ग्रहण गर्दै नेपालको संविधान एवम् प्रचलित ऐन कानुनले तोकेबमोजिम काम, कर्तव्यहरु कार्यालयले सफलतापूर्वक सम्पन्न भएको विश्वास लिएको बताए । उनले दरबन्दीअनुसार कर्मचारीको अभाव भए पनि मेहनतका साथ कार्य सम्पादन भएकामा खुसी व्यक्त गरे ।

मुख्य न्यायाधिवक्ता आचार्यले कार्यालयले कानुनबमोजिम कार्य सञ्चालन, प्रदेशउपर दायर मुद्दामा प्रतिरक्षा र सरकारलाई कानुनी परामर्श दिने काम गर्दै आएको जानकारी गराएका थिए ।

चोलेन्द्रको महाअभियोग प्रस्ताव निष्क्रिय भएको निर्णयविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको संसद् सचिवालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

जबराविरुद्ध परेको महाअभियोगको प्रस्ताव निस्क्रिय भएको संसद् सचिवालयका महासचिवको निर्णयविरुद्धको रिटको बुधबार ‘हेर्दाहेर्दै’मा राखिएको हो । अब अर्को यही जेठ ३१ का लागि तोकिएको छ । तर, यसअघि निवेदक तथा प्रत्यर्थी दुवैलाई बहसनोट पेस गर्न इजलासले आदेश दिएको छ ।

अघिल्लो प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै गत २० मंसिरमा जबराले आफूविरुद्ध दायर भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको र यसको सूचना उपलब्ध गराउन माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका थिए ।

सो निवेदनको माग सम्बोधन गर्दै महासचिव डा भरतराज गौतमले मंसिर २१ गते महाअभियोग निष्क्रिय भएको पत्र सर्वोच्च अदालत प्रशासनमा पठाएका थिए । तर, सोही दिन यसविरुद्ध सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले संयुक्त रूपमा पत्र असंवैधानिक भएको भन्दै रिट दायर गरेका थिए ।

भोलि संसदमा प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल र सांसदहरूबीच बिहीबार प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । बिहीबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने उल्लेख गरिएको छ ।

साथै सोही बैठकमा प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७८-०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यासूचीमा उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्डसँग अष्ट्रेलियाका सहायक विदेशमन्त्रीको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन् । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकास र समृद्धिमा अष्ट्रेलिया सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए । प्रधानमन्त्री दाहालले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था र समस्याका बारेमा चासो व्यक्त गरेका थिए । सो अवसरमा उनले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको प्रधानमन्त्रीको सचिवालले जनाएको छ ।

भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगको विकास र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोगका बारेमा छलफल भएको थियो । मन्त्री वाट्सले अष्ट्रेलियामा नेपालीले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको योगदानको प्रशंसा गरेका थिए । उनले नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलिया सरकार र जनताको सहयोग निरन्तर रहने विश्वास दिलाए ।

एमसीसी पारित भएपछि अमेरिकन सक्रियता बढ्यो : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालप्रति वैदेशिक चासोसहित हस्तक्षेप बढेको बताएका छन् ।

अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भए पछि अमेरिकन सक्रियता र चासो पनि थप बढेको नेता खनालले जनाएका छन् ।

आज बिहान काठमाडौँमा आयोजित ३० औं मदन–आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै एमसीसी पारित भए पछि अमेरिकन नेताहरु तारान्तर नेपाल आउन थालेको उनको दाबी छ।

‘एमसीसी पारित भए पछि अमेरिकन नेताहरु तारान्तार नेपाल आउन थालेका छन्, उनीहरु आउने बित्तिकै सुरुमा तिब्बतियनहरुलाई भेट्न पुग्छन र गृहमन्त्रीलाई भेटेर उनीहरुको परिचय पत्र बनाउन लगाउँछन्,’ उनले भने, ‘यो सब बिषयलाई गम्भिर रुपमा हेर्नुपर्छ, अमेरिकनहरुबाट खुल्लम खुल्ला रुपमा यस्तो वैदेशिक हस्तक्षेप यसअघि कहिल्यै भएको थिएन ।’

पछिल्लो समयमा राष्ट्र र राष्ट्रियतामाथि विदेशी चलखेल थप बढेको उल्लेख गर्दै नेता खनालले देशमा संकट पर्दा मदन भण्डारीलाई स्मरण गर्नुपर्ने जनाए । भण्डारीले वैदशिक हस्तक्षेपकाविरुद्ध डटेर सामना गर्नका लागि सदैव प्रेरणा दिने गरेको पनि खनालले स्मरण गरे।

नेकपा एमाले विभाजन गरेर अलग भए पछि खुलेरै मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)का विपक्षमा उभिँदै आएका खनालले वामपन्थी एकता कायमै राख्न सकेमा सात वटै प्रदेशमा कम्युनिष्टहरुको सरकार बन्ने भन्न छुटाएनन् । ‘बामपन्थीहरु बिच एकता कायम गर्ने हो भने सातै प्रदेशमा कम्युनिष्टहरुको सरकार बन्दछ, मदन भण्डारीले कम्युनिष्ट एकताका लागि सदैव त्याग गर्नु भएको थियो, उहाँबाट यो पाठ सिक्नु पर्छ,’ उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नक्कली भुटानी शरणार्थी काण्डलाई सही ढंगले टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । ‘यो काण्डलाई अपराध मात्र भनेर सीमित गर्नु हुँदैन, यो राष्ट्र घात र देशद्रोही कार्य हो, ’ खनालको भनाई छ । प्रहरी अनुसन्धानलाई सहयोग गर्नुपर्ने जनाउँदै खनालले त्यसमा राजनीतिक हस्तक्षेप हुन नहुने पनि बताएका छन् ।

सार्वजनिक यातायातको भाडा घट्यो

यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ ।

नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै उक्त विभागले पनि आज सार्वजनिक यातायातको भाडादर घटाएको हो ।

विभागले आज एक सूचना जारी गर्दै इन्धनको मूल्यका आधारमा स्वचालितरूपमा भाडा समायोजन गरिएको जनाएको छ । यात्रुवाहक सवारी साधनको भाडा तीन दशमलब २० प्रतिशतले घटाइएको उक्त सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा चार दशमलब १९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा चार दशमलब ६५ प्रतिशतले भाडा घटेको जनाइएको छ ।

मदन भण्डारी स्मृती दिवस : बल्खुमा एमालेको कार्यक्रम

नेकपा एमालेले तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा आज मदन नगर, बल्खुमा विशेष कार्यक्रम गरेको छ ।

सो कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायतका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूले मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेका छन्।

यसैबीच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छन् ।

मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन् ।

यसैगरी पूर्वराष्ट्रपति भण्डारीले तीनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षरोपणसमेत गरेकी छन् । उद्यानमा उनले स्वामीको बिरुवा रोपेकी हुन्। पूर्वराष्ट्रपति भण्डारीसँगै एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलले समेत स्वामीको बिरुवा रोपे ।

यसैगरी पूर्वराष्ट्रपति भण्डारीले महादेवस्थान नजिक रहेको मदन भण्डारी स्मृति सामुदायिक पुस्तकालयको समेत आज अवलोकन गरेकी छन् । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना परी तत्कालीन एमाले महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको निधन भएको थियो ।

एमाले र नेकपा (एकीकृत समाजवादी)ले आज विभिन्न कार्यक्रम गरी ३०औँ मदन–आश्रित स्मृति दिवस मनाउँदैछन् ।

‘लम्पी स्किन’ रोगबाट पशुचौपाया मर्न थाले

बैतडीमा लम्पी स्किन रोगबाट तीन सय बढी घरपालुवा पशु मरेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार उक्त रोगका कारण तीन सय २५ पशुचौपाया मरेका हुन् ।

समस्याका रूपमा फैलिएको लम्पी स्किन रोगका कारण गाईगोरु र भैँसी धमाधम मर्न थालेका छन् । जिल्लाभरि लम्पी स्किनका कारण तीन हजार बढी पशुचौपाया बिरामी परेका छन् । सबैभन्दा बढी मेलौली नगरपालिकामा लम्पी स्किनको प्रकोप फैलिएको बताइएको छ । मेलौलीमा लम्पी स्किनबाट एक हजार तीन सय ५० पशुचौपाया बिरामी परेका छन् भने २५ पशुचौपाया मरेका छन् । यस्तै दुई हजार चार सय पशुचौपाया प्रभावित भएका छन् । यस्तै जिल्लाको पाटन नगरपालिकामा तीन सय ५० पशुचौपाया बिरामी परेका छन् भने ११ पशुचौपाया मरेका छ सय पशुचौपाया प्रभावित भएका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

यस्तै पुर्चौंडी नगरपालिकामा सोही रोगबाट एक हजार पशुचौपाया बिरामी परेका छन् भने एक सय ९० पशुचौपाया मरेका छन् । पुर्चौंडीमा उक्त रोगबबाट एक हजार आठ सय पशुचौपाया प्रभावित भएका छन् । यस्तै सुर्नया गाउँपालिकामा दुई सय ७० पशुचौपाया बिरामी परेका छन् भने १२ मरेका छन् । एक हजार दुई सय ७५ पशुचौपाया प्रभावित भएका छन् ।

जिल्लाको शिवनाथ गाउँपालिकामा पाँच सय पशुचौपाया बिरामी परेका छन् भने ५० पशुचौपाया मरेका छन् । शिवनाथमा एक हजार दुई सय पशुचौपाया प्रभावित भएका छन् । यस्तै दोगडाकेदार गाउँपालिकामा ६८ पशुचौपाया बिरामी परेका छन् भने १४ पशुचौपाया मरेका छन् । दोगडाकेदारमा लम्पी स्किनबाट दुई सय ५० पशुचौपाया प्रभावित भएका छन् ।

यस्तै डिलाशैनी गाउँपालिकामा ५० पशुचौपाया बिरामी परेका छन् भने १३ पशुचौपाया मरेका छन् । सोही रोगबाट स्किनबाट दुई हजार दुई सय पशुचौपाया प्रभावित भएका छन् । यस्तै सिगास गाउँपालिकामा एक सय ७० पशुचौपाया बिरामी परेका छन् भने चार सय ५० पशुचौपाया प्रभावित भएका छन् । पञ्चेश्वर गाउँपालिकामा उक्त रोगका कारण तीन सय २५ पशुचौपाया बिरामी, पाँच मरेका र दुई हजार प्रभावित भएका छन् । दशरथचन्द नगरपालिकामा ४३ बिरामी, एक मरेका र तीन हजार पाँच सय प्रभावित भएका जनाइएको छ ।

लम्पीस्कीनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेका छन् । लम्पी स्किनबाट गाईगोरु बढी प्रभावित भएका छन् । रोग फैलिएकोबारे प्रदेश सरकारलाई जानकारी गराइसकेको केन्द्रले जनाएको छ ।

पशुचौपायामा ज्वरो आउने, सिगान तथा र्‍याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षण देखिने गरेका छन् । सो रोगको औषधि नभएका कारण रोगबाट प्रभावित पशुको उपचारमा समस्या भएको पशु प्राविधिकले बताएका छन् ।

बैतडीमा गत मङ्सिरमा पाटनमा केही पशुचौपायामा यसका लक्षण देखापरेको र परीक्षण गर्दा गत फागुनमा यो रोग भएको प्रमाणित भएको थियो । सुरुमा पाटनमा मात्रै देखापरेको यो रोग हाल जिल्लाका सबै स्थानीय तहमा फैलिएको छ ।

यो रोग झिङ्गा, मच्छर र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा सङ्सर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ । रोग नियन्त्रण गर्न किसानले भुसुना, कीरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ ।

सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँ घट्यो

सुनको मूल्य आज १ हजार १०० रुपैयाँले घटेको छ ।

जसअनुसार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन तितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छ ।

चाँदी प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पासाङ ल्यामुका श्रीमान् सोनामद्वारा सगरमाथा आरोहण

पहिलो नेपाली महिला सगरमाथा पर्वतारोही पासाङ ल्यामु शेर्पाका श्रीमान् सोनाम शेर्पाले सगरमाथाको चुचुरो छोएका छन् ।

यती समूहका अध्यक्ष समेत रहेका शेर्पाले आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको चुचुरो टेकेका हुन् । यसँगै उनले सातै महादेशका सबै उच्च हिमशिखरको सफलतापूर्वक आरोहण गरेका छन् ।

२०५० सालमा पत्नी पासाङसहित सगरमाथा आरोहणमा निस्केको भए पनि सोनाम त्यो बेला बेसक्याम्प–२ पुगेर फर्किएका थिए । तर, उनकी छोरी फुटी शेर्पाका अनुसार आमा पासाङ भन्दा अगाडी नै सोनामले धौवलागिरी र थामसेर्फु हिमाल चढिसकेका थिए ।

मुख्यतया: भूकम्प पछि ६३ वर्षीय सोनाम सबै महादेशको सर्वोच्च शिखर चुम्ने उद्देश्यसहित अघि बढेका थिए। आफ्नो टोलीसँग मंगलबार दिउँसो सगरमाथाको क्याम्प ४ मा पुगेका उनीहरु हिजो साँझ ८ बजे त्यहाँबाट चुचुरोतर्फ प्रस्थान गरेका थिए । आज बिहान ७ बजेर ३४ मिनेटमा उनीहरुले सगरमाथाको सफल आरोहण सम्पन्न गरेका हुन् ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ९ : ०२ बजे

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको

काभा भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल विजयी

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल

जम्मू कश्मीरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत, हार्‍यो भाजपा

एजेन्सी – भारतको जम्मू कश्मीरमा भएको विधानसभा चुनावमा संघ सरकारको

लेबनानमा विनाश दोहोरिनसक्ने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी – संयुक्त राष्ट्र मानवीय अधिकारीहरूले मङ्गलबार गाजामा भएजस्तै विनाशबाट

पशुपति गौशाला धर्मशाला महानगरपालिकाले सञ्चालन गर्ने

काठमाडौं – पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्नेगरी कार्यविधिको