सदाचार पालना गर्ने एक महिने गुँला पर्व आजदेखि सुरु | Khabarhub Khabarhub

सदाचार पालना गर्ने एक महिने गुँला पर्व आजदेखि सुरु


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानव जीवनलाई राम्रो गर्ने नियमलाई पालना गरेर मनाइने गुँला पर्व आजदेखि सुरु भएको छ । यो पर्व काठमाडौँ उपत्यकामा विशेषरुपमा मनाइन्छ ।

नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व आजदेखि विधिवत् रुपमा सुरु भएको हो ।

नेपाल संवत्अनुसार दशौँ महिनालाई गुँला भनिन्छ । गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउने राज गुरुजु मञ्जुश्रीबज्र बज्राचार्य बताउँछन् । यस पर्वका अवसरमा जुन नियमले जीवनलाई राम्रो गर्छ, त्यसलाई पालना गरिन्छ ।

‘यस पर्वका अवसरमा सक्नेले दशशील, नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले कम्तीमा पनि पञ्चशील पालना गर्नुपर्छ, पञ्चशील सबैले सधैँ पालना गर्नुपर्छ भन्ने नियम छ’, उनले भने ।

पञ्चशीलमा प्राणी हिंसा नगर्ने, कसैले नदिइ केही पनि नलिने, काम मिथ्याचार नगर्ने अर्थात् श्रीमान् र श्रीमतीबीच मात्र शारीरिक सम्पर्क गर्ने, झुटो कुरा नबोल्ने, लागुपदार्थ एवं मद्यपान नगर्ने पर्छन् ।

पञ्चशीलमा तीन शील थपेपछि अष्टशील हुन्छ । अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने र समयमै भोजन गर्ने यसलाई समेत थपेर अष्टशील भनिन्छ । यसमा दुई कुरा थपेपछि दशशील हुन्छ । आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्ने यतिसम्म नियम पालना गर्नुलाई दशशील भनिने पनि राज गुरुजु बज्राचार्यले जानकारी दिए ।

यो महिनामा क्षमताअनुसार भित्री मनदेखि दान दिने गरिन्छ । यो महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने गर्छ । राजधानी सहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजनको प्रत्येक वर्ष यो महिनामा भीड लाग्छ ।

वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदी अर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै हुन्छन् ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ७ चाबहिलका स्थानीय राजेन्द्र डङ्गोल धिमे बाजा, बाँसुरी, पछिमा (ढोलक जस्तै बाजा) बजाएर मन्दिर घुमी गुँला पर्व मनाउने गरिएको बताए । चाबहिलमा चन्द्रविनायक पर्खालभित्रबाट घुम्ने गरिन्छ ।

झरीले रोगव्याध लगायतको आक्रमण गर्ने भएकाले मन्दिर घुमी प्रार्थना गर्दा शरीर स्वस्थ हुने गरेको उनको अनुभव छ । यो पर्वका अवसरमा मनाइने केपु बाजाको पूजा आराधना गर्ने परम्परा भने पछिल्लो समय जनशक्ति अभावले लोप हुन थालेको छ ।

चाबहिल क्षेत्रमा घरघरमा गरिने यो परम्परालाई हाल यहाँको नाट्येश्वरमा बाजा पूजा गरी निरन्तरता दिइएको छ । चाबहिलबाट पनि विगत वर्षमा महिनाभरमा एक दिन भए पनि फुर्सद मिलाएर विभिन्न थरी बाजा बजाउँदै स्वयम्भू घुम्न जाने गरिन्छ ।

ठमेलमा शतसहस्रिका प्रदर्शन गरिने

गुँला पर्वका अवसरमा विभिन्न बौद्ध विहारमा दीपङ्कर बुद्ध एवं अन्य बुद्धका सामग्री प्रदर्शन गरिन्छ । यस अवसरमा विभिन्न बौद्ध विहारमा पञ्चरक्षा, प्रज्ञापारमिता पाठ गरिन्छ ।

ठमेलको भगवान् बहालमा नीलपत्रमा स्वर्ण अक्षरले लेखेको शतसहस्रिका अर्थात् एक लाख श्लोक रहेको प्रज्ञापारमिता ग्रन्थ इच्छुक दर्शनार्थीका लागि देखाइन्छ । गुरुजुबाट यसको पाठसमेत हुन्छ । यो महायान सम्प्रदायको ठूलो ग्रन्थ हो ।

भगवान् गौतम बुद्धले भारतको मध्यप्रदेशस्थित गृद्धकुट पर्वतको राजगृहमा गर्नुभएको प्रवचनमा आधारित भएर यो ग्रन्थ तयार पारिएको बौद्ध धर्मावलम्बीको भनाइ छ ।

बज्रयान सम्प्रदायको ग्रन्थ भने भगवान् गौतम बुद्धले भारतको महाराष्ट्रस्थित गुन्टुर जिल्लाको धान्यकरक पर्वतमा प्रवचन गरेका हुन् । यी दुवै स्थललाई हाल संरक्षित गरिएको छ ।

गुँला पर्वको अन्तिम दिन अर्थात् भाद्र शुक्ल प्रतिपदाका दिन विधिपूर्वक विशेष पूजा आराधना गरी एकमहिने व्रत समापन गरिन्छ । यो पर्व सकिएपछि नेवार समुदायले इयँला महिना पनि विशेषरुपमा मनाउँछन् ।

यो पर्वका अवसरमा महिनाभर बौद्ध चैत्य, विहार, गुम्बा, स्तुपलगायत धार्मिकस्थलमा बाजागाजासहित घुम्ने भक्तजनको भीड लाग्छ । यस अवसरमा काठमाडौँ उपत्यका विभिन्न थरी बाजाले गुञ्जायमान हुने गर्छ । जसको श्रवणबाट आनन्दानुभूति प्राप्त हुने यस समुदायका मानिसको अनुभव छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ८ : १८ बजे

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय