लागुऔषधविरुद्ध विद्यार्थीमा चेतना जगाउँदै प्रहरी | Khabarhub Khabarhub

लागुऔषधविरुद्ध विद्यार्थीमा चेतना जगाउँदै प्रहरी


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – लागुऔषधको ओसारपसार र सेवनकर्ता बढ्न थालेपछि यसको रोकथाम एवं न्यूनीकरणका लागि कैलालीसहितका जिल्लामा छात्र–छात्रामा चेतना अभिवृद्धिसम्बन्धी कार्यक्रम थालिएको छ ।

लागुऔषधको सेवनबाट अधिकांश किशोर–किशोरी प्रभावित हुन थालेपछि उनीहरूलाई लक्षित गरी चेतनामूलक कार्यक्रम थालिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता उज्ज्वल महर्जनले बताए ।

नेपाल प्रहरीले सञ्चालन गरेको ‘लागुऔषधविरुद्धको महाअभियान २०८०’ अन्तर्गत धनगढीको एसपिए, नास्टलगायतका कलेजमा छुट्टाछुट्टै आयोजित कार्यक्रममार्फत अध्ययनरत छात्र–छात्रालाई लागुऔषधविरुद्ध चेतना अभिवृद्धि गरिएको छ । यसका लागि प्रहरीले विद्यालय सञ्चालकसँगको समन्वयमा विद्यार्थीको छुट्टै कक्षामार्फत यस्तो चेतना अभिवृद्धिसम्बन्धी प्रशिक्षण दिन थालेको हो ।

“लागुऔषधविरुद्धको चेतनामूलक कार्यक्रम पहिलो चरणमा कलेजमा गरिहेका छौँ”, प्रवक्ता महर्जनले भने, “कलेजपछि दोस्रो चरणमा स्कुलमा सकाएर विस्तारै समुदाय वा टोल तहमा पनि यो कार्यक्रम सञ्चालन गर्दैछौँ ।” यो अभियान प्रदेश प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरीले आफ्नो जिम्मेवारी भएको क्षेत्रमा नियमितरूपमा सञ्चालन गरिरहेको छ ।

अभियानका क्रममा आगामी दिनमा मनोचिकित्सकमार्फत पनि प्रशिक्षणसम्बन्धी कक्षा सञ्चलनको प्रयास भइरहेको छ । यो अभियानअन्तर्गत चेतनामूलक कार्यक्रमबाहेक लागुऔषधको कारोबार र सेवनकर्ताको निगरानी बढाउने र नियन्त्रणमा लिने कामलाई पछिल्ला महिनामा प्रहरी कडारूपमा प्रस्तुत भइरहेको छ ।

प्रहरीको सक्रियतासँगै लागुऔषधमा संलग्न हुनेहरू विभिन्न ठाउँबाट लागुऔषधसहित धमाधम पक्राउ पर्न थालेका पनि छन् । समाजमा हुने गरेका अधिकांश आपराधिक घटनामा लागुऔषध सेवनकर्ताको कुनै न कुनै रूपले संलग्नता देखिँदा सुरक्षा चुनौती पनि थपिएको प्रहरीको भनाइ छ ।

“बढी सङ्ख्यामा १६ देखि २२ वर्ष उमेर समूहका युवायुवती यस्तो कुलतमा फस्ने गरेको पाइएको छ”, प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले भने, “चोरी, लुटपाट, झै–झगडाजस्ता घटना र कतिपय हत्या घटनामा समेत लागुऔषध सेवनकर्ताको संलग्नता रहने गर्दा सुरक्षा चुनौती थपिएको छ ।”

नेपाल–भारतबीचको खुला सिमानाको फाइदा उठाउँदै यसको ओसारपसार गर्न सहज भइरहेको बताइन्छ । अभिभावकको उचित संरक्षण एवं रेखदेख नपाएकै कारण कतिपय युवायुवती आफ्ना साथीभाइको लहैलहमा लागेर लागुऔषधको कुलतमा फसिरहेको देखिन्छ । घरपरिवारको बिग्रेको आन्तरिक वातावरण, सञ्चार प्रविधिको दुरुपयोगले पनि धेरै व्यक्ति दुव्र्यसनीको सिकार भइरहेको पाइन्छ ।

कतिपय परिवारका अभिभावकले आफ्ना छोराछोरीसँग गर्ने गलत बानी व्यवहारका कारण पनि लागुऔषधको समस्या बढेको देखिन्छ । युवायुवती लागुऔषध दुर्व्यसनको सिकार भइरहँदा पनि सम्बन्धित अभिभावक भने बेखबरजस्तै देखिँदा यो समस्या रोकथाम जटिल बन्दै गएको प्रहरीको भनाइ छ ।

प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले बर्सेनि लागुऔषध मुद्दा दर्ता हुने सङ्ख्या बढ्दै गएको देखाएको छ । आर्थिक वर्ष २०७६÷७७ मा लागुऔषधका एक सय ७१ मुद्दा दर्ता भएकामा आव २०७७÷७८ सम्म आइपुग्दा यो सङ्ख्या बढेर दुई सय ५३ पुगेको थियो । यस्तै आव २०७८÷७९ मा तीन सय ५३ मुद्दा दर्ता भएकामा गत आव २०७९÷८० मा यो सङ्ख्या बढेर पाँच सय ३७ पुगको छ । दर्ता भएका मुद्दामा १६ देखि २० वर्ष उमेर समूहका युवायुवती बढी छन् ।

“यो उमेर समूहका युवायुवतीको दिनचर्याको निरन्तर निगरानी गर्न अभिभावक, प्रहरी निकाय, शिक्षक सबैले गम्भीर हुनुपर्ने देखिएको छ”, प्रहरी उपरीक्षक चौधरीले भने, “यसबाहेक लागुऔषधको उत्पादन हुने स्थल, सञ्चित गर्ने ठाउँ, आपूर्ति गरिने क्षेत्रलाई ‘डिस्ट्रोइ’ गर्न अति आवश्यक छ ।” दुर्व्यसनीको कुलतमा लागेकाले समूहगतरूपमा वा एक्लाएक्लै भए पनि एकान्त ठाउँको खोजी गरी गाँजा, चरेस, ब्राउनसुगर, ट्याबलेटजस्ता कडा खालको लागुऔषध सेवन गरेको जनाइएको छ ।

यस्ता लागुऔषधले धित नमर्ने अवस्था भएमा कुलतमा फसेका कतिपय युवाले सुईको माध्यमबाट टिटी जेसिक, नर्फिन, फेनारगनजस्ता कडा खालको लागुऔषध प्रयोग गर्ने गरेको पाइन्छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ९ : १० बजे

निजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुन्छ : मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्र

एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि

काठमाडौं – चाइनिज ताइपेईलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स

‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता

ललितपुर – फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपालका आशीर्वादराज

अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको

गम्बोरोले पाँच हजार बढी कुखुरा मरे

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच