बालबालिकासँग राष्ट्रपति पौडेलको भलाकुसारी- सानोमा घोडचढी र पौडी खेल्थेँ, अहिलेसम्म स्वस्थ छु | Khabarhub Khabarhub

बालबालिकासँग राष्ट्रपति पौडेलको भलाकुसारी- सानोमा घोडचढी र पौडी खेल्थेँ, अहिलेसम्म स्वस्थ छु


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले घोडचडी र पौडी खेल्नु आफ्नो बाल्यकालको सोख रहेको बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपतिसँग बालबालिका विषयक शीतल निवासमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले आफ्नो बाल्यकालको अनुभव सुनाउँदै त्यस्तो बताएका हुन् ।

उनले पौडी र घोडचडीले मान्छेलाई स्वस्थ बनाउन सहयोग पुग्ने बताए । “पौडी र घोडचढीले मलाई अहिलेसम्म स्वस्थ रहन सहयोग पुर्‍याएको छ”, राष्ट्रपति पौडेलले भने, ‘अहिले त स्वीमिङ पुल छन् त्यसैमा पौडी खेल्छन् । हाम्रा पालामा त सानो पोखरी, आहाल र खोलामा पौडी खेल्न पर्दथ्यो । म पनि खोला र सानो पोखरी देख्यो कि हाम फालिहाल्ने गर्दथेँ ।”

उनले आफूहरूको पालामा बालबालिकाहरू नितान्त प्रकृतिसँग भिजेर हुर्किएको बताए । बालबालिकाको जीवन सबैभन्दा निर्धक्कको र चिन्तारहित अर्थात ‘शोक न सुर्ता भोक न भकारी’ को रहने गरेको उनले स्मरण गरे । राष्ट्रपति पौडेलले महाकवि देवकोटाको कविता स्मरण गर्दै आफू फेरि बालक बन्ने चाहना व्यक्त गरे ।

उनले अहिलेको बालबालिकाभन्दा आफ्नो पालाका बालबालिकाको जीवन फरक रहेको स्मरण गर्दै त्यसबेला धानको कुनियो, बिटा र भकारीमा लुकामारी खेलेको, गाईवस्तु चराउने गरेको, भातपकाइ खेल्ने गरेकाले हिलोमैलो र धुलोमा खेल्दै प्राकृतिक तवरले बिताएको बताए ।

“हाम्रो पालामा शिक्षाको प्रचार अलि ढिलो भयो, अहिले जस्तो विद्यालय भवन, कुर्ची बेञ्च थिएन, हजुरबाले घरमा राख्नुभएको गुरुबाट शिक्षा प्राप्त गरेँ, घरनजिकैको वरपिपलको चौतारीका ढुङ्गाका छपनीमा बसेर पढियो, सानो काठको पाटीमा रातोमाटोको धुलो राखेर खरको डाँठले लेखेर कखरा अक्षर चिनेको हो”, उनले बाल्यकाल सम्झँदै भने ।

राष्ट्रपति पौडेलले हिजोको भन्दा आजको रहनसहन र जीवनस्तर बदलिएकाले अहिलेका बालबालिकाको कुरा सुन्दा परिपक्व र विचारमा सचेत रहने गरेको पाएको बताए । तर पनि अहिलेको आधुनिक समयमा बालबालिकाका लागि शिक्षा र सुविधा अझै पर्याप्त र गुणस्तरीय हुन नसकेको भन्दै उनले उनीहरूको सर्वाङ्गीण विकासका लागि सरकारले अझै धेरै काम गर्न आवश्यक रहेको उल्लेख गरे । उनले बालबालिकाको आधारभूत आवश्यकतासहित समग्र नेतृत्व विकासको विषयलाई नारामा सीमित नराखी सरकारले व्यवहारमै देखिने गरी काम गर्न सुझाव दिए ।

मन्त्री सुरेन्द्रराज आचार्यले बालबालिका भनेका भविष्यका कर्णधार हुन् भन्ने कुरा ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने यस वर्षको बाल दिवसको नाराले नै पुष्टि गरेको भन्दै उनीहरूले उठाएका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । मन्त्रालयका सचिव सुमनराज अर्यालले सामाजिक, आर्थिकलगायतका विविध समस्या रहे पनि बालबालिकाको संविधानप्रदत्त हक अधिकार व्यवहारमा कार्यान्वयन गर्न सरकारले काम गर्दै आएको बताए ।

बालबालिकाका तर्फबाट बोल्दै कीर्तिपुरकी प्रेक्षा अधिकारीले बालबालिकामा लगानी भनेको मानव विकासको लागि हो र यसले जीवनभर सन्तोष दिन्छ भन्दै समृद्ध नेपाल तब हुन्छ जब बालबालिकाप्रति सचेत र सजग हुने उल्लेख गरिन् । उनले असीको दशकलाई बालबालिकामा लगानी दशक घोषणा गर्दै कार्यान्वयनमा ल्याउन माग गरिन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ६ : ५० बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र