राज्यले भर गरेका हनुमान साहु  | Khabarhub Khabarhub

राज्यले भर गरेका हनुमान साहु 



३८ वर्षका हनुमान साहुले एक्कासि स्वेच्छिक देहत्यागको घोषणा गरे । उनले परिवारका सबै सदस्यलाई बोलाएर आफ्नो अन्त्येष्टिको विधिविधानसाथ तारतम्य मिलाउन उर्दी लगाए । हट्टाकट्टा परिवारका अभिभावकले अन्त्यको भविष्यवाणी गरेपछि परिवारमा हलचल मच्चियो । तत्काल चिकित्सक बोलाइयो । चिकित्सकले आवश्यक परीक्षण गरे । अहँ, कतै स्वास्थ्य समस्या देखिएन । बरु उनीहरूले ‘आत्तिएर’ यस्तो समस्या देखिएको निर्क्योल सुनाए । हनुमान साहु अन्तिम इच्छामा डगमगाएनन् । उनकै करबलमा आर्यघाट लगियो ।

यो खबर त्यसबेलाका शासक राणाको कानमा पर्‍यो । राज्यले भर गरेका उद्यमी भएकाले तत्काल राणाका ठूलाबडा आर्यघाट पुगे । राणाहरूले उल्टै थप उपचार गर्ने ढाडस दिन थाले । यी तमाम दृश्यबाट आजित हनुमान साहुले कालोपाटी मगाएर लेखे– ‘मेरो अन्त्येष्टिका सम्पूर्ण प्रक्रिया पूरा गर्नू, नत्र म श्राप दिन्छु ।’ सत्यमा अडिग हनुमान साहुको चेतावनीपछि उनकै इच्छामा पण्डित बोलाएर दान, दातव्य मिलाइयो । धार्मिक प्रक्रिया समाप्त भएलगत्तै नमस्कार गर्दै ‘आज म यस संसारबाट बिदा लिन्छु’ भनी सधैँका लागि आँखा बन्द गरे ।

आजभन्दा आठ दशकअघिको हनुमान साहुको जीवन कथा त्यसयताको चौथो पुस्ताको मुखारविन्द छ । उनी मारवाडी समुदायका हुन् । यद्यपि समाजले दिएको स्वीकृतिसँगै देशकै विशिष्ट अनि भरलाग्दा साहु बने । उद्यमी भएपनि राजश्व र देवश्वप्रति समर्पित धर्म हनुमान साहुको यश कीर्तिमानी बन्यो । यतिबेला नाति-पनाति पुस्ताले व्यापार धानिरहँदा उनीहरु ‘हनुमान साहु’कै सम्बोधनबाट आफ्नो भविष्यको लक्ष्मण रेखा कोरिरहेका छन् ।

आफ्ना जिजुबाजेको नाम कोसेढुंगा सरह स्थापित भएकोमा गौरव मानेका ती सन्तति भन्छन्– ‘हामी अत्यन्त गौरवान्वित छौँ । आखिर उहाँकै सृष्टिबाट हामीले पाएको प्रसाद त हो । हाम्रो त यसमा कुनै लगानी छैन । बाजे, जिजुबाजे नै हाम्रो परिवारको मियो हो । धन त धेरैले कमाएका छन्, तर त्यो सामाजिक प्रतिष्ठा मित्तल परिवारको खास पूँजी हो ।’

काठमाडौँको नेवार समुदायको घनाबस्ती रहेको असनको वटुमा अहिले पनि हनुमान साहुको पसल छ । हनुमान साहुका चार छोरा दिवंगत भइसकेका छन् । कतै नाति त कतै पनाति पुस्ताले व्यापार सम्हालिरहेका छन् । हनुमान साहुका साइँला सन्तान उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष रहेका बनवारीलाल मित्तलको समेत आठ वर्षअघि यस संसारबाट चोला उठेपछि अब त्यो विरासत नाति, पनातिको हातमा पुगेको हो ।

बनवारीलाल मारवाडी समुदायका ती अनुपम पात्र हुन्, जसले उद्योग व्यवसाय छोडेर निर्माण व्यवसाय, हाइड्रोपावर र हवाई उडान क्षेत्रमा आफ्नो लगानी विस्तार गरेका थिए । उनले स्थापना गरेको मित्तल कन्स्ट्रक्सन प्रालिले २०१३ सालदेखि नेपालमा सडक, नहरलगायतका पूर्वाधार निर्माण थालेको थियो । जिरी–लामोसाँघु, बालाजु–त्रिशूली, सुर्खेत–कोहलपुर सडक निर्माण यसै कम्पनीले गरेको थियो । रसुवाको धुन्चेदेखी स्यापु्रmबेँसी जाने सडक, कुलेखानी दोस्रो, पश्चिम गण्डक नहर, देवीघाट हाइड्रोपावर, भैरहवा–लुम्बिनी ग्राउन्डवाटर, बाग्मती सिँचाई आयोजना सम्पन्न गरेको थियो । हेलिकोप्टर सेवाबाट सुरु श्री एयरलाइन्सका जेट इन्जिनका जहाज हवाई सेवाका सारथी बनेका छन् । बनवारीलालका सन्तान सुधीर मित्तलले बाउको विरासत धानेका छन् ।

हनुमान साहुका बाउ, बराजु झण्डै दुईसय वर्षअघि राजस्थानबाट व्यापारको सिलसिलामा नेपाल आएका थिए । हनुमान प्रसादले चलाएको कपडा पसलमा अहिले पनि मानिसको भीड लाग्छ । मानिसको घुइँचो लाग्ने अरुका सडक गल्लीका पसलमा चरोमुसो देखिँदैन तर गल्लीभित्रको अनकन्टारको दुई-तीन तलामाथिको पसल खचाखच हुन्छ । त्यस ठाउँमा सामान्यभन्दा सामान्य मानिस हनुमान साहुको पसलसँग परिचित छन् ।

कपडा पसल चलाइरहेका महेश मित्तल आफूलाई सबैले हनुमान साहु भनेर सम्बोधन गर्ने गरेको बताउँछन् । उनी भन्छन्– ‘मेरो नामले त परिवारका सदस्यले मात्र चिन्छन् । मलाई त यसैमा अभूतपूर्व गौरव छ ।’ अर्का नाति पवन मित्तलले सिमेन्ट उद्योगमा लगानी गरेका छन् । त्यसबाहेक समाजसेवामा मित्तल परिवारको गौरवपूर्ण उपस्थिति रहेको छ । अर्का नाति शिव मित्तलले केही वर्षअघि यस धर्तीबाट बिदा लिए ।

हनुमान साहुले आर्जेको व्यावसायिक सफलता अहिलेको निजीक्षेत्रकै लागि मिथक बनेको छ । साँच्चै भन्ने हो भने सरकारी नजरमा निजीक्षेत्र भनेकै हनुमान साहु थिए । हनुमान साहु राजश्व, देवश्वप्रति सजग थिए । एकपटक नून हाहाकार भयो । राज्यको संयन्त्रले काम गर्न सकेन । त्यतिबेला तिनै हनुमान साहुले देशभरिकै नूनको व्यापार हातमा लिएर आफ्नो अलौकिक क्षमता प्रमाणित गरे । यसैगरी कति समय त आयल निगमले गर्दै आएको पेट्रोलियमको काम पनि उनले सकुशल धानेका थिए ।

राज्य हितलाई पहिलो प्राथमिकतामा राखेर मात्र हनुमान साहु फाइदाको कल्पना गर्थे । कमाएको पैसा धार्मिक र सामाजिक काममा मन खोलेर खर्चिन्थे । हनुमान साहुको ख्याती बढ्नु पछाडिको रहस्य उनको इमान नै हो । पैसा हुने, नहुने जोसुकैको व्यवहार टार्नुलाई नित्य कर्मपथ बनाए । हनुमान साहुको पसलमा हिङदेखि हर्दीसम्मको व्यापार हुन्थ्यो ।

पाल्पादेखि पूर्व चार नम्बरसम्मका ग्राहक हप्तौँ हिँडेर हनुमान साहुको पसलमा आइपुग्थे । जसरी हनुमान साहुको चौथो पुस्ताले व्यापार धानिरहेको छ, त्यसैगरी ग्राहकको पनि चौथो पुस्ता त्यहाँ धाउन छाडेको छैन । पुस्तौनी व्यापारको साझेदारी साइनो अहिलेसम्म कायमै छ । हजुरबाले दिएको विश्वासको त्यो प्रसादलाई आफूहरूले आत्मसात गरेको नातिहरू बताउँछन् । मानिसको गर्जो टारिदिने धर्म नछोडेको उनीहरूको भनाइ छ ।

हनुमान साहुका सन्तति मारवाडी समुदायका हुन्  । असनसँगको साइनो यसरी गढ्यो कि उनीहरूको सन्तानको तोतेबोलीमै नेपाल भाषा लवज आयो । मानिसको संस्कार, संस्कृति जातले नभएर परिवेशले निर्धारण गर्छ भनेर यसबाट पुष्टि हुन्छ । हुन पनि हो– हनुमान साहुको पालादेखि नै मित्तल परिवारमा आफ्नोभन्दा नेवारी समुदायको चाडपर्व, संस्कार, संस्कृतिसँग सम्मोहन बढेको थियो ।

हनुमान साहु व्यापारी मात्र थिएनन् । सेवा, सेवा अनि फेरि सेवा उनको धर्म थियो । दीनदुःखीलाई दान दिनु दैनिकी थियो । भोकोपेट भएकालाई अन्नदानमा रमाउँथे । आँखा, कान र मस्तिष्क हरहमेसा खुला राख्नुपर्छ भन्ने सन्देश प्रवाह गर्थे । न्यास, ध्यान, पूजाआजा नगरी उनको दैनिकी सुरु हुँदैनथ्यो । प्रज्ञा र चेतनाका उच्च सत्पात्र हनुमान साहुको सल्लाहबिना राणा सरकारले जनहितका कुनै निर्णय लिँदैनथ्यो । यस मानेमा उनी समाजका मियो थिए ।

सिद्धि प्राप्त हनुमान साहु प्राप्ति र आकांक्षाको भोकबाट निरपेक्ष रहे । सिद्धि कतिसम्म प्रभावशाली थियो भने १९९० सालको महाभूकम्पमा घर सबै भत्किँदा पनि उनी बसेको तला सुरक्षित रह्यो । आफूले आस्था र विश्वास राख्ने भगवानको फोटो बोकेर भूकम्प जाँदा साधनामा जुटेका हनुमान साहुको त्यही प्रतापले परिवार जोगिएको विश्लेषण उनका सन्ततिको छ । त्यो फोटोलाई नाति पुस्ताले अगाध श्रद्धासाथ अहिले पनि सुरक्षित राखेको छ ।

हनुमान साहुले आर्जेको ख्याति जोगाउने पहिलो जिम्मेवारी त परिवारकै हो । उनीहरूले यो दायित्वलाई चुनौती र अवसर दुवै रुपमा स्वीकारेका छन् । अझ रोचक त के छ भने हनुमान साहुको वटुमा रहेको कपडा पसल पुगेर जो कसैले जन्डिसको औषधि माग्यो भने निःशुल्क पाउँछ । दशकौँदेखि यो क्रम चलिरहेको छ । भारतबाट ल्याइने जडिबुटीयुक्त त्यो औषधि किन बाँडिएको भन्ने उत्तर परिवारका सदस्यसँग पनि छैन । तर देवतुल्य पितृ हनुमान साहु रिसाउनु होला भन्ने त्रासले पनि परिवारका सदस्यले चलेको चलनलाई निरन्तरता दिइरहेका छन् ।

 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ६ : १५ बजे

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्छु : मन्त्री गुरुङ

गण्डकी – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा

त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित (फोटोफिचर )

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना

पाकिस्तानमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

वाशुक – बलुचिस्तानको वाशुकमा एक ट्रेलर र गाडीबीचको टक्कर हुँदा

महिला कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा

मोरङ – नेपाल बार एसोसिएसन कानुन व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय

९६ गड्डीको बहस : भाउजूको कथा कसले लेख्‍ने ?

काठमाडौं– भ्रष्टाचारकै कारण नेपालको विकास पछाडि परेको हो भन्ने विषयमा