गलकोटका किसानको उत्पादन बिक्री नभए सहकारीले किन्ने | Khabarhub Khabarhub

गलकोटका किसानको उत्पादन बिक्री नभए सहकारीले किन्ने


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

गलकोट- बागलुङको गलकोट नगरपालिका–११ रिघाकी आशा श्रीषले व्यवसायिक तरकारी खेती गर्दै आएको वर्षौं भयो । गाउँमा उत्पादन गरेको तरकारी बजारीकरणमा निकै समस्या थियो । दैनिक गाडीमा तरकारी बजार पठाउँदा भाडा पनि उठाउन समस्या थियो ।

उत्पादनले उचित मूल्य पाउन गाह्रो थियो । अब आशाजस्ता सयौँ किसानले उत्पादन गर्ने तरकारी तथा फलफूलले मूल्य पाउने भएको छ । नगरपालिका र गौमुखी कृषि विकास सहकारीको सहकार्यमा हटिया बजारमा हाटबजार तथा तरकारी सङ्कलन केन्द्र सञ्चालनमा आएको छ । गलकोट क्षेत्रका अधिकांश नागरिक कृषि क्षेत्रमा आबद्ध भए पनि अहिलेसम्म हाटबजार सञ्चालन भएको थिएन ।

यही असोज २८ गते हाटबजार तथा तरकारी सङ्कलन केन्द्र स्थापना भएपछि कृषक हर्षित भएका छन् । एउटै गाउँमा दर्जनौँ कृषकले व्यावसायिक तरकारी खेती गर्दै आए पनि बजार र उचित मूल्य नपाउँदा समस्या भोग्दै आएको उनले बताइन् । गाउँमा रासायनिक मल प्रयोग नगरी जैविक तरकारी र फलफूल उत्पादन गर्दै आएको उनको भनाइ छ । अब बजार तथा ग्रामीण क्षेत्रको उत्पादनले सहज रुपमा बजार पाउने श्रीषले विश्वास व्यक्त गरिन् । उनले आफूले मौसमी र बेमौसमी तरकारी उत्पादन गरिरहेको भन्दै बजार नपाउँदा कुहिएर नष्ट हुँदा लाखौँ रुपैयाँ नोक्सानी भोग्नुपरेको स्मरण गरिन् ।

“नगरपालिका र सहकारीले हाम्रो लागि ठूलो काम गरेको छ, धेरै किसान बजार नपाए विचलित हुनुभएको थियो, कयौँ कृषि पेसा छाडेर विदेश पनि जानु भयो, अहिले गर्दै आउनुभएका कुनै पनि किसानले आफ्नो पेसा छाड्न पर्दैन कि भन्ने आशा गरेका छौँ”, श्रीषले भनिन्, “हाम्रो मुख्य समस्या बजार र मूल्यको थियो, गाउँमा धेरै बिक्री गर्न सकिँदैन, बजारमै ल्याउनुपर्छ, बजारमा ल्याउँदा गाडीको भाडा नै नउठ्ने डर हुन्थ्यो, अब सहज हुने भयो ।” गलकोट–१ का कृषक रवीन्द्रबहादुर बुढाथोकी अब आफूजस्ता किसान ठगिन नपर्ने बताए ।

नगरपालिका र गौमुखी सहकारीले तरकारी तथा फलफूल बिक्रीका लागि मूल्य सूची बनाएको हुँदा उपभोक्ता तथा किसान कोही पनि ठगिन नपर्ने उनी बताउँछन् । गलकोट क्षेत्रमा लामो समयदेखि कृषि गर्दै आएका किसानले अब राज्य भएको अनुभूति गर्न पाउने बुढाथोकीको भनाइ छ । उनले भने, “अब कृषकले जति उत्पादन गरे पनि खेर नजाने भो, बिक्री हुँदैन कि भनेर चिन्ता गर्ने दिन गए, हामीले जति उत्पादन गरे पनि हाटबजारमा ल्याएर बेच्ने छौँ, बजार–बजारमा पनि गएर बिक्री गर्न पाइने छ, बिक्री नभएको तरकारी र फलफूल सहकारीले राख्ने र त्यसको मूल्य हामीहरुलाई उपलब्ध गराउने छ, अब हामीहरु उत्साहका साथ उत्पादनमा लाग्ने छौँ, पहिले नै यो काम भएको भए धेरै मान्छेहरु व्यावसायिक तरकारी खेतीमा लाग्ने थियौँ ।”

गौमुखी कृषि विकास सहकारी संस्थाका अध्यक्ष शिवकुमारी खत्रीले आफूहरुले विसं २०६४ देखि थालेको प्रयास अहिले सफल भएको बताइन् । सहकारीमार्फत किसानको समस्या समाधान गर्न, उनीहरुलाई प्रविधिसँग जोड्न र आयआर्जनलाई बलियो बनाउनका लागि लामो समयदेखि काम गर्दै आएको अध्यक्ष खत्रीको भनाइ छ । अघिल्लो वर्षदेखि नगरपालिकासँग सहकार्यमा जग्गा व्यवस्थापन गरी हाटबजार र सङ्कलन केन्द्र निर्माणपछि सञ्चालन सुरु गरिएको उनको भनाइ छ । हाटबजार हप्तामा एक दिन सञ्चालन गर्ने र बिक्री नभए किसानको तरकारी तथा फलफूल प्रत्येक दिन आफूहरुले राखिदिने उनले बताइन् । किसानको बिक्री नभएका वस्तु प्रशोधन गरी विभिन्न परिकार बनाउने अध्यक्ष खत्रीको भनाइ छ । प्रशोधनका लागि मेसिनसमेत खरिद गरिसकेको उनले बताइन् ।

“अब किसानका कुनै पनि उत्पादन नोक्सान हुने छैनन्, उहाँहरुले बेच्न सकेको बेच्नुहुन्छ, नसकेको हामीले राखेर उहाँहरुलाई रकम दिन्छौँ, उहाँहरुले बेच्ने मूल्यभन्दा प्रतिकिलो रु पाँच बढी रकम उपलब्ध गराउँछौँ”, अध्यक्ष खत्रीले भनिन्, “कृषि गर्दै आएका कृषकहरु ठगिएको अवस्था थियो, जसले धेरै दुःख गरेर उत्पादन गर्छ, त्यसले उचित मूल्य पाएको थिएन, उपभोक्ताले पनि महङ्गोमा उपयोग गर्नु पर्थ्यो, उहाँहरुले जति उत्पादन गर्नुहुन्छ, बिक्री भएन भनेर चिन्ता गर्नु पर्दैन, हामीहरुले उहाँको उत्पादन राख्छौँ, अब कृषकहरु उत्पादनमा लाग्नुपर्छ ।”

नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले किसानलाई व्यावसायिक बनाउनका लागि हाटबजार सञ्चालनमा ल्याइएका बताए । यहाँका हरेक घरमा फलफूल तथा तरकारी उत्पादन हुने र बिक्री नहुँदा यतिकै खेर गइरहेको हुँदा नगरपालिकाभित्रका सबै नागरिकको आयआर्जनमा टेवा पु¥याउनका लागि नगरपालिकाले रु १० लाख विनियोजन गरी सहकारीसँग सहकार्यमा हाटबजार तथा तरकारी सङ्कलन केन्द्र सञ्चालन गरेको उनको भनाइ छ । हाटबजार सञ्चालनसँगै नगरपालिकाले किसानलाई उन्नत जातका बीउबिजन वितरण, आवश्यक अनुदान, तालिम तथा पराशर्म र प्राविधिक सहयोग गर्दै आएको प्रवक्ता भण्डारी बताउँछन् ।

हरेक किसानको तरकारीमा नगरपालिकाले प्रतिकिलो र तीन थप गरिदिने उनको भनाइ छ । हाटबजार र तरकारी सङ्कलन केन्द्रमा ११ कक्ष निर्माण गरिएको छ । यी कक्षमा पालिकाका ११ वटै वडाका किसानले उत्पादन गरेका वस्तु बिक्रीका लागि राखिने भण्डारीले बताए । अब गाउँ–गाउँबाट सबै किसान बजारमा आउनु नपर्ने उनी बताउँछन् । गाउँमा उत्पादन भएको वस्तुलाई सङ्कलन गरी एक जना कर्मचारीमार्फत हाटबजारमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाएको भण्डारीको भनाइ छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  २ : ४४ बजे

वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने जापानको लक्ष्य

टोकियो – जापान सरकारले ऊर्जा र खाद्य क्षेत्रहरूमा आपूर्ति शृङ्खलाहरू

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

पर्साको पोखरियामा मालपोत कार्यालय स्थापना गर्ने निर्णय

पर्सा– पर्साको पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना हुने

विपन्न परिवारलाई चुलो वितरण

चितवन– चितवनको सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले

चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्छ : अध्यक्ष नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इसाई धर्मावलम्बीको महत्त्वपूर्ण