मिथिला क्षेत्रमा छठको रौनक, आज ‘नहाय–खाय’ « Khabarhub

मिथिला क्षेत्रमा छठको रौनक, आज ‘नहाय–खाय’


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मिथिला क्षेत्रमा छठ पर्वको रौनक सुरु भएको छ । सूर्यको उपासना गरी मनाइने यस वर्ष अन्तर्गत व्रतालुले आज ‘नहाय–खाय’ विधि गर्दैछन् ।

कात्तिक शुक्ल तृतीयाकै दिन (बिहीबार) व्रतालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ विधि गरेका छन् । निरामिष (सात्विक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थाल्ने परम्परा छ ।

मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जिरहेका छन् । छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिँगारिएका छन् । 

पर्वमा महिला–पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरका मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको पाइन्छ । 

आज कात्तिक शुक्ल चौथीका दिन व्रतालुलेपवित्र स्नान गरी व्रत सङ्कल्पका साथ चोखोनीतो खानेछन् । यो विधिलाई ‘नहाय–खाय’ भनिन्छ ।

श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने छठमा पूजा प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सखर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्ठान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी परिकार पकाउन चुल्हो पनि नयाँ प्रयोग गरिन्छ ।

पर्वमा सूर्यलाई अर्घ्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् ।

हिजो कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ र आज (चौथी तिथि) ‘नहाय–खाय’ विधि गर्ने व्रतालुले भोलि निराहार व्रत बसी राति सखरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरूप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।

व्रतालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर अस्ताउँदो सूर्यलाई अर्घ्य  दिएर प्रसाद राखिएको डाली हातमा उठाइ सूर्यलाई देखाइन्छ । यो व्रत आइतबार सम्पन्न गरिने छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । 

यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अर्घ्य  दिएर देखाइएपछि छठ सम्पन्न हुने परम्परा छ । यसपालि छठको समापन सोमबार बिहान सूर्योदयसँगै गरिने छ ।

मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडी अघिदेखि पानीमा चोबलिएर व्रतालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् । 

सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका विभिन्न साधनको व्यवस्था गरिन्छ । पछिल्लो समय छठ सबै नेपालीको साझा पर्व बन्दै गएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ७ : ०७ बजे

व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

गण्डकी– सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको शुक्रबारदेखि पोखरामा सुरु भएको

झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बीमामा आवद्ध

झापा– झापा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुने नागरिकको सङ्ख्या

विपत्तिमा परेर ज्यान गुमाएकाको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ

चितवन– गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक विपत्ति, दुर्घटना तथा

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग

कास्की– कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ

ऊर्जामन्त्रीबाट विभिन्न आयोजनाको अनुगमन

गण्डकी– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार कास्कीको रूपाताल