मिथिला क्षेत्रमा छठको रौनक, आज ‘नहाय–खाय’ | Khabarhub Khabarhub

मिथिला क्षेत्रमा छठको रौनक, आज ‘नहाय–खाय’


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मिथिला क्षेत्रमा छठ पर्वको रौनक सुरु भएको छ । सूर्यको उपासना गरी मनाइने यस वर्ष अन्तर्गत व्रतालुले आज ‘नहाय–खाय’ विधि गर्दैछन् ।

कात्तिक शुक्ल तृतीयाकै दिन (बिहीबार) व्रतालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ विधि गरेका छन् । निरामिष (सात्विक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थाल्ने परम्परा छ ।

मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जिरहेका छन् । छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिँगारिएका छन् । 

पर्वमा महिला–पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरका मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको पाइन्छ । 

आज कात्तिक शुक्ल चौथीका दिन व्रतालुलेपवित्र स्नान गरी व्रत सङ्कल्पका साथ चोखोनीतो खानेछन् । यो विधिलाई ‘नहाय–खाय’ भनिन्छ ।

श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने छठमा पूजा प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सखर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्ठान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी परिकार पकाउन चुल्हो पनि नयाँ प्रयोग गरिन्छ ।

पर्वमा सूर्यलाई अर्घ्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् ।

हिजो कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ र आज (चौथी तिथि) ‘नहाय–खाय’ विधि गर्ने व्रतालुले भोलि निराहार व्रत बसी राति सखरमा पकाइएको अरवा चामलको खीर कूलदेवताछठीदेवीलाई चढाएर प्रसादस्वरूप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।

व्रतालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर अस्ताउँदो सूर्यलाई अर्घ्य  दिएर प्रसाद राखिएको डाली हातमा उठाइ सूर्यलाई देखाइन्छ । यो व्रत आइतबार सम्पन्न गरिने छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । 

यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अर्घ्य  दिएर देखाइएपछि छठ सम्पन्न हुने परम्परा छ । यसपालि छठको समापन सोमबार बिहान सूर्योदयसँगै गरिने छ ।

मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडी अघिदेखि पानीमा चोबलिएर व्रतालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् । 

सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका विभिन्न साधनको व्यवस्था गरिन्छ । पछिल्लो समय छठ सबै नेपालीको साझा पर्व बन्दै गएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ७ : ०७ बजे

नासाको ‘सुपरसोनिक एक्स- ५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

काठमाडौं– अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी

काठमाडौं – सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सत्तापक्ष

स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सरकार प्रतिबद्ध : स्वास्थ्यमन्त्री यादव 

पर्सा– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले देशभरिका सरकारी स्वास्थ्य संस्थाको

बागलुङमा गर्भपतन गराउने बढे

गलकोट– बागलुङमा पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : डा कोइराला

नवलपुर– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले निर्वाचनको बेला आफूले