माटाका भाँडाले धानिएको पुस्तैनी जीवन | Khabarhub Khabarhub

माटाका भाँडाले धानिएको पुस्तैनी जीवन


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आएका छन् ।

उमेरले ५० नाघिसकेका अमिन बुबा र बाजेबाट माटाका भाँडा बनाउन सिकेको बताउँछन् । आठ वर्षको उमेरदेखि नै बाजेसँगै माटो मुछेर जानी–नजानी भाँडाको आकार दिन सुरु गरेका उनले बुबाबाट भाँडालाई व्यावसायिक आकार दिन सिकेको बताए । माटोसँग अमिनको सम्बन्ध सानैदेखि गाँसिएको हुनाले उनी यसलाई नङमासुको सम्बन्ध भन्न रुचाउँछन् ।

‘बुबा र बाजे दुवैलाई पछ्याउँदै माटो बोक्न जान्थेँ । माटोसँग उहाँहरू खेलेको देखेर मैले पनि सिकेँ । सानैदेखि माटोसँग खेल्दै, माटोलाई मथ्दै र आफूले चाहेको आकार दिँदै हुर्किएकाले  माटोसँगको मेरो सम्बन्धलाई नङमासुको सम्बन्ध भन्न रुचाउँछु‘, अमिनले विगत सम्झिँदै भने ।

बुबाबाजेले नै माटोका भाँडा बनाउँदै बेचेर कमाएको पैसाले परिवार पाल्दै आएको देखेर आफूलाई पनि माटोकै भाँडा बनाउन रुचि जागेको अमिन बताउँछन् ।

‘जे सिकायो त्यही सिक्ने त हो । मेरो बाउबाजेले मलाई माटोकै भाँडाकुँडा बनाएर बेच्न सिकाउनुभयो आज मैले त्यही सिकेको छु र मेरा छोराछोरीलाई पनि त्यही नै सिकाएको छु’, उनले भने, ‘माटोका भाँडा बनाउने हाम्रो पेसा थिएन र बाजेको पालादेखि यही गर्दै आएकाले आज हाम्रा लागि यही नै पेसा बनेको छ ।’

अमिनका अनुसार विगत वर्षभन्दा यस वर्षको दसैँतिहारमा माटाका भाँडाबाट खासै फाइदा हुन सकेन । अघिल्लो वर्षमा १५–१६ हजारसम्म मुनाफा भएको भाँडाबाट यस वर्ष जम्मा पाँच–छ हजार आम्दानी भएको अमिनले बताए । ‘यो आम्दानीले कसरी वर्षभरिको खर्च जोहो गर्न सकिन्छ ?’ निरास हुँदै उनले यस वर्ष दसैँतिहारमा भएको घाटाको कथा सुनाए ।

अमिनका सात परिवार माटोका भाँडाबाट हुने कमाइमा निर्भर छन् । माटो र माटो पकाउनलाई चाहिने भुस ओसार्नका लागि उनले तीन घोडा पालेका छन् । ती घोडाको खर्च पनि त्यही भाँडाबाट कमाइने पैसाबाट जोहो गर्ने गरेको अमिन बताउँछन् ।

‘सात जनाको परिवारसँगै तीनवटा घोडाको खर्च पनि यिनै भाँडा बिक्री गरेर जोहो गर्नुपर्छ । भाँडाको व्यापार अघिल्ला वर्षको तुलनामा घट्दै गइरहेको छ’, उनले भने, ‘यस वर्ष त ह्वात्तै घट्यो । यस्तै हो भने हाम्रो पेसा धरापमा पर्छ ।’

अमिनले जस्तै सुफिया कसगरले पनि माटोका भाँडा बेचेर कमाएको पैसाले छ जनाको परिवार धान्दै आएकी छिन् ।

कसगर  भाँडा बनाउन सासूबाट सिकेको बताउँछिन् । नेपालगञ्ज उपमहागनर पालिका–५ स्थित मसानघाट टोलकी उनले आफूसँगै  दुई छोरीलाई पनि माटोबाट भाँडा बनाउन सिकाएकी छिन् ।

पुर्ख्यौली पेसालाई जोगाउन सुफियाले भाँडा बनाएर बेच्ने गर्छिन् । भाँडाबाट हुने आम्दानी र मुनाफाका विषयमा अमिनको भन्दा फरक छैन उनको भनाइ । गत वर्षको दसैँतिहारमा १३ हजारको व्यापार गरेकी सुफियाले १० हजार नाफा कमाएको बताइन् । तर यस वर्ष भने जम्मा पाँच हजार जतिको नाफा भएको उनको भनाइ छ ।

अमिनको जस्तै सुफियाको पनि तीन पुस्तादेखि माटोका भाँडाले जीवन धानिँदै आएको छ । तर पछिल्लो समय व्यापार राम्रो नभइदिँदा आम्दानी घट्दै गएकाले पेसाको चिन्ता त छँदै छ साथसाथै परिवारको गुजारा कसरी गर्ने भन्ने पिरले सताउन थालेको सुफिया बताउँछिन् ।

बुलबुलियास्थित मसानघाट टोलमा माटोका भाँडा बनाउने कसगर झण्डै २१ घरपरिवारका छन् । तीन पुस्तादेखि माटोका भाँडा बनाउँदै र बेच्दै गरेका कसगरले यो पेसालाई पुर्ख्यौली पेसाका रूपमा चिनाउँदै आएकी छिन् । कसगरका अहिलेका पुस्ताले पनि यही पुस्तैनी पेसालाई अँगालिरहेका छन् । 

पहिला मनग्य आम्दानी हुँदै आएको उक्त पेसा कोभिड–१९ पछि भने ओरालाे लाग्दै छ । माटोका भाँडा बनाउनलाई कसगर बाँकेको कम्दीस्थित कट्लिया गाउँबाट माटो ल्याउने गर्छिन् । एक ट्रली माटोको मूल्य साढे चार हजार पर्ने गर्दछ । 

अमिन र कसगरको जस्तै पप्पु कसगरको पनि आफ्ना सातजना परिवारको साँझ–बिहानको छाक माटोका भाँडामै भर परेको छ ।

काँचो माटोका भाँडा तयार भइसकेपछि पकाउन भुस, गोबरको गुइँठा र दाउराको प्रयोग गर्ने गरिन्छ । एक क्विन्टल दाउरालाई एक हजार पर्दछ । माटोका भाँडा तयार गर्नलाई दुईपटक पकाउनुपर्ने हुन्छ । धानको भुस पाउन हम्मेहम्मे पर्न थालेको हुनाले प्रायः दाउरामा नै माटाका भाँडा पकाउने गरेको सुफियाको भनाइ छ । 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ९ : १९ बजे

चोरी गरेको आरोपमा दुई भारतीयसहित तीन जना पक्राउ

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रातको समयमा चोरी गरेको आरोपमा

नेपाली नागरिकलाई भारतीय आधार कार्ड बनाइदिएको आरोपमा तीन जना पक्राउ

काठमाडौं- नेपाली नागरिकलाई भारतीय आधार कार्ड बनाइदिएको आरोपमा तीन जना

सशस्त्रको स्पेसल टास्क फोर्स तालिम सम्पन्न

काठमाडौं- सशस्त्र प्रहरी बल नेपालको आयोजनामा हुल तथा दङ्गा व्यवस्थापन

एनसेल प्रकरणमा कडा कारवाही गर्न गठबन्धन एकमत : प्रवक्ता सापकोटा

भक्तपुर– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख अग्निप्रसाद

पोलियोविरुद्धको खोप बहिष्कार गर्न पाकिस्तानका जातीय अगुवाको उर्दी, नत्र ५ लाख जरिवाना

इस्लामावाद- पाकिस्तानको उत्तरी वजिरिस्तानका जातीय अगुवाहरुले पोलियोविरुद्धको खोप अभियान बहिष्कार