अन्तर्राष्ट्रिय

‘शिफा अस्पताल परिसरमा हमासको आतंकवादी सुरुङ पत्ता लाग्यो’

By खबरहब

November 17, 2023

तेल अविव– इजराइली प्रतिरक्षा फौज (आइडिएफ) ले गाजास्थित शिफा अस्पताल परिसरमा हमासको आतंकवादी सुरुङ पत्ता लागेको बताएको छ । आइडिएफका अनुसार उसले रान्तिसी अस्पतालमा अर्को आतंकवादी सुरुङ फेला पारेको छ । त्यस्तै अल-कुद्स अस्पतालमा ठूलो परिमाणमा हतियार र गोलबारुद फेला परेको पनि उसले जनाएको छ । 

सामाजिक सञ्जाल एक्समा साझा गरिएको पोस्टमा आइडिएफले भनेको छ, ‘गाजाको तीन सबैभन्दा ठूला अस्पतालमा हमासको शोषणको अर्को तहको पर्दाफास भएको छ, शिफा अस्पताल परिसरभित्र एउटा हमास आतंकवादी सुरुङ भेटियो ।’ अर्को पोस्टमा उसले भनेको छ, ‘रान्तिसी अस्पतालभित्र आइडिएफ सैनिकहरूले अर्को एउटा आतंकवादी सुरु पत्ता लगाएका छन् ।’

आइडिएफका  अनुसार सालदाग एसएफ एकाइ, सातौँ ब्रिगेड र अतिरिक्त एसएफ एकाइहरूले शिफा अस्पतालभित्र हमासको सुरुङ पूर्वाधारको पर्दाफास गरेक हुन् । ‘उनीहरूले गत अक्टोबर ७ मा नरसंहारका लागि तयार गरिएको बुबी–ट्र्याप सवारी पनि पत्ता लगाएका छन्, उक्त सवारीमा ठूलो मात्रामा हतियार र गोलबारुद थिए ।’

आइडिएफले अल–कुद्स अस्पतालभित्र हतियार र गोलाबारुदको तस्बिर एक्समा पोस्ट गर्दै भनेको छ, ‘अल–कुद्स अस्पतालभित्र ठूलो मात्रामा हतियार र गोलाबारुद फेला पर्यो, यी सबै पछिल्लो २४ घन्टामा भेटिएको थियो ।’