विदेशिने बढ्दा काठमाडौंका होस्टेल सुके | Khabarhub Khabarhub

विदेशिने बढ्दा काठमाडौंका होस्टेल सुके



गाउँघरमा बस्नेहरूको लागि सहर सपना हो ।  शिक्षा, स्वास्थ्य, रोजगार र वैदेशिक यात्रासँग सम्बन्धित हरेक सेवा सुविधा काठमाडौँमा सीमित छ । अहिले मात्र होइन उहिल्यै पनि मानिसको व्यक्तित्व विकासको मूल थलो सहर नै थियो । सहरले प्रञा र चेतनाको बाटोलाई फराकिलो बनाउँछ । गाउँका मानिस अवसर खोज्न सहर र त्यहाँबाट विदेश लाग्ने परम्परा पुरानै हो । अहिले खुल्ला विश्वमा त त्यो क्रमले अझ फाँटिलो रुप धारण गरेको छ ।

हाम्रो सन्दर्भमा हेर्ने हो भने पनि तनहूँका भानुभक्त आचार्य, पोखरामा जन्मिएका कविशिरोमणि लेखनाथ पौड्यालजस्ता स्वनामधन्य कवि समेत काठमाडौंले प्रमाणित गरिदिएपछि अमर बने । राजनीतिक, आर्थिक, सामाजिकदेखि सांस्कृतिक विषयमा समेत यही मनोविज्ञान लागू हुन्छ ।  काठमाडौंसंग आशा र गुनासा दुवै छ । काठमाडौं भित्रिएपछि पहिलो समस्या गाँस, बास, कपासकै हो । सामान्य कमाईबाट यहाँको दैनिकी चल्दैन । हिङदेखि हर्दीसम्म बजारमा भर पर्नुपर्छ ।

धेरै मानिसको उपस्थितिका कारण भनेजस्तो डेरा पाउन सम्भव छैन । यही समस्याको निदान खोज्न काठमाडौं उपत्यकामा यत्र, तत्र, सर्वत्र निजीक्षेत्रमा होस्टेल खुलेका छन् । यस्ता होस्टेलले सामाजिक सुरक्षा सहित बस्ने खाने सेवा प्रवाह गर्दै आएका कारण पनि भरोसा बढेको हो ।

होस्टेल विशेषगरी काठमाडौं बाहिरबाट आएका विद्यार्थी, विदेश जाने तयारीमा रहेका र एक्लो रहेर जागिर खानेका लागि राम्रो आवासको माध्यम हो । जुनसुकै समयमा काम गर्न होस्टेलले सहज वातावरण बनाइदिएको छ ।

काठमाडौँमा केही समय अगाडि धमाधम बढिरहेका होस्टेलहरू पछिल्लो समय बन्द हुने अवस्थामा पुगेका छन् । कारण लामो समयसम्म होस्टेलमा बस्ने विद्यार्थीहरू पातलिएपछि व्यवसाय धर्मराएको हो । प्लस टु को शिक्षा अधिकांशले आफ्नै घरगाउँ या सदरमुकामका स्कुल, क्याम्पसबाट लिन्छन् । विदेश जान भाषा र कन्सल्टेन्सीको कागजात मिलाउन आउनेहरू नै प्रमुख रूपमा होस्टेलका उपभोक्ता हुन ।

युवापुस्ता विदेशिने क्रम तीव्र छ । अनौपचारिक तथ्यांकअनुसार अहिले दैनिक १५ सय बढीले देश छोड्छन् । विदेशबाट आउने हवाई चापले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घण्टा व्यस्त हुन्छ । अझ दश जोड दुई पढेका पिँढीमा बिदेसिने एकखाले भूत नै चढेको छ भन्दा फरक पर्दैन । यसरी विद्यार्थीहरू दैनिक रूपमा बाहिर नेपालको धेरै क्षेत्रमा असर परेको छ । त्यसमा पनि अहिले होस्टेल व्यवसायमै आग्लो लाग्ने अवस्था आएको  गुनासो व्यवसायीहरूको छ ।

पहिला विश्वव्यापी फैलिएको कोरोना महामारीले देशभर भएको लकडाउनको प्रभाव होस्टल व्यवसायीमा नराम्रोसँग परेको थियो । अहिले घरभाडादेखि खाद्य सामग्रीमा अत्यधिक मूल्यवृद्धि र पानीको अभावले व्यवसायीहरु टिक्न हम्मे भएको बताउँछन् । अघिल्लो वर्ष भन्दा यो वर्ष होस्टेलमा बस्ने आधा संख्या घटेको  बताइन्छ ।  कलेजमा पनि जुन संख्यामा विद्यार्थीहरू भर्ना हुनुपर्ने हो, त्यो मात्रामा नै विद्यार्थी छैनन् जसले गर्दा होस्टेलमा पनि कम मानिसको उपस्थिति भएको नेपाल होस्टेल एशोसियसनका केन्द्रीय केन्द्रीय अध्यक्ष अरुण पराजुली बताउँछन् ।

उनी भन्छन् ‘मागको हिसाबकिताब नगरी अहिले होस्टेलहरू बढिरहेका छन् , जसमा विद्यार्थी नहुनु अहिलेको होस्टल व्यवसायको निकै ठूलो जटिलता हो । यसका साथै महँगी अर्को चुनौतीका रूपमा देखिएको छ ।’ होस्टेलमा देशभरबाट विद्यार्थी आउने गर्छन् । काठमाडौं बाहिरबाट आउने अधिकांशको किशोर किशोरी मात्र हैन, अभिभावक पनि सन्तानलाई होस्टेलमा राख्न रुचाउँछन् ।

एउटा कोठामा कति जना बस्छन् त ? कोठाको साइज अनुसार तीन देखि ४ जना सम्म राखेर सेवा सुविधा दिने पराजुली बताउँछन् । कोठामा पनि ठूलो कोठामा ४ जनासम्म पनि राख्ने गरिएको छ । कुनै कोठा सानो छ भने सिंगल पनि राख्ने गरेको उनी बताउँछन् ।

कोठाको आकार हेरेर ११ हजार देखि १४ हजार भित्र खान बस्न प्याकेजमा होस्टेलले सुविधा उपलब्ध गराउँछ । होस्टेलमा बसेका विद्यार्थीहरूमा कुनै स्वास्थ्य समस्या आयो भने अभिभावकसंगको परामर्शमा अस्पताल लैजाने व्यवस्था होस्टेल प्रशासनले मिलाउँछ । सुरक्षाका लागि वार्डेनहरुको व्यवस्था मिलाइएको उनको भनाइ छ । किशोरी र महिला हकमा होस्टेलहरुले अझ सावधानी अपनाउँछन् ।

खानपान, मनोरन्जन, वाईफाई हरेक गतिविधिका लागि समय निर्धारण गरिएको हुन्छ । ब्वाईज होस्टेलमा पनि उनीहरुको बाहिरी गतिविधि र खानपानको निगरानी गर्ने गरिएको बताइन्छ । बाहिरको कुसंगत, लागू पदार्थ दुर्व्यसनको प्रभाव नपरोस् भन्नका लागि पनि होस्टेलले निगरानी राख्ने गरेको सञ्चालकहरू बताउँछन् ।

अध्यक्ष पराजुली सर्वसुलभ पैसामा गुनासो आउन नदिने गरी अधिकतम सेवा सुविधा दिने गरेको दाबी गर्छन् । होस्टेल पूर्णतः शैक्षिक वातावरण केन्द्रित भएकाले पनि विद्यार्थीहरूको भरोसा बढेको उनको बुझाई छ । विद्यार्थीहरूले शारीरिक र मानसिक रूपमै होस्टेललाई घरकै रूपमा ग्रहण गरुन् भन्ने आफूहरूको ध्यान केन्द्रित हुने गरेको  सञ्चालकहरू बताउँछन् ।

काठमाडौँ जस्तो बाक्लो जनसंख्या भएको सहरमा विद्यार्थीलाई बस्न, काम गर्ने एकल व्यक्तिहरूका होस्टेलहरू निकै प्रभावकारी बनेको छ । पछिल्लो समय धेरै होस्टेल बन्द हुने अवस्थामा पुगेको अर्का व्यवसायी कृष्णा तिवारी बताउँछिन् ।

होस्टेल स्कुल कलेज पढ्ने विद्यार्थीको लागि मात्र हैन काठमाडौँ जस्तो सहरको लागि एउटा सजिलो वासस्थानको माध्यम रहिआएको छ ।  बिहान बेलुका होस्टेलमा बस्न र काम गर्नेहरूको लागि अत्यन्तै सहज बनेको होस्टेल अहिले व्यवसायमा अहिले केही मात्रामा शुल्क घटाउँदा पनि विद्यार्थीहरू नआएको गुनासो उनको छ ।

होस्टेल एउटा सजिलो र आफू एक्लै काठमाडौँ बस्दा सुरक्षित महसुस हुने नयाँ बानेश्वरमा रहेको आइभीवाई रेसिडेन्स गल्र्स होस्टेलमा बस्ने सपना रायमाझी बताउँछिन् । आफू पहिला उक्त होस्टेलमा भर्ना हुन आउँदा भएका साथीहरू मध्ये अहिले धेरै कम भएको अनुभव गर्छिन् ।

उनी भन्छिन्, ‘म यो होस्टेलमा बिहान बेलुका बस्छु ।  दिउँसो काममा जान्छु ।  खान, बस्न मात्र हैन सामाजिक सुरक्षाका दृष्टिले पनि राम्रो भएकाले होस्टलको बसाई मलाई एकदमै मनपर्छ’ महिनाको १३ हजार रुपैयाँ तिरेर दैनिक बिहान बेलुकाको खाना र अफिस छुट्टी हुँदा खाजाको राम्रो व्यवस्था भएको कारण होस्टल बसाई खर्चिलो नभएको विश्लेषण उनको छ । अझ खाना पकाउने, सरसफाईको समय बच्ने हुँदा त्यो समय आफ्नो बृत्तिविकासमा लगाउन सकिने बुझाई छ ।

उनी थप्छिन्– ‘होस्टेलमा खाना र बस्न सबै राम्रो छ । तर अहिले चिसो एकदमै बढेको छ तर पनि हामीले चिसो पानी गर्नुपर्छ । जाडोको समयमा कम्तीमा  तातोपानी प्रयोग गर्न पाए जाति हुन्थ्यो ।’

‘घरबाट कलेज आउन २ वटा बस चढ्नु पर्छ । त्यसैले समयको बचतका लागि होस्टेल बसेकी छु ।’ होस्टेलमा बस्ने करिस्मा रोक्का भन्छिन्  । लेलाङबाट त्रिभुवन विश्वविद्यालय आउन २ वटा बस चढ्नुपर्छ । पढ्ने समय बाटैमा सकिने भएकाले होस्टेल बसेर पढ्नु परेको उनी बताउँछिन् ।

‘महिनाको ९ हजार तिर्छु । पैसा अनुसार सेवा सुविधा राम्रो पाएकी छु । खाना पनि स्वस्थकर नै छ ।  पानीमा भने केही समस्या छ । इनारको पानी हप्तामा दुई दिन मात्र चलाउन पाइन्छ । त्यसमा पनि नुहाएको दिन कपडा धुन पाइँदैन ’ पानीको राम्रो व्यवस्थापन भए उचित उनको भनाइ छ ।  एउटा कोठामा आफूहरू दुई जना बसेको उनी बताउँछिन् । होस्टेलले बिदाको बेलामा घर जान आउने सहज वातावरण दिएको उनको भनाइ छ ।

होस्टेललाई घर भाडा लगाउनेको पनि आफ्नै दुखेसो छ । अनामनगरस्थित आफ्नो तीनतले घर भाडामा दिएका महेन्द्रनाथ राई घर खाली गराउने बताउँछन् । होस्टेललाई पानी पुर्याउन कठिन रहेको बताउने उनी धाराबाट नियमित पानी नआउने, जमिनमुनिको पानी तान्दा तान्दा भविष्यमा बस्न बनाएको घर नै धरापमा पुग्ने अवस्था आएको बताउँछन् । पचासौँ मानिस एउटा घरमा बस्दा त्यसको प्रभाव छरछिमेकमा पर्ने भएकाले गुनासो आएको भनाइ राईको छ ।

खुलेका कतिपय होस्टेल दर्ता प्रक्रियामा आएका छैनन् । तिनीहरूलाई कानुनी प्रक्रियामा ल्याउने योजनामा एशोसिएसन रहेको बताइन्छ ।

बजारको आंकलन नगरी देखासिकीमा व्यवसाय गर्ने प्रचलन छ । होस्टेल व्यवसायमा पनि त्यो रोग देखिएको छ । होस्टेलमा बस्ने उपभोक्ता घट्ने लगानी बढ्ने प्रवृत्ति आफैँमा आत्मघाती हो । शैक्षिक परामर्शदाता कम्पनी र भाषा सिकाउने केन्द्र नजिकैको दुरीका होस्टेल खचाखच भएको पाइएको छ । यस दृष्टिले होस्टेल व्यवसाय एक प्रकार मौसमी बन्दै गएको प्रमाण हो यो । त्यसैले बजारको अवस्था हेरी घरलौरी खुलेका होस्टेललाई नियमन गर्न आवश्यक छ । यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ ।

काठमाडौं बाहिर उल्टो छ अवस्था

बहुचर्चित दोलखाको जिरी प्राविधिक शिक्षालयको होस्टेलको अवस्था भने विपरीत छ । विद्यार्थीको माग धान्न नसक्दा धेरै विद्यार्थी होस्टेलको सेवाबाट बन्चित छन् । २०७२ सालको भूकम्प अघि लगभग २४० जना विद्यार्थी आवासीय रूपमा बस्ने व्यवस्था भएको होस्टेल संरचना ध्वस्त भएपछि १५० जनामा खुम्चिएको छ ।  शिक्षालयमा कार्यरत कुमार अधिकारीका अनुसार होस्टेलको अत्यधिक माग भए पनि पूरा गर्न असम्भव छ । अहिले छात्रालाई होस्टेलमा प्राथमिकता दिइएको बताइन्छ ।

सरकारले सीमान्तकृत र छात्रवृत्तिमा आएका विद्यार्थीलाई होस्टेल उपलब्ध गराउनुपर्ने नियम ल्याएको छ । यद्यपि संरचनाको अभावमा सेवा दिन नसकेको बाध्यता अधिकारी स्वीकार्छन ।

जिरीको प्राविधिक शिक्षालयमा फार्मेसी, नर्सिङ पनि पढाइ हुने भएकोले त्यहीँका प्राविधिकबाट स्वास्थ्य सेवा दिने गरिएको छ । सरकारी स्वामित्वमा रहेकाले शिक्षालयले नर्सिङहरूले सुविधा दिने र केही समस्या भयो भने नजिकै रहेको जिरी अस्पतालमा लगी उपचार सेवा प्रदान गरेको अधिकारी बताउँछन् ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  २ : ५९ बजे

फुङलिङ–पाथीभरा साइकलयात्रा

ताप्लेजुङ– ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं– सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी

काठमाडौं– सहारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन

सभामुखले दलका मुख्य सचेतकसँग छलफल गर्दै

काठमाडौं– प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख