सलकपुरमा व्यावसायिक सुन्तला खेती « Khabarhub

सलकपुरमा व्यावसायिक सुन्तला खेती


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

इलाम- इलामको रोङ गाउँपालिका–६, सलकपुरका किसानले सुन्तला बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । यहाँ उत्पादित सुन्तला बोटबाटै बिक्री हुन थालेपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् ।

यहाँ उत्पादित सुन्तला खरिदका लागि भारतीय र झापाका व्यापारी किसानका बारीमा पुग्ने गरेका छन् । स्थानीय सुन्तला किसान खगेन्द्र राईले अलैँची मासेर १५ रोपनी जमिनमा व्यावसायिकरूपमा सुन्तला खेती सुरु गरेको बताए । करिब १० प्रतिशत क्षेत्रको सुन्तलाले यस वर्षदेखि आम्दानी दिन सुरु गरको उनको भनाइ थियो । “राम्रो उत्पादन गर्न सक्यो भने बजारको समस्या छैन”, उनले भने, “स्थानीय वडाले सुन्तला खेतीलाई प्रोत्साहन गर्न प्राविधिक सहयोग निःशुल्क दिने गरेको छ ।”

वडा नं ६ मा मात्र वार्षिक आठ सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको वडा कार्यालयले जनाएको छ । वडाको सलकपुर, कुवापानी र जौबारीलगायत क्षेत्रमा प्रतिहेक्टर १० दशमलव तीन मेट्रिक टनका दरले सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । विगतमा विभिन्न रोगका कारण सुन्तला मर्न थालेपछि किसान निराश बनेका थिए । ज्ञान केन्द्रले किसानलाई सुन्तलामा लाग्ने रोग नियन्त्रण, जैविक मल बनाउने र सुन्तला हुर्काउने प्रविधिकाबारेमा तालिम सञ्चालन गरेसँगै उनीहरूमा उत्साह थपिएको केन्द्रका सूचना अधिकारी रुजन खड्काले बताए ।

सो वडाको करिब ९० हेक्टर जमिनमा सुन्तला खेती हुने गरेको उनले जानकारी दिए । खड्काका अनुसार केन्द्रले सुन्तला सुदृढीकरण कार्यक्रमअन्तर्गत छ जना किसानलाई गत वर्ष रू एक लाखका दरले अनुदानसमेत प्रदान गरेको थियो । चालु आर्थिक वर्षमा किसानले उक्त कार्यक्रम माग गर्दै कार्यालयमा निवेदन दर्ता गराएका छन् । केन्द्रका सूचना अधिकारी खड्काका अनुसार इलामका विभिन्न स्थानमा गरी तीन सय ६० हेक्टर बढी जमिनमा सुन्तलाको व्यावसायिक खेती हुने गरेको छ ।

वडा नं ६ का वडाध्यक्ष सत्यम राईले विगतमा रोगका कारण धेरै सुन्तला खेती नष्ट भएपछि हाल नयाँ खेती विस्तार गर्ने काम भइरहेको जानकारी दिए । उनले सुरुमा वडाको सलकपुरमा हुँदै आएको सुन्तला खेती कुवापानी, जौबारी क्षेत्रमा विस्तार हुन थालेको बताए । राईले सलकपुरको स्वादिलो सुन्तला बोटमै टिपेर खानका लागि इलाम, झापा, मोरङ, सुनसरीबाट आन्तरिक पर्यटक घरबास होमस्टेमा बास बस्न तथा यहाँका प्राकृतिक सम्पदाको अवलोकन गर्न आउने गरेका बताए । उनका अनुसार यहाँ १४ वटा होमस्टे सञ्चालनमा छन् । होमस्टेमा बस्न आउने पाहुनालाई प्रतिकेजी रू ८० देखि ९० का दरले बेच्ने गरिएको उनको भनाइ थियो ।

विसं २००४ मा दार्जिलिङबाट आएर बसोबास गरेका गौरीलाल लामाले यहाँ सुन्तला खेतीको सुरुवात गरेको वडाध्यक्ष राईले बताए । सुरुमा दार्जिलिङबाट बिरुवा ल्याएर खेती सुरु गरे पनि हाल पाल्पाबाट उन्नत जातका सुन्तलाको बिरुवा ल्याएर व्यावसायिक रुपमा खेती थालिएको उनको भनाइ थियो । सुन्तला खेतीबाट वार्षिक रू पाँच करोडदेखि रू छ करोडसम्म वडामा रकम भित्रिने गरेको वडाध्यक्ष राईले जानकारी दिए ।

यहाँ उत्पादित सुन्तला बिक्रीका लागि बजार खोज्नुपर्ने बाध्यता नभएको उनले बताए । “भारत तथा झापाबाट व्यापारीले सुन्तला नपाक्दै बोटबाटै खरिद गर्छन्”, राईले भने, “किसानले उत्पादनमा मात्र ध्यान दिए पुग्छ, बजारको समस्या छैन ।” उनका अनुसार यहाँका हरेक सुन्तला किसानले वर्षमा रू पाँच लाखदेखि रू १५ लाखसम्म आम्दानी गर्ने गरेका छन् । उनले चालु आवमा वडाले सुन्तला किसानको समूह बनाएर अध्ययन, अनुसन्धान पनि हुने गरी नर्सरी खेती सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए ।

सुन्तला, अलैँची, अकबरे, अम्लिसो, महलगायत कृषिजन्य सामग्री उत्पादनले प्रसिद्ध सलकपुरमा विभिन्न ठाउँबाट कृषि तथा बोटबिरुवासम्बन्धी अध्ययनका लागि विद्यार्थीको समूह आउने गरेका वडाध्यक्ष राईले जानकारी दिए । उनका अनुसार यहाँ उत्पादित सुन्तला भारतको कोलकातामा हुने सुन्तला महोत्सवमासमेत प्रत्येक वर्ष लैजाने गरिन्छ । झापाको काँकडभिट्टा, धुलाबारी, बिर्तामोड, दमक, भद्रपुर मात्र नभई हरेक गाउँगाउँमा व्यापारीले ट्रकमै राखेर ‘आयो है सलकपुरको सन्तुला’ भन्दै घुमाएर बेच्न गरेका स्थानीय बताउँछन् ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  २ : १४ बजे

बालेन प्रधानमन्त्री भएदेखि उक्सिनै सकेन पुँजी बजार

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ले सरकारको नेतृत्व गरेपछि औसत रूपमा ओरालो

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित