काठमाडौँ- पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा नेपालको आन्तरिक विमान दुर्घटनाको इतिहासमा सबै भन्दा ठूलो मानवीय क्षति भएको छ । पछिल्लो ६२ वर्षमा ५५ औँ आन्तरिक विमान दुर्घटना भइसकेको अवस्था छ । यो दुर्घटनाले नेपालको आकाश असुरक्षित बन्दै गएको छ । यसको कारण के हो भन्नेबारे गम्भीर र संवेदनशील रूपमा हेर्नु पर्ने आजको आवश्यकता हो । यसमा आधारित रहेर नेपाल एयरलाइन्सका पूर्व वरिष्ठ पाइलट तथा पूर्व क्याप्टेन युवराज भट्टराईसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंशः
पोखरामा भएको यति एयरलाइन्स दुर्घटनाको कारण के हुन सक्ला ? मानवीय त्रुटिको कारणले नै हुन्छ । पाइलटको मात्र दोष होइन । त्यसमा म्यानेजमेन्टको पनि दोष हुन्छ । अब सरकारले छानबिन समिति बनाउने भन्ने कुरा मान्छेलाई भुलाउन मात्रै हो । छानबिन समितिले नै पनि मानवीय त्रुटि गर्ने गरेको छ ।
पछिल्लो ६२ वर्षमा नेपालमा आन्तरिक विमान दुर्घटना ५५ वटा भएका छन् । जाँचबुझ आयोगबाट आएको प्रतिवेदनमा मानवीय त्रुटि र मृतक चालकलाई मात्रै दोष लगाइएको छ । यसमा सम्बन्धित निकायले कत्तिको ध्यान दियो ? जाँचबुझ आयोगबाट आएको प्रतिवेदन साँच्चै अनुसन्धान भएर आएको होइन होला जस्तो लाग्छ । सुधारको उपाय कुनै गरेको जस्तो देखिदैन । म्यानपावरको हिसाबले एयरलाइन्सको नम्बर हुनु पर्यो । मासिक वार्षिक वा साप्ताहिक तरिकाले जहाज जाँच गर्नु पर्दछ । कम्पनी भनेको बिजनेसको हो । त्यसमा उनीहरूले पैसा हेर्छन् । त्यसमा इन्जिनियरहरूले जाँच गर्नु पर्यो ।
अनि पोखरामा भएको जहाज दुर्घटनाको मुख्य दोषी को हो ? जहाज ‘आउट अफ कन्ट्रोल’ भएको जस्तो देखिन्छ । जहाज मोडिदा स्वाट्टै तल खसेको छ । ठोकिए पछि त सबै सकियो । इन्जिन फेल भए पछि पनि यस्तो अवस्था हुन्छ । जहाजको इन्जिन फेल भयो भने कन्ट्रोल रुमलाई खबर गर्न भन्दा त्यो कन्ट्रोल गर्न तिर ध्यान दिनु पर्दछ । सायद जहाज पहिले कन्ट्रोल गर्न खोज्दा दुर्घटना भइहालेको जस्तो देखिन्छ ।
विदेशीले यो दुर्घटनालाई नेपालको पहाडमा पाइलटकै तालिम अभाव भन्छन् नि ? उनीहरूले तालिम र कालो छालालाई दोष दिन्छन् । व्यवस्थापनको अभाव हुन सक्छ । सामान्यतया कति दुर्घटना भएको छ, त्यो हेर्नु पर्यो । कुन प्रविधिको जहाज हामीले उडाउँछौँ त्यसमा पनि भर पर्दछ । सबै विशेषज्ञहरू बसेर कसरी के कारणले दुर्घटना भएको हो भनेर थाहा पाउन सक्यो भने मात्र थाहा होला के कारणले दुर्घटना भएको भनेर ।
नेपालमा अनुभवी क्याप्टेन हुँदा पनि पोखरा जस्तो राम्रो, सहज, सजिलो छोटो हवाई मार्ग किन असुरक्षित भयो ? नेपाल जस्तो भौगोलिक अवस्था भएको अरू देशहरू पनि छन् । दुर्घटना घटाउन आन्तरिक विमानस्थल कति छन्, मानवीय संशाधन सही प्रयोग गरेर काम गर्नु पर्यो । नियम, कानुन बनाएर यता जा, उता नजा भनेर मात्रै बस्नु भएन ।
विमानमा समस्या आयो भने सुरक्षित विमान अवतरण गर्न सकिन्छ ? सकिन्छ नि । उडिरहेको जहाज एक्कासि त झर्न सक्दैन । त्यसमा समस्याहरू गल्तीहरू धेरै भए । यस्ता गल्ती जसले यो एयरलाइन्स चलाउँछ । उसमा पैसाको लोभको कारणले व्यवस्था गर्ने समस्या छ । मानव नियामक निकाय समयमा नियमन नगर्ने अर्को समस्या छ । विमान चालकको कारणले दुर्घटना हुन्छ । तर त्यो कसरी सिर्जना भयो भनेर व्यवस्थापनलाई पनि दोष दिने ठाउँ धेरै हुन्छ ।
(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)