११ वर्षको उमेरदेखि नाटकमा होमिएका हरिहर शर्मा | Khabarhub Khabarhub

११ वर्षको उमेरदेखि नाटकमा होमिएका हरिहर शर्मा


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

हरिहर शर्मा नाम नेपाली रंगमञ्चमा निकै खारिएको नाम हो । ११ वर्षको उमेरमा उनी नाटकमा उदाएका हुन् । साढे पाँच दशकभन्दा बढी नेपाली रंगमञ्चमा समर्पण गरेका उनको जन्म २०११ मा प्युठानमा भएको हो । उनी अहिले पनि यो क्षेत्रबाट अलग भएका छैनन् । यसैमा आधारित रहेर अभिनेता तथा पूर्वउपकुलपति हरिहर शर्मासँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश-

प्युठानमा रहेको हरिहरको बारेमा तपाईको विचार के छ ?

पहिलेभन्दा निकै परिर्वतन भएको छ । पहिलेका दिन सम्झँदा निकै रमाइलो लाग्छ । मैले भारतको आसाममा रहेर अध्ययन गरेको हो । बुबाको काम त्यहीँ भएको कारण पढेको हो । अनि कपिलवस्तुमा पनि पढेको छु । २०२९ सालमा काठमाडौँ आएपछि पढ्ने काम र कर्म क्षेत्र नै यहाँ छ ।

११ वर्षमा नाटक गर्नुभयो, त्यो कसरी संभव भयो ?

आसाममा नै स्कुलमा अध्ययन गर्दा नै कार्यक्रमहरूमा नाटक गराउँदा रहेछन् । त्यही क्रममा मैले नाटक गरेको हो । मेरो पहिलो नाटक पनि त्यति बेला नै भएको हो । साहित्यमय, संस्कृतिमा, नेपाली कलामय वातावरणमा रहन पाएको हिसाबले बिरानोपनको महसुस भएन ।

आसाममा म्याट्रिकपछि अध्ययनलाई निरन्तता दिन मिलेन ?

मिल्ने कुरा होइन बुबाको इच्छा आफ्नो देश फर्किनुपर्छ भन्ने थियो । त्यसकारण नेपाल नै आएर अध्ययन तथा अन्य कार्यमा प्रेरित भएको हो । बुबाले आफ्नो मुलुकमा काम गर्दा सन्तुष्टि मिल्छ भन्नुभयो । हो जस्तो लाग्यो र आएको हो ।

त्यस समय २०२९ सालमा काठमाडौँ कस्तो थियो ?

असाध्य राम्रो थियो । सरसफाइको हिसाबमा पनि अन्य हिसाबमा पनि सकारात्मक ‘भाइव’ आउने खालको थियो । बाटोघाटो कम थियो गाडी बहुत कम चल्थ्यो । हरियाली थियो, पानी पनि स्वच्छ थियो । पशुपति दर्शन गर्न जाँदा बागमतीमा मैले पनि नुहाएको छु । टुँडिखेल कति सफा कति राम्रो थियो । पहिले र अहिले केही पनि तुलना गर्न मिल्दैन ।

आर्थिक अवस्था कस्तो रह्यो ?

कलेजको जीवनमा मितव्ययी तरिकाले चल्नुपर्ने हुन्छ । जबसम्म तपाईंले पुग्ने हिसाबमा कमाउनुहुन्न तबसम्म मितव्ययी तरिकाले आफूलाई संयमित तरिकाले आफ्नो जिविकोपार्जन गर्नु पर्छ । त्यो संस्कार र मान्यता नै थियो । काठमाडौँ हिड्ने नसक्ने त्यति ठुलो एरिया भने होइन, सुन्दर उपत्यका हिँडेरै भ्रमण गर्न सकिन्छ ।

अमृत साइन्स कलेज नै रोज्नुको कारण के थियो ?

मेरो उद्देश्य साइन्स पढ्नु थियो । त्यसमा पनि अमृत साइन्स एकदम नाम चलेको कलेज भएको कारण हो । शिक्षकहरू क्वालिफाइड तथा अनुशासित । यसमा अमृतमान प्रधानको ठूलो योगदान रहेको छ । अनुशासित तरिकाले पढाई हुन्थ्यो । साइन्सको पढाइ मात्र होइन, त्यहाँ ल्याबहरूको व्यवस्था राम्रो थियो । त्यसपछि म्यानेजमेन्ट तर्फ फड्को मारेँ ।

२०३५ सालमा सिन्दुर फिल्म गर्नुभन्दा अगाडि के गर्नु भएको थियो ?

म नाटकमा काम गर्थेँ । स्कुलदेखि नै नाटक गरेर पुरस्कृत पनि भएको थिएँ । कलेजबाट धेरै कर गरेको कारण नाटक खेल्न थालेको हो । २०३१ सालमा प्रज्ञा प्रतिष्ठानमा नाटकमा काम गर्न थालेको हो ।

अहिलेसम्म जीवनमा कति नाटक गर्नुभयो ?

लगभग ७०-७२ वटा भन्दा बढि गरियो होला ।

यस्तो कलाकारिता क्षेत्रमा रहँदा तपाईकोे चाहना र परिवारको चाहनामा मेल खान्थ्यो ?

आफ्नो छोराछोरीको दुख देख्न कसैले पनि चाहँदैन । सहज रुपमा मैले काम गरेको देखेर बुबाममी प्रसन्न हुनुभएको थियो । चलचित्र सबैले हेरेका कारण खुसी मिल्यो । बाबा आमा झन् खुसी हुनुभयो । २०३१ सालको कुरा हो, मेरो पहिलो तलब १७५ रुपैयाँ थियो ।

२४–२५ वर्षको उमेरमा हिरो नबनेर बुबा पात्र बन्न किन प्रेरित हुनुभयो ?

मलाई कलाकार बन्नु थियो । मैले ठिटो भएको अभिनय भने धेरै कम मात्रामा गरेको छु । मलाई ठिटोमा नै बूढो बनाइदिएका थिए ।

घरपरिवारमा हरिहर शर्मालाई हिरोको रुपमा देख्न चाहने कोही हुनुहुन्थ्यो ?

त्यस प्रकारको भावना मैले कहिले पनि पाइन । कलाकारको रुपमा नै हेर्नुभयो, यसलाई दिएको क्यारेक्टरलाई सुन्दर तरिकाले गर्छ भन्ने कुराहरू मेरा कानमा परिरहन्थ्यो । कलेजका साथी तथा अन्य व्यक्ति कसैले पनि मलाई बुढोको रोल नगर हिरोको रोल गर भनेर कहिल्यै पनि भनेको नै पाइनँ । जे गरेपनि साथ र सहयोगको भावनाले हेरेको मात्र पाएँ त्यसमा म आफूले आफूलाई गर्व गर्छु ।

सिन्दरमा तपाईको छोरा विश्व बस्नेत होर ?

होइन मेरो छोरा नीर शाह हो । नीर शाह र मेरो उमेर १-२ वर्षको फरक होला । विश्व बस्नेत पनि सहयात्री जस्तो नै हो । क्यारेक्टरमा आएपछि यो बूढो यो तरुनो भन्ने नै हुँदैन थियो ।

नाटक तथा चलचित्रमा सहकलाकार र हिरो कसको बढी महत्व हुने रहेछ ?

त्यो जो बढि देखिन्छ त्यसको बढी चर्चा हुन्छ । त्यो सबैको सोचाइको पक्ष पनि हो । एक पात्र नै जता पनि देखिएमा त्यसको नै धेरै प्रशंसा रहन्छ ।

यो क्षेत्रमा रहँदा के अपेक्षा राखेको थिएँ, के पाएँ भन्ने लाग्दैन ?

मैले धेरै पाएँ तर निपूणतापूर्वक काम गरेँ । कलाकारितामा लागेँ, सबै दर्शक तथा स्रोताको माया पाएँ । दर्शकले बाँच्न सिकाउनुभयो खान दिनुभयो, पाल्नुभयो र मलाई यहाँसम्म पुर्‍याउनुभयो । मलाई माया गर्ने दर्शक पाएँ ।

अब के गर्ने विचारमा हुनुहुन्छ ? के गरौँ जस्तो लागेको छ ?

अब गर्दागर्दै बूढो हुँदै गएको छु । तैपनि बूढो भएको महसुस भने भएको छैन । केही गरौँ-गरौँ जस्तो भने हुन्छ र गर्न मन पनि लाग्छ । कलाकारिता क्षेत्रमा नै गर्छु भन्ने सोच अझ पनि छ । पहिलेजस्तो प्रत्येक दिन नसके पनि कम मात्रामा नै भए पनि गर्छु । काम गर्ने जोसजाँगर अझै छ ।

 

प्रस्तुती- कुसुम गौतम

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  १२ : १८ बजे

प्रधानमन्त्रीद्वारा सम्पूर्ण नेपालीमा बधाई ज्ञापन

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’

प्राकृतिक विपत्तिबाट कोशीमा ७७ जनाको मृत्यु

मोरङ– प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा गत आर्थिक वर्षमा ७७ जनाको

राष्ट्रिय सभागृह भवन परिसर डुबानमा (तस्बिरहरु)

काठमाडौँ– गएराति परेको अविरल वर्षाका कारण प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह भवन

मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

पाँचथर– बाढीपहिरोका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डको १२ किलोमिटर

चीनको एक सपिङ सेन्टरमा भएको आगलागीमा १६ जनाको मृत्यु

काठमाडौँ– चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु