११ वर्षको उमेरदेखि नाटकमा होमिएका हरिहर शर्मा | Khabarhub Khabarhub

११ वर्षको उमेरदेखि नाटकमा होमिएका हरिहर शर्मा


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

हरिहर शर्मा नाम नेपाली रंगमञ्चमा निकै खारिएको नाम हो । ११ वर्षको उमेरमा उनी नाटकमा उदाएका हुन् । साढे पाँच दशकभन्दा बढी नेपाली रंगमञ्चमा समर्पण गरेका उनको जन्म २०११ मा प्युठानमा भएको हो । उनी अहिले पनि यो क्षेत्रबाट अलग भएका छैनन् । यसैमा आधारित रहेर अभिनेता तथा पूर्वउपकुलपति हरिहर शर्मासँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश-

प्युठानमा रहेको हरिहरको बारेमा तपाईको विचार के छ ?

पहिलेभन्दा निकै परिर्वतन भएको छ । पहिलेका दिन सम्झँदा निकै रमाइलो लाग्छ । मैले भारतको आसाममा रहेर अध्ययन गरेको हो । बुबाको काम त्यहीँ भएको कारण पढेको हो । अनि कपिलवस्तुमा पनि पढेको छु । २०२९ सालमा काठमाडौँ आएपछि पढ्ने काम र कर्म क्षेत्र नै यहाँ छ ।

११ वर्षमा नाटक गर्नुभयो, त्यो कसरी संभव भयो ?

आसाममा नै स्कुलमा अध्ययन गर्दा नै कार्यक्रमहरूमा नाटक गराउँदा रहेछन् । त्यही क्रममा मैले नाटक गरेको हो । मेरो पहिलो नाटक पनि त्यति बेला नै भएको हो । साहित्यमय, संस्कृतिमा, नेपाली कलामय वातावरणमा रहन पाएको हिसाबले बिरानोपनको महसुस भएन ।

आसाममा म्याट्रिकपछि अध्ययनलाई निरन्तता दिन मिलेन ?

मिल्ने कुरा होइन बुबाको इच्छा आफ्नो देश फर्किनुपर्छ भन्ने थियो । त्यसकारण नेपाल नै आएर अध्ययन तथा अन्य कार्यमा प्रेरित भएको हो । बुबाले आफ्नो मुलुकमा काम गर्दा सन्तुष्टि मिल्छ भन्नुभयो । हो जस्तो लाग्यो र आएको हो ।

त्यस समय २०२९ सालमा काठमाडौँ कस्तो थियो ?

असाध्य राम्रो थियो । सरसफाइको हिसाबमा पनि अन्य हिसाबमा पनि सकारात्मक ‘भाइव’ आउने खालको थियो । बाटोघाटो कम थियो गाडी बहुत कम चल्थ्यो । हरियाली थियो, पानी पनि स्वच्छ थियो । पशुपति दर्शन गर्न जाँदा बागमतीमा मैले पनि नुहाएको छु । टुँडिखेल कति सफा कति राम्रो थियो । पहिले र अहिले केही पनि तुलना गर्न मिल्दैन ।

आर्थिक अवस्था कस्तो रह्यो ?

कलेजको जीवनमा मितव्ययी तरिकाले चल्नुपर्ने हुन्छ । जबसम्म तपाईंले पुग्ने हिसाबमा कमाउनुहुन्न तबसम्म मितव्ययी तरिकाले आफूलाई संयमित तरिकाले आफ्नो जिविकोपार्जन गर्नु पर्छ । त्यो संस्कार र मान्यता नै थियो । काठमाडौँ हिड्ने नसक्ने त्यति ठुलो एरिया भने होइन, सुन्दर उपत्यका हिँडेरै भ्रमण गर्न सकिन्छ ।

अमृत साइन्स कलेज नै रोज्नुको कारण के थियो ?

मेरो उद्देश्य साइन्स पढ्नु थियो । त्यसमा पनि अमृत साइन्स एकदम नाम चलेको कलेज भएको कारण हो । शिक्षकहरू क्वालिफाइड तथा अनुशासित । यसमा अमृतमान प्रधानको ठूलो योगदान रहेको छ । अनुशासित तरिकाले पढाई हुन्थ्यो । साइन्सको पढाइ मात्र होइन, त्यहाँ ल्याबहरूको व्यवस्था राम्रो थियो । त्यसपछि म्यानेजमेन्ट तर्फ फड्को मारेँ ।

२०३५ सालमा सिन्दुर फिल्म गर्नुभन्दा अगाडि के गर्नु भएको थियो ?

म नाटकमा काम गर्थेँ । स्कुलदेखि नै नाटक गरेर पुरस्कृत पनि भएको थिएँ । कलेजबाट धेरै कर गरेको कारण नाटक खेल्न थालेको हो । २०३१ सालमा प्रज्ञा प्रतिष्ठानमा नाटकमा काम गर्न थालेको हो ।

अहिलेसम्म जीवनमा कति नाटक गर्नुभयो ?

लगभग ७०-७२ वटा भन्दा बढि गरियो होला ।

यस्तो कलाकारिता क्षेत्रमा रहँदा तपाईकोे चाहना र परिवारको चाहनामा मेल खान्थ्यो ?

आफ्नो छोराछोरीको दुख देख्न कसैले पनि चाहँदैन । सहज रुपमा मैले काम गरेको देखेर बुबाममी प्रसन्न हुनुभएको थियो । चलचित्र सबैले हेरेका कारण खुसी मिल्यो । बाबा आमा झन् खुसी हुनुभयो । २०३१ सालको कुरा हो, मेरो पहिलो तलब १७५ रुपैयाँ थियो ।

२४–२५ वर्षको उमेरमा हिरो नबनेर बुबा पात्र बन्न किन प्रेरित हुनुभयो ?

मलाई कलाकार बन्नु थियो । मैले ठिटो भएको अभिनय भने धेरै कम मात्रामा गरेको छु । मलाई ठिटोमा नै बूढो बनाइदिएका थिए ।

घरपरिवारमा हरिहर शर्मालाई हिरोको रुपमा देख्न चाहने कोही हुनुहुन्थ्यो ?

त्यस प्रकारको भावना मैले कहिले पनि पाइन । कलाकारको रुपमा नै हेर्नुभयो, यसलाई दिएको क्यारेक्टरलाई सुन्दर तरिकाले गर्छ भन्ने कुराहरू मेरा कानमा परिरहन्थ्यो । कलेजका साथी तथा अन्य व्यक्ति कसैले पनि मलाई बुढोको रोल नगर हिरोको रोल गर भनेर कहिल्यै पनि भनेको नै पाइनँ । जे गरेपनि साथ र सहयोगको भावनाले हेरेको मात्र पाएँ त्यसमा म आफूले आफूलाई गर्व गर्छु ।

सिन्दरमा तपाईको छोरा विश्व बस्नेत होर ?

होइन मेरो छोरा नीर शाह हो । नीर शाह र मेरो उमेर १-२ वर्षको फरक होला । विश्व बस्नेत पनि सहयात्री जस्तो नै हो । क्यारेक्टरमा आएपछि यो बूढो यो तरुनो भन्ने नै हुँदैन थियो ।

नाटक तथा चलचित्रमा सहकलाकार र हिरो कसको बढी महत्व हुने रहेछ ?

त्यो जो बढि देखिन्छ त्यसको बढी चर्चा हुन्छ । त्यो सबैको सोचाइको पक्ष पनि हो । एक पात्र नै जता पनि देखिएमा त्यसको नै धेरै प्रशंसा रहन्छ ।

यो क्षेत्रमा रहँदा के अपेक्षा राखेको थिएँ, के पाएँ भन्ने लाग्दैन ?

मैले धेरै पाएँ तर निपूणतापूर्वक काम गरेँ । कलाकारितामा लागेँ, सबै दर्शक तथा स्रोताको माया पाएँ । दर्शकले बाँच्न सिकाउनुभयो खान दिनुभयो, पाल्नुभयो र मलाई यहाँसम्म पुर्‍याउनुभयो । मलाई माया गर्ने दर्शक पाएँ ।

अब के गर्ने विचारमा हुनुहुन्छ ? के गरौँ जस्तो लागेको छ ?

अब गर्दागर्दै बूढो हुँदै गएको छु । तैपनि बूढो भएको महसुस भने भएको छैन । केही गरौँ-गरौँ जस्तो भने हुन्छ र गर्न मन पनि लाग्छ । कलाकारिता क्षेत्रमा नै गर्छु भन्ने सोच अझ पनि छ । पहिलेजस्तो प्रत्येक दिन नसके पनि कम मात्रामा नै भए पनि गर्छु । काम गर्ने जोसजाँगर अझै छ ।

 

प्रस्तुती- कुसुम गौतम

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  १२ : १८ बजे

आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान

काठमाडौं– सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को एघारौं पूर्ण

एक महिनामा भित्रिए १ लाख ७२ हजार स्मार्टफोन

काठमाडौं । चालु आर्थिक वर्ष ०८१/८२ को महिनामा नेपालमा ८

एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले खर्बपति व्यवसायी तथा सामाजिक

क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रूसको चेतावनी

मस्को – रूसले युक्रेनमा आणविक हतियार बोक्न सक्ने क्षेप्यास्त्र प्रहार

बिआरआईमा अनुदान मात्र स्वीकार्यः विमलेन्द्र निधि

जनकपुर – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बिआरआई अनुदानका रूपमा