सबैलाई पाल्ने भोलेबाबा ! | Khabarhub Khabarhub

महाशिवरात्रि विशेष :

सबैलाई पाल्ने भोलेबाबा !



यसपालिको महाशिवरात्रि पर्व यही फागुन ६ गते शनिबार परेको छ । सबैको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर परिसरमा सो दिन र यस वरिपरिका दिनहरुमा शिवजीको दर्शनका क्रममा अपार भीड लाग्ने गर्छ । विश्वमा नै पञ्चमुखी शिवलिङ्गको ठूलो महत्व रहेको छ । अन्यत्र कतै नभएको पञ्चमुखी शिवलिंगको पूर्वी मुख शिवको हो भने पश्चिम मुख नन्दीस्वरुपको हो र उत्तरमुखलाई उमा अनि दक्षिणमुखलाई भैरव स्वरुप मानिएको छ ।

माथितिरको मुख महादेवको हो । यस्तै पूर्वीमुख तत्पुरुष, उत्तर वामदेव, पश्चिम सद्योजात र दक्षिणमुख अघोरको रुपमा लिइन्छ भने ऊध्र्वमुखलाई ईशान भनिन्छ । प्रत्येक मुखलाई ब्रह्माण्डका चारै दिशा र आकाश भागसम्मको रुपमा चित्रण गरिएको छ । सम्पूर्ण जीव र जगत् जहाँबाट उदय हुन्छ र जहाँ विलय हुन्छ त्यो क्षेत्र शिवलिंग हो ।

भोलेबाबाले दीनदुखीदेखि उच्च घरानीयालाई समेत पालेका छन् । भिखारी त्यहीँ आउँछन् व्यपारी पनि त्यहीँ । धर्मशाला ठूलो होटलमा परिणत हुन्छ, पूजासामान बेच्ने व्यापारीहरु ढोकैमा बस्न रुचउँछन्, अवैध बनेका संरचनाहरु हट्न मान्दैनन् । देशैभरि रहेका पशुपतिका नामका जग्गाहरु अतिक्रमणमा परेका छन् । दर्शनाथीहरुलाई सवारी पार्किङ्गको भारी समस्या छ । थरिथरिका एनजिओहरु खाल थापेर बसेका छन् । कर्मकाण्ड गर्ने ब्राह्मणहरु घाटतिर लखेटिएका छन् । लास जलाउनेहरुले मनग्गे पैसा तिर्नुपर्छ, किरियापुत्रीहरु ठगीमा पर्ने गरेका छन्, पवित्र उद्देश्य लिएर पशुपति क्षेत्र पुग्नेहरु त्यहाँबाट फर्कँदा निराश बन्न बाध्य छन् ।

राजनीतिको रगेटाइ पनि कम छैन, सरसफाइको समस्या र आन्दोलनका पाटाहरु छरपष्ट रहेका छन् । गाई बाच्छाहरु पनि पीडामा र बाँदरहरु अखाद्य सामग्रीमा पर्नाले रोगी छन्, बागमतीको अवस्था कुरुप छ । ठेक्कापट्टा र पैसा कमाउने धन्दा चलेको छ र प्राचीन क्षेत्रको पहिचान शून्य हुने स्थिति छ । पशुपति क्षेत्र सञ्चालनमा छुट्टै कानून छ तथापि व्यवस्थित हुन नसक्दा संसारभरिका अर्बौँ भक्तहरुको मर्ममा प्रहार भएको भान हुन्छ । कोरोनाकालमा भक्तहरुलाई तीव्र पीडा भयो, अन्य धर्मीहरुको मन्दिर खुल्यो त्यहाँ खुलेन र यसपालि पशुपतिक्षेत्र विकास कोषले शिवरात्रि भर्न १० औँ लाख भक्तहरु यहाँ उपस्थित हुने जनाएको छ ।

नेपाल नगरी काठमाडौं पूर्व क्षेत्रमा रहेको बागमती किनारामा भष्माञ्चलपर्वत, भष्मतीर्थ, भष्मगङ्गा आदि नामले पुकारिने श्लेष्मान्तक क्षेत्र, पश्चिम भागमा पावन पशुपतिनाथको मन्दिर छ । यो द्वादश ज्योतिर्लिङ्गको शिरभाग हो । भारतका प्रसिद्ध क्षेत्रहरु वद्रीनाथ, केदारनाथ, रामेश्वर र चीन तिब्बतको कैलाश क्षेत्रको दर्शनपछि पनि पशुपतिनाथको दर्शन नगरेसम्म अगाडिका दर्शनको पुण्य नमिल्ने कुरा हिमवत्खण्ड, स्कन्दपुराणमा उल्लेख गरिएको छ । यहाँ शिवरात्रि, जनै पूर्णिमा, तीज, एकादशी, सोमबार, शनिबारदेखि बालाचतुर्दशी जस्ता पावन दिनहरुमा हजारौं भक्तहरुको भीड लाग्छ ।

सबैभन्दा बढी भीड शिवरात्रिमा लाग्ने गर्छ । भारत लगायत अन्यत्रबाट समेत यहाँ आउनेहरुको घुइँचो नै हुन्छ । पशुपतिनाथको मन्दिर करीब दुई हजार वर्ष पुरानो मानिन्छ । यद्यपि यो आधुनिक मन्दिरचाहिँ सन् १६९२ मा राजा भुपतीन्द्र मल्लले बनाउन लगाएका हुन् । वंशावलीका अनुसार यो मन्दिर बनाउने श्रेय सुपुष्प देवलाई जान्छ । सन् ३२५ मा राजा हरिदत्त वर्माले मन्दिर बनाउन उत्सुकता देखाएका हुन् भन्नेहरु पनि धेरै छन् । यो मन्दिर कलात्मक छ । छानो धातुले बनेको छ भने सुनको जलप लगाइएको छ । ढोकाहरु चाँदीका छन् । मन्दिर पश्चिम फर्केको छ । मूल ढोका अगाडि शिवको वाहन नन्दी भण्डै १५ फिट लामो र ८ फिट अग्लो छ । मन्दिरको दक्षिण भागमा उन्मत्त भैरव छन् भने त्यसदेखि दक्षिण भागमा पुरै ६४ शिवलिंगहरु छन् ।

त्यसो त काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ्ग, मकवानपुर आदि गरी १० जिल्लाहरुमा ६४ ज्योतिर्लिङ्गको आदीम थलो छ भने ६४ ज्योतिर्लिङ्गमध्ये सर्वप्रथम आदीम लिङ्ग सिन्धुली क्षेत्रको कुशेश्वर शिवलिंग हो भने अन्तिम ज्योतिर्लिङ्ग पशुपति मन्दिर परिसर उत्तर क्षेत्र कैलाशमुनिको रुद्रगारेश्वर हो । पशुपतिनाथको मन्दिर दुई तले प्यागोडा शैलीको छ । झण्डै साढे तीन फिट अग्लो शिवलिङ्ग मन्दिरभित्र बिराजमान छन् । हाल त्यहाँ सुनको जलप लगाइएको छ । मन्दिरको मर्मत तथा पूजा व्यवस्थापनको परम्पराको श्रेय आठौँ शताब्दीताका यहाँ आएका आद्यगुरु शङ्कराचार्यलाई जान्छ । महादेवले गुह्येश्वरी अर्थात् उमालाई साथै लिई यहाँ बिराजमान गर्ने गरेको भनिन्छ ।

पूर्व दक्षिणतर्फ ब्रह्मनाल जसलाई आर्यावर्त भनिन्छ । यहाँ जल स्नान गर्नेहरु भवरोगवाट मुक्ति पाउँछन्, तर पानी फोहोर छ । ब्रह्मनालदेखि भष्मेश्वर क्षेत्र भष्मतीर्थ हो, यहाँ पाइला राख्ने कुनै पनि प्राणीले भवाटवीको मोहबाट छुट्टी पाउँन सक्छन् ।

पशुपतिनाथ मन्दिर परिसरमै आफू नित्य निरन्तर सेवा गर्ने अवसर पाउन लालयित शक्तिस्वरुपा उमाले शिवको प्रार्थना गरेपछि शिव आज्ञाअनुसार वत्सलाको रुप लिएको र वत्सलाको दर्शन गरेपछि मात्र शिवको दर्शन गरेको पुण्य मिल्ने कुरा हिमवत् खण्डमा वर्णन गरिएको छ । पार्वतीको रुपमा सतीको गुह्य पतन भएको क्षेत्र विश्वको सात करोड पावन पीठको आदिमस्थल गुह्येश्वरीक्षेत्र पशुपतिनाथ मन्दिरको झण्डै एक किलोमिटर उत्तर पूर्वमा रहेको छ भने माघस्नान गरेर पार्वतीले गौरीघाटमा रहेर किरातेश्वर भगवानलाई पाएको क्षेत्र पनि यसै मन्दिर उत्तर पूर्वीक्षेत्र हो ।

पशुपतिनाथको दर्शन गर्नुपूर्व गौरीघाटमा स्नान जल अर्चन गर्नुपर्ने, कैलाश क्षेत्रमा स्पर्श गर्नुपर्ने, प्रसिद्ध गौशाला क्षेत्रमा रहेकी जयबागेश्वरी आमाको स्तुति वन्दना गर्नुपर्ने कुरा नेपाल माहात्म्यमा वर्णन गरिएको छ भने वत्सलादेवीकी पुत्र चन्द्र विनायक चावहिलक्षेत्र र त्यसक्षेत्रमा जात्रा चलाइने नक्साल भगवतीको चर्चा पनि स्कन्दपुराणले वर्णन गरेको छ । वत्सलादेवी र नक्साल भगवती दिदीबहिनी हुन् भनिन्छ ।

पशुपतिनाथको दर्शनपूर्व मन्दिर परिसर उत्तरतर्फ रहेको वासुकी नागको दर्शन गर्नुपर्ने हुन्छ । पशुपतिनाथ मन्दिरलाई पुरै परिक्रमाभन्दा पनि किरातेश्वर, गुह्येश्वरीको दर्शन, मृगेश्वरमा जल अर्पण, गणेश, क्षेत्रपाल, नवग्रह, उन्मत्त भैरव, वत्सला, आकाश भैरव, जय मङ्गला, राजेश्वरी, भुवनेश्वरी, भष्मेश्वर आदि क्षेत्रको दर्शन वढी महत्वपूर्ण रहेको छ । अष्टमातृकालगायत नारायणको दर्शन र सत्यनारायणको दर्शन झन् महत्वपूर्ण छ । शिवरात्रि, तीज, बालाचतुर्दशी आदि विशेष भीड लाग्ने समय दर्शनार्थीहरुले नियमतः दर्शन गर्ने गरेको पाइँदैन । भीडभाडको कारण र लामको व्यवस्थापन कार्यले पनि होला पुराणहरुमा चर्चा गरिएअनुसारको नियम पालन भएको देखिदैन ।

मृगरुपी शिवले विचरण गरेको स्थल मृगस्थली हो । कैलाशमा शिवलाई नदेखेर ब्रह्मा–विष्णु–इन्द्रले मृगस्थलीमा मृगरुप शिवलाई देखेपछि शिवजीलाई समात्न लाग्दा शिवस्वरुप मृगको स्वर्णसिङ ३ टुक्रा भएको र आफूलाई अपराध लागेकोले प्रार्थना गर्दा शिवजीले यो अपराध लाग्दैन, ३ वटा सिङका टुक्राहरु स्वर्ग, पाताल र नेपालक्षेत्र गोकर्णमा लगेर स्थापना गर्नु भन्ने आज्ञा भएपछि मत्र्यमण्डलको अर्को पावनक्षेत्र बागमती तटमा गोकेर्णेश्वर क्षेत्रको उदय भएको हो । जहाँबाट बाग्द्वारदेखि झरेकी बागमती स्वरुपा शिवगङ्गा बग्दै आएर आर्यघाटहुँदै पवित्र शंखमूल पुग्छिन् ।

मायारुपी पासोमा बाँधिएका वद्धप्राणीलाई पशु भनिन्छ र मायाबाट मुक्त पार्नेको नाम पतिका रुपमा सबै जीवका मालिक शिवलाई पशुपति भनिएको हो । अज्ञानी मनुष्यहरु नश्वर छन् । नश्वरले ईश्वर प्राप्त गर्ने प्रयास गर्नुपर्ने हुन्छ । जीव र जगत् दुबै परमेश्वर शिवका गहना हुन्, खेलौना पनि हुन् । तिनले हरदम परमेश्वरको चाहना गरेका हुन्छन् । अंशीले अंश प्राप्त गर्ने प्रयास स्वरुप जीवात्माहरु ब्रह्मादेखि स्थावर पर्यन्त सवै परमेश्वर शिवमा लय हुन चाहन्छन् ।

संसारको रचना सृष्टि हो, सृष्टिलाई चलाइ राख्नु पालना हो र सृष्टिलाई नाश गर्नु संहार हो । जीवात्मावाट प्राणपखेरु निस्कनुलाई तिरोभाव भनिएको छ । यी चारै कार्यबाट उन्मुक्त हुनु चाहिँ “अनुग्रह” हो । अर्थात् यहाँ जम्माजम्मी ५ कार्यहरु भए संसार चलाउन ! सृष्टि, पालना, संहार, तिरोभाव र अनुग्रह– यी पाँचै कार्य गर्ने पंचमुखी महादेव नै हुन् । मोक्ष हुनुको नाम जीवले शिव प्राप्ति गर्नु नै हो ! शिवको अर्को नाम कल्याण हो । शिवको ५ मुखले यही संकेत गर्छ, विश्व ब्रह्माण्डको कल्याण ! शिवरात्रिको महान अवसरमा सबैलाई शिव आशीर्वाद प्राप्त रहोस् शुभकामना ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ९ : ४४ बजे

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।