कवि तथा नियात्राकार डा.दामोदर पुडासैनी(किशोर) चर्चित साहित्यकार हुन्। उनको जन्म २०१९ सालमा काठमाडौंको जीतपुर फेदीमा भएको हो। उनले साहित्यिक क्षेत्रमा धेरै पुरस्कार पाएका छन्। उनैको विषयमा आधारित रहेर उनका जीवनीका बारेमा भगवती बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :
तपाईंको साहित्यिक यात्रा कस्तो हुँदैछ ?
मेरो साहित्यिक यात्रा ३० को दशकबाट सुरु भएको हो। त्यो समयमा यो क्षेत्र धेरै विकास भएको थिएन। जीवनमा धेरै कुरा भोगेको कारणले आफ्ना जीवनका यात्राहरूलाई साहित्यमा ल्याउन पाइयो यो एउटा उपलब्धि हो।
कविताबाट तपाईंले नियात्राको विधामा पनि कलम चलाउनु भएको छ, यो यात्रा कस्तो भयो ?
मैले यो क्षेत्रमा कविताबाट सुरु गरेको हो। पछि मैले जागिरको शिलसिलामा देशका र विदेशका धेरै ठाउँमा जाने मौका पाएँ। धेरै मानिसले नियात्रालाई रुचाएको देखेँ। त्यसपछि यो क्षेत्रमा पनि कलम चलाउनु पर्ने रहेछ भनेर मोडिए। नियात्रामा काव्य, आख्यान दुवैको प्रयोग हुन्छ र नियात्रालाई पाठकले रुचाएका पनि छन्।
तपाईंले आफ्नो नियात्राको अन्त्यमा निचोड राख्नु भएको छ, यो नयाँ सोच कसरी आयो ?
कुनै पनि स्रष्टाले नयाँ कुरा नै सिर्जना गर्नु आवश्यक हुन्छ। पुरै नियात्रा पढेपछि यसको निष्कर्ष के हो त भन्ने नै नहुने हुँदा शीर्षक पढेपछि यसको निष्कर्ष राख्नु उपयुक्त लाग्यो। पाठकहरूमा पनि यसको निष्कर्ष यो हो है भन्ने थाहा हुन्छ। एउटा जीवन र जगतलाई उक्त नियात्राले कसरी समेटेको छ त्यो प्रस्ट हुन्छ।
पाठकको मन जितेर लेख्न के गर्नु पर्ने रहेछ ?
लेखकले नयाँ कुरा दिन सक्नुपर्छ। पाठकले नयाँ कुरा खोज्छ। आम लेखकले लेखेको कुरा पढ्ने उसलाई इच्छा हुँदैन। कुनै ठाउँको नियात्रा मैले लेख्दै छु भने त्यहाँको पात्र बोलेका कुरा भाषामा ल्याउँदा त्यो ठाउँ भन्दा टाढा भएको मान्छेलाई त्यहाँ पुगेको जस्तो महसुस हुन्छ। लेखकमा कल्पनाशीलता र यथार्थपरकता दुवै हुनु पर्दछ। यो दुबैबाट पाठकको मन जित्न सकिन्छ।
‘धर्मको ह्याङओभर’ पुस्तक तसलिमा नसरिनले विमोचन गर्नु भएको थियो। त्यो अवसर कसरी मिल्यो ?
म मानववादी समाज भन्ने संस्थामा आबद्ध छु। विश्वको दुई सय भन्दा बढी देशमा त्यो संस्था छ। नेपालमा पनि छ। म त्यसको अध्यक्ष हुँ। त्यो बेलामा तसलिमा नसरिन नेपाल आउने कार्यक्रम थियो। उहाँ सामाजिक विभेदविरुद्ध लेखिरहेको मान्छे हो। मेरो यो पुस्तक आउँदा मेरो हातबाट विमोचन गर्छु भनेर गर्नुभयो। नेपालमा कुमारी प्रथा, बालविवाहका बारेमा कुरा गर्नुभयो। सामाजिक कुरीतिविरुद्ध आफ्ना कुराहरू पनि राख्नुभयो।
‘धर्मको ह्याङओभर’ पुस्तक पढिरहँदा यो सबै समाजका विकृतिहरू सबै धर्मको नाममा आएका हुन् जस्तो लाग्छ नि ?
हिजो धर्म विकृतिको लागि सुरु भएको होइन। मानव जीवनमा अनुशासन दिलाउन बनेको हो। कुनै पनि धर्मले विकृति देखाउँदैन। तर बीचमा केही मान्छेले धर्मको नाममा विकृति ल्याए। त्यसका लागि मैले लेखेको हुँ। राजनीतिक युद्धमा भन्दा धार्मिक युद्धमा धेरै मान्छे मरिरहेका छन्। पहिला धर्म सामान्य रूपमा थियो त्यसको कारण मानिस नराम्रो गर्यो भने पछि नराम्रो हुन्छ भन्ने थियो। मानिसमा डर थियो। तर अहिले मान्छेहरू भोलि जे होस् अहिले गरौँ भन्छन्। त्यो कारण धर्मको नाममा मान्छेलाई लठ्याएर शारीरिक, आर्थिक सामाजिक शोषणविरुद्ध मैले लेखेको छु।
नारी र पुरुष बीचको विभेद पनि धर्मको कारणले भएको हो ?
हो। एउटा घरमा जब छोरा छोरीको जन्म हुन्छ त्यो बेला देखिनै विभेद हुन्छ। तिमीले यस्तो कपडा लगाउने, तिमी कुचो लगाउनु पर्छ भनेर धर्मको माध्यमबाट नै सिकाइन्छ। त्यो कारणले समानताको कुरा भन्दा नारीले पुरुषलाई मान्नुपर्छ भन्ने विकृति ल्याइयो।
नेपालमा पहिलो पटक लेखा परीक्षणमा विद्यावारिधि गर्नुभयो, यस्तो सोचाई कसरी आयो ?
लामो समयसम्म लेखा परीक्षणमा कार्यरत रहेँ। मेरो उच्च शिक्षा (मास्टर)को विषयमा लेखा परीक्षणमा फोकस गरेँ। त्यो बेला मलाई नेपालमा यो विषयमा कसैले विद्यावारिधि गरेको छैन भन्ने थाहा भयो। मैले यो विषयमा विद्यावारिधि गर्ने सोच बनाएँ र त्यही विषलाई अगाडि बढाएँ।
सरकारी पदमा रहेर धेरै सेवा गर्नु भएको छ, अहिलेको काम कस्तो छ ?
नायब महालेखक परीक्षणबाट अनिवार्य अवकाश लिएको हुँ। अवकाशपछि त्रिभुवन विश्वविद्यालय आर्थिक व्यवस्थापन विज्ञमा नियुक्त भएँ। म त्यहाँ छिरेपछि विश्व विद्यालयको आर्थिक क्षेत्रमा ठूलो योगदान गरेको छु। जुन सबैले महसुस गर्नुभएको छ। त्यसैले आफू जुन क्षेत्रमा रहेपछि रामो काम गर्नु गरेमा सफला मिल्छ भन्ने लाग्छ।
लेखन कार्य कत्तिको चुनौतीपूर्ण छ ?
धेरै चक्रव्यूह पार गरेर लेखक बन्न सकिन्छ। लेखकले अन्य काम गरेर घरपरिवारलाई समय दिएर गर्नुपर्ने हुन्छ। लेखकलाई सामाजिक रूपमा पनि चुनौती हुन्छ। लेखेर मात्र हुँदैन, शब्द शब्दमा सोचेर मात्र लेख्नुपर्छ। एउटा मात्र शब्द बिग्रियो भने त्यसमा धेरै प्रश्न उठ्छ र त्यो लेखक लेखक बनेर टिक्न गाह्रो छ।
तपाईं अन्तर्राष्ट्रिय साहित्य समाज बोर्ड अफ ट्रष्टिजको सदस्य हुनुहुन्छ, यो डायस्पोराको साहित्यलाई कसरी हेर्नु भएको छ ?
नेपाली विश्वका कुना कुनामा पुगेका छन्। तिनीहरूले अहिले बाहिर बसेर पनि लेखिरहेका छन्। यो डायस्पोराको साहित्य आएपछि त्यसले नेपालको संस्कार संस्कृति पनि त्यहाँ लगे। त्यहाँका सम्भावना पनि कृतिमा ल्याएँ। त्यो राम्रो हो।
आजसम्म कति गरे जस्तो लाग्छ ?
मैले धेरै गर्न बाँकी छ जस्तो लाग्छ। मैले नेपालका धेरै ठाउँ र विदेश गएर अनुभव गरेको छु। मैले धेरै घुम्न बाँकी छ जस्तो लाग्छ। जिन्दगीमा सबै पुरा गर्छु भनेर भन्न सकिँदैन रहेछ। तर मैले जे गरेँ राम्रो गरेँ। एउटा इमानदार परिश्रमी भएर बाच्नु पर्दछ भन्ने मेरो सोचाई हो। म यो बाट सन्तुष्ट छु। जीवन एउटा लडाइँ हो।
प्रतिक्रिया