फोहरमैला व्यवस्थापन केन्द्र निर्माणस्थलबाट आठ सय रूख हटाइने « Khabarhub

फोहरमैला व्यवस्थापन केन्द्र निर्माणस्थलबाट आठ सय रूख हटाइने


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत निर्माण हुने एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको पूर्वाधार संरचना निर्माणस्थलमा रहेका आठ सय १३ रूख कटान गरी हटाइने भएको छ ।

श्रीकृष्ण सामुदायिक वनको जग्गामा निर्माण हुने फोहरमैला व्यवस्थापन केन्द्रका लागि मन्त्रिपरिषद्को विसं २०७८ माघ १० गतेको बैठकको निर्णयानुसार चार दशमलव ९९ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति दिइएको थियो । मन्त्रिपरिषद्ले केन्द्र निर्माण गर्न स्वीकृति दिएको जग्गामा रहेका रूख हटाउन लागिएको हो ।

रूख हटाउने सम्बन्धमा गत जेठ ३ गते सहरी विकास तथा भवन निर्माण विभाग र वन तथा भू-संरक्षण विभागबीच भएको सम्झौताअनुसार सामुदायिक वनमा आयोजना निर्माणस्थलमा रहेका तीन सय ९६ ठूला र चार सय १७ साना रुख हटाउन (कटानी) लागिएको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भुप्रसाद तिवारीले जानकारी दिए । 

उनका अनुसार शुक्लाफाँटा सवडिभिजन वन कार्यालयबाट रूख कटानका लागि छपान मूल्यांकन भई डिभिजन वन कार्यालय र वन निर्देशनालय, सुदूरपश्चिम प्रदेश धनगढीबाट निरीक्षणको काम भइसकेको छ । निर्देशनालयले तोकेको अधिकृतको रोहवरमा रुख आगामी वैशाख १५ गतेभित्र कटान मुछान गरी निस्केको काठ दाउरा सामुदायिक वन उपभोक्ता समूहको घाट गद्दीमा ढुवानी गरी राखिने भएको छ ।

छपान भएका रुखबाहेक अन्य वन पैदावारमा हानी नोक्सानी भए गरेको पाइएमा प्रचलित वन ऐन र नियमावलीअनुसार कारबाही हुने अधिकृत तिवारीको भनाइ छ । केन्द्र निर्माण हुने स्थलबाट जामुन ४१, सिन्दुरे पाँच सय ५२, टुनी १६, गुल्लर दुई, खयर नौ, कोकडी ३१, पान ६४, कुमी पाँच, गुठेल ३१, सिमल नौ र राजवृक्ष नौ कटान गरिने भएका छन् । 

यसैगरी छतिवन दुई, पनार एक, धौटी चार, राईजामुन एक, कोइरालो एक, बर्रो दुई, झिनी दुई, असारे तीन रुख कटान गरी हटाइने भएको छ । त्यसबाट काठ चार हजार दुई सय २९ दशमलव ४८ र दाउरा ३३ दशमलव ४८ क्यूफिट निस्कने अनुमान गरिएको छ । 

‘फोहरमैला व्यवस्थापन केन्द्र निर्माण स्थलमा रहेका रुख कटान गरी व्यवस्थित तरिकाले सामुदायिक वनको घाटगद्दीमा राख्नका लागि पहिलो चरणको छलफलको कार्य गरेका छौँ’, वडा नं ११ का अध्यक्ष शेरबहादुर साउदले भने, ‘रुख कटानीको कार्य नहुँदा रोकिएको केन्द्र निर्माणको कामले अब गति लिने भएको छ ।’

फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि रु २६ करोड ७७ लाखमा ठेक्का सम्झौता गरिएको छ । केन्द्र निर्माणको जिम्मा रमण केएसजेभी कैलालीले पाएको छ । गत वैशाखमा निर्माण कम्पनी र सहरी विकास आयोजना कार्यान्वयन एकाइबीच ठेक्का सम्झौता गरिएको थियो । सो फोहर व्यवस्थापन केन्द्रमा ३० देखि ४० वर्षसम्म फोहर व्यावस्थापन गर्न सकिने गरी निर्माण गरिने छ ।

नगरपालिकामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रसँगै नगरपालिकाको प्रशासकीय भवन र तीन आधुनिक सडक निर्माणको काम भइरहेको छ । भवन र सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  २ : ५१ बजे

विश्वकपमा मेसीको कीर्तिमानी ह्याट्रिक: रोनाल्डोको रेकर्ड तोडियो

काठमाडौँ – सन् २०२२ को कतार विश्वकप जितेपछि कप्तान लियोनेल

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

योग दिवसको सन्दर्भमा आयुर्वेद क्याम्पसमा योगअभ्यास

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवसको १२औँ संस्करण आगामी जुन २१ मा

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ