दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 7 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

आज दिनभर स्ववियु निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन, जनतालाई स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध, जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको पूर्व तयारी गर्न सुझाव, सुदूरपश्चिम प्रदेश सरकारले ऐरी र सार्कीलाई पुरस्कार दिने, एसईईमा चार जिपिए ल्याउनेलाई ५० हजारलगायत समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू :

स्ववियु निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहसचिवसहित तीनवटै सुरक्षा प्रमुखलाई बोलाएर पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्।

प्रधानमन्त्री प्रचण्डले शनिबार बालुवाटार डाकेर देशमा भएको पछिल्लो सुरक्षा अवस्थाका बारेमा जानकारी लिएका हुन्। क्रममा उनले भोलि हुने स्ववियु निर्वाचनको सुरक्षा चुस्तदुरुस्त बनाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो क्रममा प्रधानमन्त्रीले समाजमा भएका अन्य सुरक्षा सतर्कतालाई भरपर्दो र विश्वसनीय बनाउन पनि निर्देशन दिएको बताइएको छ।

प्रधानमन्त्रीले मिटरव्याजीलाई कारबाही गर्ने कानुनी र राजनीतिक समस्या रहेको प्रति पनि चिन्ता व्यक्त गरे। जोशी

जनतालाई स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध : मन्त्री खान

खानेपानी मन्त्री अब्दुल खानले जनतालाई स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध भएर काम गरिरहेको बताएका छन् । जनमत पार्टी नेपालगञ्ज उपमहानगर कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री खानले नागरिकले स्वच्छ खानेपानी पिउन पाउने अधिकार संविधानमै व्यवस्था भएकाले यसतर्फ सचेत हुँदै मन्त्रालयले अनवरतरूपमा काम गरिरहेको दाबी गरे ।

‘स्वच्छ पानी पिउन पाउनु प्रत्येक नागरिकको हक भएको संविधानमै व्यवस्था छ’, उनले भने, ‘यो जनताको मौलिक हक भएकाले म यसका लागि अनवरतरूपमा काम गर्दैछु ।’ खानेपानी मन्त्रालयअन्तर्गतका निकायले राजनीतिकरण नगरी जनतालाई सहज तरिकाले घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउने कार्यमा दत्तचित्त भएर लाग्न मन्त्री खानले निर्देशनसमेत दिए ।

नेपालका खोलानालाबाट ‘मिनरलयुक्त’ स्वच्छ पानी त्यसै बगिरहेकाले त्यसलाई उपयोग गरेर देशको आर्थिक समृद्धिमा खानेपानीले योगदान दिन सक्ने उनको भनाइ छ । ‘मिनरलयुक्त’ स्वच्छ पानी बगिरहेकाले त्यसलाई बजारीकरण गर्न सकेको खण्डमा देशको आर्थिक समृद्धिमा पानीले योगदान दिन सक्ने मन्त्री खानले उल्लेख गरे ।

“हाम्रो देशभित्र यति धेरै नदी र झरनाबाट पानी बगिरहेको छ, केही गर्न नसके पनि खाडी मुलुकमा मात्रै नेपालको पानी निर्यात गर्न सक्यौँ भने हाम्रो देशको हितमा धेरै ठूलो योगदान हुनसक्छ”, मन्त्री खानले भने ।

जनयुद्धका घटना अदालत पुगे प्रचण्डमात्रै होइन ओली र देउवा पनि जेल जानुपर्छ : सीपी गजुरेल

नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सीपी गजुरेलले जनयुद्धकालीन घटनालाई नियमित अदालती प्रक्रियामा लिएर गए प्रचण्डमात्रै नभएर केपी ओली र शेरबहादुर देउवा पनि जेल जानुपर्ने बताएका छन् । शनिबार संवाद डबलीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनयुद्धका घटनामा प्रचण्डमात्र नभई तत्कालीन सात राजनीतिक दलका नेताहरु पनि जिम्मेवार रहेको बताएका हुन् ।

कार्यक्रमा गजुरेलले शान्ति प्रक्रियामा तत्कालीन विद्रोही नेकपा (माओवादी), सात राजनीतिक दल र राज्यबीच सहमति भएको र त्यसको अनुगमन संयुक्त राष्ट्र संघले अनमिनमार्फत गरेको तर अहिले माओवादीलाई मात्रै दोष दिइएको आरोप लगाए ।

उनले शान्ति प्रक्रियाको मर्मअनुसार संक्रमणकालीन न्याय सम्पादन नहुनुमा प्रचण्डजत्तिकै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माधव कुमार नेपाल, बबुराम भट्टराई पनि जिम्मेवार रहेको बताए ।

गजुरेलले भने, “जनयुद्ध ठूलो क्रान्ति थियो, त्यहाँ धेरैको ज्यान जान्छ, हातहती हुन्छ, त्यो अपराधिक केस लगाएर हुँदैन, यो त शान्ति प्रक्रियाअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुंगो लगाउनुपर्छ ।”

कार्यक्रममा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले गणतन्त्र ल्याउने बलिदान गर्ने माओवादीहरुमाथि नै मुद्दा लगाइएको भन्दै आपत्ति जनाए । उनले भने, “यो परिवर्तन ल्याउने माओवादी, बलिदान गर्ने माओवादी, जनताको पक्षको लड्ने माओवादी तर माओवादीमाथि नै मुद्धा, यो भन्दा ठूलो अत्याचार अरु के हुन्छ ?”

प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता भएपछि माओवादीहरु डराएको भन्ने हल्ला चलाइएको बताउँदै बास्तोलाले भने, “यहाँ माओवादी डराएको भनेर हल्ला चलाइएको छ, हामी डराएका छैनौं, जनयुद्ध सुरु गर्दा जनतालाई मुक्त गर्ने कसम खाएको र अपील गर्नेमध्ये म पनि हुँ, यस्ता मुद्दाबाट डराएको होइन, शान्ति प्रक्रियाकामा उल्लेख भएअनुसार न्याय सम्पादन गरिनुपर्छ भन्ने हाम्रो विषय हो ।”

उनले अहिले व्यवस्था दलाल पुँजीपति वर्गको हातमा पुगेको भन्दै त्यसविरुद्ध आफूहरु उभिएको बताए ।

मन र विचार मिल्नेसँग गठबन्धन हुन्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताएका छन्।

मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने उल्लेख गर्दै आर्थिक अवस्था मजबुत बनाउनका लागि एकजुट हुनुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताउ। “आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन”, उनले भने ।

गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने– ‘देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो । संविधानको रक्षा, देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धनमा आबद्ध दलहरूको साझा एजेन्डा हो ।’

अध्यक्ष नेपालले अझै पनि नेपालमा कम्युनिष्ट लोकप्रिय रहेकाले विचार मिल्ने कम्युनिष्ट एक हुनुपर्नेमा जोड दिए । कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसाललगायतको सहभागिता थियो ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको पूर्व तयारी गर्न सुझाव

जलवायुजन्य हानी तथा नोक्सानीका विषयलाई संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) मा प्रभावकारी रूपमा उठाउन सरकारले अहिलेदेखि नै तयारी गर्नुपर्नेमा विज्ञ तथा सम्बद्ध अधिकारीले सुझाव दिएका छन् । जलवायु परिवर्तनले गर्दा भएको क्षतिमा न्याय दिने विषयमा केन्द्रित भई आगामी नोभेम्बरमा दुबईमा उक्त सम्मेलन हुँदैछ ।

त्यसको पूर्व तयारीका लागि नेपाल सरकारले गर्नुपर्ने काममा केन्द्रित भई आयोजना गरिएको एक कार्यक्रमका वक्ताहरूले विश्व मञ्चमा पर्याप्त आधार, प्रमाण र तार्किक प्रस्तुति राख्न सके मात्र नेपालले न्याय पाउने धारणा राखे । सांसद एवम् पूर्वपरराष्ट्रमन्त्री डा. विमला राई पौडेलले जलवायु परिवर्तनको जोखिम विशेषगरी महिला र सीमान्तकृत समुदायमा रहेको भन्दै सम्भावित जोखिम न्यूनीकरणका लागि तीन तहका सरकारबीच प्रभावकारी समन्वय गरेर आवश्यक कार्यक्रम अघि बढाइनुपर्नेमा जोड दिइन् ।

उनले वातावरण संरक्षणका लागि स्थानीय प्रविधिको भरपुर उपयोग गर्दै यसको असरबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बहस पैरबी गर्न जरुरी भएको उल्लेख गरिन् । पछिल्ला वर्षहरूमा सेताम्ये हिमालहरू कालाम्य हुन थालेको चर्चा गर्दै सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मानवीर राईले जलवायु परिवर्तनका कारण उच्च हिमाली भूभागमा नास्पाती, स्याउजस्ता फलफूलको फूल फुल्ने सिजन परिवर्तन भएको र अन्य खेतीपातीमा समेत यसको असर परेको बताए ।

वातावरण र महिला अधिकारका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘साथसाथै’ले शुक्रबार आयोजना गरेको ‘महिला, जलवायु न्याय, सूचना, समावेशिता तथा नवीनता’ विषयक छलफलमा सांसद राईले नेपालले राष्ट्रसंघीय जलवायु सम्मेलनमा हानिनोक्सानीको मुद्दालाई प्रभावकारी रूपमा राख्न अहिलेदेखि नै तयारी हुनुपर्ने आवश्यकता रहेको बताए ।

वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव डा। रेवतीरमण पौडेलले वातावरण संरक्षण र जलवायु परिवर्तनको जोखिम नियन्त्रणका लागि नीतिगतरूपमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको भन्दै आगामी दिनमा यस किसिमका कार्यक्रमलाई ब्यापक बनाएर लैजाने विश्वास व्यक्त गरे ।

सुदूरपश्चिम प्रदेश सरकारले ऐरी र सार्कीलाई पुरस्कार दिने

सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार काठमाडौँमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकामा खुसी व्यक्त गर्दै सुदूरपश्चिम प्रदेशले टोलीका महत्वपूर्ण खेलाडीद्वय ऐरी र सार्कीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने अन्य खेलाडीलाई समेत प्रोत्साहनस्वरुप नगद पुरस्कार दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकिय सचिव धीरेन्द्र शाहीले जानकारी दिए । यस्तै प्रदेश सरकारले नेपाली टोलीका अर्का सदस्य सन्दीप जोरालाई एक लाख रुपैयाँ तथा आइसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न नेपाली टोलीको अन्तिम १८ मा पर्न सफल सुदूरपश्चिमका कमलसिंह ऐरी र अर्जुन सावदलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय भएको शाहीले बताए ।

एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली टोलीलाई बधाई ज्ञापनसमेत गरेका छन्। बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले पराजित गरेको हो । जितसँगै नेपालले एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएको छ ।

प्रदेश सरकारको पुरस्कार घोषणाप्रति खुसी व्यक्त गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य भीम सार्कीले प्रोत्साहनले आगामी दिनमा क्रिकेट खेल्न हौसला मिलेको बताए । सुदूरपश्चिम प्रदेश सरकारको घोषणा निकै प्रसंसनीय रहेको उल्लेख गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा पनि थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री शाहलाई धन्यवाद दिए ।

सुदूरपश्चिम प्रदेश सरकारले यसअघि यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका सुदूरपश्चिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । नेपाली यू–१९ टोली हालै युनाइटेड अरब इमिरेट्स (युएई) मा सम्पन्न एसिया छनोटमा अपराजित रहँदै च्याम्पियन बनेको थियो । नेपाल सन् २०२४ मा हुने आइसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्र स्तरीय निर्णयबाट उक्त टोलीमा प्रतिनिधित्व गरेका सुदूरपश्चिमका पाँच खेलाडीलाई जनही एक लाख रुपैयाँ तथा प्रशिक्षक र व्यवस्थापकसहित चार जनालाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो ।

नागरिक लगानी कोष स्थापनाको तेत्तीसौँ वर्षमा प्रवेश

नागरिक लगानी कोष स्थापनाको ३३औँ वर्षमा प्रवेश गरेको छ । बचतमा प्रोत्साहन गरी लगानी बढाउने, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने र पुँजी बजारमा गतिशीलता ल्याउने उद्देश्यले २०४८ सालमा स्थापना भएको कोषले हालसम्म दुई खर्ब रुपैयाँ भन्दा बढी लगानी गरिसकेको जनाएको छ ।

कोषका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई खर्ब पाँच अर्ब ६९ करोड रुपैयाँ लगानी गरेको छ । सोही अवधिमा कोषको खुद कोष मौज्दात रकम दुई खर्ब छ अर्ब १९ करोड रुपैयाँ छ । हालसम्म मुद्दती निक्षेपमा एक खर्ब छ अर्ब २६ करोड रुपैयाँ, धितो पत्रमा २८ अर्ब २६ करोड १३ लाख रुपैयाँ, कोषका सहभागीलाई सापटी तथा आवास कर्जामा ४५ अर्ब ९२ करोड १५ लाख रुपैयाँ र समकालीन कर्जामा २२ अर्ब ६९ करोड ८० लाख रुपैयाँ लगानी गरेको कोषले जनाएको छ । पुस मसान्तसम्ममा अधिकृत पुँजी र जारी पुँजी समान आठ अर्ब रुपैयाँ रहेको कोषको चुक्ता पुँजी चार अर्ब २५ करोड १० लाख रुपैयाँ रहेको छ ।

नागरिक लगानी कोषमा सरकारको २३ दशमलव ३४ प्रतिशत शेयर स्वामित्व छ । त्यस्तै राष्ट्रिय बीमा संस्थानको ३१ दशमलव ५५, नेपाल स्टक एक्सचेन्जको १०, अन्य बैंक तथा वित्तीय संस्थाको १५ दशमलव ११ र सर्वसाधारणको २० प्रतिशत स्वामित्व छ ।

लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, बीमा कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना, नागरिक एकाङ्क योजना, नागरिक पेन्सन योजना, लगानी व्यवस्थापन, ब्रिज ग्याप लोन, सहभागी कर्जा, परियोजना कर्जा, धितोपत्र लगानीजस्ता कार्यक्रम कार्यान्वयन गरिरहेको जनाएको छ ।

वीरगञ्जमा छाडा कुकुरको बन्ध्याकरणसँगै रेबिजविरुद्धको खोप लगाइँदै

सहरी तथा ग्रामीण क्षेत्रमा छाडा कुकुरको आतङ्क बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले कुकुरको बन्ध्याकरण तथा रेबिज रोगविरुद्धको खोप दिन सुरु गरेको छ ।

हुलका हुल निस्किने छाडा कुकुरले बाटो हिँड्ने सर्वसाधारणलाई टोक्ने, बाटोमा यातायात आवागमनमा समस्या पुर्‍याउनुको साथै स्थानीयले पालेका खसीबोका मार्ने क्रम बढ्दै गएपछि महानगरपालिकाले कुकुर बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाउनु सुरु गरेको हो । छाडा कुकुरलाई दैनिक सङ्कलन गरी नेशनल ट्रेडिङमा बन्ध्याकरण गरिने गरिएको द जेन गुडअल इन्स्टिच्युट नेपालका प्रशासकीय अधिकृत रमेश सापकोटाले जानकारी दिएका छन् ।

गत मङ्गलबारदेखि सुरु भएको छाडा कुकुर बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्यक्रमअन्तर्गत आजसम्ममा दुई सयभन्दा बढी कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको उनले बताए । पहिलो चरणमा करिब एक हजार कुकुरको बन्ध्याकरण गरिने उनको भनाइ छ ।

वीरगञ्जमा छाडा कुकुरको सङ्ख्या वृद्धि नियन्त्रण गर्न यस्तो अभियान सुरु गरिएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले सुनाए । कुकुरको सङ्ख्या दैनिकरुपमा बढ्दै गएकाले यसलाई कम गर्न बन्ध्याकरण गर्न थालेको र यसबाट छाडा कुकुरको कमि आउने नगरप्रमुख सिंहको विश्वास छ । छाडा कुकुरको आतङ्कलाई रोक्न केही दिनअघि महानगरपालिकाले कुकुर मार्ने अभियान चलाएको थियो तर अधिकारकर्मीले कुकुर मार्ने अभियानविरुद्ध आन्दोलन सुरु गरेपछि महानगरपालिकाले मार्ने अभियानको साटो बन्ध्याकरण र रेबिजविरुद्धको खोप अभियान चलाएको हो ।

एसईईमा चार जिपिए ल्याउनेलाई ५० हजार

नुवाकोटको म्यागङ गाउँपालिकाले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

हालै बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको गाउँपालिकाको उपाध्यक्ष सीता तामाङले जानकारी दिइन् । उनको अनुसार एसइईमा चार जिपिए ल्याउने प्रत्येक विद्यार्थीलाई ५० हजार रुपैयाँ र तीन दशमलव छदेखि चारभन्दा कम जिपिए ल्याउने प्रत्येक विद्यार्थीलाई नगद २० हजार रुपैयाँ सहित सम्मान गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ८ : ५८ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको