के हो आँखा पाक्ने समस्या ? | Khabarhub Khabarhub

के हो आँखा पाक्ने समस्या ?

आँखाको हेरचाह र उपचार


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

आँखा हाम्रो शरीरको एक संवेदनशील अंग हो। आँखा अन्य अंगको तुलनामा निकै संवेदनशील हुने भएकोले हामीले यसको उचित स्याहार तथा हेरचाह गर्नुपर्दछ। सानो लापरबाहीका कारण पनि आँखामा विभिन्न समस्या देखा पर्न सक्छन्। जसको कारण आँखाको दृष्टिसम्म गुम्न सक्ने चिकित्सक बताउँछन्। पछिल्लो समय आँखामा समस्याको रूपमा आँखा पाक्ने रोग एकदमै भयावह रूपमा देखा परिरहेको छ। त्यसैले आँखा पाक्ने समस्या कस्तो समस्या हो ? लक्षण के कस्ता देखिन्छन्। योबाट बच्न के कस्ता उपाय अपनाउने ? लगायतका विषयमा आधारित भएर आँखा रोग विशेषज्ञ डा. निशा श्रेष्ठसँग खबरहबका लागि गरिएको कुराकानीको सम्पादित अंशः

आँखा पाक्ने समस्या के हो ?
बाहिरी वातावरणमा भएका कीटाणुको कारणले आँखामा इन्फेक्सन हुन्छ। कोही मान्छे बाहिर हिँडिरहेको बेलामा फोहोर हातले सिधै आँखा छुन्छ भने उसको हातमा भएका कीटाणु आँखामा जान्छन्। जस कारण आँखामा इन्फेक्सन हुन्छ।

एडिनो भाइरस, ब्याक्टेरिया र रोग प्रतिरोधात्मक क्षमता कम हुँदा आँखा पाक्ने गर्छ। भाइरसका कारण एकबाट अर्को व्यक्तिमा आँखा पाक्ने रोग छिटो सर्छ। भाइरसले आँखाको नानीमा पनि सङ्क्रमण गरेमा उज्यालोमा हेर्न गाह्रो हुन्छ। त्यस्तो अवस्थामा कालो चस्मा लगाएपछि अलिक सजिलो हुन्छ।

यो रोग लाग्यो भन्दैमा आत्तिनु हुँदैन। यसको समय चार दिनदेखि २४ दिनसम्म हुन्छ। आफ्नो समय चक्र पूरा गरेपछि आफैँ ठिक हुन्छ। त्यसैले आत्तिएर चिकित्सकको सल्लाह बिना कुनै पनि औषधि राख्नु हुँदैन।

आँखा पाक्दा देखिने लक्षण के के हुन् ?
आँखा पाक्दा आँखा रातो हुने, बारम्बार आँसु आइरहने, आँखा पोल्ने, आँखाको डिल सुन्निने यसका साथै आँखा भारी भएर कचेरा आउने हुन्छ ।

आँखा बिझाएजस्तो हुने, घाममा हिँड्न गाह्रो हुने, उज्यालोमा हेर्न गाह्रो हुने, आँखा सुख्खा भएर चिलाउने, दृष्टि धमिलो हुँदै जाने, आँखा तथा आँखा वरपरको भाग सुन्निने, बिहान उठ्दा आँखाको ढकनी पूरै टाँसिने र आँखा खोल्न गाह्रो हुने चम्किलो प्रकाशमा हेर्न गाह्रो हुने वा सूर्यको किरणमा हेर्दा आँखा पोल्ने साथै बिरामीलाई हल्का ज्वरो आउने, शरीर गल्नेलगायतका लक्षण देखा पर्छन्।

यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने माध्यम के हो ?
आँखा पाक्ने रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्नसक्छ। सङ्क्रमित व्यक्तिले चलाएका सामान प्रयोग गर्दा यो संक्रमण सजिलै सर्छ।

जस्तो: रुमाल, लुगा कपडा, कम्प्युटर, ल्यापटप, मोबाइल अर्को व्यक्तिले चलाउँदा यो रोग सर्ने सम्भावना हुन्छ। सङ्क्रमित व्यक्तिले लगाएको चस्मा अर्को निरोगी व्यक्तिले लगायो भने सर्छ। यसका साथै सङ्क्रमित व्यक्तिले आँखा मिच्दा उसको हातमा कीटाणु टाँसिन्छन्। त्यही हात नधोई अर्को व्यक्तिसँग मिलाउँदा पनि यो रोग सर्छ।
आँखाको समस्या कसैलाई हेरेको भरमा सर्दैन। तर कसैलाई आँखा पाकेको छ भने उसले आफ्नो आँखा छुँदा हात धोएर मात्र छुने गर्नुपर्छ। इन्फेक्सन भएको मान्छेलाई छोएपछि आफ्ना आँखा छुँदा हात सफा हुनुपर्छ। आँखा पाकेको बेला चस्मा लगाएर हिँड्दा घाममा हिँड्न पनि सजिलो हुन्छ।

आँखा पाकेमा के गर्ने ?
आँखा पाकेमा त्यसलाई सफा राख्नुपर्छ। तर आँखामा पानीले छ्याप्ने गर्नु हुँदैन। फोहोर हात वा हात नपखाली आँखा माड्नु हुँदैन। जथाभावी औषधिको प्रयोग पनि गर्नु हुँदैन।

कुनै व्यक्तिको आँखा पाकेको छ भने उसले परिवारका सदस्यलाई सर्न नदिन समय समयमा साबुन पानीले हात धुनुपर्छ। स्यानिटाइजर प्रयोग गर्नुपर्छ। आँखा छोइसकेपछि वा आँखामा ड्रप हालिसकेपछि राम्रोसँग साबुन पानीले हात धुनुपर्छ। संक्रमित आँखालाई सकेसम्म चलाउनु हुँदैन।

आँखामा कुनै समस्या हुन नदिन के गर्ने ?
आँखालाई सफा राख्ने, अरूले प्रयोग गरेको कपडाले आँखा पुछ्नु हुँदैन। आँखा छोएपछि साबुन पानीले हात धुने गर्नुपर्छ। धेरै आँखामा हात लगाइराख्नु हुँदैन। आँखाको सङ्क्रमण भएका व्यक्तिले कालो चस्मा लगाएर हिँड्दा निकै राम्रो हुन्छ।

यो आँखाको इन्फेक्सन एकबाट अर्कोमा सर्ने रोग हो। यो धेरै माध्यमबाट सर्न सक्छ। कतिपय महिला केटी मान्छेले गाजलहरू एक अर्कामा सेयर गरेर लगाउँदा कसैलाई इन्फेक्सन भएको छ भने त्योबाट पनि सर्छ। साथै आँखाको नियमित रूपमा जाँच गर्नुपर्छ।

मधुमेह, उच्च रक्तचाप, थाइराइड रोग भएका र दैनिक प्रयोग गर्ने डिप्रेसन, बाथको औषधिले पनि आँखामा नकारात्मक असर गर्छन्। औषधि सेवन गर्ने व्यक्तिले नियमित आँखा परीक्षण गरेमा अन्धोपनबाट बच्न सकिन्छ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ७ : ०० बजे

पहिलो सेमिफाइनल : अफगानिस्तानलाई दक्षिण अफ्रिका कति सहज ?

सन् १९९९ को विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका सानदार लयमा थियो।

युरोकप २०२४ : समूह ‘सी’ का इंग्ल्याण्ड, डेनमार्क र स्लोभेनिया अन्तिम १६ मा

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबल अन्तर्गत समूह ‘सी’ बाट इङल्याण्ड,

बेनी–भकिम्ली सडक स्तरोन्नति

म्याग्दी– डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ ।

कोपा अमेरिका : क्यानडासँग पेरु पराजित

काठमाडौं– कोपा अमेरिका फुटबलमा क्यानडाले पहिलो जित निकालेको छ ।

युरोकपमा फ्रान्स र पोल्याण्डले खेले बराबरी

काठमाडौ– युरोकप फुटबलको समूह डीमा रहेका फ्रान्स र पोल्याण्डले बराबरी