विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

आज आश्विन १ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १८ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

अमेरिकाद्वारा ५ बन्दी छुटाउन इरानलाई ६ अर्ब डलर निकासा
इरानी कारगारमा रहेका छ जना अमेरिकी नागरिकको रिहाइका निम्ति वासिङ्टनले इरानलाई छ अर्ब अमेरिकी डलर प्रदान गरेको छ । अमेरिका–इरान कैदी आदानप्रदान सम्झौताअन्तर्गत कतारी बैंकहरूमा उक्त रकम जम्मा गरिएको हो । अमेरिकी बन्दीहरूलाई इरानबाट बाहिर निकाल्न तेहरानमा तयारी अवस्थामा एउटा विमान राखिएको एक स्रोतले सोमबार एएफपीलाई बताएको छ ।

अमेरिकी निर्देशनमा दक्षिण कोरियाले उक्त रकम तेहरानलाई निकासा दिएको हो । सोललाई इन्धन बेचेको भुक्तानी अमेरिकी निर्देशनमा तेहरानले पाएको थिएन । आणविक वार्ताबाट इरान पछिहटेपछि ट्रम्प प्रशासनले तेहरानमाथि प्रतिबन्ध लगाउँदै दक्षिण कोरियाले भुक्तानी दिनुपर्ने रकम रोक्का गरेको थियो । वासिङ्टन र तेहरानबीच कूटनीतिक सम्बन्ध नभएकाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको कतारले दुवै पक्षलाई रकम जम्मा भएको जानकारी दिएको छ ।

तेहरान र वासिङ्टनबीच बन्दी आदानप्रदान सम्झौताअन्तर्गत इरानमा थुनामा रहेका पाँच अमेरिकी र अमेरिकामा हिरासतमा रहेका पाँच इरानीलाई पनि थुनामुक्त गरिने छ । कतारले इरानी र अमेरिकी अधिकारीहरूलाई स्विट्जरल्याण्डबाट छ अर्ब डलर कतारका बैंक खातामा स्थानान्तरण गरिएको सूचनासमेत दिइसकेको छ । पाँच अमेरिकी नागरिक र दुई जना उनीहरूका आफन्तलाई दोहा ल्याउन कतारी जेट इरानमा तयारी अवस्थामा रहेको कतारी अधिकारीहरूले बताएका छन् ।

तेहरानले पक्राउ गरेका पाँच जना इरानी मूलका अमेरिकी हुन् । इरानमा बन्दी बनाइएका अमेरिकीहरूमध्ये व्यापारी सियामक नमाजीलाई जासुसीको आरोप लगाइएको थियो । हिरासतमा लिइएका अन्य वन्यजन्तु संरक्षणवादी हुन् । अमेरिकाले पक्राउ गरेका एक जनामाथि जासुसी गरेको, अर्का दुई जना इरानी सेनासँग सम्बन्ध भएको तथा दुई जनाले अमेरिकी प्रतिबन्ध उल्लङ्घन गरेको आरोप लगाएको थियो ।

चिनियाँ विदेशमन्त्री वाङ यी सुरक्षा वार्ताका लागि रुस जाने
चीनका विदेशमन्त्री वाङ यीले सुरक्षा वार्ताका लागि सोमबारदेखि रूसको चार दिने भ्रमण सुरु गर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

चीन र रूस रणनीतिक सहयोगी हुन् । दुवै देशले बारम्बार आफ्नो ‘सीमाहीन’ साझेदारी र आर्थिक तथा सैन्य सहयोगको चर्चा गर्दै आएका छन् ।

गत वर्षको फेब्रुअरीमा रूसले युक्रेनमाथि गरेको आक्रमणपछि चीनले त्यसको आलोचना गर्न अस्वीकार गरेको थियो ।

चीनको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै रूसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुशेभको निमन्त्रणामा वाङले रणनीतिक सुरक्षा परामर्श गर्ने जनाएको छ । यसअघिको ब्रिफिङमा रूसी विदेश मन्त्रालयले वाङले आफ्ना समकक्षी सर्गेइ लाभरोभसँग भेटवार्ता गर्ने र दुवैले ‘अन्तर्राष्ट्रिय परिदृश्यमा सहकार्यलाई मजबुत बनाउने प्रयासमा ध्यान केन्द्रित गर्ने’ योजना बनाएको बताएको थियो ।

“युक्रेनमा समाधानसँग सम्बन्धित मुद्दाहरूको साथै एशिया–प्रशान्त क्षेत्रमा स्थिरता र सुरक्षा सुनिश्चित गर्ने तरिकाहरूमा विस्तृत विचार आदानप्रदान हुनेछ’’ विदेश मन्त्रालयका एक प्रवक्ताले भने ।

चीनले युक्रेन युद्धमा आफूलाई एक तटस्थ पक्षको रूपमा स्थापित गर्न खोजेको छ र मस्कोलाई एक महत्वपूर्ण कूटनीतिक र वित्तीय आधार प्रदान गरेको छ । यसको अन्तर्राष्ट्रिय अलगाव गहिरो हुँदै गएको छ । तर उसले रूसमा प्रत्यक्ष सैन्य संलग्नता वा घातक हातहतियार पठाउन भने रोकेको छ ।

गत महिना चीनका रक्षामन्त्री ली शाङ्फुले रूस र बेलारुसको भ्रमण गरी निकट सैन्य सहकार्यका लागि आह्वान गरेका थिए ।

हालैका महिनाहरूमा दुई देशहरूले संयुक्त समुद्री र हवाई गस्ती गरेका छन्, जसले गर्दा दक्षिण कोरियाले सावधानीको रूपमा लडाकू विमानहरू तैनाथ गरेको छ ।

जुलाईमा भ्लादिमिर पुटिनका एक सहयोगीले रूसी राष्ट्रपतिले अक्टोबरमा चीन भ्रमण गर्ने योजना बनाइरहेको बताएका थिए ।

गत मार्चमा चिनियाँ राष्ट्रपति सी चिनफिङले मस्कोको राजकीय भ्रमण गर्दै दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको घोषणा गरेका थिए ।

गत साता भ्लादिभोस्तोकमा आयोजित वार्षिक पूर्वी आर्थिक मञ्चको बैठकमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनका उपप्रधानमन्त्री झाङ गुओकिङलाई रूस र चीनबीचको सम्बन्ध ‘अत्यन्त अभूतपूर्व, ऐतिहासिक स्तरमा पुगेको’ बताएका थिए ।

लिबियामा ग्रीक सहायता टोलीका पाँच सदस्यको मृत्यु
विनाशकारी बाढीपछि लिबिया पुगेको ग्रीक मानवीय सहायता टोलीका पाँच सदस्यको सडक दुर्घटनामा परी मृत्यु भएको छ । ग्रीक सेनाले मानवीय सहायता टोलीका ५ सदस्यको मृत्यु भएको ग्रीसको सेनाले सोमबार जनाएको हो ।

‘सहायता टोलीमा रहेका ग्रीक सेनाका तीन अधिकारी र ग्रीसको विदेश मन्त्रालयका दुई अनुवादकसहित पाँच जनाको शव सोमबार एथेन्स फर्काइनेछ,’ ग्रीसका चिफ अफ स्टाफले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

लिबियाली अधिकारीहरूले आइतबार बेन्गाजीबाट पूर्वतर्फ ३०० किलोमिटर टाढा डेर्नातर्फ जाँदै गरेको ग्रीक टोली दुर्घटनामा परी चार जनाको मृत्यु भएको बताएका थिए ।

लिबियाका स्वास्थ्यमन्त्री ओथमान अब्देलजालिलले ग्रीक टोलीका १९ जना सदस्य बोकेको गाडी लिबियाली परिवार बोकेको कारसँग ठोक्किँदा दुर्घटना भएको बताएका छन् । उनका अनुसार कारमा सवार तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

घाइते भएका ग्रीक गाडीमा सवार अन्य १४ सदस्यमध्ये एक जनाबाहेक सबैलाई उपचारका लागि ग्रीस फर्काइएको छ । लिबियामा घाइते भएका एक व्यक्तिलाई ग्रीस फर्कन नदिएपछि अस्पताल भर्ना गरिएको सेनाले जनाएको छ ।

ग्रीसले आइतबार लिबियामा डेनियल आँधीपछि आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा मानवीय सहायता पठाएको थियो । उक्त सहायतामा मेडिकल र नर्सिङ स्टाफका साथै मेडिकल सामग्री र खाद्यान्न पनि समावेश थियो ।

दश प्रतिशत जापानी नागरिक ८० बर्षमाथिका वृद्ध
जापानका १० प्रतिशतभन्दा बढी मानिस ८० वर्ष वा सोभन्दा बढी उमेर काटेको नयाँ आधिकारिक तथ्यांकले देखाएको छ ।

सोमबारको ‘रेस्पेक्ट फर एज्ड डे’ राष्ट्रिय बिदाको पूर्वसन्ध्यामा आइतबार सार्वजनिक गरिएको सरकारी तथ्यांकले हरेक दशमध्ये एक जना ८० वा सोभन्दा बढी उमेर समूहको रहेको देखाएको छ ।

जापानको ६५ वर्ष वा सोभन्दा बढी उमेरको जनसङ्ख्याको हिस्सा अघिल्लो वर्षको २९.० प्रतिशतबाट बढेर २९.१ प्रतिशत पुगेको छ । आन्तरिक मामिला मन्त्रालयका अनुसार दोस्रो स्थानमा रहेको इटालीको २४.५ प्रतिशत र तेस्रो स्थानमा रहेको फिनल्यान्डको २३.६ प्रतिशतको तुलनामा यो स्तर मापन गरिएको हो ।

‘जापानमा विश्वमा सबैभन्दा बढी वृद्धवृद्धा रहेका छन्,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । युवाहरूले अस्थिर रोजगारी र आर्थिक कठिनाइका कारण विवाह र बच्चा जन्माउन ढिलाइ गरिरहेका कारण दशकौंदेखि जापानको जनसङ्ख्या घट्दै गएको छ र पहिलेको जनशक्ति वृद्ध हुँदै गएको छ ।फलस्वरूप, जापानमा वृद्धवृद्धाको हेरचाहका लागि बढ्दो खर्च देखिएको छ र युवाहरूले रोजगारी भर्न र विभिन्न सामाजिक र कल्याणकारी कार्यक्रमहरूको लागि भुक्तानी गर्न पर्याप्त छैनन् ।

मन्त्रालयका अनुसार जापानमा सन् १९४६ देखि सन् १९६४ ताका जन्मिएको (ब्याबी बुमर) जनसङ्ख्या १२ करोड ४४ लाख मानिस ७५ वर्ष वा सोभन्दा बढी उमेर समूहका छन् । करिब एक करोड २५ लाख ९० हजार मानिस ८० वर्ष वा सोभन्दा बढी उमेरका छन् भने दुई करोड मानिस ७५ वर्ष वा सोभन्दा बढी उमेरका छन् ।

फलस्वरूप, जापान वृद्ध श्रम शक्तिमा निर्भर मुलुक भएको छ । जापानमा ९० लाखभन्दा बढी वृद्धवृद्धाले काम गरिरहेका छन्, जुन श्रमशक्तिको १३।६ प्रतिशत वा सातमध्ये एक जना कामदार हुन् ।

जापानमा सबै वृद्धवृद्धामध्ये एक चौथाइले रोजगारी पाएका छन्, जुन दक्षिण कोरियाको ३६।२ प्रतिशतभन्दा कम हो, तर संयुक्त राज्य अमेरिकाको १८.६ र फ्रान्स ३.९ प्रतिशतका साथ अन्य विकासशील देशहरूभन्दा धेरै हो ।

जापानमा ७० देखि ७४ वर्ष उमेर समूहका एक तिहाइभन्दा बढी मानिसले रोजगारी पाएका छन् । सन् २०४० सम्ममा जापानको कूल जनसङ्ख्याको ३४.८ प्रतिशत वृद्धवृद्धा रहने अनुमान गरिएको छ ।

पुटिनप्रति विशेष आभारी बन्दै उत्तर कोरियाली नेता स्वदेश फिर्ता
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘हार्दिक धन्यवाद’ व्यक्त गरेका छन् ।

उत्तर कोरियाली नेता किमको रूसको सुदूर पूर्वको भ्रमणले युक्रेनमा युद्धका लागि आणविक शक्ति सम्पन्न प्योङयाङले मस्कोलाई हतियार उपलब्ध गराउन सक्ने पश्चिमाहरूको आशंकालाई बढावा दिएको छ ।

भ्रमणका क्रममा उत्तर कोरियाली नेताले रूसी अन्तरिक्ष रकेटदेखि पनडुब्बीसम्मका सबै कुराको निरीक्षण गरेका थिए । यसमा पुटिनसँग राइफलको साङ्केतिक आदानप्रदान पनि समावेश रहेको छ ।

कोरियाली केन्द्रीय समाचार संस्था ९केसीएनए०का अनुसार किमले राष्ट्रपति पुटिन र रूसी नेतृत्वलाई विशेष ध्यान र सौहार्द्रपूर्ण आतिथ्यताका लागि हार्दिक धन्यवाद दिएका छन् । केसीएनएका अनुसार रूसी महासङ्घको औपचारिक सद्भावना भ्रमणको कार्यतालिका सफलतापूर्वक पूरा गरी किम स्वदेश फर्किएका छन् ।

उनले ‘रुसको समृद्धि र त्यहाँका जनताको कल्याण’ को कामना पनि गरेको केसीएनएको रिपोर्टमा उल्लेख छ । उत्तर कोरिया र रूसको ऐतिहासिक मित्रता कायम रहेको छ । युक्रेन आक्रमणको लागि मस्को र आणविक हतियार परीक्षणको लागि प्योङ्याङ दुबै मुलुकले विश्वव्यापी प्रतिबन्धहरूको सामना गरिरहेका छन् ।

भ्रमणका क्रममा किमले पुटिनसँग दुर्लभ शिखर वार्ता गरेकाले रूससँगको द्विपक्षीय सम्बन्धलाई आफ्नो देशलाई पहिलो प्राथमिकता बनाउने बताएका थिए । चीन अहिले उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण सहयोगी र हितैषी देश हो ।

उत्तर कोरियाको तोपको गोला युक्रेनमा प्रयोग गर्न रूस आतुर छ भने प्योङयाङले स्याटेलाइट प्रविधि र सोभियतकालीन सैन्य उपकरणको उन्नयनमा सहयोग खोजिरहेको विज्ञहरूले बताएका छन् । बुधबार पुटिन र किमबीच मस्कोबाट करिब आठ हजार किलोमिटर टाढा रहेको रूसको नयाँ भोस्तोच्नी कोस्मोड्रोममा भेटवार्ता भएको थियो ।

भेटपछि पुटिनले उत्तर कोरियासँग अझ बढी सहयोगको सम्भावना र सैन्य सम्बन्धका लागि ‘सम्भावना’ बारे कुरा गरेका थिए । तर रूसी प्रशासनिक केन्द्र क्रेमलिनले भने कुनै पनि सम्झौतामा हस्ताक्षर नभएको र नहुने बताएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ७ : ५९ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर