विश्वभर छरिएर रहेका नेपालीको छाता संस्था गैर आवासीय नेपाली संघ (एनआरएन) का प्रतिनिधिको जमघट यतिबेला नेपालमा छ। एनआरएनए विश्वभर छरिएर रहेका नेपालीलाई गोलवद्ध गर्ने संस्था हो। नेपालको विकास र समृद्धिका लागि सरकार र एनआरएनएबिच ठुलो सम्झौता हुने भएको छ। नेपालमा विकासको लागि लगानी ल्याउने अवसरको रूपमा पनि एनआरएनएले काम गर्दै आइरहेको छ। एनआरएनएको अन्तर्राष्ट्रिय सम्मेलन र तेस्रो विश्व ज्ञान सम्मेलनलगायतका विषयमा एनआरएनएका निवर्तमान उपाध्यक्ष एवम् एघारौँ अन्तर्राष्ट्रिय सम्मेलनमा उपाध्यक्षका प्रत्याशी धर्मराज अधिकारीसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश:
एनआरएनएका चुनौती कस्ता छन् ?
हामी नेपालीहरू संसारको जुनसुकै कुनामा बस्दा पनि लामो अवधि विदेशमा बसेको पाइँदैन। नेपाल प्रजातान्त्रिक प्रक्रियामा प्रवेश गरेपछि नेपालीहरू बाहिर जान थालेको देखिन्छ। २०४६ सालको जनआन्दोलनपछि नेपालीमा राज्यप्रति एक किसिमको त्रास देखियो। २०४६ साल अगाडि पार्टी भन्ने व्यवस्था थिएन। राजाको शासन कालमा सिधै राजा वा व्यवस्थासँग नजिक भएको मान्छेहरू पासपोर्ट लिन र बाहिर जान पाउने अवस्था थिएन। अहिले मान्छेहरू धेरै स्वतन्त्र भएका छन्। कोही कोही बाध्यताले बाहिर पढ्न गएका छन्। पछिल्लो कालमा जानेहरूलाई यहाँको भन्दा राम्रो शिक्षा विदेशमा छ भन्ने भएको छ।
२७ वर्ष लामो अस्ट्रेलियाको बसाइ अनुभव कस्तो छ ?
म अध्ययनको सवालमा गएको थिएँ। दुई वर्ष बसेर पढाइसँगै कमाइ गर्छु भन्ने थियो। म २०४६ को प्रजातान्त्रिक आन्दोलनको अगुवा विद्यार्थी थिएँ। जनआन्दोलनमा घाइते पनि भएको थिएँ। बुलेट पनि लागेको थियो। देश जनताप्रति प्रतिवद्ध रहेकाले समाजमा काम गर्छु भन्ने मेरो मान्यता थियो। तर बाहिर गएपछि दुई वर्षमा फर्किन्छु भनेको भए पनि २७ वर्ष भयो।
राजनीतिक परिवर्तनले तपाईंको जीवनमा परिवर्तन गरिदियो र त्यही राजनीतिले तपाईंलाई नेपाल आउन मन नलाग्ने बनाएको हो ?
म एनआरएनएको त्यस्तो सदस्य हुँ जो हरेक महिना नेपाल आउँछु। यो एक वर्षमा १५ पटक नेपाल आएको रहेछु। यो भनेकै नेपालप्रतिको माया र मोह हो।
एनआरएनएको चुनावको सन्दर्भमा यो राजनीतिसँग पनि जोडिएर आयो। एउटा पार्टीलाई सहयोग गरेको खण्डमा उसले त्यही अनुसारको उपस्थिति पाउने वा उसलाई त्यहाँ सदस्यता मिल्ने यो स्वतन्त्र किन हुन सकेन ?
२०४६ सालपछिको लोकतान्त्रिक अभ्यासपछि जताततै राजनीतिकरण भयो। मान्छेले चेतनाले काम गर्ने भन्दा नेताको घर पुग्ने प्रचलन बढ्यो। राजनीतिक पार्टीसँग संस्थागत भएको देखाउन २०४६ बाट भ्रातृ संगठन बन्न थाले। गणतन्त्रपछि राजनीतिकरण जताततै भयो। पहिला पञ्चायत कालमा यो कुरा स्वीकार्य थिएन। दुर्भाग्य आज जुनसुकै राजनीतिक पार्टी भित्र पनि त्यो खराब चिन्तन बोकेका मानिस छन्।
एनआरएनए नेपाल सरकार र राजनीतिक पार्टीसँग सँगसँगै भएन भने काम गर्न सक्दैन। राज्य व्यवस्था जतिसुकै कमजोर भए पनि वा हाम्रा नेता गलत भए पनि यो देशको कानुन विधि विधान बनाउने उनीहरूको हातमा नै हुन्छ। त्यसैले उनीहरुको कुरा सुन्नुपर्ने बाध्यता छ। दलसँग निकट भएका कार्यकर्ताहरू विदेशमा कतै न कतै पुगेका छन्। विदेश पुगे पनि उसले आफ्नो राजनीतिक संस्कार देखाइहाल्छ। त्यो संस्कारको सदस्य म पनि हुन सक्छु।
एनआरएनएका सदस्यहरूले राजनीतिक दलहरूबाट कस्तो लाभ लिन खोजेको पाउनु हुन्छ ?
गैरआवसीय संघ आफैमा दलप्रति निहित छैन। तर योसँग सम्बन्धित व्यक्ति संगठन बनेका छन्। नेपालको राजनीतिसँग यो जोडिनु दुर्भाग्य हो। नेपालको राजनीति पनि एनआरएनएका केही सफल व्यक्तिहरू आफ्नो हातमा लिएर केही फाइदा लिन चाहन्छन्। ती व्यक्तिहरू जो एनआरएनएको नेतृत्वमा आउँछन् उनीहरुलाई पनि फलानो राजनीतिक पार्टी र नेतासँग नजिक छु भनेपछि सजिलो हुन्छ।
अहिलेको एनआरएनएको चुनावमा हेर्दा पनि कांग्रेसको विधानमा त्यस्तो देखिएको छैन। एमालेको विधानमा त कुनै पनि विदेशी नागरिकता लिएको मान्छे एमालेको सदस्य बन्न सक्दैन भनिएको छ। तर सबै भन्दा बढी प्राक्टिस गरिरहेको छन्।
यो हाम्रो पार्टीको सदस्य नै होइन त्यसैले हाम्रो पार्टीले यसलाई निर्णय नै गराउँदैन भन्ने कुरा राजनीतिक पार्टीहरू भित्र छ। अहिले पनि म उपाध्यक्ष छु। हामी २० जना अब हुने चुनावमा उपाध्यक्षमा उठ्दै छौँ। एउटा टिमले ६ जना बनाउँदै छौँ। त्यो टिममा कुन दलबाट कसको उम्मेदवारी भन्ने चर्चा हुने गरेको छ। त्यसैले पछिल्लो समय एनआरएनए राजनीतिमा जोडिएको देखिन्छ।
एउटा पद लिनको लागि उसले पहिला त्यो समूहमा मनाउन सक्नुपर्यो। त्यो समूहमा मनाइसकेपछि पनि फेरि अर्को दलको नेतृत्वलाई मनाउनु पर्ने हो ?
त्यो टिममा पर्न पार्टीले यो हाम्रो पार्टीको कार्यकर्ता हो भन्नुपर्ने अवस्था छ। त्यसकारणले यो पार्टीको पनि हाम्रो गुट वा उपगुटसँगको हो भन्ने कुराहरूसमेत आइसकेका छन्।
तपाईं कुन गुटको ?
जुन दिन म एनआरएनएको आइसिसीको सदस्य बने कुनै पनि पार्टीमा आवद्ध छैन। कुनै पार्टीको भेलामा पनि गएको छैन। सायद त्यो पार्टीको भेलामा नगएर समस्यामा पर्न पनि सक्छु होला। यस्तो तितो अनुभव केही अगाडिको चुनावमा मैले गरेको छु।
मतदानमा सबैलाई एउटा एउटा चिट भिराइन्छ ?
मतदानमा चिट भिराउँछन्। यो समूह भनेर सर्कुलर हुन्छ। यो एनआरएनएमा रहेको विकृति हो। आजको एनआरएनएको शुद्धीकरण भनेको यी सबै खाले कुरालाई सिस्टममा हटाउनु पर्छ। जो मान्छे हिजो कोठामा बसेर सदस्य बनाएर यसलाई भोट गर्थ्र्यौं। आज हामीले स्मार्ट एनआरएनएको सिस्टम ल्याएका छौँ। सेल्फी खिच्छौँ त्यो मान्छेलाई भोट हाल्न रामको नाममा श्यामले भोट हाल्न सक्दैन। प्रविधिको विकास हामीले एनआरएनएमा पनि गर्नुपर्छ। हामीले जानेको ज्ञान सिप देशप्रति कसरी ट्रान्सफर गर्न सकिन्छ भन्ने कुरा पहिला अभ्यास गर्न खोजेका छौं।
कार्यसमितिमा तपाईंहरूले यति धेरै पदहरू सिर्जना गर्नुको पछाडिको कारण के हो ?
यो सामाजिक संस्थामा काम गर्न आउने सबैलाई खुला छ। यसको अर्थ कोही स्वयमसेवक बन्ने र सामान्य सदस्य बनेर पनि सहयोग गर्छु भन्न पनि पाइयो। दुई वर्ष विदेशमा बसेपछि त्यो एनआरएन हुन्छ भनेर सरकारले भनेको छ। त्यसकारण कोही मान्छेलाई त्यहाँ काम गर्न मन लाग्छ कोही नेता बनेर बस्न चाहन्छ। कसैलाई त्यसको माध्यमबाट आफ्नो व्यापार गर्न चाहन्छ। यहाँ यस्ता विभिन्न खाले मान्छेहरू हुन्छन्।
पद भनेको एउटा शक्ति भयो। त्यसलाई देखाएर उसले अरु काम पनि गर्न सक्ने हिसाबले त्यसलाई महत्त्वको साथ हेरिएको हो ?
होइन। पहिला अध्यक्षको उम्मेद्वारको लागि १० लाख रुपैयाँ राख्नु पथ्र्यो। उपाध्यक्षको लागि सात लाख, महासचिवलाई ७ लाख थियो अहिले त्यसलाई ५० प्रतिशत घटाएका छौँ। यति घटाउँदा पनि हामीसँग १० करोडको आसपासमा शुल्क र इन्ट्री गरेको रकम उठ्छ। त्यो त सबैले समर्पित गरेको कुरा हो। जहाँ नेपाल सरकार छैन त्यहाँ हामी नेपाली एनआरएन छौँ। बाहिर अप्ठ्यारोमा परेका नेपालीलाइ सहयोग गरेका छौँ। जहाँ राजदूतावास छैन त्यहाँ हामी पुगेर काम गरेका छौँ। जस्तो रसिया र युक्रेनको युद्धमा पनि युक्रेनबाट पाँच सय नेपाललाई उद्धार गर्यौँ। त्यसैले एनआरएनए नेपालीहरूको उत्थानको लागि सहयोगी संस्था हो।
यो एनआरएनए धनीहरूको क्लब हुँदै गयो। यसमा नेतृत्वकर्ता पनि शक्तिशाली देशमा बसेकाको मात्र वर्चस्व भयो भनेर आरोप लागेको छ ?
यो धनीकै मात्र संस्था होइन। तर यसको शुद्धीकरण आवश्यक भएको छ। यहाँ एक डलरदेखि एक रियाल दिन सक्छ भनेर समान हैसियत हुनुपर्छ। एनआरएनए आजको आवश्यकता हो भने यहाँ समानताको आवश्यकता छ।
एनआरएनएको लोकप्रियता जति पहिला थियो अहिले घट्दो क्रममा गइरहेको छ। यो सत्य हो ?
यहाँ एनएआरएनएको चहलपहलमा कमी आएको हो। तर विदेशमा सदस्य बन्नेमा प्रतिस्पर्धा छ। हिजो कसैले एक ठाउँमा बसेर चुनाव जित्थ्यो होला तर अहिले हामीले त्यसलाई अन्त्य गरेर स्मार्ट एनआरएनएको सिस्टम ल्याएका छौँ। हिजोको तुलनामा अस्ट्रेलियामा नै २० हजारको हाराहारीमा सदस्य छन्। जापान, यूके, यूएई, कतार सबैमा त्यस्तै छ। तर नेपालमा सबै मान्छे एनआरएनको सदस्य बन्ने हो भने त थाम्न पनि नसक्ने रहेछ। यो बढ्नुको कारण नेपालीहरू विदेश जाने क्रम बढिरहेको छ। देश अनुसार आम्दानी फरक हुन्छ। कुनै एक नेपालीको अस्ट्रेलियाको तलब एक लाख डलर भयो भने योगदानकर्ताले सामाजिक सुरक्षा कोषमा त्यसको १० प्रतिशत योगदान गर्नुपर्छ। यसले त योगदानकर्तालाई अप्ठ्यारो परेको बेलामा सहयोग नै हुन्छ।
अब यो सम्मेलनबाट एनआरएनएले के गर्न खोजिरहेको हो ?
यो देश प्रतिको कनेक्सन हो। हामी जुनसुकै कुनामा भए पनि दुई डलर नै किन नहोस् आफ्नै देशमा नै खर्च होस् भनेर नेपालमै सम्मेलन गरेका हौं। यसो गर्दा यहाँका होटलहरु भरिएका छन्। यसले देशलाई कतै न कतै फाइदा भएको छ।
तपाई दुई पटक उपाध्यक्षमा किन दोहोरिनु भयो ?
मैले गएको १५ महिनामा धेरै काम गर्न पाइन। सामुहिक लगानीका कुराहरू छन्। हामीले बाहिर आर्जन गरेका ज्ञान र सीपलाई नेपालमा ल्याउने कुराहरू छन्। कतिपय कुराहरू अधुरा छन्। ती काम पुरा गर्न म दोहोरिन चाहन्छु। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रतिक्रिया