नेपालमा लोकतन्त्र भन्ने शब्द २०६२/०६३ को जनआन्दोलनसँग जोडिएर बढी प्रयोगमा आएको छ। यतिखेर नयाँ नेपालबारे थुप्रै बहस भइरहेका छन्। यस्ता बहसको प्रचार गर्ने काम मिडियाको हो भने पात्र नेता हुन्। जो सत्ताकै लागि सङ्घर्ष गरिरहेका छन्।
पत्रकार रामकृष्ण भण्डारीद्धारा लिखित “सत्ता सङ्घर्ष : ३० वर्षमा २८ सरकारका नालिबेली” पुस्तक प्रकाश भएको एक वर्ष पुगेको छ। तर सत्ता र सङ्घर्ष उस्तै देखिन्छ। झट्ट हेर्दा पुस्तक मध्यम छ। तर पुस्तकभित्र उठाइएका विषयवस्तु गहन छन्। नेपाली राजनीति, सत्ता, विगत ३० वर्षमा २८ सरकारका नालिबेली देखाइएको पुस्तक राजनीति इतिहासका लागि गुरु बन्नेमा दुविधा छैन। राजनीति र सत्तालाई नजिकबाट हेर्ने र बुझ्नेका लागि त्यसमा उठाइएका कुरा ठुला चुनौती हुन्।
मध्यरातमा बहुदल, प्रारम्भमै विग्रह, दासढुङ्गा, आफ्नैमाथि अन्र्तघात, संसद विघटन, पहिलो राष्ट्रपतिलगायत ४९ शीर्षकमा लेखहरु छन्। पुस्तकको अघि नै “भन्नुपर्ने कुरा”मा राजनीति कथ्यः कथा, राजनीतिक व्यक्ति पात्र, सत्ताका लागि गरेका संघर्षलाई उतारेका छन्। रिपोर्टिङका बेलामा राजनीतिक वर्गसँग भएका कुराकानीलाई आधार बनाएर दैनिकी लेखेर विभिन्न व्यक्तिको सल्लाह र सुझावसहित पुस्तक तयार भएको छ।
मिडियामा रिपोर्टिङ गरेर सर्वसाधारणलाई जानकारी दिन लागेका पत्रकार भण्डारी सत्ता सङ्घर्ष : ३० वर्षमा २८ सरकारका नालिबेलीबाट लेखक बनेका छन्। राजनीति र संसदीय मामिलामा विगत २५ वर्षदेखि कलम चलाइरहेका पत्रकारले आफ्नो किताबमा विगत ३० वर्षमा २८ सरकार कसरी बने ? के केमा स्वार्थ बाँझियो ? कसले कस्ता खेल खेले ? कसले कसलाई कसरी फकाए ? कसले कसलाई लडाए ? ००७ सालदेखि हालसम्म कुनै पनि सरकारले कार्यकाल पुरा नगर्नुको कारण के ? भन्ने जिज्ञासाको जवाफ पुस्तकमा लेखकले खोज्ने प्रयास गरेका छन्। यो पुस्तक राजनीतिको एउटा इतिहास हो।
आम पाठकका लागि चासो भए जस्तै राजनीतिक दलका कार्यकर्ता र जनप्रतिनिधिका लागि यो पुस्तक उपयोगी छ। जसलाई राजनीतिक खेल बुझ्न सजिलो हुन्छ। यस पुस्तकले राजनीतिले लय समाउन सके जनताले त्यसको प्रत्याभूति गर्न पाउने कुरालाई उल्लेख गरेको छ। स्थानीय तहमा राजनीतिक खिचातानीभन्दा विकास र जनसेवालाई प्राथमिकता दिनुको विकल्प नभएको समेत पुस्तकले संकेत गर्छ।
पुस्तकको पहिलो अध्यायमा सत्ताका लागि गरेको संघर्षको इतिहास कसरी सुरू भयो “मध्यरातमा बहुदल” मा उल्लेख छ (पृ.११)। २९ वर्ष तीन महिना दलबिहीन पञ्चायती राज चल्दा सुरू भएको आन्दोलन देखाइएको छ। सुरक्षा र परराष्ट्रमा मिलेर काम गरौं आन्दोलन पाँच मिनेटमै ढाल्ने भारतको प्रस्ताव तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई आएको खुलासासमेत पुस्तकमा गरिएको छ। त्यो २०४६ सालको समय हो। त्यसबखत कांग्रेस र संयुक्त वाममोर्चाले पञ्चायत ढाल्ने आन्दोलन सुरु गरेका थिए। सम्बन्धित मुद्दा वा विषयवस्तुको हिसाबले २२ ओटा विषयवस्तुलाई यो पुस्तकले उठाएको छ।
सत्तामा जाँदा, शक्ति लिँदा गरिने सम्झौता, शक्ति सङ्घर्षका नाममा पाइने शासन, राजनीतिक दलको सत्ता मोह, सत्ताकै लागि गरेको सङ्घर्षमा गठबन्धन कांग्रेस र एमालेमा मात्र होइन व्यक्तिमाथि घात गर्न सक्ने अंकुशसँगै प्रधानमन्त्री कुर्सीमा मोह सबै पार्टीका शीर्ष नेतामा देखिन्छ। जुन कुरालाई पुस्तकमा लेखक भण्डारीले उल्लेख गरेका छन्।
तेस्रो, सुरक्षित अवतरणका लागि लेखकको २५ वर्षे अनुभव, अनुभूति, जानकारी, इतिहासका सत्य कुरा र परिकल्पनाको एउटा दासढुङ्गा शीर्षकमा उल्लेख छ। दासढुङ्गामा तत्कालीन एमाले महासचिव मदन भण्डारी र सङ्गठन प्रमुख जीवराज आश्रित दुर्घटनामा परे। उनीहरुको निधन भयो। सवारी चालक एमाले कार्यकर्ता अमर लामा २०५० साल जेठ ३ गतेको दुर्घटनामा आफू बाँचे। छानबिन समितिले चालक लामाको गल्ती देखायो। तिनै लामाको २०६० साल साउन ११ गते काठमाडौंको कीर्तिपुरमा हत्या भयो। मदन पत्नी विद्यादेवी भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्दा पनि दासढुङ्गा दुर्घटना मदन र आश्रितको मृत्युको छानबिनमा चासो नदिँदा बजारमा नकारात्मक हल्ला फैलिएको कुरालाई पुस्तकमा समेटिएको छ।
२०५० जेठ १ गते पोखरा जानुअघि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई हटाउन विभिन्न राजनीतिक दलसँग छलफल भएको कुरालाई पुस्तकमा देखाइएको छ। २०५७ पुस १० गते रमेशनाथ पाण्डेलाई दिल्लीमा प्रचण्डसँग भेट गर्न राजा वीरेन्द्रले पठाए। माओवादीको माग संविधान सभाको हुँदा वीरेन्द्रले स्वीकारे। राजाका भाइ धिरेन्द्र र माओवादीबिच कुराकानी र पत्र आदानप्रदान पनि भइरहेको थियो। २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनास हुने गरी दरबार हत्याकाण्ड भयो। यी सबै विषयको विस्तृत जानकारी पुस्तकमा समेटिएको छ।
लेखकले १२ औं शीर्षक कांग्रेसको काँधमा सूर्यबहादुरलाई यसको सूक्ष्मता, गहिराइ र अभौतिकतामा अनुभूत गर्न सिर्जित सत्ताकै लागि संर्घष गर्ने एउटा निकायलाई जन्माएका छन् (पृ.९७)। सत्ताकै लागि गरेको सङ्घर्ष मात्र नभएर मेलमिलाप र स्वार्थ पनि जोडेका छन्। अर्को कोणबाट हेर्ने हो भने २३ अध्यायमा “माओवादीमा अन्तरद्वन्द्व र सरकारसँग वार्ता” मात्र नभएर सत्ताका लागि दुःख र वेदनाका कथा छन्। यो अध्यायले प्रेम र हौसलाका गाथासमेत गाएको छ (पृ. १६०)।
लोकतन्त्र र बहुलवादको नाममा एकल विचार धाराको पक्षपोषणमा सत्ताकै सङ्घर्षमा उत्रिएका पार्टीका नेतामा देखिन्छ। “म तिम्रो भनाइसँग सहमत छैन तर तिम्रो बोल्न पाउने अधिकारको अन्तिम घडीसम्म बचाऊ गरिरहने छु।” फ्रान्सेली दार्शनिक भोल्तेयर (सन् १६९४—१७७८) को यो भनाइलाई राजनीतिक पार्टीले सर्वसाधारणमा परिवर्तनका लागि लिए तर भनाइमा मात्र सीमित राखेर, सत्ताका लागि स्वतन्त्रता खोजे। सुकरात, ग्यालिलियो, गंगालाल, धर्मभक्त लगायत विश्वविख्यात र नेपाली इतिहासका महान् व्यक्तिले तत्कालीन सत्ताबाट अनेकौं यातना भोग्नुपर्यो। जीवन त्याग गर्नुपर्यो। धर्मगुरू हुँदै नेतामा राजनीति वैचारिक अभिव्यक्तिमात्र नभएर सरकारको पद खोज्ने अवस्था बुझ्न बेर लाग्दैन भन्ने हो। एकलवादी सिद्धान्त २०४८ सालको निर्वाचनमा पनि देखियो। कृष्णप्रसाद भट्टराई निर्वाचन गराउनका लागि प्रधानमन्त्री रहेकाले मैले नै जित्छु भन्ने घमण्डले पछि परे। २०४८ मंसिरमा भारत भ्रमणका बेला टनकपुर बाँध सम्बन्धी सन्धि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरे। जसको विरोधमा संसदमा मंसिर २२ गते हात हालाहाल र ८७ घण्टासम्म नाराबाजी चल्यो।
यतिमात्र होइन पर्दामा देखिने र पर्दाभित्र हुने नेताकै कारण राजनीतिलाई फोहोरी खेलको संज्ञा दिएका छन्। शासक दलले आजसम्म पनि फोहोरी खेलको राजनीतिलाई दोहोर्याइरहेका छन्। आफ्नो पार्टीको सरकार हुनुपर्ने मात्र होइन पार्टीको पनि आफू नै प्रधानमन्त्री हुनुपर्ने व्यक्तिगत स्वार्थमा लिप्त नेताहरू मात्र थिएनन्। कम्युनिष्ट पार्टीको नाममा जनतालाई ठग्दै आएका एमालेका झलनाथ खनाल, माधवकुमार नेपाल र माओवादीका बाबुराम भट्टराई कसरी प्रधानमन्त्री भए भन्ने पुस्तकको रिपोर्टिङ हो। संविधान सभामा हारेर हरेस खाएर बसेका माधव नेपाल माओवादी सरकारको सिफारिसमा संसद भएपछि पार्टी संसदीय दलका नेतालाई पन्छाएर प्रधानमन्त्री बन्नु संसदीय इतिहासमा पाइने विरलै घटना भएको लेखकले पुस्तकमा दर्शाएका छन्।
सत्ताको बहुआयामिकताभित्र गरिएको मन्थनमा उपलब्ध नभएर नेकपामा अन्तरसंघर्ष चुलिएपछि पुष्पकमल दाहाल, माधवकुमार नेपाल समूहले केपी ओलीलाई अल्पमतमा पारेर प्रधामन्त्री र अध्यक्षबाट हटाउने तयारी थाल्यो अप्ठारोमा परेका ओलीले संसद विघटन गर्नतर्फ लागे। सत्ताकै लागि संघर्षमा उत्रिएका ओलीले प्रचण्डलाई फकाउन धेरै प्रयास गरे तर असफल रहे। यो सत्ताको सङ्घर्षलाई पुस्तकले प्रष्ट पारेको छ। सत्ताको परिधिले राजनीतिमा मानव जीवनसँगको सम्बन्धलाई सार्थक बनाएको लेखकले देखाएका छन्।
अन्तिम शीर्षकको सत्ता स्वार्थको पुनरावृत्तिमा नागरिकता संशोधन विधेयक राष्ट्रपतिमाथि सबैले शंका गरे (पृ. ३४१)। मंसिर ४ मा चुनाव गर्न सरकार तयार भयो निर्वाचन आयोगसँग सल्लाह गरेर। त्यसअघि सत्ता स्वार्थकै लागि ओलीले संसद् विघटन गर्नु, सर्वोच्च अदालतले २०७८ साल असार २८ गते एक सय ४९ सांसदको समर्थन पाएका शेरबहादुर देउवालाई २०७८ असार २९ गते ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्नू भन्ने परमादेश जारी गर्यो। यस्ता सत्ता सङ्घर्षलाई पुस्तकमा समेटिएको छ। कुनै पनि मुलुकको राजनीतिक स्थायित्व र विकासको लागि बलियो सरकारको अपेक्षा हुन्छ। तर नेपालको कमजोर राजनीतिक संस्कारले सत्तामा फेरबदल भइरहन्छ। त्यसको प्रतिबिम्ब सरकार ढाल्ले, मिलिजुली सरकार, पालैपालो सरकार बनाउन, राजनीतिका सूचकदेखि लिएर त्यहाँ हुने सार्वजनिक बहस, साहित्यिक, सांगीतिक तथा प्राज्ञिक उत्पादनमा देख्न पाइन्छ। अर्थात् सत्ताका लागि तन, मन र धनसहित लामबद्ध भएका व्यक्ति, राजनीतिक पार्टीका पात्र, र विषयमाथि केन्द्रित पछिल्लो कृति हो सत्ता सङ्घर्ष।
पुस्तकमा उल्लेख सन्दर्भमध्ये केहीबाहेक लेखकले आफूलाई लागेका धेरै कुरा व्यक्त गर्न खोजेजस्तो देखिन्छ । उठान गरिएका विषयको सन्दर्भ र स्रोत प्रस्ट उल्लेख नगर्नु, आवश्यक ठाउँमा उदाहरण नदिनु, विगतका अध्ययनलाई उल्लेख नगरी पुस्तकमा भएका कुरा आफ्नै खोज जस्तो बनाएको प्रमाण पुस्तकमा दिन नसक्नु लेखकको कमजोरी हो । राजनीतिक परिवेश बुझ्न र विगतका बेथितिबाट सच्चिन सत्ता सङ्घर्षले मार्गनिर्देश गरे पनि समस्याको थुप्रोले सुधारको बाटो भने पुस्तकमा कमी देखिन्छ। पुस्तकमा लेखकले अन्तरवार्तालाई मात्र पूर्ण स्रोत देखाएका छन्। समाचार प्रस्तुत गर्दा फलानो भने जस्तै। यति हुँदाहुदै पनि लेखकले उठान गरेका विषय राजनीति जगतका लागि सान्दर्भिक र महत्वपूर्ण छन्।
राजनीति कथाव्यथा समेटेर लेखिएको पुस्तक यो पहिलो भने होइन। यो पुस्तक निस्कनुभन्दा अघि पनि यस्तै विषयवस्तुलाई केन्द्रमा राखेर पत्रकार सुधीर शर्माको प्रयोगशाला, हरिबहादुर थापाको दलीय द्वन्द्व, जगत नेपालको आफ्नै कुरा, विवेककुमार शाहको मैले देखेको दरबार, राधाकृष्ण मैनालीको नलेखिएको इतिहास, भैरव रिसाल र भरतराज पोखरेलको नेपालका मन्त्री र सांसदहरू लगायत पुस्तकहरु प्रकाशित छन्। तर अन्य पुस्तकभन्दा यसमा पात्र र परिवेशको चित्रण अझै जीवन्त लाग्छ। लेखक पेशाले पत्रकार भए पनि उनले पत्रकारको आँखाबाट मात्र नेपालको राजनीतिक दल र नेताको जीवन नियालेका छैनन्। रिपोर्टिङका क्रममा भोगेका कुरालाई जीवन्त बनाउन टिपोट गर्दा गर्दै पुुस्तक बनाउन सकेका छन्।
नेपालका राजनीतिक दललाई बुझ्नका लागि यो पुस्तक सबैले पढ्नैपर्ने हुन्छ। नेपालको राजनीतिक परिवेश झन अस्थिर हुँदै गएकोले स्थानीय तहका जनप्रतिनिधिले राजनीतिक स्थायित्वका लागि दबाब दिनुपर्ने देखिन्छ। नेपालको राजनीति जान्न चाहने, यस विषयबारे सोधखोज गर्न रूचि राख्ने र नीति निर्माण गर्ने सबैका लागि पुस्तक पठनीय एवं संग्रहणीय छ। पुस्तकः सत्ता सङ्घर्ष : ३० वर्षमा २८ सरकारका नालिबेली लेखकः रामकृष्ण भण्डारी प्रकाशकः साङ्ग्रिला मिडिया मूल्यः ६७५ पृष्ठः ३५२