माइतीघरमा न्याय माग्नेदेखि मृत्युदण्ड माग्नेसम्म ! | Khabarhub Khabarhub

माइतीघरमा न्याय माग्नेदेखि मृत्युदण्ड माग्नेसम्म !



काठमाडौँ– भनिन्छ, माइतीघर नारीको दुःख बिसाउने चौतारी हो । त्यस्तै आम नागरिकको दुःख बिसाउने र असन्तुष्टि पोख्ने थलो बनेको छ– काठमाडौँको माइतीघर मण्डला । माइतीघर चोकमा सामान्य नागरिकदेखि नेतासम्म सबैले आफ्ना माग/गुनासा पोख्छन् ।

विगतमा यहीँ भएको प्रदर्शनले गुठी विधेयक खारेज गरायो । ‘मन्त्री कसले खुस्काउँछ ?’ भन्दै शिक्षकहरूले शिक्षा विधेयकविरुद्ध प्रदर्शन गरेको थलो पनि यही हो । मिटरब्याज पीडितहरूको भावना र न्यायसँग जोडिएको छ माइतीघर । लघुवित्त र सहकारीका सञ्चालकबाट पीडित भएकाहरूले पनि माइतीघरबाटै न्याय मागेका थिए । सरकारले आममाफी दिएका लिगललाई पुनः जेल पठाउने गरी पीडितको अनशन पनि यहीँ भएको थियो ।

अहिलेसम्म माइतीघरले धेरैलाई न्याय दिएको छ । तर, कतिपय यस्ता पात्र पनि माइतीघरमा भेटिन्छन्, जसका मागको अझै सुनुवाई भएको छैन । कुनै–कुनै माग चाहिँ सुनुवाइ नै नहुने खालका पनि छन् । माइतीघर अझै खाली छैन । तिहारकै सेरोफेरोमा खबरहबकर्मी माइतीघरमा पुग्दा देखिएका केही दृश्य यस्ता छन्ः

आरती साहको कथा
धनुषास्थित जनकपुरधाम– ९, थापाचोकमा गत जेठ ७ गते आरती साहको मृत्यु भयो । उनलाई सासू, ससुरा, श्रीमान र देवर मिलेर दाइजोको निहुँमा निर्घात कुटपिट गरेर हत्या गरेको भन्दै आरतीका परिवारजन माइतीघर मण्डलामा असार १ देखि आरोपीको नाम र तस्वीरनै टाँगेर चौबीसै घण्टा धर्नामा छन् ।

करिब ६ महिना धर्नामा बस्दा आरतीका बुवा विनोद साहले अब आफ्नो माग पूरा हुने र न्याय पाइने आस मारेका छन् । साह गुनासो गर्छन्, ‘मानव अधिकार आयोगको काम तलब पकाउने मात्रै हो । दसैँ अगाडि ३ घण्टा धर्ना दिएर मात्रै आयोगका अध्यक्षलाई भेट्न पाएँ । हाम्रै अधिकारका लागि बसेकाहरूलाई भेट्न यहाँ धर्ना दिनुपर्छ । भेटेपछि पनि कुरा नगर्ने, वास्ता नै नगर्ने !’

‘दुई छोरीमध्ये ठूली छोरी आरतीको बिहे गरेर दिएँ, दाइजोको निहुँमा मारिदिए ।’ साहको गुनासो छ, ’माइतीघरमा धर्ना बसेको ६ महिना भयो । घटना भएको ७ महिना बित्यो । घटना भएको एक हप्तामा हामीले उजुरी गरेको हो । तर, अनुसन्धान र कारबाही भएन ।

साह थप्छन्, ‘गृहमन्त्रीले भेटमा भनेका थिए, ‘यहाँ (माइतीघरमा) बस्नुपर्दैन, घटनाको सत्यतथ्य छानबिन हुन्छ । त्यसो भनेको ७५ दिन भैसकेको छ । यत्तिका दिनसम्म राज्यले के गरेर बस्यो ? सरकारले हामीलाई बिर्सियो तर हामीले सडक छोडेका छैनौँ । अब न्याय पाइन्छ भन्ने छैन । हाम्रो परिवार यहाँ मृत्यु कुरेर बसेको हो । मर्न बसेको हो ।’

मृतक आरती साहकी १८ वर्षकी बहिनी मनिषा पनि परिवारजनसँगै दिदीको न्यायका लागि धर्नामा छिन् । उनले प्लस टुसम्मको अध्ययन सकेकी छिन् । स्नातक गरेर निजामति कर्मचारी बन्ने सपना देखेकी उनी अहिले आफ्नी दिदीको न्याय भन्दाबाहेक अरु सोच्न नसकेको बताउँछिन् ।

माइतीघरबाट मनिषा आफ्नो अनुभव सुनाउँछिन्, ‘यो माइतीघर मण्डला विश्वविद्यालयको पनि विद्यालय हो । यहाँ बसेर राज्यमा कति अन्याय र अत्याचार छ भन्ने कुरा बुझिँदोरहेछ । विश्वविद्यालयले पनि पढाउन नसकेको यहाँ देख्न सकिन्छ ।’

अपराधीलाई कारवाही चलाउन खोज्ने कर्मचारीको सरुवा हुने र बढुवा रोक्ने काम हुने गरेको उनी बताउँछिन् । किशोर पुस्ताको निराशा ओकल्दै उनी निष्कर्ष सुनाउँछिन्, ‘यो देशमा न्याय छैन ।’

माइतीघरमा १ सय ४८ दिनदेखि धर्नामा रहेकी मनिषा आफ्नी दिदी आरतीलाई न्याय दिन नसके आफू बाँचेको औचित्य नहुने भन्दै आफ्नो पढाइ, सपना र लक्ष्य सबै तिलाञ्जली दिएर न्यायको लडाइमा उभिएको बताउँछिन् ।

उनी भन्छिन्, ‘पढ्न मन कसलाई छैन ? तर दिदीको न्यायका लागि कसले लड्दिन्छ र ? हामीले दिदीलाई बचाउन त सकिएन तर उनलाई मार्ने हत्यारालाई सजाय त दिलाउनै पर्यो ।’

के हो आरतीको घटना ?
गत जेठको ७ गते साँझ साढे ६ बजेतिर विनोद प्रसादलाई उनका सम्धी मदनमोहन साहको फोन आयो । आरती घरमै झुण्डिएको अवस्थामा फेला परेको र बेहोस भएकाले जनकपुरको काव्या अस्पताल ल्याएको उनले सुनाउँदा विनोदलाई कस्तो भयो होला, अहिले कल्पना गर्न सकिँदैन । अस्पताल पुऱ्याउँदा चिकित्सकले आरतीको मृत्यु भइसकेको घोषणा गरे ।

आरतीको घाँटीमा आत्महत्या गर्दा हुनेजस्तै घाउ थियो तर गाला र शरीरका अन्य भागमा पनि विभिन्न घाउ थिए । आरतीका माइती पक्षलाई भने उक्त घटना आत्महत्या नभएर हत्या नै भएको शंका भयो । मृतकका परिवारको दाबी अनुसार पोस्टमार्टम रिपोर्टमा गालामा चोट भएको र चोट भित्री भागसम्म भएको उल्लेख थियो ।

आफ्नी छोरीलाई कुटपिट गरेर हत्या गरिएको दाबी गर्दै आरतीका माइतीपक्ष प्रहरीमा जाहेरी दर्ता गर्न गए । तर, प्रहरीले जाहेरी दर्ता गर्न मानेन । आत्महत्या दुरुत्साहनमा भने मुद्दा दर्ता गर्न सकिने प्रहरीको भनाइ थियो ।

माइती पक्षको भनाइ अनुसार मोतीबाबु (आरतीका पति) ले झगडा हुँदा सोही दिन आफूले आरतीलाई तीन–चार थप्पड हानेको बताएका थिए । अचेत अवस्थामा भेटिएको भनिए पनि जेठ ८ गते अपराह्न १ बजे आएको पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु २४ देखि ३६ घन्टा पहिले नै भइसकेको भनी उल्लेख रहेको आरतीका पिता विनोदको भनाइ छ ।

दाइजोको निहुँमा आरतीमाथि पटक पटक कुटपिट हुने गरेको अनि कुटपिट गरेरै हत्या गरिएको र हत्यालाई आत्महत्या बनाउन झुन्ड्याएको आरोप माइती पक्षले लगाएको छ । प्रहरीको दाबी आत्महत्या नै हो भन्ने छ ।

२०७८ असारमा आरती र मोतीबाबुको मागी विवाह भएको थियो । आरती तत्कालीन समयमा जनकपुरमा बीबीए दोस्रो वर्षमा अध्ययनरत थिइन् ।

विवाह गर्दा आरतीको २० र मोतीबाबुको उमेर ३० वर्ष थियो । विवाहअघि केटा पक्षले मोतीबाबु पेसाले इन्जिनियर भएको बताएको थियो । केटी पक्षले विवाहमा लागेको केटा पक्षको खर्च पनि बेहोरेका थिए ।

विवाहमा २५ लाख रुपैयाँ खर्च भएको केटीपक्षको भनाइ छ । यद्यपि पर्याप्त दाइजो नआउने भन्दै केटा पक्षले सुरुदेखि नै आरतीलाई दबाब र यातना दिन थालेको र तत्कालै एउटा राम्रो मोटरसाइकल, थप दराज लगायत सामान मागिएको पनि माइती पक्षको दाबी छ ।

माइती पक्षका अनुसार, घटना हुनुभन्दा २५ दिनअघि आफूलाई ससुरा र श्रीमानले कुटपिट गरेको भन्दै आरती माइत आएकी थिइन् । आरती माइतीमा १५ दिन बसेपछि मोतीबाबु उनलाई लिन आए । अब राम्रोसँग बस्ने भन्दै घर ल्याए । तर, घर ल्याएको १० दिनपछि नै आरतीको रहस्यमय मृत्यु भयो ।

आरतीको हत्या भएको हो या आत्महत्या ? अनि यो आत्महत्यामा कसैको दुरुत्साहन छ या डिप्रेसनका कारण उनले जीवनलीला समाप्त गरेकी हुन् ? यो कुराको अनुसन्धान नभएसम्म कसैले आरोप लगाउँदैमा कसैलाई ‘हत्यारा’ भनिहाल्न सकिँदैन । तर, राज्यका निकायले पीडितको माग बमोजिम अनुसन्धान र छानबिन त गर्नुपर्ने हो कि ?

वृद्धभत्ता खाने बेलामा ‘मृत्युदण्ड’ को माग !
माइतीघरमा पीडा पोख्नेहरु मात्र भेटिँदैनन्, आफ्ना व्यक्तिगत आवश्यकता र उदरस्थ समस्याबाट मुक्त भएकाहरू देशको समस्या देखाएर सडकमा दिनहुँ प्रदर्शन गरिरहेका भेटिन्छन् । यस्तै प्रदर्शनकारीको सूचीमा भेटिए– संखुवासभा घर भएका ७० वर्षका साल घले ।

घले भ्रष्टाचारीलाई फाँसीको सजाय हुनुपर्ने माग राख्दै करिब डेढ महिनादेखि माइतीघरमा धर्नामा छन् । कक्षा १० सम्मको औपचारिक शिक्षा लिएका घलेले अन्य देशमा भ्रष्टाचारीलाई फाँसीमा चढाइने तर आफ्नो देशमा मानव अधिकार हनन हुने भन्दै अपराधीलाई फाँसीको सजाय नहुँदा आफूलाई चित्त नबुझेको सुनाए ।

घले भन्छन्, ‘हाम्रो देशमा आन्दोलनकारीलाई गोली हान्ने, अपराधी बचाउने कानुन छ । यो कानुन अरु देशको तुलनामा उल्टो छ ।’

घलेले अमेरिकामा बस्दा आन्दोलनकारीलाई त्यहाँको सरकारले गोली चलाएको देखेनन् । ‘गत वर्ष चुनाव हुँदा आन्दोलनकारीहरू संसद भवन पस्दा पनि गोली हानेन । तर नेपालमा आन्दोलनकारीलाई डोजरै लगाएर पेल्छन्’ घलेको माग छ, ‘खास पेल्नुपर्ने भ्रष्टाचारीलाई हो तर नेपालमा कानुन उल्टो भयो, यसलाई सुल्ट्याउनु पर्‍याे ।’

भ्रष्टाचारलाई शून्यमा ल्याउने एक मात्र उपाय भनेकै फाँसीको सजाय भएको उनी बताउँछन् ।

आफ्नो अभियानलाई कसैले सहयोग नगरेको घलेको गुनासो छ । माइतीघरमा एक्लै भेटिएका उनी आफ्नो अभियानलाई अमेरिकामा रहेका छोरी र श्रीमतीले पनि साथ नदिएको बताउँछन् । ‘धर्नामा बसेको थाहा पाएर यस्तो नभाको कुरामा के खान आन्दोलन गर्न बसेको भनेर गाली गरे । फेसबुकबाट ब्लक नै हान्दिए,’ एक्ला अभियन्ता घले भन्छन्, ‘मेरो आन्दोलन देशको हितमा छ, त्यसैले निरुत्साहित गर्ने होइन मलाई प्रेरणा, साथ र सहयोग गर्ने मान्छेहरूको खाँचो छ । म परिवारकै पनि कुरा नसुनी लागेको छु ।’

वृद्ध भत्ता खाने उमेरमा सडकमा उत्रेका घले भन्छन्, ‘युवावस्थामा घरपरिवार हेर्नुपर्‍यो । आफ्नै सानोतिनो व्यवसाय त कहिले कृषि गरेँ । तर, देशका लागि केही योगदान दिन सकिनँ । अब जीवनको अन्त्यतिर आइपुग्दा केही गरौँ भन्ने हुटहुटी लागेको छ । यो अभियानमा एक्लै छु, अब नेताहरूसँग सहयोग माग्छु । संसदमा फाँसीको कानुनका बारेमा आवाज उठाइदिनु भन्छु ।’

सरकारले घलेको माग सुन्ला त ? गृहमन्त्रीसँग भेट्न पास नपठाइदिएकाले गेटबाटै फर्कनुरेको गुनासो गर्दै उनी भन्छन्, ‘सिंहदरबार पहुँचवालाहरूको मात्रै रहेछ । मन्त्रालय जान पाइएन, अब मन्त्रीको क्वार्टरमा गएर भएपनि आफ्नो कुरा राख्छु मलाई विश्वास छ, फाँसीको कानुन बन्ने हो भने भ्रष्टाचारको अन्त्य हुन्छ ।’

माग पूरा नहुदाँसम्म माइतीघरमै बस्ने बताउँदै घले भन्छन्, ‘भारत, चीन लगायत शक्तिशाली देशमा फाँसीको सजाय हुन सक्ने, हाम्रो सानो देशमा किन नहुने ?

नेपालको संविधानले नै मृत्युदण्ड दिने गरी र देश निकाला गर्ने गरी कानून बनाउन नपाइने भनेको छ । ७० वर्ष पुगिसकेका घलेले राखेको यो माग हाम्रो संविधान र मानवअधिकारको परिभाषाभित्र पर्दैन । यो अवस्थामा माइतीघरमा भइरहेको घलेको एकल प्रदर्शनलाई कसरी लिने ? नामका लागि गरिएको एउटा ‘स्टन्ट’ ? वा ज्येष्ठ नागरिकको जायज माग ? यसको उचित जवाफ दिने काम सायद सरकारकै हो ।

जिम्मावालका छोराको अलोकतान्त्रिक माग !
माइतीघरमा नागरिक अधिकार, लोकतन्त्र र न्यायको पक्षमा मात्रै आवाज उठ्ने गरेको छैन, लोकतान्त्रिक गणतन्त्रको विरोधमा निरंकुशतन्त्रको माग लिएर एकल प्रदर्शनमा उत्रनेहरुको दिनचर्या पनि मजैले देख्न सकिन्छ । धादिङका जिम्मावालका ७५ वर्षे छोराको माग त्यस्तै ‘प्रतिगामी’ प्रतीत हुन्छ ।

धादिङ स्थायी घर भएका चेतनाथ ढुंगाना गणतन्त्रले देशलाई बर्बाद गरेको भन्दै शासनसत्ता नेपाली सेनाको हातमा हुनुपर्ने मागसहित माइतीघरमा धर्ना बसेका छन् । २००६ सालमा जन्मिएका उनी असोज १६ गतेदेखि माइतीघरमा दिनभर बस्छन् र साँझ काठमाडौँमै रहेको घरमा फर्कन्छन् ।

ढुंगाना बिहान खाना खाएर ११–१२ बजेतिर माइतीघर आउँछन् र करिब ४ बजेसम्म बस्छन् । बाहिरको खानेकुराले त्यति सन्चो नहुने भन्दै दिउँसो एक कप चिया मात्र खान्छन् र घर फर्किन्छन् । उनी भन्छन्, ‘मलाई कसैले केही दिन पर्दैन, स्वेच्छाले धर्ना बसेको हुँ ।’

ढुंगाना आफ्ना पिताको लाइनमा छन् । राष्ट्रप्रेम बुवाले बच्चैदेखि उनमा जगाइदिएका थिए । ‘मेरा बुवा जिम्मावाल हुनुहुन्थ्यो । उहाँले आफ्ना रैतीहरुको एक पैसा पनि तलमाथि गर्न हुँदैन, राष्ट्रलाई पर्यो भने रगत दिन पछि पर्नुहुन्न भन्नुहुन्थ्यो ।’

ढुंगानाले औपचारिक शिक्षा पढेका छैनन् । आफैले किताब हेरेर लेख्न, पढ्न सिकेको उनी बताउँछन् ।

माइतीघरमा किन बसेको त धर्ना ?

नेताहरुले देशमा भएका कलकारखाना जति जम्मै बन्द गरे । उनीहरु डलर खाने र जनतालाई विदेशको भरिया बनाइदिएको उनको गुनासो छ । धादिङे हजुरबा ढुंगानाले खबरहबसँग भने, ‘मलाई घरै बसेर खाएर पनि पुग्छ, तर मनले थाम्न सकेन ।’

२०६२–०६३ को आन्दोलनमा पनि हिँडेको दाबी गर्ने ढुंगानाले आफ्नै उमेरका शीर्ष नेताहरुको नामै लिएर गाली गरे, ‘यिनीहरु देश लुटेर खाने डाका हुन् । यिनीहरुलाई लखेटेर शासन सेनाको हातमा गयो भने राम्रो हुन्छ ।’

विभिन्न माग राखेर माइतीघरमा बसेका उनको ब्यानरमा पृथ्वीनारायण शाहको तस्वीर थियो । तर, उनी आफूलाई राजावादी नभएको बताउँदै भन्छन्, ‘नेपाल एकीकरण पृथ्वीनारायण शाहले गरेका हुन् । उनीप्रति मेरो श्रद्धा छ । अब शाही सेनाले शासन सत्ता आफ्नो हातमा लिएर यी भ्रष्टाचारीहरुलाई कारबाही गरी देश र जनताका लागि काम गर्नुपर्‍याे । मैले गल्ती गरेको छु भने मलाई मारिदिए हुन्छ ।’

ढुंगाना २०३४–०३५ को आन्दोलमा पनि लागेको बताउँछन् । अहिलेसम्म उनको कुनै नेतासँग भेट भएको छैन । कसलाई भेट्नुपर्छ भन्ने नभएको बताउँछन् । ढुंगाना भन्छन्, ‘माग पूरा नभएसम्म यहीँ माइतीघरमै बस्ने हो । म यहीँ मर्छु । हामी बुढा भयौँ भनेर बस्ने हो भने देश सकिन्छ ।’

माइतीघर मण्डलामा अरु पनि यस्ता विभिन्न व्यक्ति, परिवार र समूहहरु भेटिन्छन् । तिहारको मुखमा चाहिँ हामीले यिनै पात्र र प्रवृत्तिहरुलाई भेटयौँ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  १० : ०३ बजे

आईपीएलमा ‘क्याच मिस’ को पीडा

उत्कृष्ट क्याचले विश्व क्रिकेटमा उपाधि उचालेका थुप्रै उदाहरण छन्। सन्

यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय र

क्रिमिया रुसलाई दिने प्रस्ताव अस्वीकार गरेपछि जेलेन्स्कीसँग ट्रम्प फेरि आक्रोशित

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिमियामाथि रुसको अधिकार नमानेर

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

रोहितको ब्याट चल्दा मुम्बईको लगातार चौथो जित : पुग्यो तालिकाको तेस्रो स्थानमा

काठमाडौं – लगातार चौथो जित हात पारेको मुम्बई इन्डियन्स इन्डियन