कथा : पीडाबोध | Khabarhub Khabarhub

कथा : पीडाबोध



नराम्रोसँग ऐठन भयो मलाई । पूरा निदाएकी पनि होइन र ब्युँझै हुँदाको सचेत स्थितिमा पनि थिइनँ । त्यस्तो अर्धचेतको अवस्थामा एउटा छाँयाले मेरा खुट्टा तानेर गयो । म झसङ्ग हुँदै ब्युँझिएँ । मुटुको धड्कन ह्वात्तै बढ्यो । पूरा शरीर चिसो भयो । अँध्यारोको मनोवैज्ञानिक प्रवृत्ति भय र असुरक्षासँग सम्वद्ध हुने भएपनि मलाई अचानक यस्तो अनुभूत हुनु भनेको शुभ संकेत पटक्कै थिएन ।

हत्तपत्त सिरानी छेउ राखेको मोबाइल फोन तानेर घडी हेरेँ । मध्यरातको बाह्र पैँतालीस भएको रहेछ । मन तम्तम्याइलो भयो । नमिठो, अत्यन्तै नमिठो । खल्लो । कस्तो–कस्तो बेस्वादको भावले मनमा आक्रमण गर्‍याे । निमेषभरमा आफैँभित्र उठेका अनेकौँ शंका–उपशंकाको उथल–पुथलले हायल–कायल भएँ । भवितव्य सम्झेर मलाई आत्तेस लाग्यो ।

“हे ईश्वर ! मेरा बाको रक्षा गर ।”

नराम्रो खबर आउला भन्ने डरले आँखा चिम्लिँदै आज बिहानै अस्पताल भर्ना भएका बाको रक्षार्थ ईश्वर पुकारेँ । उही अदृष्यकर्ताका हातमा परिस्थिति सुम्पिएर मन बुझाउनु बाहेक के नै थियो र ! न म पखेटा हालेर भुर्र उडी बाका छेउ फुत्त पुग्न सक्थेँ, न बालाई आफू भए ठाउँ कुदाएर ल्याउन सक्थेँ ।

यही लाचारीले घचेटेपछि ओछ्यानभित्रै ओल्टो–कोल्टो फेर्न थालेँ म ।

छेवैमा सुतेको मेरो लोग्नेलाई मेरो खटपटी सैह्य भएन । ऊ स्वाँ…स्वाँ…गर्दै छिटोछिटो श्वास फेर्न थाल्यो । स्थिति सामान्यीकरण गर्न मैले आफू निदाए झैं गरेँ । तर उसलाई पत्यार नलागेपछि झर्किएर ब्लाङ्केटले आफ्नो अनुहार छोप्दै भन्यो –“कति खटपट गरेको ? मरिहाल्या त होइन होला ! भोलि ड्यूटी छ, हाम्ले सुत्नु पर्दैन ?”

हे राम ! यस्तो अप्रत्यासित अभिव्यक्ति आफ्नै लोग्नेले देला भनेर मैले कल्पनै गरेकी थिइनँ । उसको बिखालु जिब्रोले चलाएको तिखो बाणले मेरो चित्तकुण्ड वारपार छेड्यो । पीडाका आँशुले आँखाका डिल भरिए । तर, लोग्नेको निद्रा बिथोलिएला भन्ने डरले म रुन सकिनँ ।

लोग्नेको निद्रा र बाबुको अन्तिम श्वासको चयनमा आफ्नै अस्तित्वको अवमूल्यन गर्न बाध्य गराउने डरको अनुहार यस्तो कालो होला भन्ने हेक्का थिएन मलाई । आधारातमा पश्चातापले बेस्सरी घच्घच्यायो, यद्यपि पछाडि फर्किएर गल्ती सच्याउने बाटाहरू तत्क्षणका लागि बन्द थिए ।

यो अन्तर्वेगले मलाई चिथोर्दै गर्दा सिरानीमुनी राखेको फोन भाइब्रेसनले धर्मरायो । म फोन झिक्न चटपटाएकी मात्र के थिएँ, “के भैरहेको छ हँ रातभर ? कुन चाहिँसँग दोहोरी चलिरहेको हो ?” लोग्नेको अर्को चेतावनी आइहाल्यो ।

कड्किएपछि म थप तर्सिएँ । यस्तो तनावबीच एउटै कोठाभित्र रात कटाउने अवस्था भएन । उसको सहजतालाई एक्लै छोड्दै म बिस्ताराबाट सरक्क निस्किएर फोनको उज्यालोको सहाराले भुइँतलामा ओर्लिएँ ।

निदाउनु त के थियो र तैपनि रात कटाउने बहानामा आफूलाई बैठकको सोफामाथि डङ्रङ्ग पछारेँ । सिङ्गो कोठा अँध्यारोले सर्लक्क निलेको थियो । सन्नाटा बोकेको रात, मनमा भयको सुनामी अनि त्यसमाथिको एक्लोपन ! विनाश त निश्चित थियो । बिहानको उज्यालो चलायमान समयबाट उछिट्टिएर अँध्यारो र एक्लोपनबीच चेपिन पुगेको मेरो नियति म बडो नमिठो गरी भोग्दै थिएँ ।

रातसँग मेरो गुनासो थिएन । यो कालो अँध्यारो रातले मान्छेले झैं आफ्नो स्वभावको रङ त बदलेको थिएन । यो त कालो, निरन्तर निशाचर कालो थियो ।

“मान्छेले किन रातले झैं आफ्नो धर्म निभाउन नसकेको होला?”

मैले प्रश्न त गरेँ तर साथमा जवाफ दिने कोही थिएन । परिस्थितिले सिर्जेको असमञ्जस्यभित्र साँच्चै एक्लो अनुभूत भइरहेको थियो मलाई । कस्तो एक्लो भने आफ्ना छन् भन्ने झिनो अनुभूतिले सम्म लोप्पा ख्वाएको एक्लोपन ! यही एक्लोपनको कालो सुरुङ्गभित्र रुमलिँदै गर्दा फोनको रिङ्गटोनले मनमा भुइँचालोको प्रकम्पन ल्याएको अनुभूति भयो ।

“हेलो !” यसपटक भने अतालिँदै फोन उठाएँ ।

उताबाट दाजुको धर्मरिएको आवाज आयो “बहिनी, बुवाले भर्खरै हामीलाई छोडेर स्वर्गवास हुनुभयो ।”

बस् ! जुन खबर सुन्न नपरोस् भनेर म याचना गरिरहेकी थिएँ, त्यही खबर सुन्न पर्‍यो  । रातको अँध्यारो बीच मेरा बाको मृत्यु सन्देश नाङ्गो तारको करेन्टझैँ मेरो शरीरभर दौडियो । खटपटी बढ्यो । धेरै अघिदेखि बाँधेको मनको संयमताको बाँध अब छारष्ट भएर फुट्यो । बाँध फुटेर निस्किएका आँसु अब छचल्किएर बग्न लागे । आखिर मेरो अन्तर हृदयको प्रकृतिले धर्म निभाएरै छोड्यो । म कहालिएर रुन लागेँ ।

“हैन यो आधारातमा के को कोकोहोलो हो हँ ?”

निद्रा खलबलिएको झोँकमा मेरो लोग्ने माथि तलाबाटै च्याँठियो । अब के होला भन्ने भयले हायल–कायल हुँदै मैले आत्तिएर छेवैको साइड ल्याम्प बालेँ ।

“के मर्‍या नै हो ? ”

ऊ त मेरो छेउमै पो आइसकेको रहेछ । मेरा बाको मृत्युको समाचार पक्कापक्की गर्ने आतुरीमा मेरो कुम घच्घच्याएर उसले सोध्दा पो झसङ्ग भएँ ।  अब त झन् डरले म बोल्नै सकिनँ ।

“छि…छि…! डरभित्र बेस्सरी चेपिएको आफ्नै आत्मसम्मानले मलाई भने गिज्याइरहेको  थियो ।

“हैन, खबर गर्ने मान्छे पनि कस्ता ? परदेशमा के कसो छ विचारै नपुर्याई आधारातमा मराउ–पराउको खबर दिने । के छ र ? मेसेन्जरमा औंला थिच्यो, फोन लगायो । पैसा लाग्ने हैन । आधारातमा रोइकराई गरेर मरेको मान्छे ब्युँतिने हैन, थपक्क माथि आएर धैर्य भएर सुत्नू ।”

उसले टेबलमाथिको मेरो फोन हातमा उठाएर खबर गर्ने प्रति कटाक्ष गर्दै मलाई धैर्य भएर सुत्ने आदेश दिएर ऊ पुनः बिस्तारामा फर्कियो ।

“तिम्रा बा गुमाएको त्यो दिन तिमी धैर्य भएर निदाएका थियौ र ? मैले त रातभर अनिँदो बसेर तिम्रो पीडा बाँड्न साथ दिएकी थिएँ । के सबै बिर्सिएकै हो त ?” सोध्न मन थियो उसलाई । तर, पुनः अज्ञात भयले भित्रैबाट कमजोर बनायो । मैले केही भन्न सकिनँ ।

“कस्तो डर हो यो ? के को भय हो ? बराबरीको हिस्सेदारीमा मेरो लोग्नेले आफ्नै स्वास्नीको अस्तित्वलाई बन्धक बनाएर जथाभावी गर्ने दुस्साहस कसरी गर्यो ? अनि मैले सबैथोक सामान्य मान्दै जाने धृष्टता किन गरेँ ? के म उही सचेत ‘म’ हुँ त ?”

आफूलाई चिन्न मैले पटकपटक आफ्नै हत्केलाको छाला चिमोटेँ । जतिपटक चिमोट्दा पनि दुखाई महशुस हुने म उही ‘म’ नै थिएँ । चिमोटेका डामभित्र मेरो अस्तित्वसँग जोडिएको नयाँ प्रश्नले विरोधको कालोझण्डा गाडेर गयो ।

…………………..

रातभर आँखा झिपिक्क भएनन् । अँध्यारोमा धुमधुमती एक्लै बसेर बाको सम्झनामा झरेका आँशुलाई टिस्यु पेपरले पुछिरहेँ । भिजेका टिस्यु पेपरको खात एकातिर लाग्दै गए । अर्कातिर बासँग बिताएका पलहरू आँखा अगाडि ओइरो लागिरहे ।

मेरा बालाई नीलो आकाशमा छरिएका सेता बादलका टुक्राहरू असाध्यै मन पर्थे । बादल नभएको आकाश फूल नफुलेको बगैंचा जस्तै हो भन्नुहुन्थ्यो । हिजोझैं लागिरहेछ मलाई मेरा बाले आफ्ना हत्केलामा मलाई उभ्याएर आकाशको बादलको एक टुक्रा चुँडेर ल्याउन अह्राउँदै जिस्क्याएको । बारीमा फलेका फलफूल पहिले मलाई नख्वाई आफू नखाने मेरा बा ! अघिजस्तै लागिरहेछ घरको बरण्डामा बासँगै उभिएर आकाश हेर्दै बेलौती खाएर रमाएको ।

अहो ! आमाका आँखा छलेर मलाई खुसुक्क दिएको त्यो पाँचको कटकटाउँदो नयाँ नोट पाएको दिन मैले आफूलाई संसारकै भाग्यमानी ठानेकी थिएँ । धेरैका बाले छोरी मान्छेले यसो गर्न हुन्न र उसो गर्न हुन्न भनी अर्ती दिँदै गर्दा म भने बाले किन्दिएका सुन्दर लुगा लगाएर गर्वसाथ साथीहरूसँग डुल्दै हुन्थें ।

बा मसँग रिसाउने भनेको त पढ्न बस्ने समयलाई हेलचेक्र्याइँमा मात्र थियो । बाँकी सबै क्षण मेरा बामसँग खुशी । घरको उन्नति र प्रगति लिएर आएकी लक्ष्मीकी स्वरुप मान्नुहुन्थ्यो मेरा बा मलाई ।

आँखाभरि टिलपिलाएका आँशु लुकाएर कन्यादान गरी मलाई बिदा गरेका मेरा बालाई मैले आजबाट सदाका लागि गुमाइसकेकी थिएँ । जीवनको यो एक कटु सत्य मैले स्वीकार्नुभन्दा अर्को कुनै बाटो थिएन । मैले मन बुझाएँ ।

………………..

मुस्किलले बिहान भयो । नुहाइ–धुवाइ गरेँ । दराजमा राखेको पुरानो एल्बमबाट बाको तस्वीर झिकेर त्यसलाई सानो फ्रेममा हालेँ । चाँदीको सानो कलशमा पानी भरेँ । घर अगाडिको फूलबारीबाट पहेँलो रङ्गको गुलाफको फूल टिपेर त्यो कलश सजाइ दिएँअनि स्टोरको एक कुनामा सानो टेबल राखी बाको तस्विर र कलशको पानी अगाडि बत्ती बालेँ । बत्तीको उज्यालोमा बाको मुसुक्क हाँसेको तस्वीर अहिल्यै बोल्ला झैँ गरी चम्कियो ।

“हे भगवान् ! मेरा बाको स्वर्गमा बास होस ।”

मैले यति आग्रह नगर्दै मेरो लोग्ने तलाबाट तल ओर्लियो । उसलाई देखेरै मेरो मुटुको धड्कन बढ्न थाल्यो । छेउ पर्नु नपरोस् भनेर म हतारिँदै स्टोरबाट निस्किएर बैठक कोठामा पसेँ ।

“सिङ्गो रात यहीँ झोक्राएरै बितेजस्तो छ नि !”

सोचेजस्तै किन हुन्थ्यो ! जम्काभेट हुनासाथ बोल्यो ऊ ।

“किन झोक्राउने, मेरो लोग्ने मरेको हो र ?” डरैडरमा मेरो मुखबाट फ्याट्ट यस्तै निस्कियो ।

मेरो प्रतिक्रियाले तातो तेलमा पानी परेझैं पड्किँदै उसले थप्यो –“कमिलाको पखेटा पलाएपछि काल आउँछ रे नि त !”

“भ्यागुतालाई रुघा मर्की लागेपछि कमिलाका पखेटा पलाउन बेर लाग्दैन रहेछ ।” केको आँटले हो म फेरि बोलेँ ।

मेरो एकपछि अर्को जवाफसँगै भुत्ते खुकुरीको चोटले रन्थनिएको बलीको बोको जस्तो भएर मेरो लोग्ने बाथरुमतिर लाग्यो ।

“पखेटा मात्र होइन, जिब्रो पनि निस्किएजस्तो छ ।” उसले बाथरुमको ढोका ढ्याम्म तान्दै बोलेको सुनियो ।

मलाई भने त्यो ढोकाको आवाज मेरै टाउकैमा बजारिएझैँ भयो।

हैन, कसरी र कहिलेबाट मेरो लोग्नेको यस्तो अपमानजन्य स्वभाव म माथि हावी हुन शुरु भयो ? कुन दिनदेखि मेरो निरीहपनले उसलाई आत्मसन्तुष्टि मिल्न थालेको होला भनेर सम्झिन खोजेँ तर दिमागमा केही सुझेन

आजसम्म जीवनको एकएक पल भित्ते घडीको सुई हेरेर आधा श्वास तान्दै बिते । अहँ, मैले गुनासो कहिल्यै गरिनँ । तर दुर्भाग्य ! बिहान पाँच बजेदेखि रातको आठ बजेसम्म कामैकामले बाँधिने क्रममा आफ्नै लोग्ने आफैँप्रति तानाशाह हुँदै गएको महसुस गर्ने फुर्सदसम्म भएनछ मलाई । हरेक कुरालाई दैनिकीको सामान्य पाटो मान्ने क्रममा उसको परिवर्तित चरित्र र स्वभाव स्वीकार्दै गएको पत्तै भएनछ ।

आत्मग्लानीजस्तो बेस्वादको अनुभूति अरु केहीमा हुने रहेनछ । फ्ल्यास ब्याकमा धेरै कुरा तँछाड–मछाड गर्दै आउन थाले । मैले यस्तो नगरेकी भए…मैले त्यसो नगरेकी भए…जस्ता प्रसंगले आफ्नै गालामा थप्पड लगाउन थाले ।

‘भर्चुअल’ दुखाइ सहन नसकेर बेस्सरी आँखाचिम्लिएँ । सबथोक अन्धकार भयो । तर, मस्तिष्कमा भने पश्चातापको बिजुली चम्किरह्यो

उसकै थर बोक्ने छोराछोरी जन्माएर आफ्नो चटक्क मिलेको शरीरमा वजन नथपेकी भए..? भोक लाग्दा समयमै खाजा र तिर्खा लाग्दा पानी पिएकी भए…? घरको सम्पूर्ण जिम्मेवारी नोकरले झैं ननिभाएकी भए…? जागिरको आफ्नो तलब समेत उसैको हात नलगाएकी भए…? छोराछोरीले प्लेटमा छोडेको खाना आफूले खाएर लोग्नेलाई सधैं चटक्क थाली नटक्राएकी भए…? उसैको पहिचानलाई स्याहार्दा–स्याहार्दै आफू नरित्तिएकी भए…?

अरे ! जीवनलाई सम्झौतामा जिउने सिलसिलामा श्वास फेरे पनि म त निर्जीव बन्दै गएछु । आफ्नै सचेतनाको निरीह स्थिति देखेर वाकवाकी लाग्यो मलाई । श्वास फेर्न कठिन भयो । कोठाको झ्याल अलिकति खोलेँ । बाहिरको हावाभित्र छिरेपछि मात्र अलि सजिलो महसुस भयो । तथापि, नगरेकी भए…ले पछ्याउन भने छोडेन ।

अफिसबाट फर्किँदा ट्राफिक जाममा पर्दा घरको काम बित्यो भन्दै तनाव नलिएकी भए…? खाना पकाएर टाइममा दिन नभ्याउँदा रेस्टुरेन्टबाट मगाएर मजाले काम चलाएकी भए…? रहर लागेका सामान बजारका सोकेसमा सजाएको हेरेरै चित्त बुझाउने मैले लोग्नेका आफन्तीलाई दिनेबेला नाइँ भनेकी भए…? बा–आमाको मुख हेर्ने दिन सय–दुई सय पठाउने आँट गरेकी भए…?

कहिलेकाहीँ स्कूल पढ्दाका साथीस‌गीसँग फोनमा बोल्न नडराएकी भए…? लोग्नेले चाहिँ बैठकमा बसेर भ्याएसम्म मेसेन्जरमा घण्टौँ गफिँदा असन्तुष्टि जनाएकी भए…? आफ्नै सामु पराया आईमाईको प्रशंसा गरेको नसुनेकी भए…? अझ अर्काकी स्वास्नी घुमाउँदै हिँडेको थाहा पाएकै दिन उसलाई मेरो जीवनबाट निकालिदिएकी भए…?

अहो ! यो भएकी भए…त अनन्त हुने रहेछ ।

आफ्नो आत्मसम्मान नै धराशायी पारेर जीवनसाथीको गुलामीमा आफूलाई पूर्णतः सुम्पिएपछि आफ्नै अस्तित्वमा प्रश्नचिह्न लाग्नु स्वाभाविक रहेछ । त्यसैले मेरो जीवनमा अहिले जे भैरहेको थियो, त्यो ठीकै भैरहेको थियो ।

अन्ततः निष्कर्ष निस्कियो । मलाई यो निष्कर्षमा पुग्दा वरिपरि के हुँदैछ भन्नेसम्म ख्याल भएनछ ।

“मैले कति दिन बार्नुपर्ने हो जुठो ?” लोग्नेले बाथरुमबाट निस्किएर म छेउ आई सोध्दा पो झसङ्ग भएँ म  ।

“हैन, कता हो दिमाग ? परदेशको ठाउँमा कति दिन जूठो बार्नु पर्ने हो ?” मैले तुरुन्त जवाफ नदिएपछि च्याँठिएर प्रश्न दाेहाेर्‍याउन लाग्यो ऊ ।

“कसको जुठो ? मेरा बाको ? उनको जुठो बार्ने उनकै पाँचभाइ जवान छोरा छन् । अर्काका छोरालाई मेरा बाको जूठो लाग्दैन ।” मैले कठोर मन पारेर भनेँ ।

मलाई त्रसित बनाएर आत्मसन्तुष्टि लिन पल्किएको मान्छे ऊ यतिखेर मेरो जवाफले तिल्मिलायो ।

“उसो भए मेरो ब्रेकफास्ट तयार पार्नू, म कपडा चेन्ज गरेर आउँछु ।” उसले पुनः आदेश दिएर माथि कोठातिर लाग्यो ।

“म मेरा बा बितेको शोकमा छु । खानपिनको काम गर्दिनँ आज ।” मेरो अठोट बताइदिएँ ।

“मलाई ड्युटी जान हतार भएको थाहा छैन ? तुरुन्त ब्रेकफास्ट तयार पार्नू !” ऊ कोठैबाट चर्कियो ।

“घरमा तलब दिएर राखेको भान्से छैन । म खानापिना र जूठो धन्दा गर्दिनँ आज । त्यसैले आफ्नो भोकको ख्याल आफैँ गर्नू ।”

यत्ति भनी लोग्नेसँगको सवाल–जवाफलाई त्यही टुंगो लगाउँदै म बसेको ठाउँबाट जुरुक्क उठी गाडीको चाबी बोकेर मुल ढोकाबाट बाहिर निस्किएँ । कहाँ हिँडेकी हुँ भन्ने पनि थाहा थिएन । म केवल घरभित्रको भनाभनबाट भागेकी थिएँ । तर गाडी स्टाटै गरेर अलिकति नकुदाउँदै दिमागले एकाएक ‘यू टर्न’ मार्‍याे ।

मैले नजिकैको पार्किङ्गमा गाडी रोकेँ । वरिपरि हेरेर लामो श्वास तानेँ अनि आफ्नै फोनमा नेपाल जाने अनलाइन टिकट खोज्न थालेँ । मैले टिकट खोज्दै गर्दा मेरो लोग्नेले पाँच मिसकल गरिसकेको थियो । ऊ अर्को एकपटक मलाई धम्क्याएर आत्मसन्तुष्टि लिन चाहन्थ्यो । बाको अन्त्यसँगै मैले भने त्यो मौका आइन्दा उसलाई नदिने किरिया हालिसकेकी थिएँ ।

मैले उसको मिसकल फर्काइनँ

टिकट पाइयो । तँ चिता म पुर्‍याउँछु भन्छन् रे भगवानले । त्यस्तै भयो मलाई । अब मलाई अरु के चाहियो र ! टिकट मिलेपछि ढुक्क भएँ ।

गाडीमै बसेर मेनेजरलाई फोन गरेर आफ्नो परिस्थिति बताएँ र दुई हप्ताको छुट्टी पनि मिलाएँ । दुई भिन्न शहरमा बसेर युनिभर्सिटी पढ्ने छोराछोरीलाई पनि फोन गरेर आफू दुई हप्ता घरमा नहुने बताएँ । मेरो कुराले उनीहरु एकछिन त अचम्ममा परे तर सबै बिस्तार लगाएपछि मलाई बिदा दिन सहमत भए ।

म घर फर्किएँ । म पुग्दा मेरो लोग्ने ड्युटीमा हिँडिसकेको थियो ।

हतारिँदै आफ्ना कपडा सुटकेशमा राखेँ । दौडिँदै बजार गएर अत्यावश्यक सरसमान किनेर ल्याएँ र त्यसलाई पनि प्याक गरेँ । यति सक्दा दिउँसोको चार बजेको थियो । हतारिँदै आफू पनि तयार भएँ र ट्याक्सी बोलाएर एयरपोर्टतिर लागेँ । मान्छेलाई परेपछि जे पनि गर्छ भनेको सुनेकी थिएँ । आज आफैँमा त्यो कुरा लागू भइरहेको थियो ।

साँझको आठ तीसमा म चढेको जहाजले टेक अफ गर्यो । धर्ती छोडेर बीच आकाशमा पुगेको जहाजको झ्यालबाट हेर्दा तल–तल टोरन्टो शहर झलमल देखियो । मैले आकाशमा चम्किरहेका ताराहरुबीच चीर निद्रामा रहेका मेरा बालाई सम्झिरहेँ । तिनै ताराहरुसँग लुकामारी खेल्दै जहाज भने गन्तव्यका लागि आफ्नै गतिमा उडिरह्यो

हाल : लण्डन

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ११ : ५३ बजे

मापदण्डविपरीत पशुचौपाया ढुवानी गरिँदै

बाँके – मापदण्डविपरीत पशु ढुवानी गरिँदा पशु तथा चौपायाले दुःख

इन्द्रपुर नमुना विद्यालयलाई ‘आइएसओ सर्टिफिकेट’

सुन्दरहरैचा – मोरङको सुन्दरहरैचा १२ मा रहेको इन्द्रपुर नमुना माध्यमिक

बागमतीको मुहानस्थल बाग्द्वारमा सफाइ

काठमाडौं – बागमती सफाइ महाअभियान सुरू भएको १२ वर्षपछि नदीको

कांग्रेस सत्ताको पछि लाग्दैन : पूर्णबहादुर खड्का

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको

 कोशीको बजेट ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माण केन्द्रीत

विराटनगर ।  ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माण गर्ने अठोटसहित