‘ए बूढी ! त्यो धुन बिर्सेको कमीजसुरुवाल निकाल त ।’ यसो देब्रे आँखा सन्काएर एकाबिहानै माननीयले श्रीमतीलाई आदेश थमाए । हुन त ‘तल हजुरलाई भेट्न जिल्लाबाट मान्छे आएका छन ।’ भन्ने खबर माथि पुग्नासाथ बुढीले कुरा बुझिहाल्थिन् । आज त झन जुँगा चल्यो कुरा बुझ्यो भैहाल्यो अर्धाङ्गिनीलाई ।
बरु अब के चाहियो र ! चामेको टोपी जस्तो कच्याककुचुक परिसकेको कमिज, दागै दागको बुट्टा बनेको सुरुवाल र ठाउँ ठाउँमा आँखा ट्वाल्ल हेरे झैँ प्वाल परेको कानेटोपी ढल्काएर ह्वाङ्लाङ् ह्वाङ्लाङ् पोशाक पहिरिएर माननीय बैठक कोठामा हाजिर भए ।
‘आश्चर्य ! आश्चर्य !! ’ सुबेदार बाजे घोर अचम्ममा परे । चार वर्षअघि उनी यिनै माननीयलाई भेट्न आउँदा जस्तो परिधानमा देखेका थिए, आज यतिका पछि पनि जस्ताको तस्तै लुगाफाटोमा देख्दा उनको हंसले ठाडै ठाउँ छोडेजस्तो भयो उनलाई । तैपनि जबर्जस्ती आफूले आफैँलाई सम्हालेर काबुमा लिए ।
दुखसुखका कुरा माननीयले उसैगरी खुलेर साटे । गाउँलेहरूको व्यक्तिगत समस्या एक एक गरी पर्गेले । कसैको काँधमा धाप मारे, कोहीलाई अँगालोमा गाँजे । पाँच सात वटा चिट्ठी धस्काए । आठ दश वटा टेलिफोन पछारे । पन्ध्र बीस वटा आश्वासन पोखे । तीस चालीस वटा जति तारिख दिए । सुबेदार बाजे मख्ख परेर हेरिरहे एक तमासले । पूरै चार वर्ष बिताएर सुबेदार बाजे फेरि उनै माननीय बालाई भेट्न आएका तैपनि उनलाई पत्यारै भएन । उस्तै अनुहार, उस्तै व्यवहार ! उनी तीन छक्क परे ।
छेउमा बसेको गाउँलेले सुबेदार बाजेलाई कोट्याएर साउती मार्याे– ‘बाफ रे, मान्नै पर्छ, अरु माननीय कहाँबाट कहाँ पुगे, हाम्रो माननीय हेर्नुस् त गाउँमा चार वर्षअघि जस्तो हुनुहुन्थ्यो, अहिले पनि जस्ताको तस्तै । उत्तिकै हँसिलो, त्यत्तिकै सरल, पहिले जस्तै रसिलो र उस्तै सहयोगी ।’
अर्को गाउँलेले सुबेदार बाजेसँग कानेखुसी गर्याे– ‘यहाँ त सबै माननीय प्राडो, पजेरोले कज्याएर चिप्लिन्छन् तर हाम्रो माननीय त संसद जाँदा पनि लखर लखर पैदलै हिँड्नु हुँदो रैछ मैले मेरै आँखाले हिजो देखेको बाटोमा ।’
अर्कोले मसला थप्यो– ‘हो त मैले पनि पुतलीसडकमा पैदलै भेटेको, फाट्न लागेको हवाई चप्पल, खुम्चेको भ्याङ्ले कमिज, खुइलेको इस्टकोट, मैले त परैबाट चिनिहालें ।’
‘यी चाहिँ सच्चा माननीय रै’छन् ।’ सुबेदार बाजेले निष्कर्ष निकाले । ‘आउँदो चुनावमा दोब्बर मतले जिताउँछु ।’ मनमनै अठोट गर्दै उनी माननीय बसेको त्यो सानो कुचुक्कको डेराको बैठक कोठाबाट बाहिरिए ।
………..
‘जादु ! महाजादू !!’ सुबेदार बाजे कालिमाटीतिर हिँड्दै थिए । एक्कासि असिनपसिन हुँदै थचक्क बसे । एउटा खाइलाग्दो ज्यान, चिने चिने जस्तो, देखे-भेटे जस्तो अनुहार । सुटेडबुटेड कालो गगल्स, नजिकैबाट मगमगी अत्तरको बास्ना, दायाँ बायाँ रहरलाग्दा दुईटी हँसिला महिलाहरु…. टक्क रोकिएको हेरिरहूँ लाग्ने चिल्लो चापुल्लो विलासी गाडी । बस…
सुबेदार बाजेलाई पटक्कै पत्यार लागेन । आफ्नो हातले आफ्नै गालामा चाबुक हाने, दुईटै आँखा मज्जाले मिचे, दायाँ बायाँ टाउको झट्काले, राति हो कि भनेर आकाशतिर नियाले, होइन उनलाई महाभ्रमको इन्द्रजालमा फसेजस्तो लागिरह्यो । फेरि हेर्छन्– त्यो अनुहार उस्तै देख्छन् । ठ्याक्कै उस्तै, काटीकुटी त्यस्तै ।
उनले हात उठाइसकेका थिए– ‘नमस्ते, माननीयज्यू’ बोलिसकेका थिए । बल गरेरै उनले नियन्त्रणमा लिए हातलाई पनि, बातलाई पनि । उनी त्यहीँ नै अडिरहे । हल न चल नभएर अगाडिपट्टि मञ्चमा दमाहा जत्रो भुँडी भएको एउटा मान्छे माइक अगाडि उभियो र नाके स्वरमा मिलाइ मिलाइ उद्घोषण गर्याे– ‘सर्वाधिक छोटो अवधिमा अरबपति बनेर देखाउन सक्ने महान भाग्यमानीहरुको यो महाधिवेशनमा आज यहाँहरूलाई एक खर्ब बराबरको धन्यबाद दिँदै स्वागत गर्दछु ।’ र ‘आज मात्रै कृपापूर्वक पाँच करोड रुपियाँको प्रवेश शुल्क काटेर यस पवित्र संस्थामा अनुभवी र सक्षम व्यक्तित्वका प्रतिमूर्ति नवप्रवेशी फलानाज्यूलाई यस संस्थामा स्वागत गर्दै महाधिवेशनको सभापतित्व ग्रहण गरिदिनुहुन….।’
बस, सुबेदार बाजेले यो भन्दा बढी सुन्ने धैर्य राख्न सकेनन् । सिनेमाका पर्दामा झैँ झिलिक मिलिक दृश्य परिदृश्यहरू नाच्ने उफ्रने गर्न थाले सुबेदार बाको दिमागभरि । बिहान र अहिलेको फरक दृश्यले मनभित्र उकुस मुकुस बढ्दो थियो । यहाँ प्राडो, मर्सिडिज चढेको, गाउँमा पाडोमाथि चढेर बस्तु चराएको, गाउँलेसँगको व्यवहार, शहरिया रूप सक्कली अनुहार !!
भित्र चर्को भाषण र अत्यासलाग्दो गडगडाहटमय ताली उर्लिरहेको थियो– हल नै जुरुक्क उचाल्ने गरी ।
प्रतिक्रिया