सक्कली अनुहार (लघुकथा) | Khabarhub Khabarhub

सक्कली अनुहार (लघुकथा)



‘ए बूढी ! त्यो धुन बिर्सेको कमीजसुरुवाल निकाल त ।’ यसो देब्रे आँखा सन्काएर एकाबिहानै माननीयले श्रीमतीलाई आदेश थमाए ।  हुन त ‘तल हजुरलाई भेट्न जिल्लाबाट मान्छे आएका छन ।’ भन्ने खबर माथि पुग्नासाथ बुढीले कुरा बुझिहाल्थिन् । आज त झन जुँगा चल्यो कुरा बुझ्यो भैहाल्यो अर्धाङ्गिनीलाई ।

बरु अब के चाहियो र ! चामेको टोपी जस्तो कच्याककुचुक परिसकेको कमिज,  दागै दागको बुट्टा बनेको सुरुवाल र ठाउँ ठाउँमा आँखा ट्वाल्ल हेरे झैँ प्वाल परेको कानेटोपी ढल्काएर ह्वाङ्लाङ् ह्वाङ्लाङ् पोशाक पहिरिएर माननीय बैठक कोठामा हाजिर भए ।

‘आश्चर्य ! आश्चर्य !! ’ सुबेदार बाजे घोर अचम्ममा परे । चार वर्षअघि उनी यिनै माननीयलाई भेट्न आउँदा जस्तो परिधानमा देखेका थिए, आज यतिका पछि पनि जस्ताको तस्तै लुगाफाटोमा देख्दा उनको हंसले ठाडै ठाउँ  छोडेजस्तो भयो उनलाई । तैपनि जबर्जस्ती आफूले आफैँलाई सम्हालेर काबुमा लिए ।

दुखसुखका कुरा माननीयले  उसैगरी खुलेर साटे । गाउँलेहरूको व्यक्तिगत  समस्या एक एक गरी पर्गेले । कसैको काँधमा धाप मारे, कोहीलाई अँगालोमा गाँजे । पाँच सात वटा चिट्ठी धस्काए । आठ दश वटा टेलिफोन पछारे । पन्ध्र बीस वटा आश्वासन पोखे । तीस चालीस वटा जति तारिख दिए ।  सुबेदार बाजे मख्ख परेर हेरिरहे एक तमासले । पूरै चार वर्ष बिताएर सुबेदार बाजे फेरि उनै माननीय बालाई  भेट्न आएका तैपनि उनलाई पत्यारै भएन । उस्तै अनुहार, उस्तै व्यवहार ! उनी तीन छक्क परे ।

छेउमा बसेको गाउँलेले सुबेदार बाजेलाई कोट्याएर साउती मार्‍याे– ‘बाफ रे, मान्नै पर्छ, अरु माननीय कहाँबाट कहाँ पुगे, हाम्रो माननीय हेर्नुस् त  गाउँमा चार वर्षअघि जस्तो हुनुहुन्थ्यो, अहिले पनि जस्ताको तस्तै । उत्तिकै हँसिलो, त्यत्तिकै सरल, पहिले जस्तै रसिलो र उस्तै सहयोगी ।’

अर्को गाउँलेले सुबेदार बाजेसँग कानेखुसी गर्‍याे– ‘यहाँ त सबै माननीय प्राडो, पजेरोले कज्याएर चिप्लिन्छन् तर हाम्रो माननीय त संसद जाँदा पनि लखर लखर पैदलै हिँड्नु हुँदो रैछ मैले मेरै आँखाले हिजो देखेको बाटोमा ।’

अर्कोले मसला थप्यो– ‘हो त मैले पनि पुतलीसडकमा पैदलै भेटेको, फाट्न लागेको हवाई चप्पल, खुम्चेको भ्याङ्ले कमिज, खुइलेको इस्टकोट, मैले त परैबाट चिनिहालें ।’

‘यी चाहिँ सच्चा माननीय रै’छन् ।’ सुबेदार बाजेले निष्कर्ष निकाले । ‘आउँदो  चुनावमा दोब्बर मतले जिताउँछु ।’ मनमनै अठोट गर्दै उनी माननीय बसेको त्यो सानो  कुचुक्कको डेराको बैठक कोठाबाट बाहिरिए ।
………..

‘जादु ! महाजादू !!’ सुबेदार बाजे कालिमाटीतिर हिँड्दै थिए । एक्कासि असिनपसिन हुँदै थचक्क बसे । एउटा खाइलाग्दो ज्यान, चिने चिने जस्तो, देखे-भेटे जस्तो अनुहार । सुटेडबुटेड कालो गगल्स, नजिकैबाट मगमगी अत्तरको बास्ना, दायाँ बायाँ रहरलाग्दा दुईटी हँसिला महिलाहरु…. टक्क रोकिएको हेरिरहूँ लाग्ने चिल्लो चापुल्लो विलासी गाडी । बस…

सुबेदार बाजेलाई पटक्कै पत्यार लागेन । आफ्नो हातले आफ्नै गालामा चाबुक हाने, दुईटै आँखा मज्जाले मिचे, दायाँ बायाँ टाउको झट्काले, राति हो कि भनेर आकाशतिर नियाले, होइन उनलाई महाभ्रमको इन्द्रजालमा फसेजस्तो लागिरह्यो । फेरि हेर्छन्– त्यो अनुहार उस्तै देख्छन् । ठ्याक्कै उस्तै, काटीकुटी त्यस्तै ।

उनले हात उठाइसकेका थिए– ‘नमस्ते, माननीयज्यू’ बोलिसकेका थिए । बल गरेरै उनले नियन्त्रणमा लिए हातलाई पनि, बातलाई पनि । उनी त्यहीँ नै अडिरहे । हल न चल नभएर अगाडिपट्टि मञ्चमा दमाहा जत्रो भुँडी भएको एउटा मान्छे माइक अगाडि उभियो र नाके स्वरमा मिलाइ मिलाइ उद्घोषण गर्‍याे– ‘सर्वाधिक छोटो अवधिमा अरबपति बनेर देखाउन सक्ने महान भाग्यमानीहरुको यो महाधिवेशनमा आज यहाँहरूलाई एक खर्ब बराबरको धन्यबाद दिँदै  स्वागत गर्दछु ।’ र ‘आज मात्रै कृपापूर्वक पाँच करोड रुपियाँको प्रवेश शुल्क काटेर यस पवित्र संस्थामा अनुभवी  र सक्षम व्यक्तित्वका प्रतिमूर्ति नवप्रवेशी फलानाज्यूलाई यस संस्थामा स्वागत गर्दै महाधिवेशनको सभापतित्व ग्रहण गरिदिनुहुन….।’

बस, सुबेदार बाजेले यो भन्दा बढी सुन्ने धैर्य राख्न सकेनन् । सिनेमाका पर्दामा झैँ झिलिक मिलिक दृश्य परिदृश्यहरू नाच्ने उफ्रने गर्न थाले सुबेदार बाको दिमागभरि । बिहान र अहिलेको फरक दृश्यले मनभित्र उकुस मुकुस बढ्दो थियो । यहाँ प्राडो, मर्सिडिज चढेको, गाउँमा पाडोमाथि चढेर बस्तु चराएको, गाउँलेसँगको व्यवहार, शहरिया रूप सक्कली अनुहार !!

भित्र चर्को भाषण र अत्यासलाग्दो गडगडाहटमय ताली उर्लिरहेको थियो– हल नै जुरुक्क उचाल्ने गरी । 

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  २ : ०२ बजे

Nepatop

छात्रा मृत्यु प्रकरण : अनुसन्धानमा प्रभाव पार्ने सामग्री सम्प्रेषण नगर्न प्रहरीको अनुरोध

काठमाडौं । जिल्ला प्रहरी कार्यालयले चितवनले केही दिनअघि रत्ननगर नगरपालिका

समयसापेक्ष संविधान संशोधन जरुरी : पूर्वराष्ट्रपति यादव

मोरङ । पूर्वराष्ट्रपति डा रामवरण यादवले वर्तमान नेपालको संविधान समयसापेक्ष

सरकार र दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति

काठमाडौं – सरकार र केन्द्रीय दुग्ध सहकारी सङ्घबीच आज भएको

नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यापारी नभएर एमाले कार्यकर्ता हुन् : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले गएको

शालीनको मृत्युबारे गम्भीर छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शालीन पोखरेलको मृत्यु प्रकरणबारे