आँसुले बगाएको हाँसो | Khabarhub Khabarhub

आँसुले बगाएको हाँसो



न सर्दी छ, न गर्मी छ, न वर्षा छ, न घाम छ
अपूर्व यो शरतकाल सबैको सुख- धाम छ ।।

कवि शिरोमणि लेखनाथ पौड्यालले भने जस्तो भएन तिहार । आकास खुले पनि मन मुर्झायो । फूल फुले पनि चेली र माइतीका लागि भुइँचालोले कहिल्यै नमेटिने कालो धर्सा कोरिदिएको छ । दाजुभाइको दीर्घ जीवनको कामना गर्न फुलाइएका फूल गलामा नभई अन्तिम बिदाइमा चढ्न पुगे । दशा ग्रहबाट माइती जोगाउन जोहो गरिएका ओखर फोर्न नपाउँदै आँसुले धेरैका रहर बगायो ।

मस्त निद्रामा आमाको काखमा लपेटिएर जीवनरस ग्रहण गरेको बच्चाले जन्मदाता गुमायो । जन्मदाताले कोख गुमाइन । छोराले अभिभावक नामको छानो गुमायो । अभिभावकले सहाराको लौरो गुमाए । दशैँमा ठूलाबडाबाट बीस सय आयुको आशीर्वचन पाएका दर्जनौं बालबालिका चिचिलामै भगवानका प्यारा भए । अझ चुहेको घर टाल्न र सन्तानको मुहारमा खुसी ल्याउन लाहुर पसेकाहरूले त सर्वस्व हारे । 

माया, प्रेम फल्ने, फुल्ने त्यही घर बनाउँदा पसिना बगाउनेको निधारमा आफैँले बोकेको दलिन बज्रिएर प्राण पखेरु उड्यो । बाउ आमा सन्तानको मलामी जानुपर्ने उल्टो यात्रा हिँड्न बाध्य भए । आखिर कहानी सबैको हुन्छ । फरक यति मात्र हो कि कसैले कहानी कलमले लेखिन्छ त कसैको आँसुबाट । जन्म, मृत्यु र भाग्य भगवानको हातमा धर्म, कर्म र इज्जत भने आफूले कमाउने रहेछ ।

सिंह राशि हुनेलाई कुकुरले खेद्छ । ताला व्यापारीको घरमा चोर लाग्छ । पैताला नभिजाई समुद्र पार गर्न सकिएला तर परेला नभिजाई जिन्दगी पार गर्न कठिन छ । हरेक हृदयभित्र दुख लुकेको हुन्छ । कोही रोएर देखाउँछन् त कोही हाँसेर लुकाउँछन । जित, हार आफ्नो सोचमा भर पर्छ । मान्नुभयो हार ठान्नुभयो जित ।

यो कलियुग हो । झूट बोल्नेले मौका, साँचो बोल्नेले धोका र नबोल्नेले सजाय पाउँछ । हातले बाँधेको गाँठो, दाँतले फुकाउनु पर्छ । यदि तपाईं उचाइको सिंढी चढिरहनुभएको छ भने पछाडि छुटेकासंग असल व्यवहार गर्नुस किनकी फर्किदा ती मानिस बाटामा भेटिनेछन् । कुनै बच्चालाई केही उपहार दिनुभएन भने एकछिन रुन्छ तर संस्कार दिएन भने जिन्दगीभर रुन्छ । हिम्मत गरेर अघि बढ्नेको किस्मत बढ्छ ।  पसिना र आँसु कहिल्यै झूटो हुँदैन किनकी पीडा नभई आँसु झर्दैन र दुख नगरी पसिना बग्दैन ।

खेतमा झुलेका मनोहर पहेँला बाला, बारीमा कोदोका बाला र फापरका झुप्पा, आली र बारीका कान्लामा भट्मास र बोडीका कोसाहरूले प्रकृति शोभायमान भए पनि शोकले जाजरकोट र रुकुम निःशब्द बनेका छन । आफ्नो बगैँचामा राताम्मे मनमोहक हलुवाबेद, पूर्णिमाको जूनको आभा पोखिएजस्ता सर्लक्क अम्बाका दाना, सुन्तला, अमला, ज्यामिर, नासपाती, कागती, केरा, भोगटे, चाक्सीले छर्ने माधुर्यले त्यहाँ कसैलाई छुँदैन ।  बारीको कान्लामा प्लास्टिकको ओतभित्र जीवन खुम्चिएको छ ।

हिउँदमा लागेको हुस्सुको पर्दा उठाएर हेर्दा कथा व्यथाका अनगिन्ती पहाड हाजिर भएका छन् । आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको देखि बलिया बाङ्गा बाघलाई बुढापाका माघलाई सम्मका मुक्तिहरु ज्यूँ का त्यूँ उपस्थित छन् । सम्भवतः भविष्य भएसम्म आस हुन्छ । आस र त्रासका थुप्रै पात्रो गुजारेका नेपाली फेरि अर्को विवश भीष्म पितामह बनेका छन । न नेता फेर्न सकिन्छ, न छिमेकी । तिनै लाचार भीष्मले हस्तिनापुर छोड्न नसके जस्तो आफ्नो मन सङ्लो बनाउने प्रयासमा दाजुभाइ जुटेका छन ।

हिलोबाट उम्कन हिलोमै नटेकी सम्भव छैन ।  जसरी कालो चुक घोप्ट्याए जस्तो रात काटेपछि सुन्दर घमाइलो बिहानी आउँछ, त्यसरी नै आँसुमा हाँसो नखोजी सुख्खै छैन । शोकले बढार्ने भइ दिएको भए सम्भवत: मृत्युले जन्मको बाटो सधैँ सधैँका लागि बन्द गर्ने थियो ।  

जीवनको स्वाद प्रकृतिसंग छ । बाँच्नुको सार्थकता जीवनको स्वादमा आधारित छ । आज यान्त्रिकताको बढ्दो नियन्त्रीकरणभित्र मान्छे प्रविधिको दास हुँदै गइरहेछ । घडीको सूईसंगै घुम्नुपर्ने आजको मान्छे क्रमशः मान्छेबाट रोबटमा अवतरण भइरहेछ । भावना, कल्पना र संवेदनहीन अवस्थामा बाँचेको मान्छेलाई के भन्ने ? मन विनाको मान्छे र रोबटबीच कति फरक होला ? शायदै यही अवस्थाबाट दिक्क भएर जर्ज ह्यारिसनहरु शान्तिका लागि गंगाको किनारमा गेरु बस्त्रधारी भएर निस्किएका होलान् । म्याडोनाहरु संस्कृत भाषाको सम्मोहनमा लहस्सिएका होलान् । आखिर मान्छेको अर्को नाम भनेकै प्रयोग हो । अझ त्यो भन्दा पर गएर भन्ने हो भने मान्छे गुण र दोषको सम्मिश्रण हो । 

मन परेको त्यही मान्छे आँखामा हाले पनि बिझाउँदैन, तर मन नपरेको मान्छे एक कोश परबाटै एलर्जी हुन्छ । मान्छे त मान्छे नै भयो, एकैदिन जन्मिएका काँडा र फूलले पाउने व्यवहारको अन्तर कस्तो हुन्छ ? संसार आफैँमा सुन्दर छैन, तर त्यसलाई हेर्ने आँखा सुन्दर हुनुपर्छ । खाना हैन, जीब्रोमा स्वाद हुनुपर्छ । आनन्द दृश्यले हैन, मनले ग्रहण गर्नुपर्छ । सृष्टिको नियम उहिले जे थियो, अहिले पनि त्यही छ । चराहरू उडिरहेकै छन् । बादलहरू विभिन्न आकृतिमा विभाजित भइरहेका छन् । आँखाको सिमानाभन्दा विशाल मैदानहरु छन् । त्यही नजिक उठेका हिमालहरू छन् । अझ पहाडलाई पनि उछिनेर उठेका स्निग्ध ध्यानमग्न ऋषि महर्षि बसे  झै हिमालयहरू छन् । 

रात खुम्चिदै उज्यालो टेक्न पुग्छ । प्रत्येक दिन बिहान, दिउँसो, साँझका नाममा बालक, युवा र वृद्धको नियति झै खुम्चिन र फक्रिन पुग्छ । दिउँसोको सफा आकास होस् या रातमा आफ्नो वरिपरि तारा जडेर चन्द्रमाको दुधिलो उज्यालोमा आफूलाई आकर्षक बनाउने आकास होस, ती सबै शोभायमान छन् । सृष्टिको रहस्य र सम्पूर्ण सौन्दर्य चारैतिर समेटेर मानिसलाई कति तरंग र भावनाका फूलहरू बर्साइरहेका छन् ।

 जति हेर्‍यो, उति हेरिरहूँ लाग्ने भावुकताको मातले छोएर संवेदनाको तरलतासम्म पुग्ने यस्ता क्षणहरू, सौन्दर्यकृत प्रकृतिका उपहारहरू त्यसै त्यसै नष्ट भइरहेका छन् । ऋतु ऋतुमा हुने परिवर्तन र त्यस परिवर्तनबाट मानिसभित्र छाउने उर्जा प्रकृतिको अजस्र धारा हो, धारा । शिशिरको पतझड, वसन्तको पालुवा, वर्षादको झमझम र शरद्को स्निग्धता कुनै संगीतको कुनै सुरभन्दा कम छैन् । प्रकृतिका यी रस पिउनेको जीवनमा सधैँ नवीन अनुभूतिको आलोक खुलिरहन्छ । 

आशावादीहरुका लागि संसार सुन्दर छ । उसको आँखा शिल्पी बनेर उघ्रिन्छ । महात्मा बनेर चिम्लिन्छ । यो धरा सधैँ नूतन, सनातन, अजर र अमर छ । प्रकृतिको यही इन्द्रेणीमा साहित्य, संगीत र कलाका मुनाहरु पलाइरहन्छन् । यही इन्द्रेणी हो कविता निरन्तर सिर्जना भइरहेछ ।

 यही इन्द्रेणी हो संगीत निरन्तर बजिरहेछ । यो कल्पनाको इन्द्रेणी, यो भावनाको इन्द्रेणी र संवेदनाको इन्द्रेणी जुन सधैं सुन्दर र रहस्यमयी छ । यो अनन्त इन्द्रेणी रहेसम्म कविता लेखिइरहन्छ, संगीत बजिरहन्छ र सम्पूर्ण कलाहरु रचना भइरहन्छन् । कविताको आनन्द लिन पनि आफूसँग केही कविता हुनैपर्छ । 

सौन्दर्य पिउन  आफूभित्र सौन्दर्य हुनुपर्छ । यन्त्रणाबाट आफू नियन्त्रित आजको मान्छे आफैं निस्सासिएको छ । यत्रो पृथ्वीमा आउने अवसर पाएको मान्छे यति ठूलो पृथ्वीको विचित्रता र अनन्तता हेर्न त परै जाओस् , अब आफ्नै घर आँगनमा फुल्ने र सयपत्रीको सौन्दर्यलाई पनि उ आफूमा आत्मसात् गर्ने संवेदना हराउँदै बाँचेको छ । 

हामीलाई राजनीतिमा बाँडिदै फुर्सद छैन । हामीलाई साम्प्रदायिकतामा विभाजित हुँदै फुर्सद छैन् । हामीलाई आफ्नै स्वार्थ, महत्वाकांक्षा र भौतिक लिप्सामै निरन्तर टाँसिदैमा फुर्सद छैन् ।  हो, मान्छे अब बाघ भालुबाट हैन, मान्छेबाटै आक्रान्त छ । भोक लाग्दैन, भोजनमा स्वाद छैन । तिर्खा लाग्दैन, पानीमा धीत छैन । निद्रामा नीद छैन, कल्पनाहीन, भावनाहीन मान्छे बाँचेको छ ।

मान्छेका जीवनमा प्रश्न धेरै छन्, तर उत्तर छैन् । भएको उत्तर पनि अपुरो छ । महाभारतमा आफ्नो प्राण अर्पण गर्ने त्यत्रा सैनिकहरूको नाउँ कहाँ छ ? रामायणमा ती सबै दानव र बाँदरहरुको नाम कहाँ छ ? सिंहदरवार बनाउँदा थिच्चिने, मिच्चिने र रातदिन पसिना बगाउने श्रमिकहरूको नाउँ कहाँ छ ? धरहरा बनाउने सयौं कर्मीहरुको नाउँ कहाँ छ ? नाउँ छ त फगत कौरवपाण्डवहरूको

नाउँ छ त फगत राम र रावणको । नाउँ छ चन्द्रशम्शेरको, अनि अमर छन् फगत भीमसेन थापा । तिम्रै इतिहास हेर न एण्डरसन र नेपोलियनको इतिहास जीवित छ । अरु योद्धा कता गए ? हुन पनि इतिहास जित्नेहरुको घोडा हो भन्छन् । सत्य जान्नु, बुझ्नु र भोग्नु भनेको जिन्दगीको असली रसास्वादन हो । सत्य आगो हो, जुन चाहे पनि नचाहे पनि स्वीकार्नै पर्छ । 

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ४ : ०५ बजे

ऐन महरलाई कारबाही माग गर्दै अनशनमा रश्मिला धामी

काठमाडौं- नेकपा एमालेका नेता ऐन महरलाई कारबाही माग गर्दै एकजना

माओवादीमा पारदर्शी जीवनशैली र उच्च नैतिकता भएका नेताको खोजी

काठमाडौं- नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा नेताहरूको जीवनशैलीलाई

चीनको आर्थिक वृद्धिदर सुस्तायो

काठमाडौं– चीनको आर्थिक वृद्धिदर घट्दै गएको पाइएको छ । कोरोना

नक्कली इन्सपेक्टर बनेर ठगीमा संलग्न समातिए

काठमाडौं– नेपाल प्रहरीले नक्कली इन्सपेक्टर बनेर ठगी कार्यमा संलग्न व्यक्तिलाई

ओली सरकारले बढायो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरिका सार्वजनिक यातायातको भाडा