बर्दिबास अस्पतालमा सेवा बिस्तारले जगायो आश | Khabarhub Khabarhub

बर्दिबास अस्पतालमा सेवा बिस्तारले जगायो आश


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– सरकारी स्वास्थ्य संस्थाको सेवाप्रति आम रुपमा निराशा बढेकै बेला महोत्तरीको बर्दिबास अस्पतालप्रति भने सर्वसाधारणको भरोसा बढ्न लागेको छ । बर्दिबास–२ बुद्धचोकस्थित बर्दिबास अस्पतालले विभिन्न प्रकारका २६ वटा सेवालाई नियमित गरेपछि सर्वसाधारणमा आशा बढेको हो । बर्दिबास अस्पतालले बुधबार मात्रै अब विज्ञ चिकित्सक र अत्याधुनिक उपकरणसहितको २६ वटा सेवालाई नियमितता दिने घोषणा गरेको छ ।

अस्पतालले बुधबार जनरल ओपिडी सेवा, सघन उपचार कक्ष सेवा, प्रसूति तथा महिला रोग सेवा र हाडजोर्नी तथा नसा रोगसम्बन्धी महत्वपूर्ण सेवा विस्तार गरेको छ । त्यसैगरी शल्यक्रिया, नवजात शिशु स्याहार, दाँत, मुख तथा गिँजासम्बन्धी समस्या, ल्याव, एक्सरे, भिडियो एक्सरे, ईसीजी, फार्मेसी, स्वास्थ्य बीमा र भर्ना सेवासहितको सुविधा विस्तार गरेको छ ।

 अस्पतालले ज्येष्ठ नागरिक स्याहार केन्द्र, एकीकृत हिंसा व्यवस्थापन, सामाजिक सुरक्षा सेवा, परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, किशोरकिशोरी सेवा, शव परीक्षण सेवा, क्षयरोग उपचार सेवा, परामर्श तथा प्रेषण सेवा र सम्पूर्ण शरीरको जाँच सेवासहितका सुविधा नियमित गरिने जनाएको छ ।

‘अस्पतालले बुधबार थालेका नयाँ सेवा र त्यसलाई गुणस्तरीय र नियमित बनाइने प्रतिबद्धताले अब गरिब र निमुखाले पनि अत्यावश्यक स्वास्थ्य सेवा आफ्नै ठाउँमा पाउँछन् भन्ने आश जगाएको छ’, स्थानीय उमेश आचार्यले भने, ‘यी सेवाले नियमितता पाउनसके यस भेगमै स्वास्थ्यक्षेत्रमा निकै सुधार आउने छ ।’

अस्पतालले जनमुखी स्वास्थ्य सेवा, भौतिक व्यवस्थापन र दक्ष जनशक्तिको पहुँच अझ बढाउँदै लगिने जनाएको छ । ‘हामीलाई स्थानीय तह (बर्दिबास नगरपालिका), अस्पताल व्यवस्थापन समिति र समुदायको राम्रो साथ छ, प्रभावकारी स्वास्थ्य सेवा प्रवाहप्रति हामी प्रतिबद्ध छौँ’, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा कृष्णा महर्जनले भने, ‘ठीक ठाउँमा उपचार लिन पुगेछौँ भन्ने अनुभूति दिने गरी बिरामीको हेरचाह हुनेछ ।’

अस्पतालले अत्यावश्यक सेवा थपेर सोअनुसारको भौतिक र दक्षजनशक्तिको व्यवस्थापन गरेपछि यस भेगमा सर्वसुलभ उपचार सेवा पाउने आश बढेको छ । ‘सानातिना स्वास्थ्य समस्यामा पनि पैसाकै अभावले उपचार गराउन नसकिने अवस्था अब रहनेछैन’, बर्दिबास–२ की पवित्रा खड्काले भनिन्, -सुत्केरी हुने-गराउने बेला महङ्गा निजी अस्पतालमा पुग्नु नपरे पनि निकै ठूलो राहत हुनेछ ।’

अस्पतालको सेवाले यो ठाउँ अब बर्दिबास नगरक्षेत्रमात्र नभएर छिमेकका भङ्गाहा, औरही र गौशाला नगरक्षेत्रसँगै छिमेकी जिल्ला धनुषाका मिथिला, सर्लाहीका इश्वरपुर एवम् लालबन्दी एवम् सिन्धुलीका कमलामाई तथा दूधौली नगरपालिकासम्मका सेवाग्राहीका लागि भरपर्दो  उपचार केन्द्र बन्ने विश्वास गरिएको छ । धनुषाको मिथिला, सर्लाहीका ईश्वरपुर र लालबन्दी तथा सिन्धुलीका कमलामाई र दूधौली बर्दिबास नगरपालिकासँग जोडिएका छिमेकी जिल्लाका नगरपालिका हुन् । 

पछिल्ला केही वर्षयता सरकारी अस्पतालका सेवा प्रभावकारी र भरपर्दो हुन नसकेपछि निजी अस्पतालमा उपचार गराउनेको सङ्ख्या बढेको बर्दिबास–१४ का रामनरेश महतोले बताए। ‘पोहोर साल छोरीलाई सुत्केरी व्यथा लागेपछि नजिकैको निजी अस्पताल पुर्‍याएँ, अस्पतालले शल्यक्रिया गर्नुपर्छ पैसा जुटाउनुस भने’, महतोले भने, ‘त्यसपछि छोरीलाई प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएँ, उनले सामान्य अवस्थामा बच्चा जन्माइन् ।’ अब बर्दिबासमै यो सेवा सुरु भएपछि टाढाको अस्पताल जानुपर्ने अवस्था नपर्ने भएको उनले सुनाए। स्वास्थ्य बीमा गरेका सेवाग्राहीले पनि निजी अस्पतालमा लाइनमा बस्नुपर्ने अवस्था अब अन्त्य हुने अपेक्षा गरेका छन् ।

अस्पतालमा थप सेवा प्रवाहका लागि बर्दिबास नगरपालिकाले लिएको पहलकदमीको अहिले सर्वसाधारणले सराहना गरेका छन् । बर्दिबास नगरपालिकाले सेवासँगै अस्पतालको भौतिक संरचना पनि बढाउँदै लगेको छ । स्वास्थ्य सुविधा बढाइएसँगै अस्पतालको माथिल्लो तलामा पनि आवश्यकताअनुसार कोठा थप्दै लगिएको छ । चार तले अस्पताल भवनमा यसअघि ५२ कोठा थिए । अब सेवा विस्तारसँगै केही कोठा थपिँदैछन् । सेवा प्रवाह, भौतिक र दक्षजनशक्ति व्यवस्थापनको काम सन्तुलनमा गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयनारायण शर्माले बताए । 

जम्मा ५० शय्याको अस्पतालमा अहिले चिकित्सक, स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारी र परिचारिकासमेत ८३ जना कार्यरत रहेका मेडिकल सुपरिटेण्डेण्ट डा महर्जनको भनाइ छ । ‘हामी आम जनताले अनुभूति पाउने गरी सबैक्षेत्रका कामलाई व्यवस्थित गर्न लागि परेका छौँ, अहिले लामो तयारीपछि अस्पतालबाट यो अनुभूति दिइँदैछ’, नगर प्रमुख क्षत्रीले भने , ‘हामी आफ्ना कामलाई अरुका लागि पनि उदाहरणीय प्रेरणादायी हुने गरी व्यवस्थित गर्छौं ।’ अब सबैले देख्ने गरी एकपछि अर्को कामका सकारात्मक नतिजा आउने क्षत्रीको थप भनाइ छ ।

नेपाल सरकारको २०६४ सालको निर्णयले स्थापित यो अस्पताल समय क्रमसँगै भौतिक संशाधन, दक्षजनशक्ति र सेवा प्रवाहमा पनि उम्दा बनेपछि यस भेगमा अहिले खुसी छाएको छ । आम जनताले आफ्नै ठाउँमा राम्रो उपचार पाउने आश सँगालेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  १२ : ३५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका