आ-आफ्ना उम्मेदवारका पक्षमा मतदान गर्न सांसदको आग्रह | Khabarhub Khabarhub

आ-आफ्ना उम्मेदवारका पक्षमा मतदान गर्न सांसदको आग्रह


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले आआफ्ना सभामुख पदका उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सत्तागठबन्धन र विपक्षी गठबन्धनबाट सभामुखको चयनका लागि दुई बेग्लाबेग्लै प्रस्ताव प्रस्तुत गरिएको छ । नेकपा (एमाले) का सुवास नेम्वाङले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हीतराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने समर्थक गरेका थिए ।

यसैगरी कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विपक्षी गठबन्धनको तर्फबाट ईश्वरीदेवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले समर्थन गरेका थिए । दुवै प्रस्तावको छलफलका क्रममा सांसदहरुले आआफ्नो धारणा व्यक्त गरेका थिए । सांसद विमलेन्द्र निधिले संविधान बनाउने क्रममा उल्लेखनीय भूमिका निर्वाह गरेकी न्यौपानेलाई सभामुखको पदमा विजयी गराउन आग्रह गरे । उनले राजनीतिक प्रतिस्पर्धालाई प्रतिशोधका रुपमा नभई प्रतिस्पर्धाका रुपमा हेरिनुपर्ने बताए ।

सांसद योगेशकुमार भट्टराईले प्रधानमन्त्रीलाई विश्वासको मत दिइए जस्तै सत्ता साझेदार दलका उम्मेदवार घिमिरेलाई मत दिन आग्रह गरे । सांसद माधव सापकोटाले सभाको अभिभावककाे रुपमा रहेको सभामुख सर्वसम्मतका आधारमा चयन हुँदा सदनको गरिमा उँचो हुने बताए। उनले सत्ता साझेदार दलको उम्मेदवार घिमिरेलाई साझा उम्मेदवारका रुपमा विजयी बनाउन आग्रह गरे ।

सांसद मनिष झाले कुनै सिद्धान्त, विचार र अभ्यासभन्दा व्यक्ति विशेषलाई प्राथमिकता राखेर चर्चा गरिने परिपाटीलाई सच्याउन आवश्यक रहेको बताए । उनले भने, ‘हाम्रो अभ्यासले राजनीतिक संस्कार कति परिस्कृत भयो भन्ने सन्देश दिने भएकाले नवनिर्वाचित सभामुखले हालको अभ्यासमा सुधार गर्नेछन् भन्ने अपेक्षा गर्छौं ‘।

 सांसद ज्ञानबहादुर शाहीले नवनिर्वाचित सांसदले प्रतिपक्षका आवाज पनि सुन्न सक्नुपर्ने बताए। सांसद प्रकाश अधिकारीले मतभेद न्यूनीकरण गरेर मुलुकलाई अगाडि लैजान नवनिर्वाचित सभामुखले भूमिका खेल्नुपर्ने बताए । ‘जनजीविकालाई सरल गराउनुपर्ने दायित्व छ, यही सदनबाट जनताको आशा अपेक्षा सम्बोधन गर्नेतर्फ ध्यान दिनुपर्ने छ’, उनले भने।

सांसद राजेन्द्रप्रसाद पाण्डेले सङ्घीयताको पक्षधर एवं लोकतान्त्रिक गणतन्त्रलाई मनैदेखि स्वीकार गर्ने न्यौपानेलाई  सभामुखमा विजयी गराउनुपर्ने बताए। सांसद चन्द्रकान्त राउतले सबै पक्षलाई एक ठाउँमा राखेर राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिँदै सत्ता साझेदारका दलका उम्मेदवार घिमिरेलाई मतदान गर्ने बताए । 

सांसद शरत्सिंह भण्डारीले सरकार सत्तापक्षको हुने र संसद् विपक्षी दलको हुनुपर्ने बताउँदै सभामुखमा प्रतिपक्षीको प्रतिनिधित्व हुनुपर्ने बताए । उनले आफ्नो पार्टीले विपक्षी गठबन्धनको तर्फबाट सभामुखका उम्मेदवार बनेका कांग्रेसका ईश्वरी न्यौपानेलाई मतदान गर्न सबैलाई आग्रह गरे ।

सांसद गङ्गाराम चौधरीले आफूहरुले सत्ताको भागबण्डाभन्दा पनि न्याय खोजेको बताउँदै सभामुख निर्वाचनका प्रस्तावका सम्बन्धमा आफू घिमिरेका पक्षमा रहेको बताए । सांसद प्रेम सुवालले सदनमा सांसदको सङ्ख्याभन्दा पनि उनीहरुले उठाउने जनजीविकाका सवालमा बोल्ने विषय महत्वपूर्ण हुने बताउँदै सरकारलाई जनताका पक्षका काम गर्न आग्रह गर्दै गरे ।

सांसद चित्रबहादुर केसीले सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले संसदीय प्रणाली धरापमा परेको बताउँदै सभामुखको मतदानका सम्बन्धमा आफूहरु कांग्रेसका उम्मेदवार न्यौपाने पक्ष रहेको बताए । सांसद डा अमरेशकुमार सिंहले संसद् प्रतिपक्षी दलको हुने जनाउँदै हाम्रो राजनीतिक प्रणालीमा भने सरकारको प्रभावमा हुने गरेको टिप्पणी गरे । उनले आफू सभामुखका उम्मेदवार घिमिरेका पक्षमा रहेको जानकारी गराए ।

सांसद प्रभु साहले लोकतान्त्रिक विधिको यथार्थता कार्यान्वयन हुने हो भने धेरै सांसदले दलको ‘ह्विप’भन्दा माथि उठेर आफ्नो विचार प्रस्तुत गर्ने बताउँदै आफू सभामुखका उम्मेदवार घिमिरेको पक्षमा रहेको बताए । सांसद योगेन्द्र मण्डलले सत्ता साझेदार दलका उम्मेदवार घिमिरेको पक्षमा आफू रहेको जानकारी गराए ।


प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ३ : ०० बजे

तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला 

काठमाडौं– सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई वटा

अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीमा संलग्न दुईजना थाइल्याण्डबाट पक्राउ

एजेन्सी– थाइल्याण्डका रेन्जरहरूले अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीसँग सम्बन्धित शंका लागेका दुईजनालाई

मानव–वन्यजन्तु द्वन्द्व रोक्न वनमा पानीको प्रबन्ध

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको नमुना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट

जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा

जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा

जर्मनी– जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड