दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 8 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दिनभर आज दिल्लीमा राष्ट्रपति पौडेलको उपचार सुरु, नयाँ बजेटले आशाको नयाँ रक्तसञ्चार गर्ने प्रधानमन्त्रीकाे भनाइ, कानून मन्त्रालयलाई व्यवस्थित र गतिशील तुल्याइने, उपचुनाव हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गराउन आग्रहलगायत समाचारले प्रमुख स्थान पाए ।

दिल्लीमा राष्ट्रपति पौडेलको उपचार सुरु

राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार सुरु भएको छ । राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।

नेपालको त्रिवि अस्पताल र भारतको एम्स अस्पतालका चिकित्सकबीच परामर्श हुँदा उनलाई थप अनुसन्धान एवं उपचारका लागि दिल्ली जान उपयुक्त हुने राय आएपछि राष्ट्रपति पौडेल आज भारतको एम्स अस्पताल गएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

सचिवालयले विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेल आज बिहान १० बजे श्री एयरलाइन्सको विमानबाट दिल्ली प्रस्थान गरेको समेत जनाएको छ ।

उपचारमा हाल एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा डा अनन्त मोहन र आइसियु विज्ञ डा पुनित मिश्रको टोली संलग्न रहेका छन् ।

यसैबीच, उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य लाभको कामना गरेका छन् । आज एक वक्तव्य जारी गर्दै उहाँले राष्ट्रपतिको सुस्वास्थ्य एवं शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

राष्ट्रपति पौडेलको स्वास्थ्य उपचारका लागि आज भारत प्रस्थान गरेका छन् । उनको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार सुरु भएको छ । राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।

नेपालको त्रिवि अस्पताल र भारतको एम्स अस्पतालका चिकित्सकबीच परामर्श हुँदा उनलाई थप अनुसन्धान एवं उपचारका लागि दिल्ली जान उपयुक्त हुने राय आएपछि राष्ट्रपति पौडेल आज भारतको एम्स अस्पताल गएका हुन् ।

नयाँ बजेटले आशाको नयाँ रक्तसञ्चार गर्ने प्रधानमन्त्रीकाे भनाइ

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नयाँ बजेटले जनतामा नयाँ रक्तसञ्चार गर्ने बताएका छन् ।

बुधबार दिउँसो तनहुँको डुम्रे बजारमा क्षेत्र नं.१ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले केही नयाँ र गुणात्मक काम गर्नेगरी नयाँ बजेटको तयारी गरिएको बताएका हुन् । सभामा प्रधानमन्त्रीले भने, ‘सुशासन र समृद्धिको लक्ष्यसहित वर्तमान गठबन्धन सरकार अगाडि बढिरहेको छ । हरेक दिन केही नयाँ पहलकदमी लिइएको छ । हामी नयाँ बजेट ल्याउने तयारीमा छौँ । नयाँ बजेटमा जनतामा आशाको नयाँ रक्तसञ्चार सिर्जना गर्नेगरी काम गर्छौं ।’

प्रधानमन्त्रीले उपनिर्वाचनमा सत्ता साझेदार दलका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन तनहुँबासीलाई अपीलसमेत गरे। प्रधानमन्त्रीले भने, ‘अघिल्लोपटक ‘रामचन्द्र पौडेलजीलाई जिताउनुस्, प्रधानमन्त्री बनाउँछौँ’ भनेको थिएँ, उहाँ राष्ट्रपति भइसक्नुभयो । यसपटक पनि हामीले निकै योग्य उम्मेदवार उठाएका छौँ । गोविन्द भट्टराई तनहुँको योग्य उम्मेदवार हो । उहाँ यहाँको माटोमा हुर्किएको जनताको छोरो हो । यहाँलाई जिताएर पठाउनुस्, तपाईहरूको मतको उचित सम्मान हुनेछ ।’

‘मुग्लिङ–पोखरा सडकखण्डको स्तरोन्नति कार्य धीमा गतिमा छ, यसलाई तीव्रता दिन सरकारको तर्फबाट गम्भीर पहल हुनेछ’ प्रधानमन्त्रीले भने , ‘जिल्लाका सडकहरू कालोपत्रे गर्न सरकारको गम्भीर ध्यान जानेछ । देवघाटमा सांस्कृतिक विश्वविद्यालयका लागि सम्भाव्यता अध्ययन गरिनेछ ।’
प्रधानमन्त्रीले निकै ठूलो मेहेनतपछि वर्तमान गठबन्धन फेरि एकतावद्ध भएर अघि बढेको बताए ।

उनले भने, ‘संविधानको हुर्मत लिने र गणतन्त्रमाथि प्रहार गर्नेहरूविरुद्ध अहिलेको गठबन्धन बनेको हो । विकास र समृद्धिको नयाँ अभियानतर्फ लाग्ने अठोटका साथ गठबन्धन अगाडि बढिरहेको छ । कहिलेकाहिँ खहरेखोला पनि उर्लेर आउँछ, तर त्यो सुक्नेवाला छ । नदी सदाबहार रूपमा अगाडि बढ्छ । जनता न्यायाधीश हो, त्यसैले तनहुँबासी जनताले उचित फैसला गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’

‘अर्थतन्त्रमा सुधार ल्याउने कामलाई मैले उच्च प्राथमिकतामा राखेको छु । विदेशी मुद्राको सञ्चिति बढेको छ । चोरी पैठारी रोक्न निकै मेहेनत गरिएको छ । राजस्व संकलनमा सुधार आएको छ । भ्रष्टाचार र बेथिति रोक्न धेरै मेहेनत गरिएको छ । रेमिट्यान्स बढेको छ । विकट पहाडी जिल्लामा समेत पाठ्यपुस्तक पुगेका छन् । यी सबै कुरा विकास र समृद्धिको लक्ष्यमा अगाडि बढ्ने अठोटसहित गरिएको छ’प्रधानमन्त्रीले भने ।

मंगलबारको मन्त्रिपरिषद बैठकले राष्ट्रिय परिचयपत्रमा अभिलिखित नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्न निजी कम्पनीलाई दिइएको ठेक्का र त्यससम्बन्धि जारी कार्यविधि खारेज गरेको प्रसङ्गबारे बोल्दै प्रधानमन्त्रीले भने, ‘हिजोको क्याबिनेटले निकै महत्वपूर्ण निर्णय गरेको छ । त्यो निर्णय धेरै गहिरो छ । त्यसबाट ठूल–ठूला गफ हाक्नेहरूको असली नियत देखिएको छ ।’

चुनावी सभालाई पूर्वप्रधानमन्त्रीहरूः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

कानून मन्त्रालयलाई व्यवस्थित र गतिशील तुल्याइने

उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच समन्वय गर्ने सन्दर्भमा कानून मन्त्रालयको बहुआयामिक भूमिका र दायित्व रहेको बताएका छन् ।

मन्त्रालयमा पदवहाली गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संसद् सञ्चालन नियमित अघि बढाउने र व्यवस्थित गर्ने सन्दर्भमा मन्त्रालयका तर्फबाट सभामुख र अध्यक्षलगायतसँग समन्वय गरी निर्वाह गर्नुपर्ने भूमिकालाई क्रियाशील तुल्याइने विश्वास दिलाए ।

उपप्रधानमन्त्री खड्काले भने, ‘संविधानले व्यवस्था गरेका मानवअधिकार र मौलिक अधिकारसँग जोडिएका कानून निर्माण गर्ने प्रक्रियाअघि बढिरहेको छ, सङ्घीय ऐन बनाइसकेपछि त्यसमा आधारित भएर प्रदेशका कानून निर्माण गरिनेछ ।’

उनले सङ्घीयता कार्यान्वयनसँग जोडिएका ऐन–कानुन निर्माणलाई प्राथमिकतामा राखेर छिटो पारित गर्न प्रयत्नशील हुने तथा संसद्मा पुर्‍याउन तयार भएका कतिपय विधेयक सरोकारसँग समन्वयन गरी संसद्मा पठाइने जानकारी दिए ।

उपप्रधानमन्त्री खड्काले छिटो सङ्घीय ऐन पारित गर्ने विषयमा मन्त्रालयले खेल्नुपर्ने भूमिकालाई व्यवस्थित र सामूहिक गतिशीलताका आधारमा कार्ययोजना बनाएर प्राथमिकता निर्धारण गरी काम गर्ने स्पष्ट गरे ।

रक्षामन्त्रीको जिम्मेवारीमा रहेका खड्काले संवैधानिक परिषद्को आजको बैठकमा प्रधानन्यायाधीशको नियुक्तिसम्बन्धी कार्यसूची प्रवेश गरेको बताए ।

परिषद्का अध्यक्ष प्रधानमन्त्रीले प्रधानन्यायाधीशको नियुक्तिको आवश्यकता र औचित्यसम्बन्धी कार्यसूची प्रस्तुत गरेको जानकारी दिँदै उनले संवैधानिक परिषद् ऐन परिषद्का अरू सदस्यसँगको सल्लाह र सहमतिमा अघि बढाएर प्रधानन्यायाधीश नियुक्तिमा सर्वसम्मत कायम गरिने विश्वास दिलाए ।

एक प्रश्नको जवाफमा उनले संवैधानिक व्यवस्थाअनुरूप जेठ १५ गते बजेट ल्याउने गरी कार्ययोजनाका आधारमा संसद् अधिवेशनको अन्त्य र आह्वान हुने स्पष्ट गरे ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा उक्त मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकिएपछि उनले आज मन्त्रालयमा पदबहाली गरेका हुन् ।

उपचुनाव हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गराउन आग्रह

निर्वाचन आयोगले उपचुनाव हुने तीन वटै क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूमा तीन दिनका लागि सार्वजनिक बिदाको व्यवस्था मिलाउन सरकारलाई अनुरोध गरेको छ ।

मतदान हुने मितिमा सम्बन्धित निर्वाचन क्षेत्रमा सार्वजनिक बिदाको व्यवस्थापन गरिदिन आयोगले अनुरोध गरेकाे छ ।

बुधबार आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सरकारलाई उक्त अनुरोध गर्ने निर्णय गरेको हो ।

पर्वतमा आगलागीका घटना बढ्दै

पर्वतमा यस वर्ष आगलागीका घटना बढ्दै गएको छ । विगतका वर्षको तुलनामा बढी गर्मी र खडेरी परेका कारण आगलागीका घटना मौलाउँदै गएको हो । यस वर्षको गर्मीयाम सुरु भएपछि हालसम्म तीन सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ ।

जिल्लाका सात वटै पालिकामा रहेका सामुदायिक, व्यक्तिगत र सरकारी वनमा आगलागीका घटना बढेको डिभिजन वन कार्यालय पर्वतका प्रमुख विष्णु अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्लाका सात वटै स्थानीय तहमा गरी अहिलेसम्म २९ वटा वनमा आगलागी भएको छ ।

आगलागी भएका अधिकांश ठाउँमा तीन वटै तहका सुरक्षाकर्मी, स्थानीयवासी र वन कार्यालयका कर्मचारीको सहकार्यमा निभाउने गरिएको छ । एक पटक निभाइसकेका ठाउँमा पनि पुनः आगलागी हुने गरेकाले समस्या बढेको कार्यालय प्रमुख अधिकारीले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले गत चैत २५ देखि जिल्लामा आगलागीका घटना सुरु भएकोमा दुई साताकै अवधिमा २९ स्थानमा रहेका वनमा आगलागीका घटनाहरू घटेको बताए । चैत २५ गते साँझ करिब साढे ५ बजेको समयमा कुश्मा नगरपालिका–१ पाङको मसुरबारीबाट आगलागीको सुरुआत भएको थियो ।

गत चैत २५ गते नै पैयूँ गाउँपालिका–३ बेहुलीबासमा, महाशिला गाउँपालिका–१ होश्राङदीको कुवापानी सामुदायिक बनमा, फलेवास नगरपालिका–८ ठानामौलाको खाल्टेमा व्यक्तिको पाखो बारीको भिरमा आगलागी भएको थियो ।

चैत २६ गते जलजला गाउँपालिका–८ नाग्लीवाङबाट सुरु भएको आगो नियन्त्रणमा लिन दुई दिन लागेको थियो । चैत २६ गते नै मोदी गाउँपालिकाको गिज्यानमा रहेको एक्ले फाँट सामुदायिक बनमा, कुश्मा नगरपालिका–१ पाङको मालढुङ्गामाथिको भिरमा, चैत २८ गते फलेवास नगरपालिका–८ ठानामौलामा रहेको सामुदायिक बनमा, कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको झाँक्री खोला सामुदायिक वनमा, फलेवास नगरपालिका–१० कुर्घामा रहेको कुर्घा सामुदायिक बनमा आगलागी भयो ।

चैत २९ गते कुश्मा नगरपालिका–२ खुर्कोटमा, कुश्मा नगरपालिका–८ चुवामा रहेको लहरे पानी रातो माटो सामुदायिक बनमा र यही वैशाख २ गते फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको बनमा आगलागी भएको थियो ।

डिभिजन वन कार्यालय पर्वतका प्रमुख अधिकारीले धेरै ठाउँमा भएका आगलागीहरू नियन्त्रणमा आएको बताए । बढ्दो गर्मी र खडेरीका कारण अझै पनि आगलागीका घटना बढ्दै गएका छन् । अधिकांश घटनामा मानवीय लापरबाही नै बढी देखिएको छ । पाखो तथा खरबारीमा राम्रो घाँस पलाउने आशामा नागरिकले आफैँ आगो लगाउने गरेका छन् भने खेतबारीमा बर्खेबाली लगाउनुअघि स्याउला, पात पतिङ्गर पोल्ने जस्ता प्रचलनले पनि आगलागी बढेको अधिकारीले बताए ।

कार्यालयले आगलागीका घटना न्यूनीकरणका लागि जिल्लाभरका सामुदायिक वनका उपभोक्ताहरूलाई परिपत्र गरेको छ ।

आगलागी हुन नदिन र लागिहालेमा अपनाउनुपर्ने उपायका बारेमा आवश्यक योजना बनाएर कार्यान्वयन गर्ने निर्देशिकासहित परिपत्र गरेको जनाएको छ । आगलागीका घटनामा संलग्न व्यक्तिलाई वन ऐन २०७६ को दफा ५० को उपदफा ४ बमोजिम फौजदारी कसुर ठहरिने र यस्तो कार्य गर्नेलाई बिगो असुल उपर गरी तीन वर्षसम्म कैद र रु ६० हजारसम्म जरिवाना वा दुवै हुने व्यवस्था भए पनि अहिलेसम्म कसैलाई कारबाहीको दायरामा ल्याउन नसकिएको कार्यालय प्रमुख अधिकारीले बताए।

बढ्दो आगलागीका कारण पर्वतको वातावरण धुवाँमय बन्दा वायु प्रदूषण ह्वात्तै बढेको छ ।

मिटरब्याज पीडितको समस्या समाधान गर्न माग

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) मिटरब्याज र तमसुक व्यवस्था पीडितसँग २०७९, चैत १८ गते सरकारले गरेको पाँच बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

महासङ्घले उक्त सम्झौता अक्षरशः कार्यान्वयन गर्दै जनतालाई अनुभूति हुने गरी यथाशीघ्र न्याय प्रदान गर्न र त्यस सम्बन्धमा सरकार तथा सम्बन्धित निकायले गरेका कार्यको विवरण निरन्तर सार्वजनिक गरी जनतालाई सुसूचित गर्नसमेत माग गरेको छ ।

‘लघुवित्तबाट पीडित जनताले देशव्यापी घोषणा गरेको सङ्घर्षमा पुनः ऐक्यबद्धता प्रकट गर्दै सङ्घर्षरत जनतासँग तत्काल वार्ता गरी समस्या समाधान गर्न हामी नेपाल सरकारसँग जोड्दार माग गर्दछौँ’, महासङ्घद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।

महासङ्घले लघुवित्त पीडितहरूको सङ्घर्षका क्रममा चितवनको मुग्लिनमा र मिटरब्याज पीडितहरूको सङ्घर्षका क्रममा काठमाडौँको शान्तिवाटिकामा प्रहरीद्वारा दमन भएको जनाउँदै विरोधसमेत गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘जनताले आफ्ना समस्याहरूबारे सङ्घर्ष गर्न पाउने अधिकारलाई सम्मान गर्न र अनावश्यक बल प्रयोग नगर्न सरकारसँग जोडदार माग गर्दछौँ ।’

एसीसी प्रिमियर कपमा युएई विजयी

राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा युएईले कुवेतलाई पराजित गरेको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा युएईले कुवेतलाई एक सय ४३ रनले पराजित गरेको हो ।

युएईले दिएको ३७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २२८ रनमा समेटियो । कुवेतका लागि सायद मोनिबले ३६ बलमा ६८ रन बनाए भने प्रविन्दर कुमारले २६ बलमा ५३ रन बनाए । कप्तान मोहम्मद अस्लामले ३६ बलमा ३३ रन बनाए ।

युएईका लागि जुनेद सिद्धिकी र कार्तिक मैयप्पनले समान ३-३ विकेट लिए भने जाहोर खान, रोहन मुस्ताफा, सचित शर्मा र आयान खानले समान १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रनको योगफल बनाएको थियो ।

युएईका लागि वृत्य अरविन्द र रोहन मुस्तफाले शतक प्रहार गरे । अरविन्दले एक सय ४७ बलमा १७ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक १८५ रन बनाए ।

त्यस्तै मुस्तफाले एक सय २५ बलमा १० चौका र चार छक्काको मद्दतमा ११८ रन बनाए । आसिफ खानले ३० रन जोडे । कुवेतका लागि शाहरुख क्युदुस र प्रविन्द्र कुमारले दुई-दुई विकेट लिए भने यासिन पटेल र सायद मोनिबले समान एक-एक विकेट लिएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म उडान-अवतरण बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिहीबार ६ घण्टा उडान अवतरण सेवा बन्द हुने भएको छ ।

विमानस्थलका अनुसार बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुयान उडान सेवा बन्द रहने जनाएको हो ।

विमानस्थल कार्यालयले एक सूचना प्रकाशित गरी अनलाइन यूपीएस जडान गर्दा विद्युत् आपूर्ति अवरुद्ध हुने भएकोले उडान अवतरण बन्द रहने जनाएको छ ।

उक्त सूचनाअनुसार उडान गर्ने यात्रुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत विमानस्थलले यात्रुलाई अनुरोध गरेको छ ।

सप्तकोशी नदीमा तीन जना बेपत्ता, एकको शव फेला

सप्तकोशी नदीमा आज नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।

आफन्तको श्राद्धमा जाने क्रममा सुनसरीको बराहक्षेत्रस्थित कोशी नदीमा तीन युवक बेपत्ता भएका थिए ।

नदीमा बेपत्ता भएकामध्ये झापा दमक-२ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भङ्गालोमा फेला परेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । बेपत्ता भएका दमक-९ का १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लाबारी-७ का १८ वर्षीय राज गुरागाइँको खोजी भइरहेको उनले जानकारी दिए।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गोताखोर टोलीसहित स्थानीयवासीले बेपत्ता दुवै जनाको खोजी गरिरहेको प्रहरी उपरीक्षक ढकालले बताए ।

लमजुङका स्थानीय तहका २२ करोड बेरुजु

लमजुङका स्थानीय तहमा विनियोजन भएको रकममध्ये गत आर्थिक वर्ष २२ करोड ५ लाख ५७ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/ ७९ मा लमजुङका ८ वटा स्थानीय तहमा कार्यान्वयनमा रहेको ९ अर्ब ६४ करोड १२ लाख ८३ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गर्दा २ दशमलव २८ प्रतिशत बेरुजु देखिएको हो ।

संघीय सरकार अनुदान, प्रदेश सरकार अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय र अन्य आय गरी ६ शीर्षकको बजेटको लेखा परीक्षण गरिएको थियो ।

प्रतिवेदन अनुसार प्रतिशतको आधारमा सबैभन्दा बढी राइनास नगरपालिकामा ४ दशमलव ११ प्रतिशत बेरुजु रहेको पाइएको छ । राइनासमा १ अर्ब ३९ करोड ३८ लाख २३ हजार रुपैयाँको लेखा परीक्षण भएकोमा ५ करोड ७३ लाख ३१ हजार रुपैयाँ बेरुजु देखिएको हो । सबैभन्दा कम प्रतिशतको आधारमा मर्स्याङ्दीमा ० दशमलव ७२ प्रतिशत बेरुजु देखिएको छ । मर्स्याङ्दी १ अर्ब ३ करोड ९२ लाख ६८ हजार रुपैयाँको लेखा परीक्षण भएकोमा ७५ लाख ३१ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

क्व्होलासोंथार गाउँपालिकामा ७१ करोड ७४ लाख २३ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा ३ दशमलव ६ प्रतिशत अर्थात् २ करोड १९ लाख ४७ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

दोर्दी गाउँपालिकामा १ अर्ब २० करोड २३ लाख ९५ हजार बजेटको लेखा परीक्षण गरिएकोमा ३ दशमलव ४१ प्रतिशत अर्थात् ४ करोड ९ लाख ९५ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

दूधपोखरी गाउँपालिकामा ७८ करोड २ लाख ९९ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएकोमा २ दशमलव ३३ प्रतिशत अर्थात् १ करोड ८१ लाख ५४ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार मध्य नेपाल नगरपालिकामा १ अर्ब ४५ करोड ५ लाख १२ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएकोमा २ दशमलव ०४ प्रतिशत अर्थात् २ करोड ९५ लाख ४५ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

सुन्दरबजार नगरपालिकामा १ अर्ब ५१ करोड ४१ लाख ३ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा २ करोड ८० लाख ५७ हजार रुपैयाँ अर्थात् १ दशमलव ८५ प्रतिशत बेरुजु देखिएको छ । बेंसीसहर नगरपालिकामा १ अर्ब ५४ करोड ३४ लाख ६० हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएकोमा १ करोड ६९ लाख ९७ हजार रुपैयाँ अर्थात् १ दशमलव १ प्रतिशत बेरुजु देखिएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा २१ करोड ६५ लाख १३ हजार रुपैयाँ बेरुजु देखिएको थियो । कार्यान्वयनमा रहेको कूल ७ अर्ब ३३ करोड ६० लाख १२ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गर्दा २ दशमलव ९५ प्रतिशत रकम बेरुजु देखिएको थियो । आव २०७६-०७७ मा लमजुङका ८ वटा स्थानीय तहमा ७ अर्ब ३६ करोड ३६ लाख ४१ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गर्दा ३ दशमलव ३५ प्रतिशत अर्थात् २४ करोड ७२ लाख ८६ हजार रुपैयाँ बेरुजु निस्किएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ८ : ५९ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द