आज असार ४, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून १९, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
पाकिस्तानी अदालतमा गोली चल्दा दुई जना घाइते
पाकिस्तानको पञ्जाब प्रान्तको भाकर जिल्लामा सोमबार अदालतमा गोली चल्दा दुई जना घाइते भएका छन् ।
मुद्दाको सुनुवाइका क्रममा प्रतिद्वन्द्वी समूहका सदस्यले गोली चलाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुई हतियारधारीलाई अदालतको हाताबाट नियन्त्रणमा लिइएको छ । त्यस्तै, घाइतेहरूलाई अस्पताल पुर्याइएको एआरवाई न्युजले उल्लेख गरेको छ ।
पुरानो दुश्मनीका कारण सो घटना भएको प्रहरीको अनुमान छ । घटनाको अनुसन्धान भइरहेको छ ।
ट्युनिसियाबाट ३९ जना कागजातविहीन आप्रवासीको उद्धार
ट्युनिसियाको नौसेनाले कागजात नभएका आप्रवासीहरूको ३९ जनाको एक समूहलाई उद्धार गरेको जनाएको छ ।
दक्षिणपूर्वी प्रान्त स्फ्याक्सको तटबाट विभिन्न अफ्रिकी देशका उनीहरूलाई नियन्त्रणमा लिइएको राष्ट्रिय सुरक्षा बलका प्रवक्ता होउसेमेडाइन जेबाब्लीले आइतबार बताएका छन्।
जेबाब्लीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘स्फ्याक्सको लुआटाको तटमा शनिबार अबेर राति उद्धार कार्य गरिएको थियो ।’ उद्धारका क्रममा राष्ट्रिय नौसैनिक सुरक्षा बलका एक अधिकारीलाई आप्रवासी रहेको डुङ्गाबाट ढुङ्गाले आक्रमण गरेको तर उनीहरूलाई सकुशल नियन्त्रणमा लिइएको उनले बताए ।
मध्य भूमध्यसागरमा अवस्थित ट्युनिसिया अवैध आप्रवासीहरूले प्रयोग गर्ने युरोपको पहुँचको मुख्य बिन्दुहरू मध्ये एक हो ।
‘रअ’ को प्रमुखमा रवि सिन्हा नियुक्त
भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० को प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को नियुक्ति समितिले सोमबार रअ प्रमुखमा सिन्हालाई नियुक्त गरेको हो ।
सन् १९८८ ब्याचका भारतीय प्रहरी सेवा ९आईपीएस० छत्तीसगढ क्याडरका सिन्हा हाल क्याबिनेट सचिवालयको विशेष सचिवको रूपमा कार्यरत छन् ।
मन्त्रिपरिषद्को नियुक्ति समितिले सिन्हालाई दुई वर्षको कार्यकालका लागि रअ प्रमुखमा नियुक्तिलाई अनुमोदन गरेको हो । सामन्त गोयलको स्थानमा उनलाई नियुक्त गरिएको हो । ३० जुन २०२३ मा गोयलको कार्यकाल सकिँदै छ ।
चीन र अमेरिकाबीच सहकार्य आवश्यक स् चिनियाँ कूटनीतिज्ञ
बेइजिङका उच्च कूटनीतिज्ञ तथा पूर्वविदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको कुराकानीमा दुई शक्तिशाली विश्व अर्थतन्त्रले सहकार्य गर्नु उत्तम विकल्प हुने बताएका छन् ।
दुई मुलुकले ‘सहकार्य गर्ने वा द्वन्द्व’ भन्दा विश्व समुदायको चाहना अनुसार उनीहरूबीच कुटनीतिक मेल हुँदा विश्व समुदायलाई फाइदा हुन्छ । ‘वार्ता र मुठभेड, सहयोग वा द्वन्द्वमध्ये कुनै एक रोज्नु आवश्यक छ,’चिनियाँ कूटनीतिज्ञ वाङले ब्लिन्केनसँगको भेटमा भने ।
ब्लिन्केनले चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वविदेशमन्त्री वाङसँग तीन घण्टा कुराकानी गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
हालैका वर्षहरूमा विश्वका दुई ठूला अर्थतन्त्रभएका मुलुकहरूबीच व्यापार, प्रविधिदेखि ताइवानसम्मका विषयमा तनाव बढेको छ ।
भारतको बिहार र उत्तर प्रदेशमा उखरमाउलो गर्मीका कारण ९८ जनाको मृत्यु
नेपालसँग सीमा जोडिएका भारतको बिहार र उत्तर प्रदेश राज्यमा उखरमाउलो गर्मीका कारण ९८ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेश र बिहार राज्यमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण ९८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले सोमबार बताएका हुन् ।
गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गर्मीका कारण बिरामी परी मृत्यु भएका अधिकांश व्यक्ति ६० वर्षभन्दा माथिका रहेका बताइएको छ ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) को तथ्याङ्कअनुसार शुक्रबार र शनिबार देशका केही भागमा अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस पुगेको थियो । यो सामान्यभन्दा ४.७ डिग्री सेल्सियस बढी हो ।
उत्तर प्रदेश राज्यको बलिया जिल्लामा गर्मीको सबैभन्दा धेरै प्रभाव रहेको बताइएको छ । बलियाका प्रमुख स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।
मृतकमध्ये अधिकांश कुनै न कुनै रोगबाट पीडित रहेको अधिकारीले जनाएका छन् । अत्यधिक गर्मीका कारण उनीहरुको अवस्था थप बिग्रिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अधिकारीका अनुसार बिहीबार २३, शुक्रबार २० र शनिबार ११ जनाको मृत्यु भएको थियो ।
यसबाहेक बलियाको एक जिल्ला अस्पतालमा पछिल्लो तीन दिनमा कम्तीमा ४०० जनालाई भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गर्मीका कारण ज्वरो आउने, सास फेर्न गाह्रो हुने र अन्य स्वास्थ्य समस्या देखिएको बिरामीले गुनासो गरेका थिए ।
जिल्ला प्रशासनका अनुसार बिरामी र कर्मचारीलाई गर्मीको जोखिम हुन नदिन सरकारी अस्पतालमा पङ्खा, एयरकुलर र एयर कन्डिसनरको व्यवस्था गरिएको छ । बिरामीको चापका कारण अस्पतालमा चिकित्सक र प्यारामेडिकल स्टाफको सङ्ख्या बढी रहेको छ ।
कतार र युएईबीच कूटनीतिक सम्बन्ध पुनःस्थापित
कतार र संयुक्त अरब इमिरेट्स यूएईले आफ्नो कूटनीतिक प्रतिनिधित्व पुनःस्थापित गर्ने घोषणा गरेका छन् ।
अबुधाबीस्थित कतारी दूतावास र दुबईस्थित कतारी माहावाणिज्य दूतावास र दोहास्थित यूएईको दूतावास सोमबारदेखि खुल्दैछन् ।
कतार न्यूज एजेन्सीका अनुसार दुवै पक्षले यो महत्वपूर्ण कदमले दुवै देशका नेतृत्वको दृढतालाई प्रतिबिम्बित गर्नुका साथै नेताहरुको पहलको प्रगतिमा योगदान पुर्याउँदै दुई अरब मुलुकको भ्रातृ आकाङ्क्षा पूरा गर्न योगदान पुर्याउने कुरामा जोड दिएका छन् ।
सन् २०१७ को जुनमा आतङ्कवादलाई सहयोग पुर्याएको र क्षेत्रीयस्तरमा अस्तिरता निम्त्याएको भन्दै साउदी अरब, युएई, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेका थिए । कतारले भने यी आरोपको खण्डन गर्दै आएको थियो ।
यद्यपि, सन् २०२१ मा साउदी अरबलगायतका खाडी मुलुकले अल–उलामा भएको ४१औँ खाडी सहकार्य परिषद् शिखर सम्मेलनका क्रममा कतारसँग कूटनीतिक सम्बन्ध पुनः स्थापनाको घोषणा गरेका थिए ।
तर, कतिपय विषयमा सहमति जुट्न नसक्दा यी देश र कतारबीच पूर्ण सामान्यीकरणको प्रक्रियामा ढिलाइ भएको छ ।
हार्बर्ड विश्वविद्यालयका मानव अङ्गको ब्यापार हुने गरेको खुलासा
अमेरिकाको प्रतिष्ठित हार्बर्ड विश्वविद्यालयमा एउटा अचम्मको खुलासा भएको छ । समाचार अनुसार धेरै वर्षदेखि यहाँ शव किनबेच हुँदै आएको थियो । त्यस कार्यमा यहाँका एक कर्मचारी दम्पती संलग्न रहेको खुलासा भएको हो ।
श्रीमान श्रीमतीले हार्बर्ड मेडिकल स्कुलको शवगृहबाट शवका अंग चोरेर बेच्ने गरेका थिए । तर, अहिले उनीहरूको पर्दाफास भएको छ । दुवैमाथि कारबाही भइरहेको छ । यसका लागि उनीहरूलाई १५ वर्षको जेल सजाय हुन सक्छ।
बीबीसीको रिपोर्ट अनुसार सेड्रिक लज नामका एक व्यक्ति हार्बर्ड मेडिकल स्कुलको शवगृहमा प्रबन्धक थिए। अमेरिकाभरबाट दान गरिएका शवहरू यहाँ ल्याइने गरिन्थ्यो । तर, सेड्रिकले आफ्नी श्रीमती डेनिशसँग मिलेर शवका अङ्गहरू चोर्ने गर्थे।
श्रीमान श्रीमतीले ती अंगहरू अनलाइनमार्फत बेच्ने गरेको खुल्न आएको छ । जुन कार्यका लागि उनको नेटवर्क देशभर फैलिएको थियो। रिपोर्टका अनुसार मृतकको अंग चोर्ने यो काम धेरै वर्षदेखि चलिरहेको थियो ।
पाकिस्तानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु
पाकिस्तानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । इस्लामाबाद–लाहोर राजमार्गमा भएको दुर्घटनामा पाँच जनाको घटनास्थलमै र ८ जनाको उपचारका क्रममा मृत्यु भएको हो । घटनामा ३२ जना घाइते भएका छन् । घाइतेमध्ये १९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
प्रहरीका अनुसार दुर्घटना के कारणले भएको हो भन्ने बारे केही खुल्न सकेको छैन । तर, लगातारको वर्षाका कारण बस चिप्लिएर अर्को लेनमा गएको अनुमान गरिएको छ ।
पाकिस्तानको समाचार वेबसाइट‘‘एक्सप्रेस ट्रिब्यून’ का अनुसार दुर्घटना कल्ला कहर क्षेत्रमा भएको हो । सो दुर्घटना हुँदा त्यहाँ पानी परिरहेको थियो ।
तीव्र गतिमा गुडेको बस अर्को लेनमा गएर डिभाइडर पनि भत्काउँदै पल्टिएको थियो ।
गत फागुनमा पनि सोही क्षेत्रमा ठूलो सडक दुर्घटना भएको थियो । जसमा दुईवटा कार ठोक्किए नजिकैको खाल्डोमा खसेका थिए । सो घटनामा १४ जनाको मृत्यु भएको थियो।
प्रधानमन्त्री शाहबाज सरिफले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
ब्राजिलमा आँधीका कारण ११ जनाको मृत्यु
ब्राजिलको दक्षिणी क्षेत्रमा आएको आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै हजारौं व्यक्ति विस्थापित भएका अधिकारीहरूले आइतबार बताएका छन् ।
बिहीबार र शुक्रबार रियो ग्रान्डे डो सुल राज्यमा आएको आँधीपछि ११ जनाको मृत्यु भएको छ भने अन्य १० जना हराइरहेका अधिकारीले बताए ।
मृत्यु हुनेमा एक चार महिनाको शिशु रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । उनीहरूले शक्तिशाली हावाहुरीले एउटा कार चिहानमा बगाएको फुटेज प्रसारण गरेका थिए ।
साओ लियोपोल्डो शहरकी एक महिलाले आफ्नो नाम उल्लेख नगरिकन एस्टादाओ पत्रिकासँग भन्नुभयो, “घरभित्र हाम्रो कम्मरसम्म पानी आयो ।
दक्षिणी क्यालिफोर्नियामा गोली चल्दा आठ जनाको मृत्यु
अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शनिबार राति भएको एक भोजमा किशोरसहित कम्तीमा आठ जनालाई गोली हानी हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेका छन् ।
लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका अधिकारीहरूले स्थानीय समयअनुसार राति १२ः०५ बजे लस एन्जलसबाट २० किलोमिटर दक्षिणमा रहेको कार्सन शहरमा गोली चलेको पुष्टि गरेका छन् ।
घटनास्थलमा सुरक्षा अधिकारीहरूले छ जना गोली लागेर मृत्यु भएको फेला पारेका थिए भने अन्य दुई जनालाई स्थानीय चालकले अस्पताल लगेका थिए ।
घाइते हुनेमा १६ देखि २९ वर्ष उमेर समूहका युवा रहेको र तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ ।
स्थानीय केटीएलए टिभीका अनुसार गोली चल्दा कम्तीमा ५० जना किशोर किशोरी रात्रि भोजमा सहभागी भएका थिए ।
प्रतिक्रिया