दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा चार दलद्वारा समाजवादी मोर्चा घोषणा, समाजवादी मोर्चा विस्तृत शान्ति सम्झौतालाई अपमानित गर्ने प्रवृत्तिविरुद्ध, महामन्त्री ढकालको नेतृत्वमा रास्वपाको १७ सदस्यीय कार्यदल गठन,स्वास्थ्यमन्त्री बस्नेत र बेलायती राजदूत पोलिटबीच भेट, बाढी पहिरो अपडेट स् ६ जनाको मृत्यु, २९ बेपत्तालगायतका समाचारले प्रमुख स्थान पाए ।

चार दलद्वारा समाजवादी मोर्चा घोषणा
सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् ।

सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरेका हुन् ।

समाजवादी मोर्चा विस्तृत शान्ति सम्झौतालाई अपमानित गर्ने प्रवृत्तिविरुद्ध : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतालाई निस्तेज पार्ने र अपमानित गर्ने प्रवृत्ति विरुद्ध जुध्न मोर्चा स्थापित भएको बताएका छन् ।

समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले विस्तृत शान्ति सम्झौतालाई नेपालको संविधानको अंग बनाएको तथ्य पेस गरे ।

उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीपहिरो प्रभावितको तत्काल उद्धार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा आज सङ्खुवासभा पुगेका प्रधानमन्त्री दाहालले युद्धस्तरमै प्रभावित नागरिकको व्यवस्थापनको काम भइरहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताएका छन् ।

 यसैबीच आजबिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिहरूको टोलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री दाहालले प्राकृतिक प्रकोपको खतरा अहिले पनि विद्यमान रहेकाले सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताए ।

महामन्त्री ढकालको नेतृत्वमा रास्वपाको १७ सदस्यीय कार्यदल गठन

राष्ट्रिय स्वतन्त्र पार्टी, (रास्वपा) ले पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्तावेजलाई अन्तिम रूप दिन आज १७ सदस्यीय कार्यदल गठन गरेको छ ।

पार्टीका महामन्त्री डा मुकुल ढकालको नेतृत्वमा उक्त कार्यदल बनाइएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार आन्तरिक छलफलका लागि तयार पारेको दस्तावेजलाई अझै स्पष्ट बनाउन पदाधिकारीसहितको कार्यदल बनाइएको हो ।

चिनियाँ राजदूत छेन सोङ र एमाले अध्यक्ष केपी ओलीबीच शिष्टाचार भेट
नेपालका लागि चिनियाँ राजदूत छेन सोङले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।

अध्यक्ष ओली र राजदूत सोङबीच आज भेट भएको हो ।

ओलीको सचिवालयले विज्ञप्ति जारी गर्दै भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको उल्लेख गरेको छ ।

‘अग्रगमन विरोधी मोर्चासँग तर्सिएका छन्’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मोर्चा बनाएर कसैलाई घुर्क्याउन नखोजेको बताएका छन्।

सोमबार राष्ट्रिय सभा गृहमा भएको समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैलाई घुर्क्याउन समाजवादी मोर्चा नबनेको बताएका हुन् ।

देशको नेतृत्व समाजवादी मोर्चाले गर्छ : विप्लव
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले नयाँ मोर्चा घोषणा सँगै अब देशको समाजवादी मोर्चाले गर्ने बताएका छन् ।

राष्ट्रिय सभा गृहमा भएको घोषणा कार्यक्रममा आफ्नो भनाइ राख्दै विप्लवले समाजवादी मोर्चाको जन्म दलाल पुँजीवाद रोक्दै देशको नेतृत्व गर्न भएको दाबी गरे ।

गोलभेँडा सडकमा फालिएको विषयमा छानबिन गर्न समितिको निर्देशन

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले कालीमाटी तरकारी बजारमा आइतबार सडकमा गोलभेँडा फालेको घटना छानविन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको छ ।

स्वास्थ्यमन्त्री बस्नेत र बेलायती राजदूत पोलिटबीच भेट
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच बिदाई भेट भएको छ ।

आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्री बस्नेत र पोलिटको भेटमा दुई देशबीच स्वास्थ्य क्षेत्रमा भएका सहकार्य र सहयोगकाबारे छलफल भएको थियो ।

एमाले अध्यक्ष ओली र रेशम चौधरीबीच भेटवार्ता

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न चौधरी आज बिहान बालकोट पुगेका थिए ।

भेटका क्रममा उनीहरूबीच समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो । जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाई धन्यवादसमेत दिएका थिए । 

‘संसद्‌मा आएका सुझाव समेटेर बजेट परिमार्जन हुनुपर्छ’ 

 सांसद रामकृष्ण यादवले सदनमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका सुझावलाई समेटेर बजेट परिमार्जन गरिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले संसद्मा आएको सुझावलाई ग्रहण गरी सरकारले बजेटलाई परिमार्जन गर्नुपर्ने बताए ।

बजेट कम हुँदा कार्यान्वयनमा समस्या : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा कठिनाइ हुने बताएका छन् । 

पूर्वाधार विकास समितिको आज बसेको बैठकमा मन्त्री ज्वालाले मन्त्रालय अन्तर्गत बिनियोजित बजेट कम भएको भन्दै सञ्चालनमा रहेका आयोजना सम्पन्न गर्न पनि समस्या हुने देखिएको बताए । 

सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम :अर्थमन्त्री
अर्थमन्त्री डा। प्रकाशशरण महतले सामाजिक सुरक्षाको दायित्व बढेका कारण पुँजीगत शीर्षकको बजेट कम बिनियोजन भएको बताएका छन् ।

आज मोरङ व्यापार सङ्घको ६६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री महतले सामाजिक सुरक्षासँगै सार्वजनिक ऋणको साँवाब्याजको दायित्व बढेकाले पुँजीगत शीर्षकमा कम बजेट बिनियोजन भएको बताएका हुन् ।

बाढी पहिरो अपडेट : ६ जनाको मृत्यु, २९ बेपत्ता

अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवं पहिरामा परी आज अपराह्नसम्म ६ जनाको मृत्यु भएको छ ।

बाढी तथा पहिरामा परी सङ्खुवासभामा एक, ताप्लेजुङमा तीन, पाँचथरमा एक र नुवाकोटमा एक गरी जम्मा ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसमध्ये पाँच पुरुष र एकजना बालिका रहेका छन् ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ९ : ०० बजे

‘तपस्वी’ बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय

बरहथवा– जिल्ला अदालत सर्लाहीले बालिकामाथि यौनजन्य कसुर गरेका ‘तपस्वी’ रामबहादुर

‘यो सरकार लिसोभन्दा दह्रो भएको छ, पूराका पूरा चल्छ’

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने अहिलेको गठबन्धन सरकार लिसोभन्दा

सञ्चारमन्त्री शर्माको जवाफ : सरकारबारे हल्ला चलाएर मिडिया ट्रायल गरियो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेकपा एमाले र

नक्कली सुनको मूर्ति देखाई ठगी गरेको आरोपमा पाँच जना पक्राउ

काठमाडौं– नक्कली सुनको मूर्ति देखाई ३० लाख रुपैयाँ ठगी गरेको

मन्त्रीहरूलाई प्रधानमन्त्रीको ब्रिफिङ – यो गठबन्धन लामै समय जान्छ, तलमाथि हुँदैन

काठमाडौं- नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहकार्यको कोसिस भइरहेका