पढाइसँगै नौमती बाजा बजाउन सिकाइँदै « Khabarhub

पढाइसँगै नौमती बाजा बजाउन सिकाइँदै


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यास नगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयका केही शिक्षक र विद्यार्थी हिजोआज नियमित कक्षा लिनाका अलावा विद्यालयमा बाजा बजाउँदै नाचगान गरिरहेका भेटिन्छन् । 

विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिन विद्यालयले नौमती बाजा बजाउने तालिम दिएपछि अहिले विद्यालयका छ विद्यार्थी, सोही सङ्ख्यामा शिक्षक र तीन अभिभावक गरी १६ जना नियमित नौमती बाजा बजाउने अभ्यासमा व्यस्त हुने गरेका छन् । गत साउन १८ गतेदेखि बागलुङका नौमती बाजा प्रशिक्षक प्रकाश थापाले दमाहा, सहनाई, नरसिंहा, ढोलक, झ्याली, ट्याम्को बजाउने तालिम दिएपछि सहभागी बजाउन सक्ने भएका हुन् । तालिम पहिलो चरणमा एक महिनासम्म सिकाइने विद्यालयले जनाएको छ । 

‘यति छिट्टै बजाउन सकिएला भन्ने लागेको थिएन’, तालिमको दौरान ट्याम्को बजाउँदै गरेका कक्षा १० का विद्यार्थी आश्रुत लामिछानेले भने, ‘सुन्दा आनन्द लाग्ने धुन निकाल्न बढी नै मेहनत चाहिने रहेछ ।’ नौमती बाजा बजाउने तालिममा लामिछानेसहित कक्षा ७ का साहिल नेपाली, सफल बिक, कक्षा ८ का पुरन थापा, सुमन नेपाली र निम दोर्जे शेर्पा, शिक्षकहरु नेत्रबहादुर दरै, सञ्जीता दरै, शान्तिकुमारी दरै, रमा दरै, अस्मिता आले, भरतबहादुर श्रेष्ठ र गोपाल थापा, अभिभावकहरूमा नेत्रप्रसाद पौडेल, दुर्गा सापकोटा र विद्यालय व्यवस्थापन समिति अध्यक्ष विकास रिजाल रहेका छन् । 

आफूले तालिममा सहभागी विद्यार्थी, शिक्षक र अभिभावकलाई नौमती बाजाको ताल र चरणका बारेमा जानकारी गराएको प्रशिक्षक थापाले बताए। सहभागीले सबै बाजा बजाउन १० दिनमै सिके पनि सहनाइ र नरसिंहा बजाउन भने करिब तीन महिनाको समय लाग्ने प्रशिक्षक थापाको भनाइ छ । 

‘तालिममा सहभागीहरुले निकै अभिरुचिका साथ बाजा बजाउन सिक्नुभएको छ’, प्रशिक्षक थापाले भने, ‘सहनाई र नरसिंहा बाजा बजाउन भने अझै समय लाग्छ ।’ यसअघि आफूले विभिन्न समुदायलाई नौमती बाजा बजाउने तालिम दिए पनि विद्यालय स्तरका बालबालिका, शिक्षक र अभिभावकलाई तालिम दिएको यो दोस्रो भएको प्रशिक्षक थापाले बताए। विद्यालयस्तरकै बालबालिकालाई यसरी नौमती बाजा बजाउन सिकाउनुले संस्कृतिको संरक्षणमा टेवा पुग्ने आफूले ठानेको उनले बताए।   

नियमित कक्षालाई असर नपर्ने गरी अतिरिक्त कक्षाका रुपमा आफूहरूले विद्यार्थी, शिक्षक र केही अभिभावकलाई नौमती बाजा बजाउने तालिम प्रदान गरेको विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइरालाले जानकारी दिए । लोप हुँदै गएको बाजालाई विद्यालय तहबाटै संरक्षण गर्नुपर्ने ठानेर आफूहरूले एक महिने तालिम दिएको उनको भनाइ छ । 

तालिममा सहभागीले बाजा बजाउन सिकेर नौमती बजाउन इच्छुक अन्य विद्यार्थीलाई समेत सिकाउँदै लैजाने योजना विद्यालयको रहेको प्रधानाध्यापक कोइरालाले बताए । नौमती बाजाका अलावा विद्यालयले नृत्य शिक्षकसमेत राखेर विद्यार्थीलाई नृत्य प्रशिक्षण दिँदै आएको जनाएको छ । नौमती बजाउने तालिमका लागि करिब रु एक लाख खर्च हुने विद्यालयले जनाएको छ । 

‘नौमती बाजा लोप हुँदै गएको छ, अब विद्यालय तहबाटै संरक्षण गर्नुपर्छ भनेर नै हामीले तालिम प्रदान गरेका हौँ’, उनले भने, ‘यो तालिम दिएपछि सबैतिरबाट अहिले सकारात्मक प्रतिक्रियाले झनै हौसला मिलेको छ ।’ तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गर्न आफूहरूले तिहारमा खेलिने देउसीभैलो, विभिन्न सांस्कृतिक पर्व र विद्यालयका अतिरिक्त क्रियाकलापमा विद्यार्थीबाट नौमती बजाइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिजालले बताए। 

‘सिकेको सीपलाई त्यसै खेर जान दिइने छैन’, उनले भने, ‘नौमती बाजाको संरक्षणका लागि हाम्रा विद्यार्थी अग्रसर भएका छन् भन्ने सन्देश दिन आवश्यक छ ।’ विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त बैठक बसी नौमती संरक्षण गर्न अग्रसर रहने प्रतिबद्धता गरी तालिम दिने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिजालले जानकारी दिए । उक्त विद्यालयमा हाल दुई सय १२ विद्यार्थी र २१ शिक्षक कार्यरत छन् ।  

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  १२ : ३७ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको