राजनीति

प्रधानमन्त्री दाहालद्वारा यादवप्रति श्रद्धाञ्जली अर्पण

By खबरहब

August 19, 2023

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद रामवृक्ष यादवप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उहाँले यादवको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

तराई मधेसमा स्थापित यादव तत्कालीन नेकपा माओवादीका प्रभावशाली नेताका रुपमा परिचित थिए । जनयुद्धको सुरुआती चरणमा नै उनले २०५१ भदौ २ गते स्थानीय सबैला भन्ने स्थानमा शहादत प्राप्त गरेका थिए । माओवादीले यादवलाई सहिद घोषणा गरेको छ । 

जनताको हकहितका लागि सङ्घर्षरत यादवको स्मरणमा माओवादी केन्द्रले हरेक वर्ष भदौ २ गते श्रद्धाञ्जलीसभाको आयोजना गरी श्रद्धाञ्जली अर्पण गर्दै आएको पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र पम्फा भुसाल, उपमहासचिव वर्षमान पुनलगायतका शीर्ष नेता तथा कार्यकर्ता उपस्थित रहेका थिए ।