तीन महिनादेखि बन्द भएका ग्रामीण सडक अझै खुलेनन्  | Khabarhub Khabarhub

तीन महिनादेखि बन्द भएका ग्रामीण सडक अझै खुलेनन् 


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– तीन महिनादेखि बन्द भएका ग्रामीण सडक अझै खुल्न सकेका छैनन् । बाढी र पहिराले अवरुद्ध बनेका सडक अहिलेसम्म सञ्चालन नहुँदा चाड पर्वका लागि सामान ढुवानीमा समस्या भएको छ । जिल्ला सदरमुकाम बागलुङ बजार तथा आसपासका व्यापारिक केन्द्रदेखि गाउँ-गाउँ जोडिएका सडक गत असारदेखि नै बन्द भएका हुन् । 

ठूलो वर्षा हुन रोकिए पनि सडक सञ्चालन नहुँदा सामान ढुवानी र यात्रा गर्न समस्या भएको बडिगाड गाउँपालिकाका तिलबहादुर घर्तीमगरले बताए । चाडपर्व सुरु हुँदा पनि गाउँपालिकाले सडक खुलाउन चासो नदेखाएकाले बजारबाट सामान ढुवानी गर्न नसकिएको उनको गुनासो थियो ।

‘यस वर्ष पोहोर परार सालको जस्तो ठूलो वर्षा भएको छैन तर पनि बजारबाट आउने मोटरबाटोको धेरै ठाउँमा पहिरोले सडक ठप्प भएका छन्, सडक कहिले खुलाउँछन् थाहा छैन, तीजपछि दसैँ र तिहार पनि आउन थाले,’ तिलबहादुरले भने , ‘बर्खाभरि घरमा भएका सबै सामान सकियो, बजारबाट बोकेर ल्याउनुपर्छ, गाडी चले त एक-दुई घण्टामै गाउँमै सामान आउँथ्यो, सडक कहिले खुल्ने हो थाहा छैन ।’

बागलुङमा तीनवटा राष्ट्रिय सडक पर्छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर र सालझण्डी–ढोरपाटन सडकले बागलुङमा विकासका थुप्रै सम्भावनाका ढोका खोले पनि लोकमार्गबाहेक अन्य मुख्य सडक बाह्रै महिना चल्दैनन् । कोरिडोर हिउँदमा चले पनि बर्खामा पूर्णरुपमा सञ्चालन हुन सकेको छैन । सालझण्डी–ढोरपाटन सडक भने अहिलेसम्म सिधा सञ्चालन हुन सकेको छैन । बरेङ गाउँपालिकाका अधिकांश ग्रामीण सडक बर्खाका कारण बन्द छन् ।

सडक सञ्चालन नहुँदा खाद्यान्न ढुवानी गर्न र बिरामीलाई तत्काल उद्धार गरी अस्पताल पुर्‍याउन समस्या भएको स्थानीयवासी वीरबहादुर विकले बताए। उनले गाउँमा सडक आए पनि बर्खामा गाडी नचल्दा स्थानीयवासीले सास्ती खेप्नु परेको गुनासो गरे । अघिल्लो वर्षको जस्तो यस वर्ष धेरै सडकमा क्षति नभएकाले  पालिकाले केही ठाउँका पहिरो पन्छाए सहज रुपमा गाडी चल्ने गराउनुपर्नेमा बीरबहादुरले जोड दिए ।

उनले भने, ‘गाडी नचल्दा सबैभन्दा समस्या त गाउँमा कोही बिरामी हुँदा हुँदोरहेछ, अस्पताल लगिहाल्नु पर्ने बिरामी  बाटो बन्द भएको हुँदा बोकेरै लैजानु पर्छ, बोकेर लैजाँदा समयमै अस्पताल पुर्‍याउन नसक्दा दुःखद घटना हुने गर्छ, सरकारले बाह्रै महिना बाटो चलाउने गरी काम गर्नुपर्छ ।’

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले पहिरोले अवरुद्ध सडक अब तत्काल खुलाउने बताएका छन् । पालिकाका अधिकांश सडक सञ्चालनमा रहेको भन्दै उनले  केही ग्रामीण सडक अवरुद्ध रहेकाले खुलाउनका लागि बजेटको व्यवस्था गरिसकेको र केही दिनमै काम  सुरु हुने बताए। ‘बर्खाका कारण केही गाउँ जोडिएका सडकहरू ठप्प छन्, अहिले सञ्चालनमा रहेका सडक पनि अप्ठ्यारा छन्, पालिकाभरिका सबै सडक खुलाउन बजेटको व्यवस्था गिरेका  छौँ’, अध्यक्ष अधिकारीले भने , ‘मौसम हेरिराखेका छौँ, बर्खा केही कम भएको छ, अब सडक खुलाउँछौँ, यति बेला खुलाइसक्थ्यौँ, फेरि पहिराले पुर्‍यो  भने खर्च बढी हुने हुँदा अब बल्ल खुलाउने तयारीमा छौँ ।’

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  १२ : ३७ बजे

पञ्चमी बजारमा रोपिएको नवीन सपना, ‘ऊनको स्वीटर’मा साकार

काठमाडौं – नवीनको जन्म वि‍.सं २०५० सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित

स्वास्थ्यमन्त्रीलाई पीडितको प्रश्न- तपाईँहरूलाई मृत्युको पीडाले पनि पोल्दैन ? 

गत सोमबार रामेछाप अस्पतालका निमित्त प्रमुख डा.केशव श्रेष्ठ सामाजिक सञ्जाल

ऋषिङ र देवघाटमा जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती

डुम्रे– जिल्लाको ऋषिङ र देवघाट गाउँपालिकामा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम

नियमविपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई कारबाही

चितवन–  नियम विपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई पशु क्वारेन्टाइन

द्रुतमार्गबारे आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई 

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई-मधेस दू्रतमार्ग