सडक खुलेपछि सामान ढुवानी सहज « Khabarhub

सडक खुलेपछि सामान ढुवानी सहज


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – निसीखोला गाउँपालिकाको विभिन्न स्थानमा अवरुद्ध भएका ग्रामीण सडक सञ्चालनमा आएसँगै सामान ढुवानी गर्न सहज भएको छ । वर्षाका कारण अवरुद्ध भएका सडक निसीखोला गाउँपालिकाले यही साता सञ्चालनमा ल्याएको हो । 

असोज पहिलो साता नै सडक खुलाउने प्रयास गरे पनि निरन्तरको वर्षाका कारण काम हुन नसकेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए। यस वर्ष ढिलासम्म वर्षा भइरहेकाले अवरुद्ध सडक खुलाउन ढिलाइ भएको उनको भनाइ थियो ।

ढिलै भए पनि सडक सञ्चालनमा आएपछि स्थानीयलाई सामान ढ्वानी गर्न सहज भएको छ । करिब चार महिनादेखि सडक अवरुद्ध भएर सामान ढुवानी गर्न नपाएका स्थानीय यतिबेला चटारोमा छन् । नजिकिएको चाडपर्व र महिनौँसम्म किनमेल गर्न नपाएका उनीहरूलाई सामान ओसारपसार गर्न भ्याइनभ्याइ छ । कतै खोलाका कारण त कतै पहिरोले सडक बगाउँदा यातायातका साधन ठप्प थिए भने पैदल यात्रा गर्न पनि समस्या थियो ।

निसीखोलाको प्रमुख व्यापारिक केन्द्र बुर्तिबाङ बजार हो । बजारदेखि राजकुट, देविस्थान, जुग्गाखोलालगायत निसी र भल्कोट हुँदै रोल्पा र पूर्वी रुकुममा साधान पुग्ने गर्छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा झरेको पहिरो तत्तकाल हटाएर यातायात सञ्चालन गरे पनि ग्रामीण सडक ठप्प थिए । 

अहिले सडक सञ्चालनमा आएपछि चाडबाडका लागि चाहिने सामान ल्याउन र टाढाटाढाबाट गाउँ आउनेलाई सहज भएको निसीखोला गाउँपालिका–२ का केशव क्षेत्रीले बताए । असारदेखि असोज दोस्रो सातासम्म गाउँमा गाडी नै चल्न नसकेको उनको भनाइ थियो । उनले चार दिनदेखि निरन्तर गाडी चल्न थालेको भन्दै लामो समयपछि पसलमा सामान ढुवानी गर्न पाएको सुनाए।

‘गाउँमा साना–साना किराना पसल छन् । बर्खाले गर्दा बजारबाट सामान ल्याउन सकिएको थिएन । केही दिन भयो बाटो खुलेर गाडी चलेका छन्’, क्षेत्रीले भने,’अहिले बल्ल सबै सामान ल्याउन थालेको छु । कच्चीबाटो बर्खा सुरु हुनेबित्तिकै बन्द हुन्छ । खुल्नलाई हिउँद लाग्नुपर्छ ।’

निसीखोलाका अधिकांश गाउँ लोकमार्गसँग जोडिएका छन् । स्थानीय पुनम घर्तीमगरले गाउँको सडक निकै साँघुरो र अप्ठ्यारो रहेको भन्दै हिउँदमा जसोतसो गाडी चले पनि बर्खामा ठप्प हुने गरेको बताए । सडकले गाउँमा नजोडिँदा हिँडेरै बजार पुग्ने र सामान बोकेरै ल्याउने गरेको सुनाउँदै उनले सडक आएर पनि अहिले खोलामा पुल नबन्दा, पहिरोले सडक बगाउँदा पहिलेको जस्तै हिँड्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

‘नुन, चामललगायत दैनिक उपभोग्य सामान ल्याउनुपरे घोडा खच्चडको प्रयोग गरेको भन्दै गाउँ सडकले जोडिएपछि घोडाखच्चड विस्थापित हुँदा मान्छेले नै बोक्नु परेको छ’, मगरले भने, ‘दसैँ आएपछि मात्रै गाउँपालिकाले सडक खुलाएको छ । अब सामान ल्याउन सहज हुने भएको छ ।’ 

गाउँपालिकाका सूचना अधिकारी गौतमले वर्षा रोकिएर खोलामा पानीको बहाव केही कम भएपछि पालिकाका सातवटै वडाका सडक खुलाइएको जानकारी दिए। उनका अनुसार नीति तथा कार्यक्रममै प्रत्येक वडामा बर्खाले बिगारेको सडक मर्मतसम्भार भनेर बजेट विनियोजन गरेको थियो । 

पानीले भत्काएको खाल्डाखुल्डी पुर्ने र पुरिएको सडकको पहिरो पन्छाउने काम गरेको गौतमले बताए।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ३ : ५९ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार