क्रिकेट

ब्याटिङ, बलिङ र विराट कोहलीको विश्वकप फाइनल

By खबरहब

November 19, 2023

काठमाडौँ– जब मुम्बईमा विराट कोहलीको ‘रेकर्ड ब्रेक’ शतक र मोहम्मद शामीको ‘मिराकल’ बलिङले भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुग्यो, त्यतिबेला विश्वभरका धेरै क्रिकेटप्रेमीले दोस्रो सेमिफाइनलबाट अष्ट्रेलिया ‘फाइनलिस्ट’ चाहन्थे ।

कारण एउटै थियो, भारत र अष्ट्रेलिया क्रिकेटका महारथी हुन् । जसरी त्यो सोचियो, त्यसरी नै कठिन रुपमा दक्षिण अफ्रिकालाई कोलकत्तामा ३ विकेटले हराउँदै अष्ट्रेलिया फाइनलमा पुग्यो । पहिलो सेमिफाइनलमा भारतले न्युजिल्याण्डलाई ७० रनले हराएको थियो । दुवै सेमिफाइनल रोचक थिए ।

तर अब प्रतिक्षा केवल फाइनलको छ । जुन रोचक मात्रै होइन, दशकौँदेखि प्रतिक्षा गरिएको फाइनल पनि हो । क्रिकेटमा अष्ट्रेलिया र भारतको नाम आफैँमा रोचक र कीर्तिमानले भरिएका खेलाडीका कारण झन् चर्चामा रहन्छ ।

अहिले पनि क्रिकेट भन्ने वित्तिकै पहिले अष्ट्रेलिया र त्यसपछि भारतको नाम आउँछ । यी दुई देशको क्रिकेट फाइनल फुटबलमा ब्राजिल र अर्जेन्टिनाको जस्तै हो ।

च्याम्पियन्स लिग फूटबल सम्झिने हो भने झन् रियल मड्रिड र बार्सिलोनाको फाइनल नसोचेको जस्तै रोचक हुन्छ । क्लब फुटबलमा रजाईँ गरिरहेका यी दुई टिमबाट खेलेका मेस्सी र रोनाल्डोका कारण पनि दुवै स्पेनिस टोली प्राय चर्चामा रहन्छन् ।

विश्वभर फूटबल जति लोकप्रिय छ, पछिल्लो समय क्रिकेटले पनि केही लय समातेको छ । खासगरी भारतीय सुपरब्याटर विराट कोहलीले क्रिकेटलाई नयाँ उचाइ दिइरहेका छन् । जसका कारण आउँदो ओलम्पिकमा क्रिकेटलाई पनि प्रतियोगितामा समेटिएको छ ।

सचिन तेन्दुलकरपछि महान क्रिकेटरका रुपमा अघि बढिरहेका विराट कोहलीले गर्दा पनि यो विश्वकप चर्चित र रोमाञ्चित बनेको छ । विराटले यसै विश्वकपमा सचिनका दुई ठूला रेकर्ड ब्रेक गरे ।

पहिलो सचिनको एकदिवसीय क्रिकेटमा सर्वाधिक ४९ शतकको कीर्तिमान भंग गर्दै सेमिफाइनलमा ५० शतक पूरा गरे । दोस्रो एउटै विश्वकपमा सर्वाधिक ६७३ रन बनाएका सचिनलाई उछिन्दै कोहलीले यस विश्वकपमा ७११ रन जोडेका छन् ।

फाइनलमा पनि शतक वा अर्धशतक बनाउन सके विराटको यो कीर्तिमान आफैँमा धेरै ठूलो हुनेछ । जुन जोकोहीले तोड्न कठिन हुनेछ ।

अहमदाबादमा आइतबार हुने फाइनलमा भारत र अष्ट्रेलियामध्ये कुनै एक टिमले विश्वकप जित्नेछ । तर यो विश्वकप कसले जित्छ ? भन्ने अनुमान र अड्कलबाजी पूरापूर सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।

यद्यपि यो विश्वकपमा मुख्य तीन वटा कारण विशेष छ । यी तीन फ्याक्टरले नै यो विश्वकप फाइनललाई झन् विशेष बनाउनेछ । जसकारण यो विश्वकप कसले जित्न सक्छ भनेर अनुमान लगाउन झन् सजिलो हुनेछ ।

विराट कोहली विराट कोहली वर्तमान विश्व क्रिकेटका एक मात्रै सुपरस्टार हुन् । खेलाडीका रुपमा सन् २०११ मै एकदिवसीय विश्वकप जितिसकेका कोहलीका लागि यो विश्वकप विशेष छ । किनकी उनले आफ्नै कप्तानीमा सन् २०१९ को विश्वकप जित्न सकेनन् । इंग्ल्याण्डमा भएको त्यो विश्वकपमा भारत सेमिफाइनलमा न्युजिल्याण्डसँग पराजित भएर बाहिरिएको थियो ।

त्यसअघि कप्तानकै रुपमा कोहलीले च्याम्पियन्स ट्रफी, विश्व टेस्ट च्याम्पियनसिपको फाइनल हारेका छन् । कप्तान र खेलाडीका रुपमा कोहलीले पछिल्ला विश्वकप खेलिरहँदा भारत सेमिफाइनलबाट अघि बढ्न सकेन ।

यसपटक उनकै शतक बलमा भारत फाइनल पुगेको छ । र, घरेलु मैदानमा जसरी पनि रोहित शर्माको कप्तानी र उत्कृष्ट लयमा रहेको भारत विश्वकप जित्न चाहन्छ । उसका लागि सबैभन्दा ठूलो शक्ति विराट कोहली हुन् । जसले यो विश्वकपमा सचिनको पनि सर्वाधिक रनको रेकर्ड ब्रेक गर्दै ७११ रन बनाइरहेका छन् ।

अनि एकदिवसीय विश्वकपका उत्कृष्ट ब्याटरका रुपमा ५० शतकको आँकडा पार गरेका छन् । यसरी विश्वकपमा ५० शतक बनाउने उनी एक मात्रै खेलाडी हुन् । एकदिवसीयमा मात्रै १३ हजार बढी रन बनाएका कोहलीले समग्रमा २६ हजार बढी अन्तर्राष्ट्रिय रन बनाएका छन् ।

सचिनको एक सय शतकको कीर्तिमान भंग गर्न मात्रै बाँकी राखेका कोहलीले यो विश्वकप जितेमा सचिनकै सरह महान क्रिकेटरका रुपमा सम्मान, साथ र विश्व क्रिकेटप्रेमीबाट समर्थन पाइरहनेछन् ।

भारतीय टिममा विराटका साथै कप्तान रोहित शर्मा, युवा ओपनर ब्याटर शुभमान गिल, मिडल अर्डरमा श्रेयास आयर र केएल राहुल पनि उत्कृष्ट फर्ममा छन् । जसका कारण समूह चरणबाटै अपराजित रहँदै भारत फाइनलसम्म पुगेको हो ।

विराटको तुलनामा अष्ट्रेलियामा यतिबेला उत्कृष्ट खेलाडी छैन । उनको प्रतिष्पर्धीका रुपमा स्टिभ स्मिथलाई लिइएपनि बल टेम्परिङ प्रकरणले कप्तानी गुमाएपछि स्मिथ पुरानै फर्ममा फर्किन सकेका छैनन् ।

यस विश्वकपमा पनि स्मिथको प्रदर्शन औसत छ । डेभिड वार्नर, मिचेल मार्स र ग्लेन म्याक्सवेल जस्ता ब्याटरका कारण अष्ट्रेलिया फाइनलसम्म पुगेको हो ।

खतरनाक बलर यो विश्वकप फाइनल सबैभन्दा उत्कृष्ट बलरहरूको भिडन्त पनि हो । खासगरी भारतीय टिममा तीन जना फास्ट बलरहरूको ‘कम्बिनेसन’ उत्कृष्ट रुपमा जमेको छ । सेमिफाइनलमा त मोहम्मद शामीे ७ विकेट लिँदै न्युजिल्याण्डको पाली ध्वस्त गरेका थिए ।

जसकारण पहिलो सेमिफाइनललाई उनले ‘शामी फाइनल’ बनाउन सफल रहे । विराट कोहलीको कीर्तिमानी शतक र श्रेयस आयरको आक्रामक शतकलाई पनि छायामा पार्दै शामीले ७ विकेट लिएर आफूलाई ‘म्यान अफ द म्याच’ बनाउन सफल भएका थिए । त्यसमाथि आईसीसीको वरियतामा आफूलाई उत्कृष्ट बनाउन सफल मोहम्मद सिराज र जस्प्रित बुम्राहका कारण भारतको बलिङ आक्रमण रोक्न अष्ट्रेलियालाई चुनौति छ ।

शामी, सिरज र बुम्राहको बलिङकै कारण पहिलो खेलमै अष्ट्रेलिया भारतसँग पराजित भएको थियो । जुन खेलमा विराट कोहली र केएल राहुलले झण्डै शतक बराबर रन बनाएका थिए ।

अर्कोतर्फ अष्ट्रेलियासँग पनि उत्कृष्ट र खतरनाक फास्ट बलरको टिम छ । अष्ट्रेलियालाई सफल बनाउन उत्कृष्ट बलिङ आक्रामक टिम बनाएका मिचेल स्टार्क, प्याट कुमिन्स र जोश हेजेलवुडलाई पन्छाउन भारतीय टिमलाई पनि चुनौति छ ।

तर घरेलु पिच भएका कारण भारतलाई त्यसको सिधा फाइदा छ । समूह चरणमै भारतले आफ्नो उत्कृष्ट बलिङका कारण दक्षिण अफ्रिका, इंग्ल्याण्ड र नेदरल्याण्ड्सलाई सस्तैमा अलआउट गरेको थियो ।

शामी यो विश्वकपमा २३ विकेटका साथ सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा छन् । उनी यो विश्वकपमा तीनपटक म्यान अफ द म्याच भइसकेका बलर पनि हुन् । सोही कारण उनलाई रोक्न अष्ट्रेलियालाई सबैभन्दा धेरै चुनौति छ ।

यस्तै अष्ट्रेलियाका एडम जाम्पा भने २२ विकेटका साथ दोस्रो स्थानमा छन् । फाइनलमा जसले उत्कृष्ट प्रदर्शन गर्दै धेरै विकेट लिन्छ, उसैले अर्को इतिहास बनाउने समय पनि छ ।

इतिहास बिर्साउने फाइनल यसपटकको फाइनल सम्झिनलाई एकपटक सन् २००३ को फाइनलमा जानुपर्छ । जहाँ भारत र अष्ट्रेलिया फाइनल पुगेका थिए । त्यतिबेला सौरभ गांगुलीको कप्तानीमा रहेको भारतीय टिम उत्कृष्ट र अब्बल थियो ।

सचिन तेन्दुलकर, वीरेन्द्र सेहवाग, राहुल द्रविड जस्ता खेलाडी हुँदा पनि भारत उपाधि चुम्नबाट चुकेको थियो । जबकी गांगुली भारतीय टिमलाई विदेशी भूमिमा जिताउन र उत्कृष्ट बनाउन सँधै उत्कृष्ट योगदान दिने कप्तानका रुपमा चर्चित छन् ।

रिकी पोन्टिङको नेतृत्वमा रहेको अष्ट्रेलियाले उपाधि जित्यो । त्यतिबेला फाइनलमा हारेको बदलासहित भारत अहमदाबादमा अष्ट्रेलियालाई हराउँदै उपाधि जित्न चाहन्छ । त्यसका लागि ब्याटिङ र बलिङ दुवैतर्फ भारत उत्कृष्ट छ ।

त्यसमाथि विराट कोहली विशेष बनेको यो विश्वकपमा भारत अपराजित रहँदै विश्वकप जित्ने सबैभन्दा उत्कृष्ट र उत्तम समय भएको टिमसमेत देखिन्छ ।

यसअघि लगातार तीन विश्वकप घरेलु टिमले जितेकै कारण पनि भारत त्यसमा भाग्यमानी हुन सक्ने आँकलन छ । सन् २०११ मा भारतले घरेलु भूमिमै विश्वकप जित्दा सन् २०१५ मा अष्ट्रेलियाले घरेलु मैदानमा उपाधि उचालेको थियो ।

सन् २०१९ को विश्वकप रोमाञ्चक रुपमा इंग्ल्याण्डले पनि आफ्नै घरेलु मैदानमा जितिरहँदा यसपटक भारतलाई आफ्नै घरेलु मैदानमा वर्षौँपछि विश्वकप जित्ने सुनौलो अवसर छ ।