पर्वतबाट झण्डै ३० करोड रुपैयाँको सुन्तला निर्यात « Khabarhub

पर्वतबाट झण्डै ३० करोड रुपैयाँको सुन्तला निर्यात


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पर्वत जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुबै वृद्धि भएको छ । यस वर्ष जिल्लामा पाँच हजार मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सोमध्ये चार हजार दुई सय ५० मेट्रिक टन सुन्तला निर्यात भएको ज्ञान केन्द्रले जनाएको छ । गत कात्तिकको अन्तिम सातादेखि माघ महिनाको अन्तिम सातासम्म जिल्लाका सुन्तला निर्यात भएका छन् । जिल्लाको उच्च पहाडी क्षेत्रमा अवस्थिति बाँसखर्कवाट माघको अन्तिम सातामात्र सुन्तला बजार पठाइएको थियो ।

निर्यात भएका चार हजार दुई सय ५० मेट्रिक टन सुन्तलाबाट जिल्लामा २९ करोड ७५ लाख रुपैयाँ आम्दानी भएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले जानकारी दिइन् । पर्वतबाट औषतमा ७० रुपैयाँको दरले सुन्तला निर्यात भएका छन् । यहाँ उत्पादित सुन्तला पोखरा, काठमाडौँ, नारायणगढ र बुटवलसम्म पुगेको थापाले बताइन् ।

जिल्लामा अहिले आठ सय ३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । सो मध्ये पाँच सय हेक्टर क्षेत्रफलबाट उत्पादन भइरहेको छ भने बाँकी क्षेत्रफलबाट आगामी वर्षदेखि उत्पादन दिन सुरु हुनेछ । उत्पादित सुन्तलामध्ये झण्डै १५ प्रतिशत सुन्तला कृषकले उपभोगमै खर्चिएको अनुमान छ ।

गत आर्थिक वर्ष ०७८/७९ मा पर्वतमा चार हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्ष चार सय ५० हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन भएको थियो भने यस वर्ष झण्डै ११ प्रतिशत बढी क्षेत्रफलबाट उत्पादन थप भएको वरिष्ठ कृषि विकास अधिकृत थापाले बताइन् ।

यस वर्ष अनुकूल मौसम, रोग किराको प्रकोप कम र हावाहुरी, असिना पानीलगायतबाट कुनै क्षति नभएकाले सुन्तला उत्पादन वृद्धि भएको हो । पछिल्लो समय बाँझै रहेको खेतबारीमा सुन्तला लगाउने र स्थानीय तहहरुले पनि सुन्तला खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न थालेपछि क्षेत्रफलमा वृद्धि हुँदै गएकाले बर्सेनि उत्पादन बढ्दै गएको छ । “किसानले मल, कीटनाशक विषादीको प्रयोग, बगैँचा सुधार गरेको तथा यस वर्ष हावाहुरी असिना नपरेको कारण सुन्तला उत्पादनमा वृद्धि भएको हो ।” उनले भनिन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्वतको जलजला र मोदी, महाशिला र पैँयु गाउँपालिकाका तथा फलेवास नगरपालिकाका विभिन्न वडालाई जोन र ब्लकको रुपमा विकास गरिएको छ । जिल्लामा सबैभन्दा बढी जलजला गाउँपालिकाको बाँसखर्कमा सुन्तला उत्पादन हुँदै आएको छ । यहाँको एउटै गाउँबाट झण्डै आठ करोड रुपैयाँको सुन्तला निर्यात भएको छ ।

त्यसैगरी लेखफाँट, माझफाँट, बनौ, कुश्मा नगरपालिकाको दुर्लुङ, मोदी गाउँपालिकाको बाजुङ, देउपुर, चित्रे, तिलाहार, महाशिला गाउँपालिकाको भोक्सिङ, होश्राङदी, पैँयु गाउँपालिकाको हुवास, त्रिवेणी, टकलाक, बिहादी गाउँपालिकाको बाच्छा, फलेवास नगरपालिकाको कुर्घा, पाङराङ, लिमीठाना र ठानामौलामा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ ।

जिल्लाबाट निर्यात हुने मुख्य उत्पादित वस्तुमा सुन्तला नै परेको छ । अन्य वस्तुको तुलनामा पर्वतबाट सुन्तला बढी मात्रामा बाह्य जिल्लामा निर्यात हुन थालेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । कृषकको बोटमै सुन्तला खरिद गर्न व्यापारी आउने भएका कारण सुन्तलाको बजारीकरणमा समस्या नरहेको देउपुरका कृषक दाताराम चापागाईले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ११ : ३७ बजे

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको तयारी: पोर्चुगल र नाइजेरिया भिड्दै, के रोनाल्डो खेल्लान् ?

काठमाडौँ – विश्वकपको प्रमुख दाबेदार मानिएको पोर्चुगलले आफ्नो अन्तिम मैत्रीपूर्ण

इयू टी-२०: दीपेन्द्र र गुल्सन चम्किए पनि जेबी ब्रुग्स पराजित

काठमाडौँ – बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम लिग’ मा नेपाली