दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

आज दिनभर प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ, प्रधानमन्त्री प्रचण्ड मंगलबार गोरखा जाने, चितवन २, तनहुँ १ र बारा २ मा वैशाख १० मै उपचुनाव हुने, बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्युलगायत समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू :

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत पाएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा २६२ जना सांसद उपस्थित रहेकोमा १७२ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका हुन् ।

उनको विपक्षमा ८९ मत खसेको छ । एक जना तटस्थ रहे ।

दाहालले प्रधानमन्त्री भएपछि संसदमा दोस्रो पटक विश्वासको मत लिएका हुन् । राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएपछि उनले दोस्रो पटक विश्वासको मत लिएका छन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार बिहान आयोजना गरिएको विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।

यही चैत ३ गते भएको निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी यादव उपराष्ट्रपतिमा विजयी भएका थिए ।

प्रधानमन्त्री प्रचण्ड मंगलबार गोरखा जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार गोरखा जाने भएका छन् । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ समेत गोरखा जाने कार्यक्रम छ ।

यस योजनाअन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ । भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ।

वुडहिल–लामा जेभी, महाराजगञ्जले ३० महिनामा सक्नेगरी सडकको ठेक्का पाएको छ ।

चितवन २, तनहुँ १ र बारा २ मा वैशाख १० मै उपचुनाव हुने

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ १ र बारा २ मा पनि आगामी वैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ । वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने गरी समय समेत निर्धारण गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

‘निर्वाचन आयोगको आज मिति २०७९ चैत ६ गते बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत २०८० साल बैशाख १० गते आइतबारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्नुका साथै उक्त दिन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरिएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको सांसद पद स्वतः रिक्त हुने व्यवस्थाबमोजिम उपनिर्वाचन गर्न लागिएको हो । तनहुँ १ का निवर्तमान सांसद रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ का निवर्तमान सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम उक्त दुवै क्षेत्रको निर्वाचन चितवन जिल्लाको उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रमबमोजिम नै हुने व्यवस्था गरिएको छ । रास्वपा सभापति रवि लामिछानेले नागरिकता विवादमा सांसद पद गुमाएपछि चितवन २ मा पनि आगामी वैशाख १० मा निर्वाचन हुने गरी मिति तोकिएको छ ।

आयोगका अनुसार २०७९ चैत १६ गते उपनिर्वाचन प्रयोजनका निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । त्यसैगरी चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ ।

उक्त उपनिर्वाचन प्रयोजनका लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई मिति २०७९ चैत ८ गतेदेखि मिति २०७९ चैत १२ गतेसम्म नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्ने समय उपलब्ध गराउने गरी दल दर्ताको सूचना जारी आयोगले जनाएको छ ।

भोलबिाटै सरकार विस्तारको गृहकार्य सुरु हुन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिबाटै सरकार विस्तारको गृहकार्य सुरु हुने बताएका छन् ।

सोमबार विश्वासको मत पाएपछि संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रधानमन्त्री प्रचण्डले अब सरकार विस्तार गर्ने बताएका हुन् । उनले केही दिनभित्रै सरकारले पूर्णता पाउने जानकारी दिए ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले आफूले पर्याप्त विश्वासको मत प्राप्त गरेकाले आरामसँग सरकार चल्ने जिकिर गरे । उनले आफ्नो भारत भ्रमण यो महिनाको अन्तिमतिर हुने समेत जानकारी दिए ।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका हुन् ।

बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु

बर्दियामा बाघको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ । मधुवन नगरपालिका ५ मा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो ।

मधुवन नगरपालिका ५ का स्थानीय ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो चिरौटे सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा बाघको आक्रमणमा परी उनीहरूको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीले जानकारी दिए ।

अहिले स्थानीय, प्रहरी, वनका कर्मचारी र हात्तीसहितको टोली घटनास्थल पुगेको छ ।

राहदानी विभागले घोडेजात्रामा पनि सेवा दिने

राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ।

सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको हो।

विभागका अनुसार विभाग बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।

फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति

सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाएपनि गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन् ।

फागुनमा नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति र व्यक्तिगत गरी ६१ हजार आठ सय ४५ ले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

फागुनमा सबैभन्दा बढी मलेसियाका लागि १९ हजार आठ सय २४ ले श्रम स्वीकृति लिएका छन् । कतारका लागि ११ हजार तीन सय तीन, संयुक्त अरब इमिरेट्सका लागि नौ हजार सात सय ९५, साउदी अरेबियाका लागि नौ हजार पाँच सय तीन, कुवेतका लागि दुई हजार चार सय ६२, दक्षिण कोरियाका लागि दुई हजार दुई सय २७ र रोमानियका लागि एक हजार ७० जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेमा अदक्ष कामदारको सङ्ख्या उल्लेख्य रहेको छ । फागुनमा १३ हजार पाँच सय ८० अदक्ष कामदारले श्रम स्वीकृति लिएका छन् । ४२ हजार सात सय १८ दक्ष, पाँच हजार चार सय ४९ अर्धदक्ष, ६८ व्यावसायिक र ३० उच्च दक्ष श्रमिकले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

रासायनिक मलको अनुदान यथावत् राख्ने सरकारको निर्णय

सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको हो ।

बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यसअघि कृषि तथा पशुपक्षी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो ।

आजको मन्त्रिपरिषद् बैठकपछि रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत् रहने भएको छ ।

क्रिकेटर कुशल मल्ललाई बुटवल उपमहानगरको सम्मान

बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल मल्ललाई नगदसहित आज सम्मान गरेको छ ।

बुटवल–११ देवीनगरका मल्ललाई उपमहानगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले दोसल्ला ओढाएर सम्मानपत्र र ५० हजार रुपैयाँसहित सम्मान गरेका हुन् ।

कार्यक्रममा क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन र मल्लकी आमा शर्मिला मल्ललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानपछि नगरप्रमुख पाण्डेयले कुशलले क्रिकेटमा गरेको उपलब्धिले बुटवलकै प्रतिष्ठा बढेको बताए ।

उनले नगरमा खेलकुद क्षेत्रको विकासका लागि तीन करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको जनाउँदै खेल पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।

क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक गौचनले बुटवलले सम्मान गरेर खेल क्षेत्रको हौसला बढाएको बताए । खेलाडी कुशलले उपमहानगरपालिकाले गरेको सम्मानले आफ्नो मनोबल बढेको र आगामी दिनमा थप मेहनत गर्ने बताए ।

सोमबार नेप्से दोहोरो अंकले उकालो

सातामा कारोबार हुने दोस्रो दिन सोमबार सेयर बजार उकालो लागेको छ ।

आज नेप्से सूचकमा २२.६५ अंकले उकालो लागि १९४९.०६ विन्दुमा पुगेको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९७ अंकले बढेर ३६६.५० विन्दुमा पुगेको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २९ करोड ८५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा आइएमइ जनरल इन्स्योरेन्स शीर्ष स्थानमा छ । यसको ७ करोड ६३ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै एनआइसी एसियाको ६ करोड १९ लाखभन्दा बढीको कारोबार भएको छ ।

यता आज सबै उपसूचकहरुमा उकालो लागेको छ । उक्त उपसूचकहरु मध्ये ट्रेडिङ सुचकको ३.६४ प्रतिशत, होटल तथा पर्यटन र हाइड्रोपावर सूचक २ प्रतिशतले उकालो लागेको छ ।

आजको कारोबारमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले सेयर मूल्य बढेको छ । यस कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ९ : ५० बजे

बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन : नेता जबरा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपति शमशेर जबराले

सय दिने प्रगति सुनाउँदै खेलकुद मन्त्रीले भने : कीर्तिपुरमा चाँडै फ्लड लाइट र स्कोर बोर्ड जोडिन्छ

काठमाडौं- युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पदवहाली भएपश्चात सय

भेरी नदीमा बेपत्ता दुई जनाको शव सशस्त्रको गोताखोरले निकाल्यो

सुर्खेत– सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा बेपत्ता भएका

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं– सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको

सहकारीको एक अर्ब ठगीमा पक्राउ तेजबिक्रम टेलिभिजनदेखि अस्पतालसम्मका मालिक

ललितपुर- सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठित संसदीय छानबिन समितिको