विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

आज  चैत ६ २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च २०, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

चिनियाँ राष्ट्रपति सी रुस पुगे

चिनियाँ राष्ट्रपति सी जिन्पिङ रुस भ्रमणमा निस्केका छन् । सोमबार राष्ट्रपति सी रुसको राजधानी मस्को पुगेका हुन् । युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला राष्ट्रपति सीले रुसको भ्रमण गरेका हुन् ।

भ्रमणका क्रममा उनले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्ताका क्रममा युक्रेनमा जारी युद्धबारे छलफल गर्ने जनाइएको छ ।

हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले पुटिनविरुद्ध पक्राउ पूर्जी जारी गरेको केही दिनपछि राष्ट्रपति सीको रुस भ्रमणलाई निकै चासोपूर्वक हेरिएको छ ।

जापानी प्रधानमन्त्री भारत भ्रमणमा

जापानका प्रधानमन्त्री फुमियो किशिदा दुई दिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली पुगेका छन् ।

किशिदालाई केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले दिल्लीको विमानस्थलमा स्वागत गरेका हुन् । भ्रमणका क्रममा किशिदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नुका साथै जापानको इन्डो–प्यासिफिक रणनीति र नयाँ प्रतिरक्षा प्रणालीका बारेमा पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

पन्ध्र वर्षअघि प्रधानमन्त्री शिन्जो आबेले आफ्नो दिल्ली भ्रमणका क्रममा इन्डो–प्यासिफिक सहकार्यका बारेमा पहिलो पटक उल्लेख गरेका थिए ।

दुवै प्रधानमन्त्रीले दिल्लीस्थित बुद्ध जयन्ती पार्कमा सँगै पदयात्रा गरी गौतम बुद्धको पालाको गहिरो जरा भएको पूज्य वृक्ष बालबोधीको अवलोकन गर्ने बताइएको छ ।

भारत र जापानबीचको सम्बन्ध सन् २००० मा ‘विश्व साझेदारी’, सन् २००६ मा ‘रणनीतिक तथा विश्व साझेदारी’ र सन् २०१४ मा ‘विशेष रणनीतिक तथा विश्व साझेदारी’ मा परिणत भएको थियो ।

दुवै देशले सन् २००६ देखि नियमित रूपमा वार्षिक शिखर सम्मेलन गर्दै आएका छन् । पछिल्लो वार्षिक शिखर सम्मेलन मार्च २०२२ मा नयाँ दिल्लीमा भएको थियो ।

किशिदाले आफ्नो ट्वीटर अकाउन्टमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने जानकारी दिएका छन् । भारतीय विदेश मन्त्रालयले मार्च १० मा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दुई नेताबीच पारस्परिक हितका द्विपक्षीय र क्षेत्रीय विषयमा छलफल हुनेछ ।”

किशिदाले आफ्नो भारत बसाइका क्रममा स्वतन्त्र र खुला इन्डो–प्यासिफिकका लागि नयाँ योजनाको घोषणा गर्ने बताए । उनले स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको भविष्यका बारेमा विचार प्रस्तुत गर्ने बताएका छन् ।

“यसका साथै, भारतमा रहँदा म स्वतन्त्र र खुला इन्डो–प्यासिफिकसम्बन्धी नयाँ योजनाको घोषणा गर्नेछु । हामी यस ऐतिहासिक मोडमा एफओआईपीको भविष्यको बारेमा ठोस विचारहरू प्रस्तुत गर्नेछौं,” किशिदाले सम्प्रेषण गरेको ट्वीटमा भनिएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जापान ‘अत्यन्त महत्वपूर्ण साझेदार’ भएको र भारत विचार आदानप्रदानका लागि तत्पर रहेको बताए ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षीबीच हुने छलफलका बुँदाबारे विस्तृत जानकारी नगराई जापान भारतकोे धेरै महत्वपूर्ण साझेदार भएको बताए ।

भारत र जापानबीच सन् २०२२ को मार्चमा भएको पछिल्लो बैठकपछि नयाँ दिल्ली र टोकियोले क्रमशः जी–२० र जी–७ को अध्यक्षता सम्हालिरहेकाले द्विपक्षीय स्तरमा संलग्न हुनका लागि यो महत्वपूर्ण समय हो । दुवै देशबीच रक्षा तथा सुरक्षा, व्यापार तथा लगानी, विज्ञान तथा प्रविधि, शिक्षा, स्वास्थ्य सेवा र महत्वपूर्ण उदीयमान प्रविधिलगायत विभिन्न क्षेत्रमा साझेदारी रहेको छ ।

कोलम्बियामा सैनिक हेलिकोप्टर दुर्घटना

कोलम्बियामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार चार जनाको ज्यान गएको छ । आइतबार साँझ भएको सो होलिकोप्टर दुर्घटना भएको कोलम्बियन सेनाले पुष्टि गरेको हो ।

राजधानी बोगोटामा हेलिकोप्टर दुर्घटना भएको र मृतक चारै जना सैनिक रहेको राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिएका छन् ।

उनले सेनाका लागि आवश्यक सामग्री लिएर गएको हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिए । कोलम्बियन सेनाका प्रमुखले सो दुर्घटनाका बारेमा अनुसन्धान सुरु भएको जानकारी दिएका छन् ।

उनले हेलिकोप्टर दुर्घटनाको कारणका बारेमा अनुसन्धान सुरु भएको जानकारी दिएका हुन् ।

साउदी अरबका विश्वविद्यालयमा योगलाई समावेश गरिने

साउदी अरबको योग समितिले मुलुकमा योग र प्राणायमलाई प्रवर्द्धन गर्न विश्वविद्यालयसँग सहकार्य गर्ने भएको छ ।

राजधानी रियादमा हालै सम्पन्न ‘अधिराज्यको परिकल्पनामा विश्वविद्यालय खेलकुद’ विषयक कार्यक्रममा साउदी योग समितिकी अध्यक्ष नउफ अलमरवाईले विश्वविद्यालयमा योगलाई समावेश गर्ने विषयमा सम्झौता हुने जानकारी दिएकी हुन् ।

साउदी विश्विद्यालय खेलकुद महासंघको सहकार्यमा विश्वविद्यालयमा योगको प्रवर्द्धन एवम् प्रोत्साहन गरिने अरब न्युज अनलाइनले जनाएको छ ।

साउदी अरबको शिक्षा मन्त्रालय र विश्वविद्यालय खेलकुद महासंघको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष अलमरवाईले शारीरिक एवम् मानसिक स्वास्थ्यलाई तन्दुरुस्त बनाउनका लागि साउदी अरबका विश्वविद्यालयमा योगलाई समावेश गर्न लागिएको बताइन् ।

सिरियाली राष्ट्रपति असद युएई भ्रमणमा

सिरियाका राष्ट्रपति बशर अल असद र संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानबीच भेटवार्ता भएको छ ।

असद आफ्नी पत्नी अस्मा अल असदसँग युएईको राजकीय भ्रमणमा रहेको सिरियाली राष्ट्रपतिको कार्यालय र संयुक्त अरब इमिरेट्स (युएई) को सरकारी समाचार संस्था डब्लुएएमले जनाएको छ ।

आइतबार युएईको राजधानी अबु धाबी आइपुगेका सिरियाली राष्ट्रपति र प्रथम महिलालाई युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले स्वागत गरेका थिए ।

राष्ट्रपति भवनमा आइतबार भएको भेटमा दुई देशका राष्ट्रपतिबीच द्विपक्षीय सम्बन्ध र आपसी हित प्राप्तिमा योगदान पुर्‍याउने सहयोगलाई मजबुत बनाउने उपायबारे छलफल भएको डब्लुएएमले जनाएको छ ।

भेटमा युएईका राष्ट्रपतिले भूकम्प पीडितप्रति समवेदना व्यक्त गर्दै सिरियाको यस विपत्तिबाट पार पाउन सक्ने क्षमता र दृढसंकल्पमा आफू विश्वस्त रहेको बताएका छन् ।

सन् २०११ मा सिरियाली युद्ध सुरु भएपछि वर्षौंसम्म कूटनीतिक तवरमा अलग्गिएर बसेको सिरियालाई अरबमा फर्कन युएईले सहयोग गरिरहेका बेला यो भ्रमण हुन लागेको हो ।

युएईले सन् २०१८ मा सिरियासँग कूटनीतिक सम्बन्ध पुनः सुरु गरेको थियो र गत महिना गएको भूकम्पका साथै सिरिया र साउदी अरबजस्ता प्रमुख क्षेत्रीय शक्तिहरूबीचको सम्बन्धलाई सामान्यीकरण गर्न मध्यस्थताको क्रममा सिरियामा राहत सहायता वितरणको नेतृत्व गरिरहेको छ ।

युएईले अरब तथा अन्य विदेशी मुलुकले उपलब्ध गराएको राहतसहित सयौं विमानलाई राहत लिएर भूकम्प प्रभावित सिरियामा पठाएको छ ।

थाइल्याण्डको संसद विघटन

सोमबार थाइल्याण्डको संसद विघटन गरिएको छ ।

प्रधानमन्त्री प्रयुत चान–ओ–चाले देशको संसद् विघटन गरेको थाइल्याण्डको उच्च सरकारी स्रोतले जनाएको छ । निर्वाचनको घोषणासँगै सन् २०१४ मा प्रयुतले सत्ता सम्हालेपछि थाइल्याण्डमा दोस्रो पटक निर्वाचनका हुन लागेको हो । संसद विघटन र निर्वाचनको मिति घोषणाको तयारीबारे थाइल्याण्डको राजपत्रमा प्रकाशित सूचनामा सोमबार उल्लेख गरिएको छ ।

सन् २०१४ को चुनावमा सत्तामा आएका पूर्वसेना प्रमुख प्रयुतले एक दशकको निर्वासनपछि स्वदेशमा फर्किएका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी अर्बपति छोरी विरुद्ध प्रतिस्पर्धा गर्ने बताइएको छ ।

पेतोङ्टार्न सिनावात्राको नेतृत्वमा रहेको मुख्य विपक्षी फेउ थाई समूहले निर्वाचनमा सफलता हासिल गर्नका लागि कडा मेहनत गरिरहेको छ तर थाइल्याण्डको सैनिक प्रशासन (जुन्टा) ले सन् २०१७ मा बनाएको संविधानका कारण पार्टीलाई शीर्ष पद सुरक्षित गर्न कठिन बनाउन सक्ने विश्लेषकहरूले बताएका छन् ।

सोमबार राजपत्रमा प्रकाशित एक विज्ञप्तिमा विघटनको घोषणा गरिएको र निर्वाचन आयोगले मतदानको मिति पछि पुष्टि गर्नेछ । निर्बाचन गर्ने सम्भावित मितिका रूपमा मे ७ वा १४ लाई हेरिएको छ ।

सन् २०१४ मा भएको ‘कू’ पछि यो दोस्रो निर्वाचन हो भने सन् २०२० मा बैङ्ककमा युवाको नेतृत्वमा भएको ‘प्रजातन्त्र पक्षधर’ प्रदर्शनले देशलाई हल्लाएपछिको यो पहिलो निर्वाचन हो ।

निर्वाचनका लागि हप्तौंदेखि अनौपचारिक अभियान चलिरहेको छ । बढ्दो जीवनयापन खर्च र महामारीबाट प्रभावित राज्यको सुस्त पुनः उत्थान दुबैथरिका चुनावी एजेन्डाका रूपमा देखिएका छन् ।

सन् २०१९ को विवादास्पद चुनावमा आफ्नो शासनलाई मजबुत बनाएका ६८ वर्षीय प्रयुतले थाई राजनीतिमा विरलै देखिने लामो कार्यकाल सम्हाल्न सफल भएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ७ : ५६ बजे

सरकारको प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

अर्थ समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार सन्

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं – ऋषिपञ्चमी पर्व आइतबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको