उही प्रदूषण उही खतराको घण्टी | Khabarhub Khabarhub

उही प्रदूषण उही खतराको घण्टी



वात भन्नाले हावा र त्यसको ढकनी भन्नाले आवरण बुझिन्छ, वात र आवरण शब्दले वातावरण भनौँ हामी वरिपरिको हावा भन्ने बुझिन्छ, जुन तीव्रगतिमा प्रदूषित भएको छ । नेपालको संविधान २०७२ को धारा ३० ले हरेक नेपालीलाई स्वच्छ वातावरणको हकको व्यवस्था गरेको छ । संविधानमा व्यवस्था भएअनुसार प्रत्येक नागरिकलाई स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ ।

त्यस्तै वातावरणीय प्रदूषणबाट हुने क्षति बापत् पीडितलाई प्रदूषण बापत् कानून बमोजिम क्षतिपूर्ति प्राप्त हुने उल्लेख छ । विकाससम्बन्धी कार्य र वातावरणकाबीच सन्तुलन गरिने पनि उल्लेख छ । प्रदूषणमुक्त वातावरण सन्तुलित र संरक्षित हुन धेरै विषयको ख्याल गर्नुपर्ने हुन्छ । वायु प्रदूषणका कारण वृद्ध, बालबालिका, गर्भवती महिलाहरू बढी आक्रान्त हुने गर्छन् । दम रोग, फोक्सो, मुटु, मष्तिष्क, क्यान्सरको समस्या, दीर्घ रोगीहरूका लागि त प्रदूषण घातक नै हो, झन् कोरोना र डेंगीपछी मानव स्वास्थ्य थप कमजोर छ । उद्योग, कल, कारखानाको धूलो, पुराना गाडी, मान्छेको भीड, खुल्ला ढल, हाम्रो बाटोको अवस्थाले प्रदूषणको यथार्थ अवस्था देखिन्छ ।

काठमाडौँको स्थिति

नयाँ वर्ष ०८० प्रवेशसँगै राजधानी काठमाडौँ वायु प्रदूषणमा संसारमा एक नम्बरमा परेको खबर सार्वजनिक भयो । उपत्यकाको हावाको मापन भनौँ एयर क्वालिटी इन्डेक्स २०० नाघ्यो । साँच्चै राजधानीका अस्पतालहरू थप खचाखच भए, वीर अस्पताल लगायतका उपत्यकाका अस्पतालहरूमा रोगीहरूको संख्या बढ्यो । काठमाडौँ पोखराका विमानहरू उड्न सकेनन्, पोखराको भिजिबिलिटीका कारण  पर्यटनक्षेत्रले मार सहनु परेको छ ।

स्वदेशभित्र करिब डेढ सय स्थानहरूमा भएको डढेलो, भारत उत्तर प्रदेशमा भएको गहुँको भुसको धूवाँको असर, सडकको धूवाँ धूलो, अव्यवस्थित फोहोर, पश्चिमीक्षेत्रबाट कम वायुको गति, हिउँदमा वर्षा नहुँदा काठमाडौँ उपत्यका लगायत पूर्वक्षेत्रमा वायुको गुणस्तरमा खराबी देखियो । श्वास प्रश्वासमा समस्या, दम, रुघाखोकी, मस्तिष्कको पीडा, पक्षाघात, मुटुको समस्या, बालबालिकामा निमोनिया, गर्भवतीहरूमा थप पीडा र वृद्ध वृद्धहरूको स्वास्थ्यमा धेरै समस्या देखिन थालेको छ ।

त्यसो त वायु प्रदूषणको हाम्रो समस्या नयाँ होइन । सन् २०१९ मै पनि यसैले नेपालमा ४२ हजारको ज्यान गएको, त्यसमा १९ प्रतिशत भने ५ वर्षमुनिका बालबालिका रहेका र २७ प्रतिशत बढी ७० वर्ष उमेर समूहका रहेको एक अध्ययनले भनेको छ । विश्व स्वास्थ्य संगठनले वायुको गुणस्तरको मात्रा तोकेको तर तोकिएकोभन्दा २५ गुणा खराब भएको काठमाडौँको वायुको गुणस्तर विश्वमै पहिलो भएको खवर सार्वजनिक हुँदा सम्बद्ध निकाय वातावरण विभागले देशभर १४० स्थानमा डँढेलो लागेको बारा, पर्सा, चितवन, काठमाडौँ लगायत पूर्वीक्षेत्रमा वातावरण असहज भएको भन्यो, तर एक नम्बर भन्न उसले सहज स्वीकारेन ।

त्यसो त दक्षिण एसियामा सबैभन्दा प्रदूषणको समस्या छ, त्यसमा पनि भारतको दिल्ली लगायत अन्य केही भाग, अन्यक्षेत्र ढाका, हनोई, बैँकक जस्ता सहरहरु बढी मारमा छन् । विश्वका १०१ सहरको वायुको मात्रा मापन गर्दा हाम्रो राजधानी काठमाडौँले अग्रणी स्थान ओगटेको खबर बाहिरियो ।

राज्यको सोच
प्राकृतिक वातावरणको संरक्षण, पुनःस्थापन र बुद्धिमतापूर्ण उपयोगमा जोड दिने, सहरी प्रदूषणलाई रोकथाम गर्ने र ग्रामीण क्षेत्रलाई स्वच्छ, सफा, हराभरा सुन्दर पारी स्वच्छ वातावरणमा मानिसहरूलाई बाँच्न पाउने हकको सुनिश्चितता प्रदान गर्दै वातावरण व्यवस्थापन सम्बन्धमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिवद्धताहरूको प्रभावकारी कार्यान्वयन गर्ने मूल उद्देश्य लिएर विगतका योजनाहरू प्रस्तुत भए । त्यसो त छैटौँ पञ्चवर्षीय योजना अवधि देखि नै हाम्रो मुलुक वातावरणप्रति सचेत हुँदै आएको हो । हाम्रो मुलुकले दर्शाएको अन्तर्राष्ट्रिय प्रतिवद्धता, वातावरणसम्बन्धी सन्धि, महासन्धिलाई अनुमोदन गर्दै दिगो विकासको अवधारणालाई आत्मसात् गर्दै आएको हो ।

वातावरण निर्देशिका २०५३, वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ कार्यान्वयन हुँदै आएको हो । सहस्राब्दी विकास लक्ष्य र नेपालको दिगो विकासको एजेण्डामा वातावरणीय पक्षलाई उच्च प्राथमिकता दिइएको हो । स्थानीय स्तरमा वातावरण सुधार कार्यक्रम, जनचेतना अभिवृद्धिका कार्यक्रम, जिल्ला विकास समितिहरूले योजना तर्जुमा गर्दा वातावरणीय पक्षलाई समावेश गर्ने कार्य, वातावरण शिक्षा तर्फ प्राथमिकतहदेखि विश्व विद्यालयस्तरसम्म शिक्षाको पठन पाठन चालु भएर राष्ट्रिय स्तरमा उच्चस्तरीय जनशक्ति उत्पादनका कार्यसम्म यस क्षेत्रबाट भएका हुन् तर जति नीति र योजना बने, यसको कार्यान्वयनमा भने ध्यान दिइएन ।

अतीततिर हेर्दा
गत वर्ष वायु प्रदूषणले आक्रान्त बनाउँदा दिल्लीमा संकटकाल घोषणा गरियो, त्यहाँको भन्दा प्रदूषणको मात्रा यहाँ बढी देखियो, यसबाट स्पष्ट हुन्छ हाम्रो स्वास्थ्यको स्थिति नाजुक छ । साँच्चै विश्वका ५० शहर मध्ये काठमाडौँ प्रदूषणमा पहिलो श्रेणीमा छ । हालको अध्ययनले मात्रै नभएर विगतको अध्ययनले पनि बताएको कुरा हो यो । वातावरण विभागकै भनाइमा पनि देशमा वायु प्रदूषण उच्च छ । काठमाडौँ मात्रै नभएर पूर्वको विराटनगर, पश्चिमको नेपालगन्ज पनि उस्तै छ ।

गत पुस २२ मा २४ घण्टाको प्रदूषण मापन गर्दा रत्नपार्कमा ४४१ यु पि जि एम, विराटनगरमा ३६६, ल पु को भैँसेपाटीमा ३३१ र जनकपुर, चितवन, हेटौँडा, दाङ, पोखराको स्थिति पनि त्यस्तै देखियो । त्यसो त मार्ग, पौष, माघमा हामीकहाँ वायु प्रदूषण बढी हुने समय नै हो, तर विगतमा पानी पर्ने गर्नाले यसको असर केही कम हुन्थ्यो र यसपालि मौसम सुख्खा नै देखियो ।

विभिन्न खाले प्रदूषणका कारण विश्व वातावरण बिग्रँदा मानव स्वास्थ्य भनौँ आम जनजीवन संसारमै जोखिममा छ । वातावरणकै कारण मुटु रोग, स्टृोक, फोक्सो आदिका समस्याले वर्षेनी संसारमा ७० लाख मानिसले ज्यान गुमाइरहेका छन् । हामीले सास फेर्ने वायुमण्डलमा आँखाले देख्न नसकिने धूलाका कणहरू हुन्छन् । विश्व स्वास्थ्य संगठनले पि एम भनौँ पार्टिकुलेट म्याटर २ः५ को मात्रा प्रति घन मिटर २५ सम्म सामान्य मानेको छ तर संसारभरि उसले यसलाई १० मा झार्ने प्रयास पनि गरेको छ ।

हाम्रो सरकारी मापदण्ड ४० हो । तर राजधानी काठमाडौँ उपत्यकाको वायुको गुणस्तर स्वीकृत मापदण्डभित्र छैन । त्यसो त विश्व स्वास्थ्य संगठनले तोकेकोभन्दा बढीमै संसारका झण्डै ९३ प्रतिशत मानिसहरू बाँच्न बाध्य छन् । विश्वका विभिन्न ९८ प्रदूषणयुक्त देश मध्ये नेपाल ८ औँ स्थानमा छ । विश्वकै ९५ प्रदूषित शहर मध्ये काठमाडौँ शहर २२ ओँ स्थानमा रहिरहेको छ । वातावरण विभागका अनुसार वायुको गुणस्तर मापनका लागि काठमाडौँ उपत्यकामा नै ७ स्थान र पोखरामा ३, पूर्वको दमक, भूम्का, धनकुटा, सिमरा, त्यस्तै सौराहा, लुम्बिनी, दाडः, नेपालगन्जमा एक एक गरी २१ स्टेसन रहेका छन् । प्रदूषण नियन्त्रणकै लागि यूरो ४ का गाडी भित्र्याउँने, ५ वर्ष भित्र १० स्थानमा विद्युतीय रिक्सा सञ्चालन गर्ने, विद्युत् चार्जका लागि मोबाइल स्टेशनहरु स्थापना गर्ने, इँटा लगायत अन्य उद्योगहरूका चिम्नीलाई प्रदूषण रहित बनाउने विभिन्न कार्य योजना पनि अघि सारेको हो । नेपाल आयल निगमले बेच्ने गरेको इन्धनबाट प्रदूषण कर भनी उपभोक्ताबाट लिएको अर्बौँ रकम खर्च भएको छैन ।

सम्भावनाहरु
वातावरण सन्तुलित र संरक्षित हुन वन जंगल संरक्षित हुनु पर्छ । ‘हरियो वन नेपालको धन ‘ केही दशक यतादेखि हाम्रो वन सम्पदामा व्यापक कमी आएको छ । सन् १९५४ अर्थात् वि.सं. २०११ सालसम्म हाम्रो मुलुकको ४५ प्रतिशत भन्दा बढी भूभाग वनक्षेत्र थियो । वि.सं. २०३६ मा आइपुग्दा ४३ प्रतिशत, वि.सं. २०४३ मा आइपुग्दा ३७.४ प्रतिशत अर्थात् ४५ प्रतिशतबाट ओरालो लाग्यो ।

विगतमा आम चुनाव, आवास, पुनर्वास वा अन्य कारणले वन फडानी धेरै भए । भूधरातल, माटो, हावापानीले तत् तत् क्षेत्रको वन वनस्पतिलाई प्रभाव पार्ने हुन्छ । पूर्वदेखि पश्चिमसम्म समानान्तर रहेको पहिले ४ कोससम्म फैलिएको तराई, भावर, चुरे, दुन पर्वतको १,२०० मीटर सम्मको उचाइमा रहेको उष्ण प्रदेशीय जंगलकोशे वन जंगल हो, हाम्रो । यस क्षेत्रमा गर्मी बढी र वर्षा पनि बढी नै हुन्छ । यहाँका वन वुटेनहरु मोटा, बलिया, अग्ला सदावहार हराभरा हुन्छन् । साल, सिसौ, सिमल, खयर, ढड्डी, गोंज, सार्व आदि धेरै छन् । चुरेको माथिल्लो र मध्य भाग एवं महाभारतको तल्लो भागलाई पतझर जंगलले चिनिन्छ । १,२०० मिटर देखि २,१०० मीटर सम्मको यसको क्षेत्र हो ।

यसको माथिल्लो भाग बढी चिसो हुने गर्छ, तुसारो पर्छ । धेरै पात पतिङ्गर झर्ने गर्छन् । कडा र नरम दुवै खालका कक्षहरू छन् यहाँ साल, सल्लो, दिनदारु, ओखर, कटुस, चाँप, लाकुरी, पलाँस, पिपल, चिलाउने, गुराँस, वर, सिमल, उत्तीस, वाँस, चोप यहाँ धेरै छन् । माथि भनिएको सदावहार चारकोशे झाडीका रुखभन्दा यी कम गुणस्तरका छन् । सँधै चीसो भइरहने हिमपात भैरहने क्षेत्र हो यो । २,१०१ देखि ३,३५० मिटर सम्मको उचाइ, महाभारतको माथिल्लो क्षेत्र, हिमाली क्षेत्रको तल्लो भाग यसमा पर्दछ । यहाँको माटो सेपिलो छ । नरम खालका रुखहरु, सीमल, धुपी, उत्तीस, वाँस, गुराँस चिलाउने, वेतवास भोजपत्र धेरै पाइन्छन् यहाँ ।

तापक्रम अति न्यून, वर्षा पनि न्यून हुने क्षेत्र जसको उचाइ ३,३५१ मीटर देखि ५ हजार मिटर सम्मको छ यस्तो हिमाली क्षेत्र यसमा पर्दछ । बुल्क जलवायुका कारण, कडा, मोटा अनि अग्ला रूखहरू यहाँ टिक्न सक्तैनन्, गुराँस, निगाला हल्का झाडी जस्ता रूखहरू भने ३,६०० मीटरको उचाइसम्म केही सप्रन्छन् । फलफूल, जडीबुटी भने यस क्षेत्रमा रहने गर्छन् । ५ हजार मिटर भन्दा माथि भने हिमपात भइरहने हुनाले त्यस्ता क्षेत्रमा वन, वनस्पति हुँदैनन् । काठमाडौँको धूवाँ, धूलो, ट्राफिक जाम, ढल निकासको समस्या, पिउने पानीको अभाव र उपत्यकालाई सरस बनाउने प्रमुख नदीहरूको अवस्था हेर्दा जो कोहीलाई पीडा र छटपटाहट हुन्छ ।

इटाभट्टाहरु कम भए पनि ढुंगा खानी एवं क्रसर उद्योगबाट पर्ने वातावरणीय समस्या छ । ढुंगाखानीको कारण पानीको मुहान सुकेको, वनक्षेत्र अतिक्रमण भएको छ । गाउंमा पानीको मुहान सुक्नाले जनताको जीवन पीडाग्रस्त भएको छ । काठमाडौँकै मुटु मुख्य नदीहरूमा जीवन पटक्कै नपाइनुले आजभन्दा भोलिको काठमाडौँ थप जटिल हुनेछ । अव्यवस्थित सहरीकरण, सिमेन्टका खम्वाझैँ भुवनहरि ती भवनमा रहने मानिसहरूबाट निस्कासन भएको प्रदूषणको कारण काठमाडौँको स्रोतभूमिको पानी प्रदूषित बनेको छ । नदीहरूमा अक्सीजन शून्य छ । हिउँदमा मात्र होइन वर्षायाममा पनि यी नदीहरूमा अब पानी होइन ढलमात्र बग्छन् । अक्सीजन नहुँदा पनि बाँच्ने काइरोनोमिडओलिजोकेड जीव मात्र यहाँ बाँकी रहेको छ । जलचर, वनस्पति र अक्सीजन नपाइने पानी प्रयोग योग्य हुँदैन । सहायक नदीहरू पनि सबै यस्तै हुने क्रममा छन् ।

अर्ब करोड मानिसहरू रहेको यस विश्वमा ३५ करोड मानिसहरू पानीको चरम संकटमा छन् । ब्राजिल पछिको विद्युतीय ऊर्जा स्रोत पानीमा दोस्रो स्थान ओगटेको नेपालमा असंख्य नदीनालाहरू छन् । तर पनि विद्युत्को मूल्य चर्को छ, काठमाडौँ सहरका धाराहरूमा पानी चुहिँदैन, मेलम्ची आए पनि बन्द गर्ने गरिएको छ । काठमाडौँ उपत्यकाका सबैजसो वितरित पानीको शुद्धता परीक्षण गर्ने हो भने प्रदूषणमुक्त देखिँदैन । विषाक्त प्रदूषणकै कारण सहरका वजारमा अत्यधिक बिक्री वितरण हुने तरकारी एवं फलफूलका कारण पनि यहाँका मानिसहरूले आफ्नो आयु क्षीण गरिरहेका छन् । कृषिवालिको विविधता गुमेकाले आगामी दिनमा थप खाद्यसंकट हुने निश्चित छ ।

अन्त्यमा
जैविक प्रजातिका दृष्टिले विश्वको ०.००३ र एसियाको ०.३ प्रतिशत भूभाग नेपालले ओगटेको छ । तराईको समथरक्षेत्र ६० मि. देखि सर्वोच्च शिखर सगरमाथा १९३ माइलसम्म र पूर्व पश्चिम ८८५ माइल भूभाग रहेको नेपालमा ५ किसिमको भौगोलिक वातावरण पाइन्छ । त्यस्तै ३५ किसिमको वनक्षेत्र, १३ किसिमको हावापानीले गर्दा जैविक विविधताको प्रचुर सम्भावना पछि छ यहाँ । पूर्वको ताप्लेजुङ्गदेखि पश्चिमसम्म लमतन्न फैलिएको झण्डै ३ हजार कि.मि. भूभागमा सधैँ सेता हिमाल देखिन्छन् भने दक्षिणतिर फैलिएका समथर जमिन त्यस बीचमा पर्ने पहाड, खोला, थुम्का, उपत्यका, पतझर र कोणधारी जंगलले गर्दा मुलुकको शोभा थप रमणीय छ ।

फलस्वरुप विश्वमान चित्रमै नेपाल सुन्दर रहेकाले विश्वकै लागि पर्यटकीय स्थल पनि बन्न पुगेको छ । विविध हावापानी र विविध जाती प्रजातिका जीवजन्तुको वासस्थान रहेकाे हाम्रो मुलुकको सौन्दर्यमा विगत केही सयम यतादेखि नकारात्मक परिदृष्यहरू देखा पर्न थालेका छन् । ०.०८ डिग्री का दरले तापक्रम वृद्धि हुन जानाले हिमालमा हिउँ कम भएको र समग्र नेपालमा वार्षिक ०.६ प्रतिशतले तापमान वृद्धि हुन जानाले हिमालीक्षेत्र र अन्य क्षेत्रमा गतिविधिहरूमा असर पर्न गएको छ ।

खराब मौसममा घरबाट बाहिर ननिस्कने, मास्क र चस्माको प्रयोग गर्ने आदेश मात्र जारी गरेर समस्या समाधान हुँदैन । काठमाडौँको फोहोरमा राजनीति गर्ने गरिएको छ । महानगरले नीतिअनुसार बन्चरे डाँडामा फोहोर फाल्न लग्दा ढुंगामुढा गरियो, अब त केन्द्रीय भाग सिंहदरबारमै फोहोर उठ्न छोडेको छ, देश जिम्मा लिनेले नै सोच्नु पर्ने विषय हो यो पनि ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  १२ : ४२ बजे

त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित (फोटोफिचर )

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना

पाकिस्तानमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

वाशुक – बलुचिस्तानको वाशुकमा एक ट्रेलर र गाडीबीचको टक्कर हुँदा

महिला कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा

मोरङ – नेपाल बार एसोसिएसन कानुन व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय

९६ गड्डीको बहस : भाउजूको कथा कसले लेख्‍ने ?

काठमाडौं– भ्रष्टाचारकै कारण नेपालको विकास पछाडि परेको हो भन्ने विषयमा

सुर्खेतको इतिवृत–२’ विमोचित

कर्णाली – पत्रकार सुशीलराज शर्माद्वारा लिखित ‘सुर्खेतको इतिवृत्त–२’ विमोचन गरिएको