नेपाली साहित्यमा युवा पुस्ताको लेखन, प्राध्यापन र साहित्यिक चर्चा कम मात्र हुनेगर्छ। तर युवा पुस्तामा सिर्जनात्मकता र कलात्मक चेत प्रशस्त पाइन्छ। निबन्धकार, कवि, गीतकार, भाषाविद्, समीक्षादेखि प्राध्यापन क्षेत्रमा विशेष दखल राख्ने साहित्यकार हुन डा. गीता त्रिपाठी। साहित्यकार त्रिपाठीसँग साहित्य र समसामयिक विषयमा प्रभा थापाले गरेको कुराकानीको सम्पादित अशं :
तपाईं परिचयबाट कुराकानीको सुरुवात गरौं ?
सामाजिक व्यक्तित्वका रूपमा चिन्दा र मलाई आफ्नो नाम गीता त्रिपाठी भन्दा नै आनन्द लाग्छ। अरु धेरै लोभ छैनन्, मेरो परिचय यही हो। एउटा सर्जकको रूपमा चिनाउँदा र गीता कवि हो भनेर कसैले भन्दा मलाई एउटा मिठो अनुभूति हुन्छ। मलाई नामले नै परिचय दिएको मनपर्छ।
तपाईंको साहित्यिक यात्रा कसरी सुरु भयो ?
मेरो लेखन यात्रा सहज रूपमा नै भएको हो। स्कुलको वातावरणले मलाई लेखक बनाएको हो। रचना सुन्ने वातावरण विद्यालयबाट नै भएको हो। घरमा भने त्यो वातावरण थिएन। समाजमा साहित्यका बारेमा केही चेतना नै नभएको कारण पहिले साहित्यको बारेमा बुझाउन असहज थियो। पाठ्यपुस्तकमा मात्र हराउने र इतिहासको पाठ पढ्दा लयमा ढाल्ने खालको आफैमा आउँदो रहेछ। म सानै उमेरबाट नै कविता लेख्ने तथा त्यसप्रति नै अगाडि बढ्न थालेको हुँ। कृतिगत रूपमा भने मास्टर पढ्दादेखि आएको हो। पद्म कन्या कलेजले नै मलाई साहित्य विधाको लागि सार्वजनिक गरेको हो ।
तपाईं हरेक विधामा कलम चलाउँदै गर्दा र पुस्तक निकाल्दै गर्दा समय निकाल्न गाह्रो हुँदैन ?
समय आफूले गर्न चाहेमा त्यसै निकाल्न सकिन्छ जस्तो लाग्छ। सर्जकले समय मिलाउँदैन सिर्जनाले नै सर्जकलाई तान्ने रहेछ। देखिएका दृश्य र त्यसले भावनामा पार्ने प्रभावलाई तत्काल लेखेर राख्ने तथा रेकर्ड गर्ने अवसर हुँदैन। हामी व्यस्त जीवनको भागदौडसँग समाहित हुन्छौँ। त्यो आफै समय मिल्छ। म राति नै लेख्ने गर्छु। कतिपय कठिन दिनमा र भेटघाट पनि पातलिँदै जाँदा गीत लेख्छु। यसरी विस्तारै गीत सिर्जना हुन थालेका हुन्। आफूले चाहेमा धेरै कार्य गर्न सकिने रहेछ जस्तो मलाई लाग्छ।
तपाईंलाई आफूले लेखेका पुस्तक तथा सिर्जनमध्ये सबै भन्दा बढी कुन मनपर्छ ?
म भन्न सक्दिन। त्यो पुस्तक सिर्जना भित्रका कविता तथा अन्य पक्ष रहेका छन्। दर्शकले धेरै मन पराएको सिर्जन नै आफूलाई पनि धेरै मनपर्ने रहेछ। त्यो अझ गर्व लाग्छ। समाजको लागि केही गर्छु लेख्छु भनेर त्यसको व्यवस्थापन आफैं गर्नुपर्ने हुन्छ । त्यसकारण लेखकको भूमिका धेरै सहज पनि छैन। यो निराशाको क्षण तिर गएको हो जस्तो लाग्छ। हरेक दिन पुस्तक विमोचन भएको छ। हामी हाम्रो इच्छा मात्र पुरा गर्न खोजिरहेका छौँ। त्यसमा ध्यान दिनुपर्छ। हामी प्रकृतिको विनाशतर्फ गएको हो जस्तो लाग्छ। पुस्तक छाप्नको लागि धेरै कठिन छ। त्यसको परिपालना गर्न सक्नुपर्ने हुन्छ।
तपाईंले मनपर्ने साहित्यकारसँगको भेटमा के सिक्ने अवसर पाउनुभयो ?
पहिले हामीलाई हाम्रो देश भित्रको कृतिहरू पढ्न पनि धेरै गाह्रो थियो। अहिले भने धेरै माध्यमबाट हेर्न सकिन्छ। २०१० मा नयाँ दिल्लीमा कार्यक्रममा सहभागी भएकी थिएँ। त्यहाँ सार्क राष्ट्रका कवि लेखकको उपस्थिति थियो। मलाई त्यहाँ कवि गुलजारसँग भेट्ने अवसर मिल्यो। उहाँका बारेमा अरूले भनेको सुनेर तथा प्रकाश सामयी दाइले नै पढ्नमा प्रेरणा दिएर उहाँको कुरा गरेको हुनाले मलाई भेट्ने रहर थियो। उहाँका कथा पढेको र उहाँलाई भेट्न मन लागेको थियो। त्यो मौका मिल्यो। गुलजार थोरै बोल्ने तर त्यसमा सबै कुरा महत्त्वपूर्ण नै रहेको मैले पाएको थिएँ। अन्य ठूला महानुभावको भेट तथा उहाँहरूको सल्लाहले यसप्रति प्रेरित गरिरहेको हुन्छ।
आजभोलि केमा व्यस्त हुनुहुन्छ, भर्खरै तपाईंको पत्रिका पनि आएको छ ?
यो ऐतिहासिक पत्रिका हो। हाम्रो पत्रिका बौद्धिक बहसको मञ्च पनि हो। यो पत्रिका २०४५ सालबाट प्रकाशनमा आएको हो। महिलाका विषयमा बहस गराउन खोजिएको छ। यो पत्रिका निरन्तर चल्दै आए पनि बीचमा हराएको थियो। अहिले फेरि यसको सुरुवात भएको तथा नयाँ यात्रा सुरुवात भएको छ। त्यो समयमा धेरै ठूलो भूमिका निर्वाह गरेको थियो। हाम्रो लागि बाटो खोली दिनुभएको हो। त्यसलाई निरन्तरता हामीले दिने हो जस्तो लाग्छ। कलेजमा म अध्ययन गराउने भएका कारण फुटकर रूपमा अहिले साहित्य रहेको छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम













प्रतिक्रिया